+

रुघाखोकी र ज्वरोको प्रकोप : मौसमी संक्रमण कि कोरोना ?

२०७९ असार  २२ गते १२:४९ २०७९ असार २२ गते १२:४९
रुघाखोकी र ज्वरोको प्रकोप : मौसमी संक्रमण कि कोरोना ?

सबैभन्दा बढी देखिने स्वास्थ्य समस्यामा पर्छ रुघाखोकी र ज्वरो । पछिल्ला केही दिन रुघा लाग्ने, खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने लगायतका समस्या लिएर अस्पताल पुग्नेको संख्या बढ्दो छ ।

कोरोना संक्रमण हुँदा पनि रुघाखोकी र ज्वरोको लक्षण देखिने भएकाले महामारीका बेला मानिसहरु अस्पताल पुगिहाल्थे । तर अहिले कोरोना संक्रमण घटेसँगै मानिसहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा बेवास्ता गर्न थालेका छन् ।

अहिले मौसमी रुघाखोकीको सिजन नभएकाले यस्तो समस्या देखा पर्नुको कारण के हो ? यो समस्याबाट बच्न के के कुरामा ध्यान दिनुपर्छ ?

रुघाखोकीको सिजन होइन

सामान्यतया मौसम परिवर्तन हुने समयमा र जाडो मौसममा रुघाखोकी र ज्वरोको समस्या देखिन्छ । अहिले रुघाखोकीको सिजन त होइन, तर धेरै जनामा रुघाखोकी र ज्वरोको समस्या भने देखिइरहेको छ ।

कोरोना हुनसक्छ

अहिले छिमेकी मुलुकमा कोरोना महामारी तीव्र रूपमा फैलिएको छ । नेपालमा पनि संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । र, अहिले रुघाखोकी लाग्ने सिजन पनि नभएकाले यो कोरोनाको प्रारम्भिक लक्षण हुनसक्छ । रुघाखोकी र ज्वरो कोरोनाको प्रारम्भिक लक्षणको रूपमा देखिएको पछिल्ला उदाहरण पनि छन् ।

कोरोनाको पहिलो दोस्रो भेरियन्टमा पनि रुघाखोकी र ज्वरो प्रारम्भिक रूपमा देखिने लक्षण हो । गर्मी महिनामा पनि रुघाखोकी र ज्वरोको समस्या देखिएको छ भने त्यो कोरोना हुने सम्भावना धेरै छ ।

खोप नलगाएकालाई समस्या

कोरोनाको खोप नलगाएका व्यक्ति, बालबालिका र दीर्घ रोगीहरूमा संक्रमण देखिने सम्भावना बढी हुन्छ । किनभने खोप लगाइसकेका र पहिले नै संक्रमति भएकाहरू छन् उनीहरूको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । जसले गर्दा उनीहरूलाई कोरोनाको साथै सामान्य रुघाखोकीको भाइरसले पनि सजिलै गाल्न सक्दैन ।

अहिले नेपालमा ओमिक्रोनको टप भेरियन्ट फैलिरहेको छ । पहिले देखिएको ओमिक्रोन सब भेरियन्ट भन्दा  पनि यो सजिलै र चाँडो फैलिने र खोपले पनि त्यति राम्ररी काम नसक्ने हो कि भनेर विभिन्न अध्ययनले बताएको छ । तर यो भेरियन्टको विषयमा थप रिपोर्ट भने आउनै बाँकी छ ।

कति घातक ?

भाइरसहरू बेलाबेलामा परिवर्तन भइरहन्छन् । कहिलेकाहीं घातक पनि बन्न सक्छ, त्यसैले सतर्क हुन एकदमै जरुरी छ । सामान्य रुघाखोकी हो कि भनेर लापरबाही गर्न भने हुँदैन । कोरोना संक्रमणका कारण मृत्यु हुने मात्र होइन, पछि पोस्ट कोभिडको लक्षण पनि देखिने भएकाले पहिलो प्राथमिकता खोपलाई नै दिनुपर्छ ।

निमोनियाको भय

धेरै जनाले खोप लगाइसकेको हुनाले धेरै जटिल अवस्था त नआउला । तर कुनै व्यक्तिमा भने यो सामान्य रुघाखोकी बिग्रिएर निमोनिया नै हुन्छ । त्यसैले पहिले रुघाखोकी लागेको बेलामा विशेष ध्यान दिनुपर्छ । सामान्य रुघाखोकी हो कि कोरोना महामारी हो भनेर पत्ता लगाउन परीक्षण गर्नुपर्छ ।

परिवारका पाँच जना सदस्यलाई रुघाखोकी लागेको छ भने कम्तीमा दुई जनाले कोरोना परीक्षण गर्नुपर्छ । कोरोना खोप लगाएको छु वा पहिले संक्रमण भइसकेको छ भनेर लापरबाही पनि गर्नु हुँदैन । यसो गर्दा धेरै मानिसमा सजिलै फैलिने र ज्यान जान सक्ने जोखिम पनि हुनसक्छ ।

यसबाट बच्न के के कुरामा ध्यान दिनुपर्छ ?

यो कोरोनाको प्रारम्भिक लक्षण हुन सक्ने भएकाले सबैभन्दा पहिले त परीक्षण गर्नुपर्छ । परीक्षणमा कोरोना संक्रमण देखियो भने आइसोलेसनमा बस्ने, सामाजिक दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, हातको सरसफाइमा ध्यान दिने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।

कोरोना संक्रमण नदेखिएको खण्डमा पनि पहिले नै सचेत भएर स्वास्थ्यको मापदण्ड पालना गर्दा हैजाको जोखिम पनि कम हुन्छ । कसैले कोरोना खोप लगाउन छुटाउनुभएको छ भने वा बुस्टर डोज पनि लगाउन बाँकी छ भने लगाइहाल्नुपर्छ ।

(संक्रामक रोग विशेषज्ञ डा. अधिकारीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

ज्वरो डा. प्रभात अधिकारी रुघाखोकी
लेखक
डा. प्रभात अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय