+
+
मदन भण्डारीको ७१ औं जन्मजयन्ती :

मदनका दाजु भन्छन् : घटनाको सत्यतथ्य पत्ता लाग्ने आशा छैन

ठूलो जनमतसहित एमाले सरकारमा जाँदा पनि घटनाको सत्यतथ्य खोजी गरेनन् । यसमा हाम्रो चित्त दुखाई छ । मदनकी श्रीमती, हाम्री बुहारी विद्यादेवी भण्डारी अहिले राष्ट्रपति हुनुहुन्छ । उहाँले सत्यतथ्य नचाहेको होला भन्ने हामीलाई लाग्दैन । तर, छेकेको केले, त्यो निश्चत गरेको भए हुन्थ्यो ।

सुवास पण्डित सुवास पण्डित
२०७९ असार १४ गते १६:४६

१४ असार, काठमाडौं । ७६ बर्षका मनोजकुमार भण्डारी, नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारीका जेठो दाइ हुन् । एक दशकदेखि चितवनको देवघाटमा साधु भएर बसेका उनी आफूलाई ‘महिधराचार्य’को नामले चिनाउँछन् ।

योग–साधनामै तल्लीन उनीे बाहिर हिँडडुल र कुराकानी कम गर्छन् । मदन भण्डारीको ७१ औं स्मृति दिवसका सन्दर्भमा पुराना कुरा बताउन अनलाइनखबरले गरेको अनुरोधलाई भने उनले टारेनन् ।

उनीसँग गरेको कुराकानीकझ सार उनकै शब्दमा :

हाम्रा पिता देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारी भण्डारी हुन् । उहाँहरुका तेस्रो सन्तान हो मदन । ऊ १४ असार २००९ सालमा जन्मिएको हो । म पछि बहिनी शारदा र शारदा पछि मदन जन्मिएको हो । मदन मभन्दा पाँच वर्ष कान्छो हो ।

त्यो दिन म ठूली आमाको गोठमा थिएँ । घरमा आमाले भाइ पाएको सुनेर खुसी हुँदै फर्किएँ । भर्खरै जन्मिएको उसको राताराता हातखुट्टा अहिले पनि सम्झन्छु । उसको न्वारानको नाम मोतीलाल थियो ।

२०१५ सालमा गाउँमै हिउँदे पाठशाला (जुन वर्षायाममा बन्द हुन्थ्यो) खुलेपछि हामी दाजुभाइको औपचारिक शिक्षा सुरु भयो । मदनलाई म डोर्‍याउँदै विद्यालय लैजान्थेँ । त्यतिबेला संस्कृतमा पढाइ हुन्थ्यो । मदन एकाध पटक चण्डीपाठ सुनेपछि कण्ठ पाथ्र्यो ।

ऊ सानैबाट तीक्ष्ण दिमाग र दृढ स्वभावको थियो । कुराहरु छिट्टै बुझ्थ्यो, कतिपय कुरा त भन्नुभन्दा पहिल्यै यो भन्न आँटेको हो भनेर थाहा पाउँथ्यो । कुरा राम्रोसँग बुझेर तर्कसहित बोल्थ्यो ।

२०२४ सालमा हाम्रो परिवार ताप्लेजुङबाट मोरङको इटहरामा झरेपछि म पढ्न भारतको मथुरा गएँ । दुई बर्षपछि मदन पनि मसंगै गयो । मथुरामा दुई वर्ष बिताएपछि २०२८ मा देहरादुनबाट ऊ बनारस गयो । बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गर्‍यो ।

मदन विस्तारै राजनीतिमा तानिन थाल्यो । घरमा त्यो कुराको चर्चा हुने नै भयो । बुबाआमा पञ्चायती शासनले यसलाई कहाँ लगेर मारिदिन्छ भन्ने चिन्तामा पर्नुभयो । उहाँहरु मलाई तैंले भनेको त्यसले मान्छ, सम्झा भन्नुहुन्थ्यो । म चाहिँ नराम्रो काममा लागेको हैन, विचलित पार्ने काम गर्नु हुँदैन भनेर उल्टै सम्झाउथेँ ।

काशीमा पुष्पलाल श्रेष्ठसंग भेट भएपछि मदन राजनीतिमा बढी सक्रिय हुन थाल्यो । त्यसबेला बेला मोदनाथ प्रश्रित पनि पुष्पलालसंगै थिए । दृढता र तर्कबाट मानिसलाई प्रभावित पार्ने मदनको खुबी पुष्पलालले त्यही बेला ठम्याएका थिए होलान् ।

मदन राजनीतितिर लागेपछि हामी दाजुभाइको भेट कमै हुन थाल्यो । कहिलेकाहीँ भेट हुँदा उसलाई मानिसको दिल जित्ने राजनीति गर्नू, कसैलाई बन्धक बनाउने वा ज्यान लिने राजनीति गर्न हुन्न भनेर सम्झाउँथे । ऊ ध्यानपूर्वक सुन्थ्यो, केही जवाफ दिदैनथ्यो ।

खत्तम गर्छन् भन्ने लाग्थ्यो, त्यस्तै भयो

मदनको हार्ने स्वभाव थिएन । जस्तोसुकै विपक्षीलाई पनि ऊ तर्कले जित्थ्यो । यसले गर्दा ऊ जनताबीच धेरै लोकप्रिय नेता बनिरहेको थियो । त्योसंगै साम्राज्यवादी र देशभित्रकै कतिपय शक्तिको लागि आँखाको कसिंगर बनेको थियो । मदनको खुबी ती शक्तिका लागि चुनौती बनेको थियो ।

मदनलाई ‘फेस टू फेस’मा कसैले सक्दैनथ्यो । गलत शक्तिहरुका लागि ऊ ‘थ्रेट’ बनिसकेको थियो । अगाडिबाट परास्त गर्न नसक्ने त्यस्ता शक्तिहरुले पछाडिबाट गलत ढंगले खत्तम गर्ने हुन् कि भन्ने लाग्न थालेको थियो । नभन्दै, त्यस्तै भयो ।

मैले भाइ भनेर यसो भनेको होइन । उसको अवशानले देशलाई ठूलो नोक्सानी भयो । बाँच्न पाएको भए मदनले १०–१५ वर्षमा देशमा धेरै ठुल्ठुला काम गरेर देखाउथ्यो ।

अहिले देश उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)को बाटोमा लम्किरहेको हुने थियो । नेपालमा माओवादी युद्ध पनि हुने थिएन भन्ने मलाई लाग्छ । त्यत्रो मानवीय र भौतिक क्षति हुने थिएन । किनकी आपसी वार्ता–विश्वासबाट शान्तिपूर्ण विधिले टुंगोमा पुर्याउन सक्ने खुबी उसँग थियो ।

तर, त्यसो हुन दिइएन ।

रहस्यमय जीप दुर्घटनाको सत्यतथ्य एकदिन बाहिर आउला भन्ने हामी परिवारको आशा थियो । तर अब त्यो आशा पनि सकियो । खोजी गर्न नचाहेको हो कि नसकेको ? हँ पनि छैन, न पनि छैन ।

ठूलो जनमतसहित एमाले सरकारमा जाँदा पनि घटनाको सत्यतथ्य खोजी गरेनन् । यसमा हाम्रो चित्त दुखाई छ । मदनकी श्रीमती, हाम्री बुहारी विद्यादेवी भण्डारी अहिले राष्ट्रपति हुनुहुन्छ । उहाँले सत्यतथ्य नचाहेको होला भन्ने हामीलाई लाग्दैन । तर, छेकेको केले, त्यो निश्चत गरेको भए हुन्थ्यो ।

मदनको सवारी चालक अमर लामाको पनि हत्याले दाशढुंगाको घटना सुनियोजित थियो भन्ने कुरालाई थप पुष्टि गरेकै छ । लामालाई कसले, किन मारेको ? मार्नुपर्ने थिएन नि ।

लेखकको बारेमा
सुवास पण्डित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?