+
+
केन्द्रीय परिषद बैठक :

एकीकृत समाजवादीमा एमालेसँग सहकार्यको बाटो बन्द

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असार १४ गते २१:२६

१४ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको करिब १६ सय प्रतिनिधिको सहभागितामा भएको केन्द्रीय परिषद बैठकले यसैवर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसँगको सहकार्यको बाटो बन्द गरेको छ ।

दुई दिनसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको छलफलपछि एकीकृत समाजवादीले आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुन नसक्ने निष्कर्ष निकालेको हो । बरु अहिलेकै सत्तारुढ गठबन्धनलाई नै निरन्तरता दिने भएको छ ।

‘मिनी राष्ट्रिय सम्मेलन’ भनिएको केन्द्रीय परिषद बैठकमा स्थानीय तहको चुनावको समीक्षा र आगामी चुनावबारे कार्ययोजना तय मुख्य एजेन्डा थियो । सोमबार र मंगलबार विभिन्न ११ वटा समूहमा भएको छलफलको निष्कर्ष सुनेपछि अध्यक्ष माधकुमार नेपालले एमालेसँग यही निर्वाचनमा सहकार्यको सम्भावना नभएको सुनाएका नेताहरुले बताएका छन् ।

समूहगत छलफलमा केही टोली नेताले वाम गठबन्धन गर्नुपर्ने धारणा राखेका थिए । तर अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण पनि अहिले सहकार्य सम्भव नभएको भन्दै उक्त बाटो बन्द गरिदिएका हुन् ।

एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठले एमालेसँग गठबन्धन हुने सम्भावना टाढै रहेको बताए । केही समूह नेताले एमालेसँग पनि मिल्नुपर्ने मत राखेको र एमालेभित्र पनि वाम एकता हुनुपर्ने मत भए पनि यसै वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा त्यस्तो सम्भावना नभएको उनको भनाइ छ ।

‘एमालेभित्र तल्लो स्तरका कार्यकर्ता र माथि पनि केही नेता वामपन्थीसँग मिल्नुपर्छ भन्नेमा छन्’ श्रेष्ठले बैठकको निष्कर्षबारे अनलाइनखबरसँग भने, ‘किनभने स्थानीय चुनावमा कतिपय पालिकामा हामीलाई सर्मथन गरेको पनि देखियो । तर, केपी ओलीको निरंकुश, तानाशाही खालको दम्भ र अहंकार छ, त्यो करेक्सन नभई एमालेसँग मिलेर जान सकिदैन ।’

आगामी चुनावमार्फत एमालेलाई ‘साइजमा नल्याई’ तालमेल वा एकताको सम्भावना नरहेको श्रेष्ठको भनाइ छ । ‘स्थानीय तहको चुनावमा केही साइजमा ल्याइयो । अब आम निर्वाचनमा अझैं साइज घट्छ । त्यसपछि वुद्धि पलाउँछ कि भन्ने हो,’ श्रेष्ठले भने ।

पोलिट्व्यूरो सदस्य दिलु पन्तले एमाले अध्यक्ष केपी ओलीसँग मिल्न नहुने र आफ्नो शक्तिलाई मजबुत बनाउँदै जानुपर्ने सुझाव अधिकांश समूहबाट आएको बताइन् । ‘पहिले आफ्नो पार्टीलाई मजबुत बनाऔं, आफ्नो शक्तिलाई मजबुत बनाऔं, हामी कठोर परिश्रम गर्न तयार छौं भन्ने कुरा आएको छ,’ उनले भनिन् ।

गठबन्धनमा अपमान नसहने

एमालेसँग मिल्न अस्वीकार गरेको एकीकृत समाजवादीले सकेसम्म हालकै गठबन्धनलाई कायम राख्न प्रयत्न गर्ने निर्णय गरेको छ । तर, त्यसका लागि केही शर्त पनि राखेको छ ।

उपाध्यक्ष श्रेष्ठका अनुसार नेपाली कांग्रेससहितका दलले स्थानीय चुनावमा एकीकृत समाजवादीमाथि गरेको व्यवहार सच्याउनुपर्नेछ । ‘स्थानीय तहको चुनावका बेला देखिएको त्रुटिलाई सच्याएर जाने हो भने गठबन्धनलाई जारी राखेर जाने कुरा भयो,’ उनले भने, ‘पहिले जस्तै गठबन्धनभित्र उपगठबन्धन गर्ने, अनि गठबन्धनको एउटा दललाई हराउन गठबन्धनको प्रतिद्वन्द्वी दलसँग लाग्ने जस्ता नीतिहरु लियो भने त त्यसको अर्थ छैन ।’

एकीकृत समाजवादीले देशभरका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रबाटै सिट बाँडफाँट गर्नुपर्ने शर्त पनि अघि सारेको छ ।

एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा गठबन्धन अपमानपूर्ण भएको भन्दै आगामी चुनावमा यस्तो हुन नहुने निष्कर्ष निकालेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष नेपालले गठबन्धनमा मात्र भर नपर्ने र सकेसम्म सबैजसो क्षेत्रमा उम्मेदवारी दिने गरी तयारी गर्न निर्देशन दिएका छन् । ‘गठबन्धन बाध्यात्मक र नितान्त अस्थायी हो भन्नुभएको छ’ सुदूरपश्चिमबाट सहभागी ती नेताले भने ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सकेसम्म धेरै क्षेत्रमा उम्मेदवारी दिने निर्णय भएके बताए । ‘हामी गठबन्धनमा छौं, गठबन्धनलाई अगाडि बढाउने प्रतिवद्धता हामीले बारम्बरा दोहोर्‍याउँदै आएका छौं,’ बैठकका निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘तर, गठबन्धन मात्रै होइन, हाम्रो आफ्नो शक्तिले भ्याएसम्म देशका सबै कुनामा हाम्रा उम्मेदवार पुर्‍याउन र कमल चिह्न घरघरमा लिएर जान हामीले आह्वान गरेका छौं ।’

पोलिटव्यूरो सदस्य दिलु पन्तले बैठकले संगठन निर्माणमा जोड दिने निष्कर्ष निकालेको बताइन् । ‘गठबन्धन सकेसम्म जोगाउने तर गठबन्धन जोगाउने नाममा आत्मसर्मपण गरेर जान सकिदैन,’ अनलाइनखबरसँग उनले भनिन्, ‘संगठन निर्माणलाई जोड दिने कुरा भएको छ ।’

बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि ११ वटा समूहमा छलफल भएको थियो । प्रदेश १ बाट अर्जुन राई, मधेश प्रदेशबाट सुधीर साह, बागमती प्रदेशबाट सूर्यचन्द्र न्यौपाने, गण्डकी प्रदेशबाट प्रतापलाल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट नरेशकुमार भण्डारी, कर्णाली प्रदेशबाट अमरबहादुर थापा र सुदूरपश्चिम प्रदेशबाट हर्कबहादुर सिंहले समूहगत निष्कर्ष सुनाएका थिए ।

त्यस्तै केन्द्रीय विभागबाट कृष्णबहादुर सापकोटा, काठमाडौं विशेष प्रदेशबाट विजय गुरुङ, विभिन्न आयोगका तर्फबाट विद्या ढकाल र केन्द्रीय सल्लाहकार षरिषदबाट मोहन केसीले छलफलको निष्कर्ष पेस गरेका थिए ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?