+
+

कर्णालीमा २८ प्रतिशत मात्र रोपाइँ

पानी र मल अभाव झेल्दै किसान

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १७:१२

१५ असार, सुर्खेत । आज असार १५, अर्थात राष्ट्रिय धान दिवस । धान दिवसको अवसर पारेर कर्णालीमा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदासमेत दिइएको छ ।

असारलाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाका रूपमा चिनिन्छ । आजको दिन किसानहरुले दही चिउरा खाएर हर्ष उल्लासका साथ सामूहिक रूपमा धान रोपाइ गरेर दिवस मनाइरहेका छन् । तर कर्णालीमा अहिलेसम्म जम्मा २८ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।

पर्याप्त वर्षा र रासायनिक मल अभावमा प्रदेशभर धान रोपाइँ प्रभावित भएको हो । कृषि विकास निर्देशनालयको विवरणअनुसार बुधबार मध्ययन्सम्म सुर्खेतमा सबैभन्दा कम र जुम्लामा धेरै क्षेत्रमा रोपाइँ भएको छ ।

सुर्खेतमा तीन र जुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न गरिएको छ । निर्देशनालय प्रमुख चित्रबहादुर रोकायाले यो अवधिसम्म प्रदेशभर २८ प्रतिशत हाराहारी मात्रै रोपाइँ भएको बताए ।

उनका अनुसार कालिकोटमा ६०, हुम्लामा ७२, मुगुमा ३४, सल्यानमा ३०, डोल्पामा ९६ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो वर्ष झण्डै ५० प्रतिशत रोपाइँ सम्पन्न भएको दैलेखमा यो पटक जम्मा १५ प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

यस्तै जाजरकोटमा ३८ र रुकुम पश्चिममा ४० प्रतिशत धान रोपाइँ भएको छ । अघिल्लो वर्षमा यो अवधिमा यी जिल्लामा ४५ प्रतिशतभन्दा माथि रोपाइँ सम्पन्न भएका थिए । जुम्लामा जेठ महिनादेखि नै रोपाइँ सुरु हुन्छ । झण्डै २९ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने जुम्लाका अधिकांश ठाउँमा मार्सी धान रोपिन्छ ।

सिँचाइ सुविधा नभएका ठाउँमा धान रोपाइँ हुन नसकेको निर्देशनालयले जनाएको छ । मनसुन बेलैमा सक्रिय नहुँदा यो वर्ष किसानहरूलाई समयमै धान रोप्न समस्या भएको बताइएको छ । सिँचाइ पुगेका स्थान र खोला आसपास क्षेत्रमा भने धान रोपिएको छ । आकाशकै पानीको भर पर्नुपर्ने ठाउँमा अझै रोपाइँ हुन सकेका छैनन् ।

पानी र मल अभाव झेल्दै किसान

कर्णालीमा धान रोपाइँ ढिलो हुनुको मुख्य कारण मनसुन ढिलो सक्रिय हुनु हो । कर्णालीको अधिकांश भू–भागमा खेती गर्नका लागि आकाशे पानीको भर पर्नुपर्ने हुन्छ ।

कर्णालीका केही जिल्लामा यो वर्ष चैत महिना तथा बाँकीमा असार लागेपछि रोपाइ थालिएको थियो । धान रोपाइँका लागि पानी र मल अभावले सकस भएको किसानहरूले बताएका छन् । पछिल्ला दिनमा वर्षा हुन थालेपनि रासायनिक मलको भने चरम अभाव कायमै छ ।

धान खेतीको लागि आवश्यक पर्ने रासायनिक मल अभाव हुँदा किसान मर्कामा परेका हुन् । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख अमूल्यलाल श्रेष्ठले कर्णालीमा मल अझै आइनपुगेको बताए ।

‘मलको माग अत्याधिक छ । केन्द्रमा नै मल आउने टुंगो छैन । यो वर्ष पनि किसानले खेप्नुपर्ने देखिन्छ,’ उनले भने । रासायनिक मल नपाएपछि धानको उत्पादन घट्ने चिन्ता किसानलाई छ ।

कर्णालीमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले अनुदानमा रासायनिक मल बिक्री–वितरण गर्दै आएका छन् । यी दुवै सरकारी स्वामित्वका कम्पनीका गोदाम अहिले रित्तै छन् ।

६० प्रतिशत जमिनमा आकाशे पानीकै भर

कर्णालीको कूल ग्राहस्त उत्पादनको ४५.६ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ । प्रदेशमा करिब ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयका अनुसार कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये २ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ । त्यसमध्ये पनि २ लाख १६ हजार ८८० हेक्टर क्षेत्रफलमा खेती गरिन्छ ।

खेती गरिने कुल जमिनमध्ये ३८ हजार ८८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुन्छ । अहिलेसम्म कुल रोपाइँ हुनेमध्ये १० हजार ८९२ हेक्टर क्षेत्रफल जमिनमा (२८ प्रतिशत) धान रोपाइँ भएको प्रदेश कृर्षी निर्देशनालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीका अनुसार ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा मात्र वर्ष भरी सिंचाई सुविधा पुग्ने गरेको छ भने ३० हजार ३०२ हेक्टर क्षेत्रफल जमिनमा आंशिक रुपमा सिंचाई सुविधा छ ।

उनका अनुसार ६० प्रतिशत जमिन आकाशे पानीको भरमा छ । कर्णाली प्रदेश सरकारले सिँचाइका क्षेत्रमा ठुलो लगानी गरे पनि किसानहरू अझै पनि आकाशे पानीको भरमा पर्नुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?