+
+

माओवादीमा कांग्रेससँगको सम्बन्ध तोड्न सुझाव

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असार २० गते २१:०५

२० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि पार्टी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पेस गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमाथि छलफल भयो ।

छलफलमा सहभागी केन्द्रीय सदस्यले पार्टीको पदाधिकारी, स्थायी कमिटी, पोलिट्व्यूरो लगायतका संरचना बनाउनुपर्ने विषय उठाएनन्, बरु सत्तारुढ गठबन्धन, आगामी चुनाव लगायतका विषयमा धारणा राखे ।

सोमबार ४६ केन्द्रीय सदस्यले धारणा राखेकामा केहीले मात्र पदाधिकारी चयनको विषय उठाएका थिए । अखिल क्रान्तिकारीकी अध्यक्ष समेत रहेकी पञ्चा सिंहले चार पाँच दिन बैठक लम्ब्याएर भए पनि पदाधिकारी टुंग्याउनुपर्ने माग गरिन् । ‘चार पाँच दिन बैठक लम्ब्याएर भए पनि पदाधिकारीको टुंगो लगाउनुपर्छ,’ उनको भनाइ थियो, ‘यो भद्रगोल अवस्था कतिदिन राख्ने ?’

पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले पनि पदाधिकारी टुंग्याउनुपर्ने माग गरेका थिए । छलफलको अन्तिमतिर बोलेका गजुरेलले अध्यक्षले पदाधिकारी प्रस्ताव गनुपर्नेमा जोड दिएका थिए । ‘अब स्थायी, पोलिटब्युरो र पदाधिकारी बनाउनुपर्छ,’ उनको माग थियो, ‘अध्यक्षले यही बैठकमा प्रस्ताव पेस गर्नुपर्छ । केन्द्रीय समितिको प्रस्ताव अध्यक्षले पेस गर्दा मान्य हुने, पदाधिकारी मान्य हुँदैन भन्ने के छ ?’

केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले कम्युनिष्टसँगको सहकार्यलाई जोड दिनुपर्ने र कांग्रेससँगको सम्बन्ध अन्त्य गर्नुपर्ने विचार राखेका थिए । ‘कांग्रेस राष्ट्रवादी शक्ति हो भनेर माओवादीले बोकेर हिँड्नु हुँदैन,’ न्यौपानेले भने ।

माओवादी केन्द्रको गत पुस ११ देखि १८ सम्म काठमाडौंमा भएको आठौं महाधिवेशनले केन्द्रीय सदस्य मात्र चयन गरेको थियो । विधान अनुसार केन्द्रीय समितिबाट पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो लगायतका संरचना बनाउनुपर्ने भए पनि महिनौंदेखि यो काम हुन सकेको छैन ।

कांग्रेससँगको सम्बन्ध तोड्न सुझाव

कतिपय केन्द्रीय सदस्यले नेपाली कांग्रेससँगको सहकार्यलाई लिएर पनि प्रश्न उठाएका थिए । केन्द्रीय सदस्य परशुराम तामाङले नेपाली कांग्रेससँगको सहकार्य कति लामो हो भन्दै प्रश्न उठाएका थिए ।

पार्टीको रणनीति समाजवाद पुग्ने रहेको भन्दै तामाङले कांग्रेसँग सहकार्य गरेर समाजवादमा नपुगिने धारणा राखे । ‘नेपाली कांग्रेससंगको सहकार्य कति लामो हो ?’, उनको प्रश्न थियो, ‘हाम्रो एउटा रणनीति छ । तर कांग्रेससँग सहकार्य गर्छौं भने हाम्रो नीति कसरी कार्यान्वयन हुन्छ ? यो गम्भीर छलफलको विषय हो ।’ तामाङले गठबन्धन गरेर नेपाली कांग्रेसले धेरै प्रगति गरेको तर माओवादीले खासै प्रगति गरेको नदेखिएको दावी गरे ।

अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले कम्युनिष्टसँगको सहकार्यलाई जोड दिनुपर्ने र कांग्रेससँगको सम्बन्ध अन्त्य गर्नुपर्ने विचार राखेका थिए । ‘कांग्रेस राष्ट्रवादी शक्ति हो भनेर माओवादीले बोकेर हिँड्नु हुँदैन,’ न्यौपानेको भनाइ थियो, ‘कम्युनिष्टसँगको सहकार्यलाई जोड दिनुपर्छ । कांग्रेससँगको सम्बन्ध अन्त्य गर्नुपर्छ ।’

केन्द्रीय सदस्य ओम शर्माले कांग्रेसको तालमेलमा मात्रै भर पर्न नहुने भन्दै तालमेल गरेर जाने भए चुनाव अगाडि शक्ति बाँडफाँटमा ‘जेन्टलमेन एग्रिमेन्ट’ गर्नुपर्नेमा जोड दिएका थिए ।

‘तालमेलमा हामी कांग्रेससँग मात्र भर पर्नुहुँदैन,’ शर्माको भनाइ थियो, ‘स्थानीय तहको मोडालिटीमा तालमेल जाँदा कांग्रेस बहुमतको नजिक पुग्न सक्छ । त्यसकारण तालमेलमा अलि फराकिलो सोच राख्नुपर्छ । कांग्रेससँग तालमेल हुन नसक्ने ठाउँमा अन्य विकल्प खुला राख्नुपर्छ ।’

उनले अगाडि भने, ‘यदि कांग्रेससँग तालमेल गर्ने हो भने चुनाव अगाडि नै सातै प्रदेशका मुख्यमन्त्री, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिसम्मको भागबन्डामा पहिला नै ‘जेन्टलमेन एग्रिमेन्ट’ गर्नुपर्छ ।’

वागमती प्रदेशका आर्थिक मामिला मन्त्री समेत रहेका केन्द्रीय सदस्य शालिकराम जमकट्टेलले गठबन्धनले माओवादीलाई खासै फाइदा नगरेको भन्दै आफ्नै शक्ति बढाउनुपर्नेमा जोड दिए । ‘गठबन्धनले फाइदा गरेको भन्ने मलाई लाग्दैन,’ उनको भनाइ थियो, ‘यसले हामीलाई हानी मात्रै गरेको छ । हामीले आफ्नो शक्ति जतिसक्दो बढाउने हो ।’

बैठकमा केन्द्रीय सदस्य देवी खड्काले भने स्थानीय चुनावमा एक्लै लडेको भए पनि हुने भए पनि संघीय चुनाव एक्लै लड्नु उचित नहुने भनाइ राखिन् । ‘स्थानीय चुनाव एक्लै लडेको भए ठीक हुन्थ्यो,’ उनको भनाइ थियो, ‘अहिले एक्लै लडनुपर्छ भन्नु ठीक हुदैन ।’

कांग्रेसले आफ्नै उम्मेदवारलाई समेत मत नहालेको भन्दै खड्काले गठबन्धनका सबै उम्मेदवारलाई मत हालेन भनेर गुनासो गर्नुको अर्थ नहुने बताएकी थिइन् । ‘कांग्रेसले आफ्नै उम्मेदवारलाई मत हाल्दैन । गठबन्धका सबैलाई हाल्नुपर्छ भन्ने छैन,’ उनको भनाइ थियो ।

माओवादी पुनरोदयको कुरा

चुनावअघि नै वाम पार्टीहरुबीच तालमेलको कुरा उठिरहेका बेला माओवादी पुनरोदयको कुरा समेत बैठकमा उठेको छ । केन्द्रीय सदस्य डिपी ढकालले यो केन्द्रीय समिति बैठकले माओवादी पुनरोदयबारे प्रष्ट सन्देश दिनुपर्ने धारणा राखे ।

‘यो केन्द्रीय समितिको सबैभन्दा ठूलो चुनौती यो हो कि माओवादी पार्टी आफ्नो खुट्टामा उभिने मात्र हैन पुनरोदय सम्भव छ भन्ने सन्देश दिन सक्नुपर्दछ,’ उनको भनाइ छ, ‘यो केन्द्रीय समितिलाई माओवादीको पुनरोदय कत्तिको सम्भव छ भन्ने कुरामा आत्मविश्वास कति पैदा हुन्छ भन्ने सवाल आजको पार्टी निर्माणको पेचिलो सवाल हो । जारी केन्द्रीय समितिको बैठकले यो सवालको प्रष्ट जवाफ दिएर निस्कनु पर्छ ।’

उनले छरिएका कम्युनिष्टहरुबीच एकताको नीति सही भए पनि पार्टीको पहिचान नै मर्नेगरी हुने एकताले समस्या पार्ने धारणा समेत राखे । ‘विभिन्न समूहमा छरिएका कम्युनिष्टहरुको एकतालाई समेट्ने हाम्रो नीति सही हुँदाहुँदै पनि पार्टीको धार नै भुत्ते हुने र पार्टीको पहिचान नै मर्नेगरी गरिने एकता वा धु्रवीकरणले समस्या पार्नेरहेछ भन्ने कुरा व्यवहारबाट पुष्टि भइसकेको छ,’ ढकालको भनाइ भनाइ छ, ‘तसर्थ पार्टीको नेतृत्व र राजनीतिक धार स्थापित हुनेगरी धु्रवीकरण र एकतामा जोड दिनुपर्छ ।’

नेता मातृका यादवले भने स्थानीय चुनावका बेला मधेश प्रदेशमा अन्तर्घात भएकोबारे कुरा उठाएका थिए । ‘मधेशमा अन्तर्घात धेरै भयो र पार्टी पराजित भयो भनिन्छ,’ यादवको भनाइ थियो, ‘ममाथि नै अन्तर्घातको आरोप पनि लागेको छ । अन्तर्घाती भएर बैठकमा छु । ममाथि छानबिन होस् ।’

अहिलेको सरकार गठबन्धनको नभएर कांग्रेसको मात्रै भएको उनको आरोप छ । ‘साच्चै गठबन्धनको सरकार हो भने जनयुद्धका शहीदलाई भोलि नै शहीद घोषणा गरोस्,’ यादवको भनाइ छ ।

आफ्नो प्रतिवेदनमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रचण्डले मंगलबार बिहान ११ बजे दिने भएका छन् । त्यसअघि उनले पूर्व स्थायी समिति सदस्यको बैठकमा आफूले दिने जवाफबारे छलफल गर्ने नेताहरुले बताएका छन् ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?