+
+

पुष्पा भुसाल : दोस्रो प्रयासमा उपसभामुख

नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन् । उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ असार ३१ गते २१:१०

३१ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन् । उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् ।

२०७४ सालको चुनावबाट सांसद भएलगत्तै भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार बनेकी थिइन् । २ चैत २०७४ मा भएको उपसभामुखको निर्वाचनमा उनी तत्कालीन वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी नेकपा एमालेकी शिवमाया तुम्बाहाम्फेसँग पराजित भइन । त्यसबेला तुम्बाहाम्फे २०१ मत प्राप्त गरी विजयी हुँदा भुसालले ५८ मत पाएकी थिइन् ।

तर, शुक्रबारसम्म आइपुग्दा नेपालको राजनीतिक दलहरुको अवस्था, दलीय समिकरण र सरकार फेरियो । भुसाल उपसभामुमा १४८ मत ल्याएर विजयी हुँदा एमालेका तर्फबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईले ९३ मत प्राप्त गरिन् ।

कम्युनिस्ट फुट्दाको फाइदा

तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकै कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि राजीनामा दिए ।

उनको राजीनामापछि पनि सभामुख पद तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नै राख्न चाह्यो । सभामुख र उपसभामुख फरक दलको र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले नेकपाले सभामुख लिन उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न लगायो ।

यही कारण तत्कालीन उपसभामुख तुम्बाहाम्फेले १२ माघ २०७६ माघमा राजीनामा दिएपछि रिक्त भएको उपसभामुख पदका लागि शुक्रबार निर्वाचन भएको हो । यसपटक भुसालल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित सांसदको समेत मत पाएर उपसभामुखमा निर्वाचित भएकी हुन् ।

भुसाल उपसभामुखमा पराजित हुँदा नेकपा एमाले र माओवादी केन्द्र एकबीच पार्टी एकता भइसकेको थिएन । तर, दुबै दल वाम गठबन्धनमा थिए । पछि पार्टी एकता नै गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाए । कम्युनिस्टहरु एक हुँदै गर्दा उपसभामुखमा पराजित भुसालले कम्युनिस्टहरु विभाजित हुँदा उपसभामुखमा जित हात पारेकी हुन् ।

तत्कालीन नेकपा एकता भंग भएपछि बनेको ब्युँतिएको नेकपा माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले उपसभामुखमा भुसाललाई समर्थन गर्‍यो ।

यसपटक पनि एमाले आफ्नै उम्मेदवार उठायो । तर, एमालेका उम्मेदवार सांसद विद्या भट्टराई पराजित भइन । १४८ मत ल्याएर भुसाल विजयी हुँदा भट्टराईले ९३ मत प्राप्त गरिन् ।

५१ वर्षदेखि राजनीतिमा

सांसदहरु उपसभामुखमा निर्वाचित भुसाललाई संघर्षशील नारीको संज्ञा दिन्छन् । एमालेकी सांसद विन्दा पाण्डेले विद्या भट्टराई उपसभामुखमा समर्थन गर्दै गर्दा पनि भुसालसँग एउटै मोर्चामा रहेर गरेका संघर्षहरु स्मरण गरिन् । न्यायका लागि बिभिन्न महिलाहरुको मोर्चामा रहेर संगसंगै लडेको सम्झिइन् ।

सांसद पाण्डेले भने जस्तै भुसाल प्रध्यापन, कानुन व्यावसाय र राजनीतिलाई एकसाथ बढाउँदै आएकी नेता हुन् । भुसालको पारिवारिक पृष्ठमूमि पनि राजनीतिक छ । २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमका छोरी हुन भुसाल ।

संघीय संसद सचिवालयको रेकर्ड अनुसार अर्घाखाँचीको पोखराथोकमा २०१७ साल फागुन १ गते जन्मिएकी भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् । अर्थात, उनी ५१ वर्षदेखि राजनीतिमा छिन् ।

कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उनी कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय क्रियाशील भइन । नेपाल महिला संघको महासचिव भएर पनि काम गरिन् । महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै गर्दा उनले विश्वविद्यालयमा प्राध्यापन पनि गरिन् । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्रध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्ता समेत हुन् ।

२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर उनले संविधान निर्माणमा समेत भूमिका खेलिन् । त्यसेबला उनले संविधान मस्यौदा समितिमा रहेर काम गरिन् । २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गरेकी नेता हुन भुसाल ।

तटस्थताको उदाहरण देखाउने प्रतिवद्धता

उपसभामुखमा निर्वाचित भएपछि भुसालले तटस्थताको उदाहरण देखाउने प्रतिवद्धता व्यक्त गरेकी छन् । ‘सदनमा तटस्थताको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएकी छु । यो जिम्मेवारी उदाहरणीय हुने गरी इमानदारीपुर्वक निर्वाह गर्नेछु’, उनले भनिन्, ‘आफ्नो विजय आफू मात्रैको नभएर संविधानको पक्षधर र लोकतन्त्रवादीहरुका लागि खुसीको दिन हो ।’

निर्वाचित भइसकेपछि आफ्नो काँधमा थप जिम्मेवारी थपिएको, दायित्वहरु थपिएको उल्लेख गर्दै उनले भनिन्, ‘संविधानको कार्यान्वयन लागि, समावेशी लोकतन्त्रका लागि, संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार मुलुकको राष्ट्रिय राजनीतिमा देखा परेका आयामहरुलाई व्यवस्थापन गर्नको लागि भूमिका निर्वाह गर्नेछु ।’

साथसाथै, जनजिविकाको सवालहरुमा सदनमा महत्वका साथ विषयवस्तु उठाउनको लागि, मुलुकको आर्थिक समृद्धिको लागि समेत भूमिका निर्वाह गर्न उनको प्रतिवद्धता छ ।

तटस्थत भएर काम गर्ने पद भएकाले सोही अनुसार भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले पार्टीको सबै जिम्मेवाीबाट अलग हुने बताएकी छन् । ‘उपसभामुख पदमा निर्वाचित भएपछि पदीय दायित्व र नैतिकताको आधारमा, परम्परा र अभ्यासको आधारमा पार्टीको जिम्मेवारी स्थगन गर्नेछु । पार्टीको कार्यक्रमहरुमा मेरो पदले जान स्वीकृति दिँदैन र जान्न पनि’, उनले भनेकी छन् ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?