+
+

खगेन्द्रको जन्मदिनमा ‘पानीफोटो’को ट्रेलर : संक्रमणकालीन न्यायमाथि प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १७:२१

काठमाडौं । खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मले दशक लामो सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोज्ने यात्रामा निस्किएको दम्पतीको कथा पेश गर्छ । झण्डै तीन मिनेट लामो ट्रेलरमा अनुप बराल, मेनुका प्रधान, मलिका महत र खगेन्द्र स्वयं फिचर्ड छन् ।

मर्मस्पर्शी ट्रेलरले बेपत्ता भएका परिवार र आफन्तको पीडा मात्र प्रस्तुत गर्दैन, सशस्त्र द्वन्द्वका पक्षलाई प्रश्न पनि गर्छ । संक्रमणकालीन न्याय अपूरै हुँदा बेपत्ता परिवारले भोग्नुपरेको हैरानीलाई फिल्मले चित्रण गरेको छ ।

खगेन्द्रकै कथा रहेको फिल्ममाथि यसअघि नाटक पनि मञ्चन भएको छ । मञ्जुश्री प्रोडक्सनको निर्माण रहेको फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै निर्देशक लामिछानेले सशस्त्र द्वन्द्वको कथामाथि अहिले पनि कथा भन्नु जरुरी रहेको भन्दै यसले सशस्त्र द्वन्द्वको औचित्यलाई प्रश्न गर्ने बताए ।

साउन १३ गते रिलिज हुने फिल्ममा रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपालको अभिनय छ । ट्रेलरअनुसार फिल्ममा अनुप र मेनुकाले दम्पतीको भूमिका निर्वाह गरेका छन् जो बेपत्ता छोरोको खोजीमा निस्किएका छन् ।

अनुप बराल निर्देशित फिल्म ‘दोख’ अहिले पनि हलमा प्रदर्शन भइरहेको छ । यही मेसोमा रिलिज भएको ‘पानीफोटो’ले पनि सशस्त्र द्वन्द्वको औचित्यलाई प्रश्न गर्छ । यही फिल्ममार्फत खगेन्द्र निर्देशनमा अघि बढेका हुन् । सोमबारदेखि उनी ४४ वर्ष पनि टेकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?