+
+
फिल्म ‘दोख’का निर्देशक अनुप बरालसँग अन्तर्वार्ता :

‘फिल्मले माओवादी द्वन्द्वमा कहाँनेर चुक्यौं भन्ने प्रश्न खडा गर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते ८:००

१५ असार, काठमाडौं । रंगमञ्च हुँदै पछिल्लो समय फिल्म निर्देशन र अभिनयमा व्यस्त छन् अनुप बराल । उनी निर्देशित फिल्म ‘दोख’ असार २४ गतेदेखि देशव्यापी प्रदर्शन हुँदैछ । माओवादी सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा फुटबल खेल र सामुदायिक वनको मुद्दालाई लिएर दुई गाउँलेबीच हुने किचलो फिल्मको कथावस्तु हो । गाउँलेबीचको झगडाको विम्बमा उनले द्वन्द्वको त्रासदी र असरलाई पस्किएका छन् ।

नेपाली फिल्ममा दृश्यभाषाको बहस चलिरहँदा रिलिज हुन लागेको फिल्म दोखलाई लिएर दर्शकमाझ पर्खाइ पनि छ । यही मेसोमा निर्देशक बरालसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानी :

दोख’को अर्थ के हो ?

मैले डिस्नेरीमा हेरेअनुसार यसको शाब्दिक अर्थ टाइफाइड बिग्रियो भने त्यसलाई दोख लागेको भनेर भनिंदो रहेछ । कसै–कसैले कुखत पर्‍यो पनि भन्दा रहेछन् । तर दोख चाहिं फिल्ममा कुनै कालखण्डको विम्ब आउने हिसाबले उपयोग गर्न खोजिएको हो ।

यसभित्र आम नेपालीले भोगेर सम्झनामा राख्न खोजिएको द्वन्द्वकालीन समयको कथालाई यसले मूल केन्द्र बनाएको छ । यसमा द्वन्द्वकालले नेपाली राजनीतिमा कस्तो परिवर्तन ल्याउन मद्दत गर्‍यो भन्दा पनि यो समयमा कुनै निश्चित गाउँमा परेको र त्यहाँ बसोबास गर्ने मानिसको मनोदशामाथि केन्द्रित रहेर फिल्म बनेको छ ।

धेरै कुरा परिवर्तन भएको छ जनयुद्धले । तर जुन खालको अपेक्षा जनतामा थियो यसले आमूल परिवर्तन ल्याउँछ भनेर त्यो चाहिं नदेखिएकै हो । उहाँहरुले भन्ने शब्द नै छ, अग्रगामी छलाङ । त्यो छलाङ कहीं पनि पुगेको देखिएन ।

भन्नुको अर्थ समय दोखपूर्ण छ, होइन त ?

एक हिसाबले भन्नुपर्दा जब त्यो समयमा मान्छेहरु सोचिरहेका छन्, त्यो प्रदूषित भएर गइरहेको छ । एक हिसाबले त्यसले हामीलाई ब्याक होला अर्थात् कालतर्फ लिएर जाँदैछ भन्ने हिसाबले देखाइएको हो ।

आजको समयको लागि त्यो फिल्म किन सान्दर्भिक र महत्वपूर्ण छ ?

हाम्रो देशको सन्दर्भमा हेर्दा अझै पनि धेरै मान्छे नेपाल गाउँ नै गाउँले बनेको देश भन्छौं । सहर थोरै छ । अझै पनि गाउँघरका कुराहरु आएका छैनन् । खासमा यसको पृष्ठभूमि मात्रै युद्ध हो । युद्धको बारेमा यो फिल्म होइन । यसले उठाउन खोजेको मूल मुद्दा भनेको चाहिं त्यो समयमा गाउँमा बसिरहेका मान्छेको मनोविज्ञान विचारभन्दा पनि व्यक्तिगत तहमा बढी चल्थ्यो ।

त्यो चीज हिंसा र प्रतिहिंसासँग जोडिएर आएको छ । स्टोरी जे पनि हुनसक्छ, त्यसलाई तपाईंले कसरी भन्नुहुन्छ, त्यो महत्वपूर्ण हुन्छ । हामीले महाभारतका कथाहरु पढेका छौं । महाभारतको कथा सबैलाई थाहा छ । सबैले पढ्यौं भने पात्रहरुको घटनाक्रम र प्लट भन्न सक्नुहुन्छ । जब त्यसलाई हामीले सिनेम्याटिक ल्यांग्वेजमा भन्छौं, यसले केही रोचक कुरा बोकेर ल्याउँछ जुन धेरै महत्वपूर्ण छ कथावाचकको रुपमा । सायद न्यारेटर भएर मैले केही रोचक कुराहरु खोजिरहेको छु जस्तो लाग्दैछ ।

कुन पक्षले तपाईंलाई यो फिल्म निर्माण गर्न प्रेरित गर्‍यो ? फिल्म निर्माण पछाडिको तपाईंको उद्देश्य के छ ?

मलाई सबैभन्दा पहिला त स्थुल सतहमा देखिने ठूला–ठूला कुरा भन्दा पनि सूक्ष्म कुराले आकर्षित गर्छन् । यसमा देखाइएको समाजभित्र पनि ती कुराहरु छन् । त्यो एउटा मोटिभेसन थियो र अर्को चाहिं यो फिल्म एउटा प्रतिस्पर्धाबाट प्रथम भएर आएको फिल्म हो । न्यु नेपाली सिनेमाले एउटा कम्पिटिसन गरेको थियो र त्यसमा म जुरीमा थिएँ । जुरीमा बस्दा मैले टपटेनमा परेको कुनै एउटा फिल्म निर्देशन गर्ने सर्त राखेको थिएँ । उहाँहरुले लगानी गर्छौं भनेपछि पहिलो प्राइज जितेको यो फिल्ममाथि काम गर्ने निधो गरेको हुँ ।

अर्कोतर्फ, त्यो समयबारे यसअघि कुनै स्क्रिप्ट लेखिएको थिएन । त्यसले पनि मलाई प्रेरित गरेको हो ।

नेपालमा निर्माण भएका गम्भीर शैलीका फिल्मको सूचीमा ‘दोख’को स्थान कहाँनेर रहन्छ जस्तो लाग्छ ?

एउटा निर्देशकलाई अर्को फिल्मसँग तुलना गरेर तपाईंको फिल्म कहाँनेर छ भनेर भन्न गाह्रो हुन्छ । या त तपाईं बनिरहेका फिल्मलाई पनि बेवास्ता गरेको हुन सक्नुहुन्छ या आफ्नो फिल्मलाई ग्लोरीफाइ (देवत्वकरण) गरेको सम्भावना बलियो हुनसक्छ । समयलाई विम्ब बनाएर अहिलेसम्म भनिएका जुन कथा छन्, त्यसले एउटा बेग्लै दृष्टिकोण निर्माण गर्छ । त्यही भएर अरुसँग तुलना चाहिं गर्दिनँ ।

हामीले द्वन्द्वका कथाहरु किन यो समयमा आएर भन्नु आवश्यक छ ?

जुन उद्देश्य प्राप्तिका लागि आन्दोलन सुरु गरिएको थियो र द्वन्द्वकालीन समय जुन हामीले भोगेर आएका थियौं । त्यसले स्थापित गरेका मान्छेहरु हाम्रो समाजमा अझै पनि हुनुहुन्छ । फिल्म हेरिसकेपछि यसबारे आलोचना र समालोचना गर्न सकिन्छ । गर्दै आएका कुरामा हामी कहाँनेर सही थियौं र कहाँनेर हामी चुक्यौं अनि त्यसरी नै अघि बढ्नुहुन्छ कि हुँदैन भनेर प्रश्नचिन्ह खडा गर्छ । ती प्रश्न खडा गर्न फिल्म बनाएको हो ।

किनभने कतिपय फिल्मले युद्धसम्बन्धी फिल्म बनाउँछन् र त्यसलाई ग्लोरीफाइ गर्छन् । हलिउडमा बनेका फिल्म प्रो–अमेरिकन नै हुन्छन् । यो चाहिं त्यस्तो खालको ग्लोरिफिकेसनमा आधारित छैन । साधारण मान्छेको आफ्नो जीवन भोगाइ र उसले भोग्दा आउने व्यक्तिगत इष्र्याजस्ता साना–साना कुरामा अल्झिएर बनेको फिल्म हो ।

यसले उपलब्धिको बारेमा पनि कुरा गर्दैन । मात्र समाजको प्रतिविम्ब दिने कोशिश गर्छ ।

निर्देशकीय आँखाबाट तपाईंले माओवादी द्वन्द्वलाई कसरी हेर्नुहुन्छ ?

निर्देशकको रुपमा मैले काम गर्दैछु भने त्यसले सबैभन्दा पहिले मलाई कनेक्ट गर्नुपर्‍यो । मलाई कनेक्ट गर्‍यो भने म जस्ता धेरैलाई कनेक्ट गर्छ र आफैंमा एउटा बजार निर्माण गर्छ ।

धेरै कुरा परिवर्तन भएको छ जनयुद्धले । तर जुन खालको अपेक्षा जनतामा थियो यसले आमूल परिवर्तन ल्याउँछ भनेर त्यो चाहिं नदेखिएकै हो । उहाँहरुले भन्ने शब्द नै छ, अग्रगामी छलाङ । त्यो छलाङ कहीं पनि पुगेको देखिएन । जसले बलिदान दिए र युद्ध लडे, जसलाई राज्य पक्षबाट धेरै दमन गरियो, कतिपय मरे र त्रासदी थियो । त्यहाँबाट आउनुपर्ने विषय झन् ठूलो भएर जानुपर्थ्यो। तर पछिल्लो चरणमा त्यो देखिएन ।

सायद फिल्ममा उठाउन खोजिएको मूल मुद्दा पनि त्यही नै होला । किन हामी कहाँनेर चुक्यौं ? के–के चीजले हाम्रो आन्दोलनलाई प्रभावित पार्‍या होला र हुनसक्छ ? तिनै कुराहरु छन् जस्तो लाग्छ ।

माओवादी ‘मुभमेन्ट’को कुन पक्षलाई तपाईंले फिल्ममा गम्भीरताका साथ प्रस्तुत गर्नुभएको छ ?

त्यो त पृष्ठभूमिमा आउने कुराहरु नै हो । कतिपय कार्यकर्ता इमान्दार थिए । गाउँमा बेरोजगार बसेको छ र माओवादी छापामारमा लाग्यो भने त मासुभात खान पाइन्छ कि क्या हो भन्ने मनस्थितिमा काम गर्नेहरु पनि थिए । यी कुराभन्दा पनि द्वन्द्वले समाजमा पारेको असर हो । माओवादी जनयुद्ध कस्तो थियो, उपलब्धि के दियो भन्दा पनि गाउँमा परेको असर र त्यहाँ बस्ने मान्छेले कसरी सोच्थे भन्ने बारेमा हो । मेरो मुख्य प्राथमिकता नै त्यही हो ।

अहिलेको पुँजीवाद समाज र सोहीअनुसार उपभोक्तावादी मानवीय प्रवृत्ति र व्यवहारसँग कसरी दोख फिल्मले आफूलाई प्रस्तुत गर्छ ?

उपभोक्तावादी समाजको एउटा प्रवृत्ति हुन्छ, बजारमा जे बिक्यो त्यसैको पछाडि दौडिने । तपाईं बजारसँग दौडिनुहुन्छ कि बजार सिर्जना गर्नुहुन्छ ? मुद्दा लडाईं त्यही हो । हामीले कोशिश नै गरेनौं भने मानक कसरी स्थापित हुन्छ त ? बनाउने बेला लागेको थियो, गाना र डान्स पनि हाल्दिने हो कि । त्यसले एउटा ऊँट बनाउँदो रहेछ कि । सुरुमा सफा र स्पष्ट दृष्टिकोण बोकेर केको लागि फिल्म बनाउँदैछु भन्ने कुरा आउनुपर्‍यो ।

निर्देशकको रुपमा मैले काम गर्दैछु भने त्यसले सबैभन्दा पहिले मलाई कनेक्ट गर्नुपर्‍यो । मलाई कनेक्ट गर्‍यो भने म जस्ता धेरैलाई कनेक्ट गर्छ र आफैंमा एउटा बजार निर्माण गर्छ । सबैले त्यस्तै खालको बनाउन थाले भने त सबैको एउटा टाइपको फिल्म हुने भयो । कबड्डीजस्ता फिल्म पनि बन्नुपर्छ ।

दोख’को न्यारेटिभमा विशेष गुण के छ ?

मानक बनाउन गाह्रो छ तर मेरो सोच के हो भने तपाईंले मानवीय संवेदनाका कुराहरुलाई जोड्नुहुन्छ भने त्यसले चाहिं बृहत रुपमा दर्शकलाई जोड्छ भन्ने हो । यही समाजमा बाँचिराख्दा पनि हामीसँग कन्जुमर सोसाइटी हुँदाहुँदै पनि त केही मान्छेको चेतना त बाँचिराखेको होला नि त उनीहरुको । त्यो चेतनालाई यसले हिट गर्छ । किनभने साना–साना चीजमा सुन्दरता हुन्छ जस्तो लाग्छ मलाई । त्यो सुन्दरता नै यो फिल्मको विशेषता हो र त्यसले नै पड्किन सक्छ जस्तो लाग्छ ।

तपाईंका कामहरु जर्मनी एक्सप्रेससिज्म र न्यु रियालिज्मजस्ता शैलीबाट प्रभावित देखिन्छन् । यी शैलीअनुसार दोखमा तपाईंले कसरी सिनेम्याटिक चरित्र निर्माण गर्नुभएको छ ?

कन्टेन्टले शैली निर्माण गर्ने हो । रुप र भाषा बनाउने हो । मलाई कन्टेन्ट लिंदाखेरि यसलाई यथार्थवादी शैलीमा भन्दा राम्रो हुन्छ भन्ने लागेको थियो । सँगसँगै यसलाई धेरै एक्सप्रेसिभ पनि बनाउनुपर्छ किनभने यथार्थवादी तरिकाले काम गर्दा त्यसलाई विकास गर्न टाइम चाहिन्छ । त्यो पनि नहोस् । बरु छोटो समयमा प्रभावकारी ढंगले कथा भन्न एक्सप्रेसिज्मजस्ता शैलीलाई पनि उपयोग गरिएको छ ।

फिल्मको भाषा बन्ने भनेको त कसरी खिच्ने र साउन्डको डिजाइन कसरी गर्ने भन्ने कुराले निर्धारण गर्ने हो । पात्रले लगाउने कस्ट्युम र ब्याकड्रपको कुरा पनि आउँछ होला । धेरै चीजलाई जस्तो जीवनशैली छ त्यसमै राख्ने कोशिश गरिएको छ । केही कुरालाई ड्रामाटाइज गर्न क्यामेराको लेन्सलाई साँघुरो बनाएका छौं । यसले स्पेस सानो देखिन्छ र समयको प्रतिविम्ब पनि देखिन्छ । हामी खुम्चिएका थियौं र खुला भएर बोल्न सकिरहेका थिएनौं ।

वातावरणको एक खाले सफोकेसन थियो । छायांकन थलो भोजपुरको ल्यान्डस्केप देख्न पाउँदैनौं । जब पात्रको नजिक गएर क्यामेरा राख्छौं, त्यसबेला वाइड सट्हरुमा देख्न सक्छौं किनभने त्यो पर्सनल स्पेस हो भनेर ।

अभिनेत्री दीया मास्केप्रतिको तपाईंको रुचिले फिल्ममा के अर्थ राख्छ ? यसले सिर्जनात्मक प्रस्तुतिमा असहज त हुँदैन ?

तपाईंलाई म एउटा किस्सा सुनाउँछु । सुटिङमा म निर्देशक हुन्थें, उनी विशुद्ध कलाकार । ठाउँ पनि टाढा थियो । हामी २०-२५ मिटर टाढा हुन्थ्यौं, सेटमा पनि भेट हुने थिएन । त्यहाँ पति–पत्नीको रिलेसनसिपलाई पनि टाढै राखेका थियौं । श्रीमानले निर्देशन गरेको फिल्म भएकाले कास्ट गरिएको होला भन्थे, तर म दीयाको अभिनयलाई राम्रोसँग चिन्छु । कागबेनी, दलनजस्ता फिल्म र टीभी सिरिजमा काम गर्ने जुन शक्ति छ, त्यो अझै आउन सकेको छैन जस्तो लाग्छ ।

यसमा काम गर्दा पनि अडिसन लिएरै काम गरेको हुँ । अडिसन लिंदा पनि दीयाभन्दा अन्य उपयुक्त पात्र देखिएन । त्यो कारणले मात्र यसरी जोडिएको हो । सिर्जनात्मक कुरामा उनले बढी मलाई बढी सहयोग गर्छिन् यसमा बाधा छैन ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?