+
+
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा‍. श्‍वेता सिंहसँग संवाद :

‘नेपाली दम्पतीले गर्भधारण गर्नुअघि योजना नै बनाउँदैनन्’

खेम रिसाल खेम रिसाल
२०७९ असार २९ गते ८:००

२९ असार, काठमाडौं । जब एउटी महिला गर्भवती हुन्छिन्, त्यसमा दुईथरी प्रतिक्रिया हुन्छ । एकथरी, जसले असीमित खुसी प्राप्त गर्छ । अर्कोथरीमा असह्य दुःखबोध पनि हुन्छ ।

यस्तो फरक स्थिति कसरी पनि सिर्जना हुन्छ भने कतिले योजना अनुरुप नै गर्भधारण गर्छन् भने कतिपयको असावधानीवस गर्भधारण हुनपुग्छ । असावधानीवस गर्भधारण भएमा गर्भपतनका केही विकल्प छन् । यद्यपि योजनावद्ध रुपमा गरिएका गर्भधारणले पनि दम्पतीलाई ढुक्क भने बनाउँदैन ।

गर्भको बच्चाको सग्लो जन्म होला ? यो प्रश्नले उनीहरुलाई बेलाबखत तर्साइरहन्छ । किनभने यसबेला ख्याल गर्नुपर्ने विषय गर्भावस्थाको सुरक्षित हेरचाह हो । आमाको शरीरको जति बढी ख्याल राखिन्छ, त्यति नै स्वस्थ बच्चा जन्मिन्छ । गर्भावस्थाको बेला गरिने सामान्य लापरवाहीले पनि बच्चालाई नराम्रो असर पुर्‍याउँछ ।

पछिल्लो समय निःसन्तानपनको समस्या भोग्ने दम्पती पनि धेरै छन् । स्वास्थ्यमा लापरवाही, उमेर लगायतका कारण यस्तो समस्या बढिरहेको चिकित्सक बताउँछन् । नेपाली दम्पती गर्भधारणदेखि गर्भधारणसम्मको विषयमा कत्तिको सचेत छन् ? गर्भावस्थामा लिनुपर्ने स्वास्थ्य परामर्श, पौष्टिक खाना लगायत कति पूरा गर्छन् ? निःसन्तान दम्पतीका लागि नयाँ नयाँ विधि के के छन् ? यिनै विषयमा केन्द्रित रहेर प्रसूति तथा स्त्रीरोग एवं निःसन्तानपन सम्बन्धी विशेषज्ञ डा. श्वेता सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईं प्रसूति तथा स्त्रीरोग एवं निःसन्तापन सम्बन्धी विशेषज्ञ चिकित्सक हुनुहुन्छ । धेरैजसो कस्ता बिरामी भेट्नुहुन्छ ?

आईभीएफ स्पेसलिस्ट (निःसन्तानपन सम्बन्धी विशेषज्ञ) भएरै अस्पतालमा ज्वाइन गरेको भएर होला धेरै बिरामी त निःसन्तानपनकै समस्याको परामर्शका लागि मकहाँ आउनुहुन्छ । त्योबाहेक सेतपानी बग्ने, एन्टिनेटर (प्रेग्नेन्सी चेक), महिनावारी हुँदा धेरै रगत जाने, पाठेघरमा मासु पलाउने जस्ता समस्या लिएर आउनुहुन्छ ।

यो महत्वपूर्ण पाटो हो, किनभने कुनै पनि महिला गर्भधारणका लागि पूर्णरुपमा ठीक छिन् कि छैनन् भन्नका लागि त्यसअघि नै केही स्वास्थ्य परीक्षण गरेर अघि बढ्दा उत्तम हुन्छ ।

विशेषगरी गर्भावस्थाको विषयमै कुरा गरौं । गर्भधारण गरिसकेपछिको गर्भावस्थालाई लिएर नेपाली दम्पती कति सचेत छन् ?

अहिले यो विषयमा अधिकांशले चासो दिनुभएकै हुन्छ । पौष्टिक खानपान, डाक्टरको सल्लाहलाई फलो गरिररहनु भएकै हुन्छ । तर एउटा समस्या भने अधिकांश दम्पतीमा छ, अनप्लान प्रेग्नेन्सी अर्थात् विनायोजना गर्भधारण । यसमा भने धेरै व्यक्ति सचेत भएको मेरो अभ्यासमा पाएको छैन ।

यो महत्वपूर्ण पाटो हो, किनभने कुनै पनि महिला गर्भधारणका लागि पूर्णरुपमा ठीक छिन् कि छैनन् भन्नका लागि त्यसअघि नै केही स्वास्थ्य परीक्षण गरेर अघि बढ्दा उत्तम हुन्छ । महिलाको स्वास्थ्य स्थिति कस्तो छ, धुम्रपान, मदिरा सेवन गर्ने गरेको छ भने स्वस्थ बच्चाका लागि घातक हुनसक्छ । त्यसैले गर्भधारण गर्नुअघि नै यी सबै कुरा गर्नु राम्रो हुन्छ ।

महिला गर्भाधानका लागि पूर्ण रुपमा स्वस्थ छिन् कि छैनन् भन्ने कुरा हेर्नुपर्ने हुन्छ । धुम्रपान, मदिरा सेवन गरेको छ कि छैन, शरीरको तौल कस्तो छ हेर्नुपर्ने हुन्छ । हेल्थी हुनुहुन्छ भने योजना बनाउँदा राम्रो हुन्छ ।

गर्भधारणको योजना अधिकांशले बनाउँदैनन् भन्ने हो ?

मैले एकदमै कम मात्रै देखेको छु, जसले योजना अनुसार गर्भधारण गर्छन् । शिक्षितमध्ये पनि मेरो अभ्यासमा १० प्रतिशत दम्पती प्लानिङ गर्छन् होला । नत्र अधिकांश त प्रेग्नेन्सीपछि मात्रै डाक्टरकहाँ आउने गर्छन् । यसरी बच्चा बसिसकेपछि अगाडिको परामर्शका लागि आउँदा उसमा कुनै संक्रमण समेत भइसकेको हुनसक्छ ।

सहरी क्षेत्रमा त उनीहरुले चासो नदिएको मान्न सकिएला । तर ग्रामीण र दूरदराजका दम्पतीमा स्वास्थ्य सेवामाथिको पहुँच नै कम छ, यस्तो चेतना पनि नहोला । उनीहरुले यसमा के गर्न सक्लान् ?

यो कुरा सोचनीय छ । योजना बनाएर मात्रै सन्तान जन्माउने प्रक्रियामा जानु अहिलेका लागि बुद्धिमानी हुन्छ, यसलाई नकार्ने कुरा पनि भएन । दुर्गम र ग्रामीण क्षेत्रमा दम्पतीलाई पनि हामीले मिडिया र विभिन्न सचेतनामूलक कार्यक्रमबाट थाहा दिनुपर्छ ।

गर्भावस्थासँगै पौष्टिक खाना पनि जोडिएर आउँछ । यसलाई नेपालीहरुले कति ध्यान दिएका छन् ?

गर्भवती भएपछि पहिलो तीन महिना त महिलालाई खानै मन नलाग्ने, वाकवाकी लाग्ने, गन्ध आउने जस्ता समस्या देखिने हुनाले पौष्टिक खानातिर ध्यान नै गएको हुँदैन । यसबेला फलिक एसिड भन्ने एक सप्लिमेन्ट (एक प्रकारको औषधि) सेवन गर्दा राम्रो हुन्छ । यसले आवश्यक पौष्टिक तत्व पनि प्रदान गर्छ । यसलाई गर्भवती हुनुभन्दा केही महिनाअघिदेखि नै प्रयोग गरे झनै लाभदायक हुन्छ ।

विपन्न वर्गका महिलालाई त दैनिक गुजारा नै त गाह्रो हुन्छ, उनीहरुले कसरी पूरा गर्ने ? दैनिक खानेकुराबाटै यसको परिपूर्ति गर्न सकिन्छ कि ?

गर्भवती अवस्थामा महंगा खानेकुरा नै खानुपर्छ भन्ने हुँदैन । आफ्नो गच्छेअनुसार दूध, दही खाने गर्नुपर्छ । आफ्नै बारीमा फल्ने ताजा फलफूल र सागसब्जी खाँदा पनि त्यो कुरा परिपूर्ति गर्न सकिन्छ । तर के भने अरुबेला भन्दा गर्भावस्थामा पौष्टिक खानेकुराको जोहो भनेर राम्रैसँग गर्नु आवश्यक छ ।

गर्भधारणका लागि कुनै निश्चित उमेर राम्रो भन्ने हुन्छ ?

सामान्यतया ३० वर्ष पुग्नुभन्दा अगाडि नै बच्चा जन्माउनु राम्रो भनेर हामी सुझाव दिन्छौं । यसका कारण छन्, ३०-३५ वर्षको उमेरपछि महिलामा अण्डा उत्पादन तथा भण्डार क्षमतामा कमी आउँदै जान्छ । साथै अण्डाको गुणस्तर पनि घट्दै जान्छ । त्यसैले ३० वर्षभन्दा अघि नै बच्चा जन्माउनु राम्रो, ढिलैमा पनि ३५ वर्ष नकटाउँदा राम्रो हुन्छ ।

तर आजकाल खानपान लगायत अन्य कुराले यसलाई प्रभावित बनाइरहेको हुन्छ । निश्चित उमेर भन्ने हराउँदै गएको छ । महिला पनि करिअर फोकस्ड हुँदा परिवारको योजना धकेलिंदै गएको देखिन्छ । यसले पछि बच्चा नै नबस्ने, बसिहाले पनि बच्चामा विभिन्न शारीरिक तथा मानसिक समस्या देखिने हुन्छ ।

पुरुषमा पनि यो कुरा लागू हुन्छ । पुरुषहरु सन्तान जन्माउन जहिल्यै सक्षम हुन्छ भन्ने पहिले सोचिन्थ्यो । तर पछिल्ला अध्ययनहरुले ४० वर्षभन्दा माथिका पुरुषमा यस्तो क्षमतामा ह्रास हुँदै जाने देखिएको छ । यो उमेरपछि शुक्रकीट उत्पादनमा कमी आउने, गुणस्तर पनि घट्दै जाने हुन्छ । यदि बच्चा भइहाले पनि समस्या देखिने, हातखुट्टा सानो सानो हुने जस्ता विकार बच्चा देखिन सक्छन् । त्यसैले मेरो सुझाव के हुन्छ भने सही उमेरमा विवाह गर्नु र सही उमेरमा बच्चा जन्माउनु अति उत्तम हुन्छ ।

अहिले धेरै दम्पती निःसन्तानपन अर्थात् बाँझोपनको समस्या भोगिरहेका छन्, उमेर त भनिहाल्नुभयो यसबाहेक बाँझोपन हुनुमा के के कुराले प्रभाव पार्छ ?

महिला र पुरुष दुवैको कुरा गर्दा सुरुमा त उमेरकै कुरा आउँछ । मैले अघि नै भनिसकें खास उमेरभित्रै दम्पतीले बच्चाको प्लान गरिहाल्नुपर्छ भनेर । उमेर बढ्दै जाँदा यसबाटै बाँझोपनको समस्या उत्पन्न हुने भइहाल्यो । अरु कुरा गर्दा अव्यवस्थित जीवनशैली, खानपान, प्रेसर, सुगर, थाइराइड जस्ता रोगका कारण पनि बाँझोपनको समस्या हुन्छ ।

यसै सम्बन्धी विशेषज्ञ भएको नाताले निःसन्तान दम्पतीलाई तपाईं के सुझाव दिनुहुन्छ ?

निःसन्तानपन देखिंदैमा आत्तिहाल्नुपर्दैन । पहिला यसका विकल्प थिएनन्, कि त बच्चा नभई बस्नुपर्‍यो वा महिलामा भए पुरुषले अर्को विवाह गरेर सन्तान जन्माउनुपर्ने भन्ने सोच र चलन पनि थियो ।

तर अहिले हामीसँग उपचार पद्धति छ । सन्तान नभएमा सबैभन्दा पहिले त विशेषज्ञ डाक्टरसँग परामर्श गर्नुपर्‍यो । कतिपय अवस्था यस्तो हुन्छ कि दम्पतीबीचमा शारीरिक सम्बन्ध बनाउने टाइमिङ नमिलेर पनि समस्या भएको हुन्छ । परामर्शबाट यसलाई सुल्झाउन सकिन्छ । अरु कुनै रोगका कारण हो भने सम्भव हुने रोगको उपचारमा लाग्दा राम्रो हुन्छ । त्यसबाट पनि नभएमा भने आईभीएफ प्रणालीमा जान सकिन्छ ।

आईभीएफ कस्तो विधि हो ? निःसन्तान दम्पतीले अरु धेरै उपचार नगरौं, सिधै टेस्टट्युब बेबीमा जाऔं भन्न सक्छन् वा यसको लागि पनि प्रक्रिया छ ?

धेरैजसो मानिसको कस्तो बुझाइ छ भने बाँझोपन सम्बन्धी डाक्टरलाई भेट्ने बित्तिकै आईभीएफतिरै लैजाने त होला भनेर सोच्नुहुन्छ । तर त्यस्तो गर्नुपर्दैन, अरु माध्यमबाट समाधान ननिस्किए मात्रै आईभीएफ अर्थात् टेस्टट्युब बेबीको विधिमा जाने हो ।

आईभीएफ विधि कत्तिको खर्चालु छ ?

यो विधि महंगो नै छ । तर पनि बाँझोपनको समस्याबाट पीडित दम्पतीलाई यो वरदान हो भन्ने सोच्नुपर्छ । नेपालमा दुईदेखि तीन लाख रुपैयाँमा आईभीएफबाट सन्तान जन्माउने प्रक्रिया पूरा हुन्छ ।

निःसन्तानपनको समस्यामा अहिले एउटा कुरा पनि देखिएको छ । विशेषगरी विदेशमा लामो समय बस्ने महिला वा पुरुषमा यस्तो समस्या धेरै देखिएको भन्ने आएको छ । त्यस्तो हो ?

महिलामा भन्दा पनि पुरुषहरुमा यस्तो समस्या बढी देखिएको छ । लामो समय गर्मी ठाउँमा काम गर्ने र बढी धपेडीमा काम गर्ने पुरुषहरुमा शुक्रकीट उत्पादन तथा यसको गुणस्तरमा कमजोरी देखिएको छ । यसलाई एक देशबाट अर्को देशभन्दा पनि हावापानी र खानपानमा परिवर्तन हुँदा भएको मान्न सकिन्छ ।

अनि विदेश गएर आउने महिलाहरुमा उमेरका कारण पनि बाँझोपन देखिएको छ । विदेशमा गएर आउँदा बच्चा हुने खास उमेर कटिसक्दा पनि समस्या देखिएको हो ।

अब गर्भाधानको समयमा के के कुरामा ध्यान पुर्‍याउनुपर्छ, बताइदिनुस् न ?

यसमा गर्भधारणको सुरुदेखि नै कुरा गर्दा उपयुक्त होला । गर्भधारण गर्नुभन्दा अगाडि नै श्रीमान श्रीमती दुवैले डाक्टरसँग परामर्श गर्ने, थाइराइड, प्रेसर, सुगर केही छ कि भनेर जाँच गर्ने गर्नुपर्छ । धुम्रपान, मदिरा सेवन गर्ने गरेको छ भने गर्भधारणको योजना बनाएपछि त्यसलाई छाड्नुपर्छ । तौलमा पनि विशेष ख्याल राख्नुपर्छ, धेरै मोटो भए वजन घटाउने र अत्यन्तै दुब्लो भए वजन बढाउनेतर्फ जानुपर्छ ।

यस्तै मैले माथि नै भने गर्भधारणको तीन महिना अघिदेखि नै फलिक एसिड सेवन गर्ने गर्नुपर्छ । सबै कुरा सकारात्मक आएपछि गर्भधारण गर्नु बुद्धिमानी हुन्छ ।

गर्भवती भएपछिको सुरुको तीन महिनामा एउटा भिडियो एक्सरे गर्नुपर्छ, जसबाट बच्चा पाठेघरमै छ कि छैन भन्ने थाहा हुन्छ । त्यसपछि भने आइरन क्याल्सियम बच्चा जन्मिने बेलासम्म खाइरहनुपर्छ । यसको कमी भएमा रगतको मात्रा कम हुन्छ, जसले बच्चालाई पनि असर गर्छ । त्यस्तै पौष्टिक तत्व भएका खाना खानुपर्छ । अनि डाक्टरले दिएको समयमा परामर्श तथा जाँचका लागि गइहाल्नुपर्छ । समयमा नआउँदा विभिन्न टेस्ट छुट्न सक्छन् । त्यसैले डाक्टरको सल्लाहलाई गम्भीरतापूर्वक पालना गर्नैपर्छ ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
खेम रिसाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?