+
+

मृतक रमाका बाआमा भन्छन् : घरको दियो निभ्यो, खम्बा ढल्यो

अंगद सिंह अंगद सिंह
२०७९ असार १९ गते १८:३८
कल्पना र ईन्द्र

१९ असार, काठमाडौं । काभ्रे तेमालकी २१ वर्षकी रमा रायमाझी डेढ वर्षदेखि काठमाडौं वुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा काम गर्थिन् । काम गरेर सोही स्कुलमा बहिनीको पढाइ खर्च व्यहोरेर घरमा बाबुआमालाई पैसा पनि पठाउँथिन् ।

उनले काम गर्न थालेदेखि बाबु ईन्द्र* र आमा कल्पना*लाई धेरै भरथेग भएको थियो । तर अब ईन्द्र र कल्पनाकी  प्यारी रमा रहिनन् । उनी आफूले काम गर्दै आएको केएमसी स्कूलकै होस्टलमा झुण्डिएको अवस्थामा भेटिइन् ।

छोरी रमाको मृत्युको खबर सुनेपछि शनिबार राति नै तेमालबाट रायमाझी दम्पती काठमाडौं आइपुगेका छन् । स्कुल बाहिर छोरीको शव कुर्दै यी दम्पतीले गरेको बिलौनाले त्यहाँ पुग्ने जो कोहीको पनि आँखा रसाएको छ ।

‘मेरो त घरको दियो निभेको छ । पिलर ढलेको छ । सहारा गुमेको छ आशाका किरण बिलाएका छन्’, मृत्युको १८ घन्टासम्म पनि छोरीको शव हेर्न नपाएका ईन्द्र प्रहरीलाई अनुनय विनय गर्छन्, ‘म पनि तपाईंहरु जस्तै कसैको बुवा हुँ, ज्यूँदो त देख्न पाइनँ पाइनँ, मरेको लास हेर्न आएको छु मलाई मेरी छोरी हेर्न दिनुस् ।’

रमाको शव झुण्डिएको अवस्थामा फेला परेको भए पनि प्रहरीले मृत्युको कारण पत्ता लगाएको छैन । आफन्तले निष्पक्ष अनुसन्धान र न्यायको ग्यारेन्टी नगरी शव नउठाउने अडान लिएका छन् ।   त्यसैले प्रहरीले घटनास्थलमा कसैलाई छिर्न दिएको थिएन ।

‘मेरो मुटुको टुक्राको हत्या भएको छ । सधैं भरलाई घरको दियो निभेको छ । बल्लबल्ल छाउन थालेको खुसी लुटिएको छ । अन्तिम पटक लास त हेर्न दिनुस्’, बोल्दा घाँटी सुकिरहेको छ ईन्द्रको । उनी बेलाबेला पानी खोज्छन् र फेरि बर्बराउन थाल्छन्, ‘छोरीलाई न्याय चाहियो । मेरी छोरीले के गल्ती गरी ?’

सहर चिनेकी–जानेकी र घरको अवस्था बुझेर काम गर्न थालेकी छोरीको मृत्यु भएपछि रायमाझी दम्पतीको सपना टुटेको छ ।

गाउँमा खेती किसानी र ज्याला मजदुरी गरेर गुजारा गर्दै आइरहेका थिए रायमाझी दम्पतीले । तर त्यतिले मात्रै घर खर्च धान्न सकिने अवस्था थिएन । त्यही अवस्था पार लगाउन मेहनत गरिरहेकी थिइन् रमा ।

रमाको सम्झनामा ब्याकुल भएको मन शान्त पार्न रायमाझी दम्पती बेलाबेला एक अर्काको हात समाउँदै शान्त हुने कोसिस गर्छन् । तर मन बुझाउने कसरी ? एक अर्कालाई हेर्दै उनीहरुका आँखामा आशु टिल्पिलाउँछन् ।

सुक्क सुक्क गर्दै पीडाले छटपटाइरहेकी कल्पना बेलाबेला मुर्छा पर्छिन् । उनलाई आफन्त तथा छोरीहरुले बेलाबेला पानी पिलाइरहेका छन् । पानी छम्किरहेका छन् र हावा लगाइदिँदै छन् ।

मुर्छाबाट ब्यूँझएिकी कल्पना सुक्कसुक्क गर्दै श्रीमानको काखमा टाउको राख्छिन् । छोरीलाई न्याय दिलाउन उनले ईन्द्रसामु बिन्ती बिसाइरहेकी छिन् । सायद आफू भन्दा श्रीमानप्रति बढी विश्वास र भरोसा छ कल्पनाको ।

छोरीको मृत्युले कल्पनाको मन निचोरिएको छ । शनिबार रातिदेखि आँखाबाट आँसुका धारा बगिरहेका छन् । ‘मेरी छोरीले कसको के बिगारेकी थिई र ज्यानै लिनुपर्‍यो । गल्ती गरेको भए हामीलाई भनेको भए हुन्थ्यो ज्यानै त नलिइदिएको भए हुन्थ्यो । मेरो त सहारा नै खोसियो । अब मैले छोरी कसलाई भन्नु ?’ हात पिट्दै उनी भनिरहेकी छिन् ।

काभ्रेमा खेतिपाती र ज्याला मजदुरी गरेर गुजरा गर्छन् रायमाझी दम्पती । उनीहरु पैसा र राज्य शक्ति नभएकाले छोरीको मृत्युको अनुसन्धान नहुने हो कि भन्ने आशंका गर्छन् ।

‘बाटोमा प्लाष्टिक टिपेर, ज्याला मजदुरी गरेर गुजारा गर्ने भुईंमान्छे हौं । हामीसँग न पैसा छ न त आफ्ना मान्छे,’ ईश्वर भन्छन्, ‘कुन पापीले छोरीको हत्या गर्‍यो खोजिदिनुस् ।’

आमा कल्पना भक्कानिन्छिन् र भन्छिन्, ‘म एक आमा हुँ एक महिला हुँ । मेरो पनि मन छ छोरीलाई न्याय दिनुस् ।’

तीन छोरी र एक छोरा छन् रायमाझी दम्पतीका । रमाका दाइ हुन् रावण । काठमाडौंमा बस्दै आएका उनी आमाबुवालाई आफू हुँदासम्म चिन्ता नगर्न सान्त्वना दिइरहेका छन्, तर बेलाबेला आफैँ सुक्कसुक्क गर्न थाल्छन् ।

छेउमै रहेका बहिनीहरु गोमा र रविनाको स्थिति पनि उस्तै छ । उनीहरुलाई हिम्मत नहार्न बा आमालाई आग्रह गरिरहन्छन् । तर मन न हो कहाँ मान्छ र ! २१ वर्षीया जवान कमाउने छोरी जो गुमाएका छन् ।

रावण बहिनीको हत्या भएको भन्दै कुनै बेला आक्रोशित हुन्छन् त कुनै बेला बोल्न नसक्ने । ‘गरिब भनेर हेप्न, दबाउन खोजिएको छ । तर बहिनीले न्याय पाउनुपर्छ प्रहरीले हत्यारा पत्ता लगाएर कारबाहीको दायरामा ल्याउनु पर्छ’ राताम्मे अनुहार लिएर रावण भनिरहेका छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर 

* यसअघि नाम अन्यथा परेकोले सच्याइएको छ ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?