+
+

क्यान अध्यक्षको प्रष्टीकरण : नेपाल टी–२० लिग सम्झौता नेपालको हित विपरीत छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १९:१५

१३ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग गरिएको सम्झौता नेपालको हित विपरीत नभएको दाबी गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद गोकुल बास्कोटले भारतीय कानूनअनुसार सम्झौता गरेर नेपाल क्रिकेट खत्तम पार्न लागेको आरोप लगाएको भोलिपल्ट क्यान अध्यक्ष चन्दले प्रष्टीकरण दिएका हुन् ।

उनले २०२१ को जनवरीमै भारतीय कम्पनीसँग सम्झौता भएको र क्यानको साधारणसभाले दुईपल्ट पारित गरेको जानकारी दिए । सबैकुरा पारदर्शी भएकाले क्यानका एक दुई जनाले लुकाएर गरेको सम्झौता नभएको उनको दावी छ ।

उनले टी–२० लिग आयोजनाका क्रममा कुनै विवाद आएमा भारतीय कानूनअनुसार निरुपण गरिने सम्झौता भएको चाहिं घुमाउरो शैलीले स्वीकार गरे । ‘कुनै एउटा विदेशी संस्थाले करोडौं रुपैयाँ भित्र्याउँदैछ भनेपछि उसले लगानीको सुरक्षा खोज्छ कि खोज्दैन ? एउटा सुरक्षाको रुपमा कुनै क्रिकेट संघ र कमर्सियल पार्टनरबीच आर्विटेसन कोर्ट दिल्लीमा राख्ने सहमति भएको हो । सिंगापुर राख्ने भनेको थियो हामीले मानेनौं । त्यो मध्यस्थकर्ता अदालत हो,’ नेपाली राष्ट्रिय टोलीको क्यानडा भ्रमणका लागि बिदाइ कार्यक्रममा चन्दले थपे, ‘भारतीयहरु क्रिकेट व्यवस्थापनमा संसारभरीमै अब्बल छन् । राम्रो विज्ञले बनाएको नीति नेपाल क्रिकेटका लागि योग्य हुन्छ भने प्रयोग गर्ने कि नगर्ने ?’

उनले देशको जनप्रतिनिधिले संसदमा बोलेर विवाद निम्त्याउनुअघि सरोकारवाला पक्षसँग जानकारी लिनुपर्ने सामान्य शैली नअपनाएकोमा सांसद बास्कोटाको आलोचना गरे । आर्थिक लेनदेन गरेर संसदमा यो विषय उठान गरेको हुनसक्ने भन्दै अध्यक्ष चन्दले बास्कोटामाथि गम्भीर आरोपसमेत लगाएका छन् ।

‘देशका राजनीतिज्ञले हिजो संसदमा बोल्नुअघि कमसेकम नेपाली क्रिकेटको अहिलेको अवस्थाबारे जानकारी लिनुपथ्र्यो । एउटा व्यक्ति र प्राइभेट कम्पनीलाई पक्षपोषण गर्ने हिसावले बोल्नुभयो । उहाँको लेनदेन होला । कुन हिसावमा बोल्नुभयो ? कसैले उहाँहरुमा गुनासो गर्‍यो भने कम्तिमा नेपाल क्रिकेट संघमा वास्तविकताबारे सोध्नुपर्नेमा उहाँले त्यसो गर्नुभएन । त्यसप्रति म खेद व्यक्त गर्न चाहन्छु’, अध्यक्ष चन्दले भने ।

क्रिकेट संघले नेपाल र नेपाल क्रिकेट संघको हितमा सकारात्मकरुपमा चालेको कदमलाई केहि दलालहरुले गलत व्याख्या गरेर प्रचार गरिरहेको आरोप चन्दले लगाए ।

‘वार्षिक २० हजार डलर बुझाएपछि क्रिकेट प्रतियोगिता आयोजना हुने, खेलाडीले ८० हजार पाउने तर, आयोजकले ५ करोडभन्दा बढी कमाउने गरेर क्रिकेटका नाममा जसरी दलाली भइरहेको थियो त्यसको अन्त्य गर्नका लागि साधारणसभाले दुईपल्ट पास गरेर यो सम्झौता भएको हो,’ उनले थपे ।

उनले नेपाली क्रिकेट सही दिशामा रहेको बताए । ‘यो हामीले भनेको कुरा होइन । दुई दिन अघिमात्र अन्तर्राष्ट्रिय क्रिकेट परिषदका प्रतिनिधिले नेपाल आएर नेपाली क्रिकेटले राम्रो गरिरहेको भनेका छन् ।’ दुई दिनअघि आईसीसीले नेपाल क्रिकेटमाथि लगाएको सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको थियो ।

अध्यक्ष चन्दले सेभेन थ्री स्पोर्टससँग टी–२० लिगका लागिमात्र सम्झौता भएको जानकारी दिए । क्यानले गर्ने अन्य प्रतियोगिता र कार्यक्रममा सेभेन थ्री कम्पनीको संग्लग्नता नहुने उनको प्रष्टोक्ती थियो । उनले भने, ‘नेपाललाई हानी हुने, नेपालको स्वाभिमान कम हुने कुनै खालको सम्झौता भएको छैन । हाम्रो सम्पूर्ण सम्झौता पारदर्शी छ । पूरै सम्झौता पढेर मात्र यसबारे कमेन्ट गर्न अनुरोध गर्छु । २८ दिनको नेपाल टी–२० लिगबाहेक क्यानले गर्ने अन्य कुनैपनि कार्यक्रममा सेभेन थ्री स्पोर्टसको संग्लग्नता हुने छैन ।’

एभरेष्ट प्रिमियर लिग आयोजक ईपीएल प्राली र त्यसका सञ्चालन अमीर अख्तरले प्रतियोगिताका फ्रेन्चाइज टिमसँग १० वर्षका लागि सम्झौता गरेको जिम्मा क्यानले लिन नसक्ने चन्दको भनाइ छ ।

‘नेपाली क्रिकेटमा लामो समय दलाली गरेर, खेलाडीको शोषण गरेर कसैको रोजीरोटी चलिरहेको थियो । उनीहरुले हारगुहार गरेर, क्रिकेटका नाममा राजनीति गरेर जसरी क्रिकेटलाई बदनाम गर्ने प्रयास भइरहेको छ,’ अख्तरलाई लक्षित गरी उनले भने, ‘आईसीसी वा क्यानले प्रतियोगिताको अनुमति दिँदा एक संस्करणको लागि मात्र दिएको हुन्छ । तर, आयोजक कम्पनीले टिमसँग १० वर्षको सम्झौता ग¥यो भने त्यसको जिम्मेवारी हामीले लिनुपर्ने ? एउटा आयोजकले झुक्याउने गरी गरेको प्रस्तावमा सम्झौता गर्नुअघि टिमहरुले हेर्नुपर्दैन ? नेपाल क्रिकेट संघ कुनै व्यक्तिका लागि सती जान सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?