
१३ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले आगामी वर्ष वर्षायममा खपत भएर बढी हुने बिजुली भारतमा बेचेर १५ देखि २० अर्ब आम्दानी गरिने बताएकी छिन् । आगामी पाँच वर्षपछि हरेक वर्ष करिब ७० अर्ब नेपाली रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सकिने सम्भावना रहेको भुसालको दावी छ ।
राष्ट्रियसभामा मन्त्रालयका विषयगत कार्यक्रमबारे जवाफ दिँदै मन्त्री भुसालले गत सुख्खायाममा देशको आन्तरिक माग धान्न भारतबाट आयात भएको विद्युतको औसत मूल्य ९ रुपैया ७ पैसा प्रति युनिट रहेको जानकारी दिइन् । अहिले नेपालले औसतमा ११ रुपैयाँ ३८ पैसा प्रति युनिटमा बिजुली बेचिरहेको उनको दाबी छ ।
‘विद्युत् उत्पादनको क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको निजी क्षेत्रलाई नेपालमा खपत भएर बढी हुने विद्युत् निर्यातका लागि अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भनिन् ।
नेपालमा उत्पादित विद्युत् नेपालमै खपत गर्नुपर्छ भन्नेमा विमति नरहेको भन्दै उनले विद्युतको आन्तरिक खपत बढाएरै देश समृद्ध हुने बताइन् ।
‘सरकारले विद्युत् खपत कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको छ । जसका कारण यस वर्ष आन्तरिक विद्युतको खपत करिब २० प्रतिशतले बढेको छ,’ मन्त्री भुसालले भनिन्, ‘हाल प्रतिव्यक्ति वार्षिक विद्युत् खपत ३ सय ३० युनिट रहेकोमा आगामी वर्ष उल्लेख्य मात्रामा वृद्धि गरिने छ ।’
आगामी आर्थिक वर्षदेखि हरेक वर्ष राष्ट्रिय प्रणालीमा करिब ७ सयदेखि १ हजार मेगावाट विद्युत् थपिँदै जाने उनले जानकारी दिइन् । आउँदो दुई वर्षपछिका सुख्खायाममा समेत नेपालको विद्युतले नै आन्तरिक माग धान्ने मन्त्री भुसालको दावी छ ।
‘तर वर्षायाममा भने उत्पादनको करिब ५० प्रतिशत विद्युत बढी हुने देखिन्छ । यदि बढी विद्युत् भारत तथा बंगलादेशसम्मको विद्युत् बजारमा बेच्न सकेनौं भने ‘टेक और पे’का आधारमा गरिएको विद्युत् बिक्री सम्झौताबाट देशले ठूलो नोक्सानी ब्यहोर्नु पर्नेछ,’ उनले भनिन् ।
जनतालाई भरपर्दो तथा गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन हालको प्रशारण तथा वितरण संरचनामा उल्लेखनीय सुधार गर्नुपर्ने भन्दै उनले प्रसारण लाइन निर्माणका क्रममा जग्गा प्राप्ति र वन क्षेत्रको प्रयोग मुख्य चुनौतीको रुपमा रहेको औल्याइन् ।
मधेश, बागमती, गण्डकी र लुम्बीनी प्रदेशमा आगामी वर्ष पूर्ण रुपमा विद्युतीकरण गरिने मन्त्री भुसाले बताइन् । प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वितरण प्रणाली विस्तारका लागि बहुवर्षीय ठेक्का सम्झौता सम्पन्न गरी आगामी दुई वर्ष भित्र पूर्ण विद्युतीकरण गरिने मन्त्री भुसालको भनाइ छ ।
प्रतिक्रिया 4