+
+

पारलैंगिक कथावस्तुको फिल्म ‘गुलाबी’मा नाजिर हुसेन अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते ११:३९

काठमाडौं । ट्रान्सजेन्डर अर्थात् पारलैंगिक व्यक्तिको कथावस्तुमाथि फिल्म ‘गुलाबी’ निर्माण हुने भएको छ । समुन्द्र भट्टले निर्देशन तथा निर्माण गर्ने फिल्मको मुख्य भूमिकामा नाजिर हुसेन अनुबन्धित भएका छन् ।

निर्माण कम्पनी द स्काई ओसन इन्टरटेनमेन्ट र अभिनेता हुसेनबीच अनुबन्धन सम्झौतामा हस्ताक्षर भएको छ । नाजिरले पारलैंगिक व्यक्तिको भूमिकामा अभिनय गर्दैछन् भने उनको जोडीको खोजी भइरहेको छ ।

‘समाजमा तेस्रो लिंगी समुदायलाई हेर्र्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ भन्ने सन्देश दिन फिल्म निर्देशन गर्न लागेकी हुँ,’ चलचित्र निर्देशक समाजकी कोषाध्यक्ष समेत रहेकी भट्टले भनिन्, ‘उनीहरुलाई मानवीय रुपमा व्यवहार गर्नु जरुरी छ ।’

भदौ २१ गतेदेखि छायांकन सुरु हुने फिल्मको लागि नाजिर बाहेकका अन्य कलाकारको अडिसन सुरु हुँदैछ । अर्को एक प्रमुख भूमिकामा विशाल पहारी पनि अनुबन्धित भइसकेका छन् ।

चरित्र निर्माणका लागि नाजिरले १५ किलो तौल घटाउँदैछन् । उनी एक महिनादेखि यही चरित्रको लागि तौल घटाइरहेका छन् । युवतीजस्तो कम्मर बनाउन उनले प्रयास गरिरहेको निर्देशक भट्टले जानकारी दिइन् । नाजिरले तौल घटाएर ५० किलो बनाउनुपर्नेछ ।

फिल्मको पटकथा पनि नाजिर र निर्देशक भट्टले मिलेर लेखेका हुन् । आठ वर्षअघि ‘आधापेज’ निर्देशन गरेकी भट्ट यही फिल्मबाट पुनरागमनको तयारीमा छिन् ।

पछिल्लो समय नेपालमा पारलैंगिक समुदायमाथि फिल्म निर्माण हुने क्रम बढेको छ । सन् २०१२ मा सुवर्ण थापा निर्देशित ‘सुनगाभा : डान्स अफ द अर्किड्स’ मुलुकको पहिलो एलजीबीटीआई फिल्म थियो ।

सन् २०१९ को अगस्टमा नवल नेपाल निर्देशित अर्को पारलैंगिक फिल्म ‘मारुनी’ पनि प्रदर्शन भएको थियो । नेपालमा तेस्रो लिंगी पात्रलाई लिएर फिल्म त धेरै बनेका छन्, तर फिल्मको मुख्य कथावस्तुमा बन्ने चाहिं निकै थोरै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?