+
+

अहिले एमालेलाई धेरै प्रहार गर्न हुँदैन: माधव नेपाल

कांग्रेस-माओवादीलाई चेतावनी : हाम्रो शक्तिको अवमूल्यन नहोस्

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १४:५०

३१ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई प्रहार गर्न नहुने बताएका छन् ।

बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले एमालेले धेरै प्रहार नगरेकाले आफूहरूले पनि प्रहार गर्न नहुने बताए ।

‘अहिले धेरै किन भन्नु हुँदैन भने एमाले अहिले हामीलाई धेरै प्रहार गरिरहेका छैनन्’ उनले कार्यकर्तालाई भने, ‘धेरै प्रहार नगरिरहेको बेलामा हामीले पनि प्रहार गर्नुहुँदैन ।’

तर, आफूहरूले एकएक कुराहरू मसिनोगरी हेरिरहेको र कुनै पनि भुलभुलैयामा नपर्ने उनको भनाइ छ । भुलभुलैयामा पर्दा न घरको न घाटको हुने भएकोले यस्तो मुर्खतापूर्ण गल्ती कहिल्यै नगर्न अध्यक्ष नेपालले कार्यकर्ताले निर्देशन दिए ।

‘राजनीतिमा मान्छेले बाहिर र भित्रका सबै कुरा राम्ररी देख्न सक्दैन’ उनले अघि भने, ‘ठूलो हन्डर-ठक्कर खानुपर्छ । पछुताउने बाहेक अरु केही पनि हुँदैन ।’

उनले आफूहरूलाई कम आकलन गर्दा स्थानीय तह निर्वाचनमा सबैभन्दा ठूलो नोक्सानी भोगेको दाबीसमेत गरे ।

कांग्रेस-माओवादीलाई चेतावनी

कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रप्रति रोष प्रकट गर्दै चेतावनी समेत दिएका छन् ।

स्थानीय तह निर्वाचनमा कांग्रेस-माओवादीले आफूहरूलाई धोका दिएको भन्दै सत्ता र संसदको गणितीय खेलमा देखाइदिने चेतावनी दिएका हुन् ।

‘राष्ट्रिय राजनीतिको नयाँ दृश्य देखिरहेका छौं । आफूले धेरै पाउन सकेनन् भने अरुलाई सिध्याउँन सक्छन् । गणितीय खेल पनि हुन्छ, त्यसैले ख्याल गर्नुपर्छ’ उनले अघि भने, ‘हाम्रो शक्तिको अवमूल्यन गर्छ भने तिनिहरूले महँगो मूल्य चुकाउनु पर्छ ।’

गत निर्वाचनमा आफूहरू इमानदार भएर गठबन्धनको भर परेको र गठबन्धनले बेइमानी गर्दा कमजोर भएको दाबी गरे । ‘हामीले कांग्रेस र माओवादीलाई हिर्काइरहेका छौं’ उनले भने, ‘तिमीहरूको अहंकार, धोकादारी र बेइमानीले गठबन्धन जुन उदेश्यले अगाडि जानु पर्ने थियो त्यो नजाने स्थिति पनि बनेको छ भनेका छौं ।’

तर, अहिले आफूहरू राजावादी र संविधान मास्नेसँग जानसक्ने विकल्प नभएकोले गणतन्त्र पक्षधरसँगै जाने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?