+
+

शिन्जो आबे हत्या प्रकरणः के विशिष्ट व्यक्ति सुरक्षित छन् ?

यस्तो हतियार इन्टरनेटमा उपलब्ध हुने जानकारीका आधारमा साधारण सीप प्रयोग गरेरै बनाउन सकिन्छ । साधारण जीआई पाइपलाई कालो टेपले बेरी गन पाउडर भरेर घरेलु हतियार तयार गरी गोली हानिएको छ ।

तुलाराज सुनुवार तुलाराज सुनुवार
२०७९ साउन ६ गते १०:४६

सबैभन्दा लामो समय जापानी नागरिकहरूको सेवाको लागि राजनीतिक जीवन खर्चिएका नेता हुन् शिन्जो आबे । धेरै रुचाइएका प्रधानमन्त्रीको हत्या भएको समाचार सुन्दा धेरैको मनमा प्रश्न जन्मियो– यस्तो घटना जापानमा कसरी सम्भव भयो ?

दुई वर्ष टोकियो विश्वविद्यालयको अध्ययनको क्रममा मैले कुनै दिन हिंसात्मक अपराधबारे जापानमा बसेर सोच्नु परेन । जापान बसाइको क्रममा मैले जापानका सबै मुख्य शहर घुम्ने अवसर प्राप्त गरें । धेरै मुलुकका नागरिकसँग संगत गर्ने अवसर प्राप्त भयोे, तर सबैभन्दा शान्त र सहयोगी स्वभावका नागरिक जापानिज नै थिए । हिंसात्मक अपराध त कुरै छोडौं, साइकल चलाउँदै मोबाइल चलाउनेलाई पनि कडा कानुन छ भन्ने पढियो, सुनियो ।

सुनिन्थ्यो– जापानको प्रसिद्ध हिंसात्मक संगठित अपराधी गिरोहको समूहहरू याकुजा छन् । तर तिनीहरूलाई जापान बसाइ र घुमाइको क्रममा कहिल्यै पनि देखिएन । कसैले पनि कुनै हतियार वा बन्दुक बोकेको देखिएन । याकुजा र सर्वसाधारण परै जाओस् प्रहरीले समेत पनि हतियार देखाएर डुलेको देखिएन । जापानिज सर्वसाधारणको लागि बन्दुक राख्नु परेमा कानुन हदै कडा छ । कुनै प्रकारको बन्दुक राख्नलाई धेरै चरण पार गर्नुपर्दछ । कुनै अपराधमा संलग्नदेखि मनोवैज्ञानिक परीक्षणसम्म लिनुपर्ने हुन्छ । छिमेकीहरूले समेत अन्तर्वार्ता दिनुपर्नेदेखि लामा प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान छ ।

करिब १३ करोड जनसंख्या भएको देशमा पछिल्लो पाँच वर्षमा प्रति वर्ष औसतमा १० वटा मात्र बन्दुकधारी घटना घटेको देखिन्छ । त्यसमा पनि मृत्यु हुनेको संख्या १ मात्र रहेको छ । यो संख्या सन् २०१७ मा त बन्दुकधारी घटना ३ मा झरेको थियो । त्यस्तो मुलुकको पूर्व प्रधानमन्त्रीको हत्याले विशिष्ट व्यक्तिहरूको सुरक्षामा थप चुनौती देखाएको त छ नै, साथै हाम्रो जस्तो देशमा सुरक्षाको रणनीति परिवर्तन गर्नुपर्ने, नयाँ तरिकाले सोच्नुपर्ने अवस्था सिर्जना गरेको छ । यो घटनाले विश्व समुदायलाई नै आश्चर्यचकित र दुःखी बनाएको छ ।

को हुन् शिन्जो आबे ?
अहिलेको समयमा शिन्जो आबे जापानिज प्रधानमन्त्री थिएनन् तर जापानका शीर्ष अधिकारीमध्ये एक हुन् । उनका हजुरबा प्रधानमन्त्री थिए भने बाबु विदेशमन्त्री । उनको सबै पारिवारिक पृष्ठभूमि हेर्दा राजनीतिमा रहेको छ । उनको जन्म सन् १९५४ सेप्टेम्बर २१ मा जापानको राजधानी टोकियोमा भएको हो । आबेले सन् २००६ देखि सन् २००७ र सन् २०१२ देखि सन् २०२० सम्म जापानको प्रधानमन्त्री तथा लिवरल डेमोक्रेटिक पार्टीको सभापतिको रूपमा काम गरेका थिए । उनले सन् २००५ देखि सन् २००६ सम्म प्रमुख मन्त्रिमण्डल सचिवको रूपमा समेत जिम्मेवारी सम्हालेका थिए भने आबे जापानको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गर्ने नेता हुन् ।

आबेले सन् १९७७ मा सेइकेई विश्वविद्यालयबाट राजनीतिक विज्ञान विषयबाट स्नातक तह र जनप्रशासनिक विषयमा अध्ययन गरेका हुन् । उनी पछि संयुक्त राज्य अमेरिका गएर दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयबाट जननीति विषयको अध्ययन गरेका थिए । सन् १९७९ अप्रिलमा आबेले कोबी स्टिलमा कार्य गर्न प्रारम्भ गरे । सन् १९८२ मा उनले सो कम्पनीबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका थिए । सन् १९९३ को जापानी आम निर्वाचनमा विजयी भएपछि सन् २००५ सेप्टेम्बरमा जुनिचिरो कोइजुमीले उनलाई प्रमुख मन्त्रिमण्डल सचिव नियुक्त गरेका थिए ।

तुलाराज सुनुवार

आबेले सन् २००६ सेप्टेम्बरमा भएको लिवरल डेमोक्रेटिक पार्टीको निर्वाचनमा कोइजुमीलाई प्रतिस्थापन गर्दै पार्टीको सभापति बनेका थिए । आबे जापानको राष्ट्रिय संसद (डाइट)को विशेष सत्रमा सन् २००६ सेप्टेम्बर २६ मा पहिलोपटक प्रधानमन्त्री पदका लागि चयन हुँदा उनी द्वितीय विश्व युद्धपछि जापानको सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए ।

५२ वर्षमा प्रधानमन्त्री बनेका उनी एक वर्षभन्दा पनि कम अवधिसम्म पदमा बहाल रहेपछि स्वास्थ्य समस्याका कारण राजीनामा दिए । उनले १२ सेप्टेम्बर २००७ सेप्टेम्बर १२ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
२६ सेप्टेम्बर २०१२ मा आबेले भूतपूर्व रक्षामन्त्री सिगेरू इसिबालाई पराजित गर्दै लिवरल डेमोक्रेटिक पार्टीको सभापतिमा निर्वाचित भए । लिवरल डेमोक्रेटिक पार्टीको सभापतीय निर्वाचन जितेपछि उनी सन् २०१२ को साधारण निर्वाचन जितेर पुनः जापानको प्रधानमन्त्री बन्न सफल भए ।

सन् १९४८ मा सिगेरू योसिदापछि पुनः प्रधानमन्त्री कार्यालय फर्किने उनी पहिलो प्रधानमन्त्री बन्न सफल भए । आबे सन् २०१४ को साधारण निर्वाचनमा आफ्नो साझेदार कोमेइटोसँगको गठबन्धनमा पुनः बहुमतका साथ निर्वाचित भए । २८ अगस्ट २०२० मा आबेले अस्वस्थताका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । राजीनामा दिने बेला उनले आफ्नो अस्वस्थताका कारण सरकारको निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको स्पष्ट पारेका थिए । साथै, पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमा मागेका थिए ।

आबेको योगदान
आबेले तीन पटक जापानका प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै गर्दा कुनै बेला विश्व अर्थतन्त्रको पहिलो हिस्सा ओगटेको अमेरिका र चीन पछि जापान तेस्रो स्थानमा पुगेको थियो । यसलाई जोगाइराख्नका लागि आबेको योगदान अतुलनीय देखिन्छ । आर्थिक मन्दी र मुद्रास्फीतिको कुचक्रबाट अर्थतन्त्रलाई निकाल्न र अर्थतन्त्रलाई पुनः जीवित गर्न आबेले महत्वपूर्ण भूमिका खेले । उनले बैंक अफ जापानको सहयोगमा मुद्रास्फीतिलाई २ प्रतिशतको लक्षित बिन्दुमा ल्याउन आक्रामक मौद्रिक नीति विस्तार गरेका थिए ।

छोटो अवधिमा आर्थिक गतिविधिलाई टेवा दिन लचिलो वित्तीय नीति अपनाए अनि संरचनात्मक सुधार र निजी क्षेत्रमा लगानी गरेर दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने नीति अपनाए । उनको यो रणनीति आबेनोमिक्सको नामले चर्चित छ । खस्किंदै गइरहेको जन्मदरलाई बढाउन विवाहलाई टेवा दिने कार्यक्रम सुरु गरे । कोभिड महाव्याधिमा पनि जापानिज अर्थतन्त्रलाई ढल्न नदिन उनले ठूलो भूमिका खेले ।

अमेरिकासँगको सुरक्षा सन्धिलाई नयाँ आयामबाट अगाडि बढाउने काम पनि आबेले नै गरेका हुन् । जापान, भारत, अष्ट्रेलिया र अमेरिकाको अनौपचारिक समूह क्वाडको मुख्य प्रस्तावक पनि आबे नै हुन् । आबेकै पालामा जापानको छिमेकी देशहरूसँगको सम्बन्धमा तिक्तता आयो ।

जापानको आत्मरक्षा बललाई युद्ध लड्न विदेशी भूमिमा जान सक्ने ऐन संसदबाट पारित गराउने काम पनि आबेले नै गरेका हुन् । उनको यो पहलले दक्षिण कोरिया सशंकित बन्यो भने चीन जापानसँग रुष्ट भयो । जापानको संविधान संशोधन गर्ने महत्वाकांक्षा पनि आबेमा लामो समयदेखि थियो । विशेषगरी संविधानको धारा ९ लाई उनले संशोधन गर्न खोजेका थिए । तर राजनीतिमा निकै पोख्त मानिएका आबेले कानुन संशोधनका लागि जनमत संग्रह गराउने पर्याप्त समर्थन जुटाउन सकेनन् ।

विशिष्ट व्यक्तिहरूको सुरक्षा
जापानमा केही विशिष्ट व्यक्तिहरूलाई गोली प्रहारका घटना भएका छन् । यसभन्दा अगाडि चारपटक प्रधानमन्त्रीहरूको आक्रमण भएको देखिन्छ । तर पूर्व प्रधानमन्त्रीलाई यसरी आक्रमण हुनेमा आबे पहिलो हुन् ।

त्यसो त जापान मात्र यसरी विशिष्ट व्यक्तिहरूको हत्या हुने देशको रूपमा पर्दैन । विश्वमा यस्ता धेरै विशिष्ट व्यक्तिहरूको चर्चित हत्याकाण्डका घटनाहरू घटेका छन् । १५ अप्रिल १९६५ मा कमेडी नाटक हेरिरहेको समयमा अमेरिकन राष्ट्रपति अब्राहम लिंकनको हत्या भयो । २८ फेब्रुअरी १९८६ मा श्रीमतीसँग हिंडिरहेको बेला स्वीडेनका प्रधानमन्त्री ओल्फ पाल्मेको हत्या भयो ।

३१ अक्टोबर १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भयो । दुई पटक प्रधानमन्त्री भइसकेकी पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनिजिर भुट्टोको २७ डिसेम्बर २००७ मा हत्या भयो ।

तर आबेको हत्या गर्ने शैली फरक देखिन्छ । हत्याको प्रकृति हेर्दा सिंगो विश्वलाई चकित बनाउने खालको छ । जापानी नौसेनामा विगतमा संलग्न एक व्यक्ति हत्यामा संलग्न देखिन्छन् र यसक्रममा उनले घरेलु हतियारको प्रयोग गरेका छन् ।
विभिन्न समाचार एजेन्सीका अनुसार यस्तो हतियार इन्टरनेटमा उपलब्ध हुने जानकारीका आधारमा साधारण सीप प्रयोग गरेरै बनाउन सकिन्छ । साधारण जीआई पाइपलाई कालो टेपले बेरी गन पाउडर भरेर घरेलु हतियार तयार गरी गोली हानिएको छ । यसले हाम्रो जस्तो देशमा पनि विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थामा थप सोच्नुपर्ने बाध्यता थपेको छ ।

यी घटनाले राष्ट्रिय सुरक्षा रणनीतिमा फेरबदल गर्नुपर्ने देखिएको छ । हाम्रो सन्दर्भमा पनि समय–समयमा विशिष्ट व्यक्तिहरूलाई बेलाबखत जुत्ता प्रहार गर्नेदेखि हात नै छोड्ने जस्ता घटना घटिरहन्छन् । नेपालमा विकसित मुलुकमा जस्तै अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरू नागरिक माझमा आएनन्, सुरक्षा घेरामा हिंड्ने गरे भन्ने गुनासो छ । साथै, अर्कोतिर विशिष्ट व्यक्तिहरूको सवारी तथा कार्यक्रममा कतिबेला कसले आक्रमण गर्छ भन्ने कसैले बुझ्न सक्ने अवस्था छैन ।

अझ नेपालको सुरक्षा व्यवस्था अन्य देशको तुलनामा राम्रो छ भन्न सक्ने ठाउँ छैन । हामीले विशिष्ट व्यक्तिहरूको सवारीमा नागरिकहरूले गरेको अवज्ञाले पनि त्यस्तो गतिविधिमा संलग्न व्यक्तिलाई उत्प्रेरित गराउन सक्छ । त्यसैले नेपालले पनि विशिष्ट व्यक्तिहरूको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नयाँ आयामसहित सुरक्षा निकायहरूको भूमिका र विधिमा परिवर्तन गर्नुपर्ने देखिएको छ ।

(लेखक जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा कार्यरत छन् ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?