+
+

मध्यरातमा तर्साउने कलाकारको त्यो फोन …

घुँक्कघुँक्क रुँदै अलि झर्किंदै उनले भनिन्- ‘दि ! तपाईंलाई भन्न सजिलो छ नि ! तर मलाई बाँच्न गाह्रो छ । म के गरुँ ?’

प्रगति ढकाल प्रगति ढकाल
२०७९ असार १९ गते ८:३३

रात छिप्पिंदै थियो । दिनभरको थकान, दुई दिनदेखिको अनिंदो आँखा । अनि प्रेसर लो भएकोले होला, गहिरै निद्रामा परेछु । घडीको सुईले मध्यरातको १ बजाउन खोजिसकेको रहेछ । फोनको घण्टीले निद्रा बिथोलियो ।

सिरानीमुनि राखेको फोन झिकेर निद्रामा नै साइलेन्ट मोडमा राखिदिएँ । साँझतिर एउटा विदेशी साथीले म्यासेज पठाएको रहेछ- ‘हाइ प्रगति ! लङ टाइम नो सी, इफ यु हृयाभ टाइम आइ वान्ट टु टक इन आफ्टर थ्री आवर्स’ भनेर म्यासेज पठाएको थियो ।
उसलाई मैले सहमति दिएकी थिएँ- ‘ओके ।’

सोचें- नेपालको समयको ख्याल नगरी आएको उसैको कल होला । बेवास्ता गरेर मोबाइल हेर्दा पनि हेरिनँ । फेरि बज्यो फोन । मलाई थाहा थियो उसले कहिल्यै पनि अनुमति नलिई फोन गर्दैन र यसरी तारन्तार फोन त गर्दै गर्दैन । मैले सहजै अनुमान लगाएँ- यो अरू कसैको फोन होला ।

मध्यरातमा तारन्तार आएको घण्टीले निदाउन दिने कुरै भएन । मस्त निद्रामा परेर टालिन पुगेका आँखाका परेली बल्लतल्ल खोलेर मोबाइल हेरें । फोन कल त्यही कलाकार बहिनीको थियो, जोसँग म अघिल्लो दिनभर सँगै थिएँ । उनकै कारण अघिल्ला दुई रात पनि म निदाउन सकेकी थिइनँ ।

‘दि ! म मर्दैछु, अब मेरो केस राम्रोसँग हेर्दिनु ल ।’ फोनमा त्यही आवाज ठूलो स्वरमा डाँको छाडेर रोइरहेको थियो । मन झस्किने नै भयो । अत्तालिएर के गरौं र कसो गरौं भयो । बेचैनीले छोप्यो, अत्यासले घेरा हाल्यो । हातखुट्टा नै थर्थर भए । आफूलाई सम्हालेर उनको कुरा सुनें ।

‘दि ! मलाई यो समाजले बाँच्न दिएन । अब त म मर्छु । तेरो त मरेकै जुनी भयो भन्छन्, थुक्छन् । सबैले गाली गर्छन् । मेरो सपना कस्ता कस्ता थिए । मेरा बा-आमा गाउँमा कति रोलान् अब । दि ! म यो संसार छोड्दैछु । हजुरले मलाई मर्न बाध्य बनाउने त्यो अपराधीलाई समाउन लगाउनु र मेरो सबै केस हृयान्डल गरिदिनुस् ल ? मेरा लागि समय दिनुभयो । धन्यवाद ।’

उनको रुवाइ झन् बढ्न थाल्यो । मैले सम्झाउन कोसिस गर्दै भनें- ‘मरेर के पाउँछ्यौ ? श्रीषा कार्की पनि कायर भइन् ।

जीवनदेखि हार खाएर मृत्युको बाटो रोजिन् । तर के पाइन् ? उनी जीवनको संघर्षरूपी युद्धसँग हार मानिन् । समस्यासँग लड्न सकिनन् । अनि यो दुनियाँ आफ्नो सोचिनन् । अर्को दुनियाँ रोजिन् । खोजिनन् समाधानको बाटो । जीवनमा समस्या हुन्छ तर समाधानको बाटो पनि त छ नि ! समाजले बाँच्न नदिए पनि म बाँचेरै देखाउँछु भन्न सकिनन् श्रीषाले । कायर बनेर आत्महत्याको बाटो रोजिन् । आफैंलाई हत्या गरिन् । कारबाही आफैंलाई गरिन् । बाँचेर दोषीलाई कारबाही गर्छु भन्ने सोचेको भए आज उनी हाम्रैसामु हुने थिइन् । जीवनको पूर्णविराम लाग्यो । मरेर गइन्, सपना पनि मारिन् । तर पनि उनको बदनाम गर्न छोडेको छ र यो समाजले ? जीवनसँग हार खाँदा सम्झाउने कोही भएनन् होला । मृत्युपछि सहानुभूति दिनेहरूको भीडमा कोही न कोही मृत्यु अघि नै सहानुभूति र हौसला दिने भएको भए ? कसैको चरित्रहत्यामा रमाउने मानिसका जमात नभएको भए ? उनी लाउँलाउँ र खाउँखाउँको बेलामा यो धर्तीबाट अस्ताउने कायर निर्णय गर्ने थिइनन् होला सायद ।’

मैले थप सम्झाउन प्रयास गर्दै भनें- ‘तिमी मरेर होइन बाँचेर यो दुनियाँसँग लड । तिमी निर्दोष हौ भन्न पनि यो समाजको अघि मरेर होइन बाँचेर देखाऊ । दुनियाँको कुरा सुनेर अरूको कारणले आफूले आफूलाई यति ठूलो कारबाही गर्ने निर्णय कसरी गर्न सक्छ्यौ ? यी सब कुरा कसरी सोच्न सक्यौ हँ ? म छु नि तिम्रो । अरूले के भन्छ भनेर नसोच । तिमीलाई जस्तो परिस्थितिमा पनि साथ छोड्दिनँ । हिम्मत लिएर अघि बढ, म साथमा छु । यो समाजले तिमीलाई लडाउन खोजे पनि हात थामेर साथ दिने म छु, नडराऊ । समयले दिएको चोट समयले नै निको बनाउने छ । तिमीलाई कायर बनाएर मर्न बाध्य बनाउने समाजको भीडमा म एक्लै भए पनि हात दिएर उठाउन तयार छु । हिम्मतिलो बनाएर लड्ने प्रेरणा दिने छु, नडराऊ । तिमीलाई मेरो मात्र होइन, कानुनको पनि साथ हुनेछ । तिमीलाई न्याय दिलाउन लाग्नेछु । तिम्रो समस्यालाई आफ्नो ठानेको छु ।’

उनलाई यस्तै भनेर सम्झाएँ । अनि भोलि भेट्ने शर्तमा बाईबाई भन्यौं दुवैले । सम्झाउन सकेकोमा ढुक्क लागेर निदाउने कोसिस गरें । तर मन कहाँ मान्थ्यो र ? निदाउनै सकिनँ । एक मनले सोचें- होस् सुत्छु । प्रेसर लो भइराखेको छ । अस्तिदेखिको निद्रा पनि छ । तर किन किन छट्पटाहट रोकिएन ।

डर बढ्न थाल्यो । सोचें- म एक रात निदाउँदा उनी सदाका लागि निदाइन् भने ? एक रात ननिदाएर के भयो र ? बरु मैले कसैलाई जिन्दगीबाट निदाउन रोक्नुछ । उसले चाल्न सक्ने अपि्रय घटना रोक्नुछ । आवेगमै कुनै अपि्रय घटना भयो भने ? अहँ… यसो गर्न दिनुहुन्न । आजको रात कटाउन पाए भोलि त आफैं भेट्थें । फेरि सम्झाउँथें । केही गरी उनले नराम्रो बाटो अँगाल्न पुगिन् भने त म आफूले आफूलाई कहिल्यै पनि माफी दिन सक्दिनँ । यस्तै सोचेर उनलाई फेरि फोन लगाएँ । उनको रुवाइ अझै रोकिएको रहेनछ- ‘भयो दि ! अब त मनलाई सम्हाल्नै सक्दिनँ । यो दुनियाँ कति स्वार्थी रहेछ ! आफ्नै केटी साथीका कारण आज यो सब भयो ।’

उनका व्यक्तिगत फोटाहरू नजिकको केटी साथीका कारण बाहिरिएको रहेछ ।

मैले फेरि सम्झाएँ- ‘सोच त तिमी कलाकारिता क्षेत्रमा कति पटक हार खाँदै, लड्दै कैयौं पटक ठक्कर खाँदै आज यो हाइट बनाएकी छ्यौ ! तिमीलाई घृणा गर्ने मात्रै होइन, माया गर्नेहरू पनि छन् । तिम्रो जस्तो जिन्दगी पाउन कैयौं लालायित भएका होलान् । कति राम्रो कला छ तिमीमा ? भोलिका दिनमा अझै राम्रो गर्नु छ ।’

घुँक्कघुँक्क रुँदै अलि झर्किंदै उनले भनिन्- ‘दि ! तपाईंलाई भन्न सजिलो छ नि ! तर मलाई बाँच्न गाह्रो छ । म के गरुँ ?’

उनको रुवाइ रोकिंदै राकिएन । मैले फेरि भनें- ‘आँखा चिम्लेर सोच त । तिमीमाथि बाबा-आमाको कति आशा होला ? कति सपना होलान् तिम्रा ? तिमीले यो कदम लियौ भने तिम्रा बाबा-आमाको हालत, बहिनीहरूको हालत चाहिं के होला ?’

समाजले नराम्रो भन्न बाँकी कसलाई राखेको छ र ? तिमी सोच । तिमी त राष्ट्रको कलाकार । गहना हौ तिमी । कसैको फोन नउठाऊ, कसैको एसएमएस नै नहेर । जसका कारण तिमीलाई टर्चर हुन्छ, उससँग कुरै नगर । मौन बस्।’

हामीलाई हँसाउने मान्छे आज यति धेरै रोएको देख्दा नमज्जा लाग्यो । उनी जीवनदेखि साह्रै हार मानेको देख्दा अचम्म लाग्यो ।

मलाई अझै डर थियो- उनले गलत कदम चाल्ने हुन् कि भनेर । त्यसैले प्रहरीलाई १०० नम्बरमा फोन गरें । फोन उठ्यो, सबै डिटेल सुनाएँ । मलाई उनको लोकेसन थाहा थिएन । चिनजान लामो थिएन । अमेरिका बस्ने एकजना मेरै थर गरेका व्यक्तिले आग्रह गर्नुभयो- ‘डियर सिस, तिमी त पत्रकार अनि वकिल पनि । एक जना कलाकारलाई सहयोग गर्नुस् न ।’

मैले पनि सहजै स्वीकारें । तीन दिन मात्रै भएको थियो चिनेको । तर उनको बोली र दि ! भन्ने शब्दले छोटो समयमा नै सामीप्यता महसुस गराएको थियो । उनको अनुहारमा मेरी बहिनीहरू भेटाउँथें ।

प्रहरीले सहयोग गर्ने भनेपछि अलिकति ढुक्क भएँ । फोन नम्बर दिएको थिएँ प्रहरीलाई उनको । तर, फोन गरेको रहेनछ ।

सैले आत्महत्या गरिसकेको भए हत्तारिएर पुग्ने प्रहरीले किन होला कसैले आत्महत्या गर्न खोज्दैछ भनेर खबर गर्दा एक पटक पनि फोन नगरेको ? अचम्म लाग्यो ।

राष्ट्रिय महिला आयोगको हटलाइन नम्बर ११४५ मा पनि फोन गरें राति नै । मध्यरातमा पनि फोन रेस्पोन्स भएकोमा खुसी लाग्यो । आयोगले भने उनलाई सम्झाईबुझाई गरेछ राति नै फोन गरेर ।

रातै माया मारेर उनलाई सम्झाउनतिर लागें । मानसिक रोग विशेषज्ञ डा. सरोज वझाले अन्तर्वार्ता लिने क्रममा एक पटक मलाई भन्नुभएको थियो- ‘तिमीले थोरै मात्रै कसैलाई काउन्सिलिङ गर्न सक्यौ भने मर्छु भनेर रूख चढेको मान्छेलाई पनि ओराल्न सक्छ्यौ ।’

वरिष्ठ मनोविद् डा. करुणा कुँवरले पनि कोभिडका कारण मानिसमा हुनसक्ने मानसिक समस्या र समाधानको विषयमा कुरा गर्दा भन्नुहुन्थ्यो- ‘कसैले कायर बनेर आत्महत्या गर्न खोज्छ भने अलिकति काउन्सिलिङका कारण पनि उसको जीवन जोगिन्छ ।’ उहाँहरूबाट पनि धेरै कुरा सिक्ने मौका पाएँ ।

भ्ाोलिपल्ट उजुरी दिन उनलाई लिएर नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटी पुगें । भीडभाड थियो । त्यही देखाउँदै उनलाई भनें, ‘देख्यौ नि समस्या कतिलाई छ ? मर्छु भनेर हुन्छ ?’

हामीले पहिल्यै एकजना प्रहरीसँग फोन गरेर आएका थियौं साथीमार्फत । त्यसैले भित्र गयौं सरासर । कुन्नि के फाइल हेर्दै रहेछन् उनी । पुलुक्क हाम्रो अनुहारमा हेरेर भने, ‘तपाईंहरू नै हो ? बस्नुस् न ।’

कसको समस्या ?

उनैले भनिन्- मेरो ।

के नि ?

उनले फेरि थपिन्- मेरो केटी साथीमार्फत नचिनेको कोही मानिसलाई मेरो पर्सनल फोटोहरू सेन्ड भएको रहेछ । तर उसले

अहिले खाली मेरो डिमान्ड पूरा गर्, नत्र तँलाई सिध्याउँछु भन्छ । अरूहरूलाई ती फोटोहरू पठाउँछ ।

खै कस्ता फोटो ?

उनले मोबाइल हातमा थमाउँदै भनिन्- ‘यी… यही हो । हेर्नुस् न सर । म त के गर्ने होला मर्नु न बाँच्नु भएँ ।’

ती प्रहरीले मुसुमुसु हाँस्दै घोरिएर फोटो हेरे ।

मलाई झनक्क रिस उठ्यो । किन घोरिएर हेरिराखेको होला ? मुसुमुसु हाँसेको किन नि फेरि ?

मैले कुमले ती कलाकार बहिनीलाई ठेल्दै साउती मारें- तिम्रो फोन माग । तर ती प्रहरीले भने हामीलाई मतलब नै गरेनन् । घरी फोन चलाउँथे, घरी बाहिर हेर्थे । हामीले केही सोध्न खोजे पनि नसुनेझैं गर्न थाले । खोइ कोसँग पो हो, मेयर भएको पार्टी कहिले त भन्दै फोनमा गफिन थाले ।

मैले अलिकति झर्केको स्वर निकालेर बोलाएँ- ‘स…अ…र’

सुनेनन् या नसुने झैं गरे ।

फेरि बोलाएँ- ‘ए… स…अ..र ।’

बल्ल बोले र्झकंदै- ‘जानुस् ! तपाईंहरूको प्रमाण पुग्दैन । ती फोटोहरू अरूहरूलाई पठाएको भन्ने प्रमाण के छ ? त्यो चाहियो नि !’

उसको जीवन सिध्याउँछु, तेरो सबै कुरा भाइरल गर्छु भनेर पठाएको भ्वाइस वा एसएमएस चाहिं प्रमाण थिएन र ? उनको त्यो रुखोपन देखेर हामीलाई सहयोग गर्लान् जस्तो नै लागेन ।

अनि काठमाडौंका सिडिओ गोविन्द रिजाल सरलाई फोन लगाएँ- ‘सर, मलाई साइबर ब्युरोमा कसैसँग कम्युनिकेसन गराइदिनुहुन्छ कि भनेर । उहाँले पनि हुन्छ त्यहाँ जो भए पनि मेरो नाम लिएर भेट्न भन्नुभयो ।’

प्राधिन ताम्राकारलाई हामीले त्यसैगरी भेट्यौं । सुरुमै मैले सोधें, ‘हामीसँग भएका यी प्रमाण काफी छैनन् ? अरू केही जुटाउनुपर्छ ?’

उनले भने, ‘प्रमाणहरू भनेकै यही त हुन् नि ! यसैलाई राखेर दार्ता गराउनुस्, आवश्यक सहयोग चाहिएमा भन्नुहोला ।’ प्रहरी प्रशासन भित्र पनि सबै असहयोगी त कहाँ हुने रहेछन् र ? सोचें- एउटा केस दर्ता गर्न खोज्दा त प्रमाण भएर पनि पुगेन भनिन्छ, पावर लगाउनुपर्ने रहेछ । यहाँ सर्वसाधारण कैयौंको हालत कस्तो होला विचरा ।

हामी सँगै छँदा पनि त्यो मान्छे तारन्तार कलाकार बहिनीलाई दुःख दिइरहेको थियो, उसैको फोन आइरहेको थियो । ‘हेर्नु न उसको एसएमएस । ओ माइ गड ! के गर्ने अब ?’ उनले अत्तालिंदै मोबाइल मेरो हातमा दिइन् ।

मैले एसएमएस हेरें । ल्ोखिएको थियो, ‘गर्छस् मेरो डिम्ाान्ड पूरा ? ओइ किन भनेको मान्दिनस् ? इन्टरनेटमा राखिदिऊँ फोटो ?’

उसको त्यो एसएमएसले रिस उठायो । मलाई उसलाई रोक्नु थियो । मैले लेखें, ‘तपाईं फेक आईडीबाट अरूलाई दुःख किन दिंदै हुनुहुन्छ ? अहिलेसम्म उसले टर्चर लिई अब टर्चर लिने पालो तपाईंको ? अरूको लाइफ सिध्याएर के पाउनुहुन्छ ? कस्तो डिमान्ड भनेको ? तपाईं को हो हामीले पत्ता लगाइसक्यौं ।’

रिप्लाइ आयो- ‘को हो र तपाईं ?’

मैले भने- ‘जर्नालिस्ट । अब तपाईंको बारेमा रवि लामिछाने दाइको कार्यक्रममार्फत बज्नेछ ।’

सबै तयारी भएको पनि सुनाएँ । बल्ल ऊ डराउन थाल्यो । अरू साथीहरूको आईडीबाट पनि कहिले सम्झाउन थालें त कहिले धम्क्याउन । नेपाली हो भन्ने थाहा भयो भ्वाइस र रोमनमा टाइप गरी पठाएको एसएमएसबाट । तर को हो, कहाँको मान्छे भन्ने थाहा भएन ।

रविको नामले मात्रै पनि मानिस डराउने रहेछन् । कानुनी प्रक्रिया पूरा हुन्जेलसम्म सायद त्यो बहिनीको जिन्दगी पनि बर्बाद भइसक्थ्यो होला । कानुनको डरभन्दा रविको डर मान्दा रहेछन् । रवि दाइ ! तपाईंका कारण न्याय मिल्थ्यो । पत्रकारिता क्षेत्रबाट नै विश्राम लिनुभयो । राजनीतिमा होमिनुभएको छ । अब धेरैले त्यो क्षण सम्झनेछन् । सरी दाइ ! मैले कसैको जीवन जोगाउन तपाईंको नाम लिएर थर्काएँ । त्यो परिस्थितिमा मेरो मनले जे सही भन्यो, त्यही गरें । म गलत थिएँ भने माफ गर्नुहोला । तर मेरो दीपक बोहोरा दाइसँग भने कुरा भएको थियो ।

यही आइतबार बिहान ती कलाकार बहिनीको फोन आयो । अत्तालिंदै भनिन्- ‘दि ! दिलमाया सुनार दिदीले त आत्महत्या गर्नुभएछ ।’

ब्युँझिएको त थिएँ, तर ओछ्यानमै मोबाइल चलाइरहेको बेलामा उनको फोन आएको थियो । ‘हो र ? बिहान-बिहान कस्तो अप्रिय खबर सुनायौ । ओ गड !’

उनले भनिन्- ‘आत्महत्या नि भन्छन् फेरि कतिले हत्या नि ? प्रहरीले केही पत्ता लगाउलान् नि !’

फेरि उनले थपिन्- ‘थ्याङ्स दिज्यू ! हजुरका कारण मेरो हालत दिलमाया सुनार दिदीको जस्तो भएन । जे गल्ती भयो अब गर्दिनँ । जो-कोहीलाई विश्वास पनि गर्ने छैन । अब त म कहिल्यै मर्ने कुरा पनि सोच्दिनँ ।

तपाईंको हौसला र साथ नपाएको भए यति बेला म आत्महत्या गरिसकेकी हुन्थें । मेरो जीवन त कहाँ फर्कन्थ्यो र ?’

हुन त मैले त्यस्तो धेरै सहयोग केही गरेको थिइनँ । तर कसैको जीवन जोगियो । कसैको बाबा-आमाको काख रित्तिन पाएन । देशको कलाकारिता क्षेत्रमा थप क्षति हुन पाएन ।

दिलमाया सुनारको दुःखद खबरले मन अशान्त थियो नै । ती कलाकार बहिनीमा पलाएको आत्मविश्वास र बढेको हिम्मतले भने मनमा खुसीको सञ्चार पनि भइरहेको थियो ।

‘तपाईंको गुनको उपहार के दिउँ दिज्यू ?’ उनले सोधिन् ।

मैले भनें- ‘मागेको दिन सक्छौ ?’

उनको जवाफ आयो- ‘मागेर त हेर्नु ।’

मैले भनें- ‘उसो भए तिमी अब अरू कोहीलाई हिम्मत बढाउन प्रेरणा देऊ । जो कोही नारीमाथि हिंसा हुन्छ भने कायर बनाउने होइन, कानुनी बाटो हिंड्न प्रेरणा देऊ । तिम्रो कारण अरू कोहीको जीवन र सकारात्मक सोचमा परिवर्तन होस् । अझै अघि बढ हिम्मत लिएर । तिमीलाई मेरो आशीर्वाद बुनु ।’

छिट्टै भेट्ने शर्तमा हाम्रो संवाद टुंगियो ।

त्यसपछि पनि जीवनका अन्य परिघटनाहरू मेरो मानसपटलमा छचल्किए । केही समयअघि मेरै छिमेकी बहिनी पर्नेलाई पनि पूर्व प्रेमीबाट ब्ल्याकमेल भइरहेको रहेछ । मलाई कसैले म्यासेन्जरमा तपाईं फलानोलाई चिन्नुहुन्छ ? भनेर सोध्यो । चिन्छु, भन्नुस् भने । अझै यो कस्ती रहेछ हेर्नुस् र चिन्नुस्, भनेर केही फोटाहरू मेरो म्यासेन्जरमा पोस्ट गर्छु भन्दै थियो त्यो मान्छेले ।

मैले थर्काएँ । साइबर क्राइममा उजुरी दिन्छु भनेर चेतावनी दिएँ । त्यसपछि सरी, अबदेखि त्यसो गर्दिनँ, उजुरी दिने कुरा नगर्नुस् भनेर डरायो र पछि हट्यो ।

मैले त्यसो नभनी ए है, त्यो केटी त लास्टै खराब है भनेर सही थापेको भए उनको पनि हालत कस्तो हुनेथियो होला ?

यी त केही उदाहरण मात्रै हुन् । साइबर अपराध रोक्न हामीले प्रयास नगरे यस्ता घटना भइरहन्छन् । न्याय प्रणाली चुस्त र दु्रत होस् । हामी पनि जान या अन्जानमा कुनै पनि ब्ल्याकमेल गर्न सक्ने ठाउँ नदिउ“m । आफ्ना व्यक्तिगत फोटो या भिडियो अरूलाई सेयर नगरौं । अनि भोलि हुन सक्ने मानसिक तनावको कारक तत्व आफैं नबनौं । विश्वास त्यति हदसम्म पनि कसैमाथि नगरौं ।

कोही मरिसकेपछि उसलाई सहानुभूति दिएर के काम ? यति लेख्दै गर्दा मनमनै सोचें- समाज कता जाँदैछ । बाँच्न प्रेरणा नदिने यही समाज मरेपछि किन बिचरा भन्छ होला ? किन सहानुभूति दिन खोज्छ ? समाज हाम्रै हो । हामी आफू सुधि्रए समाज सुध्रन्छ । कोही नारी श्रीषा कार्की बन्नु नपरोस् । आत्महत्या समस्याको समाधान होइन, समस्याको कानुनी समाधान खोजौं । समाजमा मनोपरामर्श सेवा विस्तार गरौं । ताकि अपि्रय घटनाहरू सुन्नु-देख्नु-भोग्नु नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?