+
+

रुट र बेरस्टोको शतकमा इंग्ल्याण्डको कीर्तिमानी जित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १८:३९

२१ असार, काठमाडौं । जो रुट र जोनी बेरस्टोको शतकमा इंग्ल्याण्डले पाँचौ टेष्टमा भारतलाई ७ विकेटले पराजित गरेको छ ।

रुट र बेरस्टोको जोडीले चौथो विकेटका लागि अविजित २६९ रनको साझेदारी गरेपछि इंग्ल्याण्डले ३७८ रनको लक्ष्य पाँचौ दिन पूरा गरेको हो ।

टेष्ट क्रिकेटमा इंग्ल्याण्डले भेट्टाएको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो । समग्र टेष्ट इतिहासमा पूरा गरेको यो नवौँ ठूलो लक्ष्य हो । इंग्ल्याण्डले यसअघि २०१९ मा अष्ट्रेलिया विरुद्ध ३५९ रनको लक्ष्य पूरा गर्दै खेल जितेको थियो ।

एडबास्टनमा चौथो दिन २५९-३ को अवस्थामा रहेको इंग्ल्याण्डलाई अन्तिम दिन जितका लागि
११९ रन आवश्यक थियो । रुट र बेरस्टोले उत्कृष्ट ब्याटिङ गरेपछि इंग्ल्याण्डले सहजै जित हात पारेको हो ।

दुवै इनिङ्समा शतक बनाउने क्रममा बेरस्टोले अविजित ११४ रन बनाए । उनले १४५ बल खेलेर १५ चौका र १ छक्का प्रहार गरे । रुटले १७३ बल खेल्दै १९ चौका र १ छक्का मद्दतमा अविजित १४२ रन योगदान गरे ।

यस्तै ओपनर एलेक्स लिजले ५६ र ज्याक क्रावलेले ४६ रन जोडे । भारतका कार्यबाहक कप्तान जसप्रित बुमराहले २ विकेट लिए ।

पहिलो इनिङ्समा ४१६ रन बनाएको भारतले दोस्रो इनिङ्समा २४५ रन बनाएको थियो । इंग्ल्याण्डले पहिलो इनिङ्समा २८४ रन बनाएको थियो ।

यसअघि इंग्ल्याण्डले न्युजिल्याण्ड विरुद्ध टेष्टमा २७७,२९९ र २९६ रनको लक्ष्य चौथो इनिङ्समा पूरा गर्दै जित निकालेको थियो ।

नयाँ कप्तान बेन स्टोक्स र प्रशिक्षक बेन्डन म्याकलमको उत्कृष्ट मिश्रणमा इंग्ल्याण्डले टेष्ट क्रिकेट नयाँ उचाइ हासिल गरेको छ ।

यस जितपछि इंग्ल्याण्डले पाँच खेलको शृंखला समेत २-२ को बराबरी गर्न सफल भएको छ । भारतीय क्याम्पमा कोभिड-१९ केस देखिएपछि गत समरमा स्थगित भएको टेष्टको पाँचौ खेल अहिले भएको हो ।

इंग्ल्याण्डले अर्को टेष्ट अगष्टमा दक्षिण अफ्रिकासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?