५ असार, हुम्ला । बाजुरा र हुम्लाको सीमाक्षेत्रमा सिमानाको विषयमा भएको विवादको घटनामा हुम्लाबाट २१ जना पक्राउ परेका छन् । बाजुराको हिमाली गाउँपालिकाका जनप्रतिनिधिसहितका व्यक्तिलाई बन्धक र सांघातिक आक्रमण गरेको आरोपमा हुम्लाको खार्पुनाथबा २१ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाजुरामा किटानी जाहेरी परेको थियो । सोही उजुरीका आधारमा शुक्रबार पक्राउ गरेर बाजुरा लगिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
बाजुरा र हुम्लाको सीमा क्षेत्र लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको विषयमा जेठ ३ गते विवाद हुँदा झडप भएको थियो । सो झडपमा बाजुरा हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमागारा गुरुङसहितका व्यक्ति बन्धक बनाएको आरोप हुम्लाका २३ जना स्थानीयमाथि लागेको छ ।
लाम्पाटा क्षेत्र आ–आफ्नो ठाउँमा पर्ने भन्दै बाजुरा र हुम्लावासीको दाबी रहँदै आएको छ । बाजुराबासीले त्यो क्षेत्र हिमाली गाउँपालिका–३ मा पर्ने दाबी गरिरहँदा हुम्लाबासीले खार्पुनाथ गाउँपालिका–३ मा पर्ने दाबी गर्दैआएका छन् ।
गाउँपालिका अध्यक्षविरुद्ध उजुरी
यता डिभिजन वन कार्यालय हुम्लामा बाजुराको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लसहित चारजना विरूद्व चोरी तस्करी गरेको आरोपमा उजुरी परेको छ ।
लाम्पाटा च्याँ चउर वन क्षेत्र हुम्लाको भूमि रहेको दाबी गर्दै अध्यक्ष मल्लसहितका व्यक्तिले त्यहाँको काठ र वन्यजन्तु तस्करी गरेको आरोपमा उजुरी हालिएको छ ।
डिभिजन वन कार्यालय हुम्लाका अनुसार हिमाली गाउँपालिकाका अध्यक्ष मल्ल, वडा नम्बर–३ का स्थानीय नरबहादुर गुरुङ, वडा सदस्य पेमा गारा गुरुङ र हिमाल गुरुङविरुद्ध उजुरी परेको छ ।
वडा सदस्य पेमा गारा गुरुङ घरबाट गोब्रे सल्लाका काठ काट्ने स्वचालित आरा २ थान, काठका फल्याक ७०० थान, राष्ट्रिय पंक्षी डाँफेको आधा शरीरको भाग, दुर्लभ जनावरको छाला भेटिएको उजुरीमा दाबी गरिएको छ ।
प्रतिक्रिया 4