+
+

भूकम्पले क्षतिग्रस्त भवनमै पढ्छन् त्रिचन्द्रका विद्यार्थी

पुनर्निर्माण हुन सकेन पुरानो क्याम्पस

घण्टाघरसँगै त्रिचन्द्र क्याम्पसको तीनवटा भवन छ । देब्रेपट्टि छेउको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएका कारण २०७२ सालमै शिक्षा मन्त्रालयले जोखिमयुक्त भनी रातो स्टिकर टाँसेको थियो । अहिलेसम्म उक्त भवन जीर्ण अवस्थामा नै छ । त्यससँगै रहेका अरु दुईवटा भवन पनि पानी चुहिने अवस्थामा छन् । तर त्यही भवनमा कक्षा सञ्चालन भइरहेको छ ।

नुनुता राई नुनुता राई
२०७९ असार ४ गते १९:००

४ असार, काठमाडौं । श्री ३ चन्द्र समशेर राणाका पालामा १९७५ भदौमा बनेको त्रिचन्द्र कलेज १९९० माघको महाभुकम्पमा ढल्यो ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध समशेरको पालामा १९९२ सालमा पुनर्निर्माण गरिएको घन्टाघर (क्लक टावर) सहितको कलेज भवन २०७२ वैशाखको महाभूकम्पमा भने जेनतेन जोगियो ।

मुस्किलले जोगिएको भवन सात वर्षयता रातो स्टिकर टाँसेर उभिरहेको छ । अझ खतरनाक कुरा, धरापको नमुना बनेको नेपालको सबभन्दा जेठो यो शिक्षालयभित्र कक्षा संचालन जारी छ । भवन पुनर्र्निमाण हुनपर्ने मागमा सुनवाइ नभएपछि विद्यार्थीहरु आन्दोलित छन् ।

घण्टाघरसँगै त्रिचन्द्र क्याम्पसको तीनवटा भवन छ । देब्रेपट्टि छेउको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएका कारण २०७२ सालमै शिक्षा मन्त्रालयले जोखिमयुक्त भनी रातो स्टिकर टाँसेको थियो । अहिलेसम्म उक्त भवन जीर्ण अवस्थामा नै छ । बीचको भवनमा अलि कम क्षति पुगेको छ ।

त्यहाँ अहिले पनि भूविज्ञान विभागको केही सामान बाँकी छन् । दुई हप्ता अघिसम्म क्यम्पसको प्रशासनिक काम र पढाइसमेत भए पनि पानी चुहिएका कारण हालै अर्को भवनमा सामान सारिएको भूविज्ञान विभाग प्रमुख डा. अनन्त प्रसाद गजुरेलले बताए । उनले भने ‘पानी त पहिलेदेखि नै चुहिन्थ्यो । यो वर्ष झन् धेरै चुहिन थालेपछि अगाडिको भवनमा सारेका छौं ।’

बिहीबार यही भवनमा एउटा कक्षा भने सञ्चालन भयो । बिहीबार अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘यहाँ अत्यन्तै जोखिम छ । तर, आज भने विविध कारणले अमेरिकन विद्यार्थीहरुलाई यहाँ नै पढाउनुपर्ने भएकोले एउटा कक्षा यहाँ सञ्चालन गर्‍यौं ।’

तेस्रो भवनको पहिल्लो तलामा जलवायू विज्ञान विभाग छ । भूकम्पले यो भवनलाई दोस्रो भवन भन्दा पनि कम क्षति पुर्‍याएको छ । तर, यसमा पनि पानी चुहिन्छ । यसको माथिल्लो तलाको दुई वटा कोठामा मात्र पढाइ भइरहेको छ ।

बीएसडब्लु (ब्याचलर अफ सोसल वर्क) पहिलो वर्षकी विद्यार्थी सजनी श्रेष्ठ पहिलो दिन क्याम्पस जाँदैमा डराइन् । ‘भवन हेर्दै कस्तो कस्तो लाग्यो । तर, केही हुँदैन भने आँट बटुलेर कक्षामा बसेँ’ उनले भनिन् ।

नेविसंघका त्रिचन्द्र क्याम्पस इकाइ कमिटीका अध्यक्ष शान्त शिवाकोटी शिक्षक र विद्यार्थीले ज्यान जोखिममा राखेर पढाइ सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘पुनर्निर्माण प्राधिकरणले बेवास्ता गर्‍यो । अब महानगरपालिकाले मात्रै सक्ने अवस्था छैन । शिक्षा मन्त्रालयले तत्काल क्याम्पस बनाउनको लागि पहल हुनुपर्छ भन्ने हो ।’

यसअघि विद्यार्थी संगठनहरुले भवन पुनर्निर्माणको माग राख्दै एक्लाएक्लै गरेको आन्दोलनको सुनुवाइ नभएकाले संयुक्त रुपमा दबाव दिन थालेको शिवाकोटी बताउँछन् ।

अनेरास्वियुका पूर्व इकाइ अध्यक्ष गोविन्द थपलिया हरेक साल विद्यार्थीहरुले क्याम्पस पुनर्निर्माण गर्न आवाज उठाउँदै आए पनि सुनुवाइ नभएको बताउँछन् ।

किन बन्न सकेन भवन ?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ग्रेटर टुँडिखेलको गुरुयोजना ल्याएपछि त्रिचन्द्र क्याम्पस पुनर्निर्माण अलपत्र परेको हो । प्राधिकरणले रानीपोखरीदेखि त्रिपुरेश्वरसम्म ग्रेटर टुँडिखेल निर्माण गर्ने र जमलस्थित पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरेको थियो ।

त्रिचन्द्रको घण्टाघरतर्फको भवनलाई प्रबलीकरण गर्ने र घण्टाघर पछाडिको खाली जग्गा र जमलमा त्रिचन्द्र क्याम्पसको भवन पुनर्निर्माण गर्ने प्रस्ताव गरिएको थियो । त्यस अनुसार केही पहल पनि भएका थिए । तर, क्याम्पस सार्न विद्यार्थी, प्राध्यापक र अरु सरोकारवाला तयार नभएको एक प्राध्यापक बताउँछन् ।

‘पुनर्निर्माण प्राधिकरणलाई क्याम्पसको पुनर्निर्माण भन्दा पनि टुँडिखेल बृहत बनाउने स्वार्थ थियो । तर, आफ्नो स्वार्थ अनुसार काम नहुने भएपछि पुनर्निर्माण गर्ने काम पनि छोड्यो’ उनले भने ।

पुनर्निर्माण प्राधिकरणले चासो नदिएकै कारण त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण लथालिंग भएको विद्यार्थी तथा प्राध्यापकहरु बताउँछन् । पुनर्निर्माण प्राधिकरणको खारेजीसँगै अब पुनर्निर्माणको बाँकी काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नै गर्नुपर्ने भए पनि कुनै पहल भएको छैन ।

क्याम्पस प्रमुख प्रा. डा. सुनील अधिकारी शिक्षामन्त्री देवेन्द्र पौडेलले पुनर्निर्माण चाँडै अघि बढाउने आश्वासन दिएको बताउँछन् । ‘शिक्षा मन्त्रीज्यूले चाँडै नै पुनर्निर्माणको प्रक्रिया अगाडि बढ्ने आश्वासन दिनुभएको छ तर अहिलेसम्म कुनै पहलकदमी अगाडी बढेको थाहा छैन’ उनी भन्छन् ।

त्रिचन्द्रका पूर्वविद्यार्थीहरु नै राज्यको उच्च ओहोदामा पुग्दा पनि यसको पुनर्निर्माणमा कसैले चासो नदिनु दुखद भएको भूविज्ञान विभागका प्रमुख डा. अनन्तप्रसाद गजुरेल बताउँछन् । ‘राज्यले नै चासो दिएको छैन । राज्यको प्राथमिकतामा त धराहरा भन्दा क्याम्पस पुनर्निर्माण पर्नुपर्थ्यो होला नि ?’ उनी प्रश्न गर्छन् ।

अनेरास्ववियुका पूर्व इकाइ अध्यक्ष गोविन्द थपलिया प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतका नेता त्रिचन्द्रकै पूर्वविद्यार्थी भए पनि चासो नदिएको बताउँछन् । ‘उहाँहरुले चाहना राखे तत्काल सुरु हुन्छ, तर दुखको कुरा हुन सकेको छैन’ उनले भने ।

क्याम्पससँगै जोडिएको रानीपोखरी, दरबार हाइस्कुल पुनर्निर्माण भए पनि क्याम्पस पुनर्निर्माणका लागि क्याम्पस प्रशासनले दबाव दिन नसकेकेको थपलिया बताउँछन् ।

क्याम्पस भित्रको बेहाल

त्रिचन्द्र क्याम्पसमा भवन पुनर्निर्माण मात्र होइन, आन्तरिक रुपमा पनि धेरै समस्या छ । गत माघदेखि आंशिक प्राध्यापक संघर्ष समितिले क्याम्पस प्रमुख कक्ष, प्रशासन र लेखामा ताला लगाएका छन् ।

तालाबन्दीको कारण लामो समयदेखि प्रशासनिक कार्यहरुमा असर परिरहेको क्याम्पस प्रमुख प्रा. डा. सुनिल अधिकारी बताउँछन् । त्रिभुवन विश्वविद्यालयसँग भएको सहमति कार्यान्वयन भए मात्र ताला खुलाउने आंशिक प्राध्यापक संघर्ष समितिले बताउँदै आएको छ ।

क्याम्पसमा कक्षा कोठामा पर्याप्त डेस्क बेन्च नहुँदा विद्यार्थीहरु उभिएर पढिरहेका छन् । स्नातक तहको माइक्रोबायोलोजी चौथो वर्ष अध्ययनरत इन्दिरा भट्टराई कक्षामा ढिलो पुगे उभिएर पढ्नुपर्ने बाध्यता रहेको बताउँछिन् ।

त्यस्तै पर्याप्त शौचालय नभएको र भएका शौचालयमा पनि पानीको समस्या भएको अर्की विद्यार्थी आरजु मगर बताउँछिन् । भन्छिन् ‘मुख्य कुरा शौचालयको समस्या छ । पानी पनि छैन । पिरियड भएको बेला साह्रै समस्या हुन्छ ।’

त्रिचन्द्र क्याम्पसमा हाल १२ हजार ३५४ विद्यार्थी अध्ययनरत छन् ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?