+
+
विश्लेषण :

प्राइमरी किन र कसरी गर्ने ?

लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा स्थापित गर्न मतदाता, उम्मेदवार र पार्टी सबै आवश्यक छ तर त्यसमा परिपाटी झनै आवश्यक छ ।

सिमोन ढुंगाना, डा. सुदीप श्रेष्ठ, गोविन्द नारायण सिमोन ढुंगाना, डा. सुदीप श्रेष्ठ, गोविन्द नारायण
२०७९ साउन ७ गते १६:२६

झन्डै ५ वर्षअघि विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्वल थापासँग कसरी व्यक्ति केन्द्रित नेपाली राजनीतिमा पार्टीको सिद्धान्त र विचारभन्दा केही नेताहरूको स्वार्थले अग्रस्थान पाइरहेको अवस्थालाई हटाउने भनेर छलफल भइरहन्थ्यो ।

अमेरिकी प्रकारको प्राइमरी चुनाव गरे राजनीतिमा देखा परेको व्यवसायीकरणलाई न्यून पार्न सकिन्छ कि ? पेशा व्यापारमा लागेका देशप्रेमी असल व्यक्तिहरूलाई चुनाव अघि मात्रै उठ्ने मञ्च बनाउन सकिन्छ कि ? यस्ता सवालमा पर्याप्त छलफल भइरहन्थ्यो।

आउने संघीय निर्वाचनमा प्राइमरीमार्फत उम्मेदवार छनोट प्रक्रियालाई राजनैतिक दल र स्वतन्त्रहरूमा संस्थागत गर्न प्राइमरी प्रक्रियाको बारेमा यो लेखमा वर्णन गरिएको छ।

पृष्ठभूमि

अहिले राजनीतिक दल र तिनका नेताहरू ‘अपना काम बन्ता तो भाडमे जाए जनता’ को मन्त्र जपिरहेका छन्। यही प्रवृत्तिको कारण केन्द्रदेखि टोलसम्म गुट र झुण्डमा विभक्त पार्टी नेता तथा कार्यकर्ताहरू आ-आफ्ना स्वार्थका लडाईं लडिरहेका छन्। चुनावताका यस्ता स्वार्थका लडाईंहरू लोकतान्त्रिक मूल्य र मान्यताहरूको धज्जी उडाउने गरी नाङ्गिएर बाहिर निस्किन्छन्। नातावाद र कृपावादको लडाईं, गुटको लडाईं, पैसाको लडाईं गर्नेहरू अन्त्यमा सबै एक हुन्छन् र मूल्य र मान्यताको लडाईं गर्नेहरूलाई पाखा लगाउँछन्।

पार्टीका नेताहरूको स्वार्थभन्दा पार्टीको विचार र देशलाई आफ्नो मार्गनिर्देश र सर्वपरि ठान्ने इमानदार, निष्ठावान, सक्षम र क्षमतावान युवा नेताहरू पार्टीभित्र सधैं अल्पमतमा पर्छन् र नेतृत्वबाट वञ्चित हुन्छन्।

पार्टीका साधारण कार्यकर्ता र साधारण सदस्यहरूको चाहना पनि लोकतान्त्रिक मूल्य र मान्यतासहितको पारदर्शी नेतृत्व चयन नै हो। तर उनीहरूको आवाजलाई सधैं नजरअन्दाज गरिएको छ। पार्टीमा त्यस्तो आवाज आउने ढोकाहरू बन्द गरिएका छन्। फलस्वरूप नातावाद, कृपावाद, दाउपेच, छलछाम, चाकडी, प्रलोभन, आर्थिक चलखेल जस्ता खराब प्रवृत्ति पार्टीमा संस्थागत भएका छन्।

यसको तोड या विकल्प भनेको जनताले प्रत्यक्ष रूपमा नेता छान्ने प्रणालीलाई संस्थागत गर्नु नै हो। चाहे त्यो पार्टीको नेतृत्व होस् चाहे देशको, खुल्ला प्रतिस्पर्धा नै लोकतान्त्रिक विधि हो। उम्मेदवार चयन खुल्ला प्रतिस्पर्धाबाट हुनुपर्छ। निर्वाचनमा जनता र उम्मेदवारबीच प्रत्यक्ष अन्तरक्रिया, बहसमार्फत मतदाताले उम्मेदवारको लोकतान्त्रिक आचरण, नेतृत्व, कार्यक्षमता लगायत विभिन्न आयाममा सूचित हुने प्रक्रिया अवलम्बन गरे देशको नेतृत्व असल व्यक्तिले गर्ने कुरामा दुईमत नहोला।

हालैको स्थानीय निर्वाचनमा जनताले बालेन साह, हर्क साम्पाङ, गोपाल हमाल लगायत मुलुकका विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवारलाई विजयी गराए। ठूला पार्टीका ठूला नेताले रुचाएका विवादित उम्मेदवारलाई जनताले रुचाएनन्। पार्टीको प्राथमिकतामा नपरेका उम्मेदवारहरू नै जनताको रोजाइमा परे। यसरी मतदाताले पार्टीका उम्मेदवारभन्दा असल व्यवहार, स्पष्ट भिजन र काम गर्न सक्ने शिक्षित, इमानदार र सामाजिक अभियानकर्मीलाई रुचाएको पाइयो।

मतदाताको यही सेन्टिमेन्टलाई बुझेर अब हुने आम-निर्वाचनमा उम्मेदवार चयन प्रक्रियालाई लोकतान्त्रिक एवं पारदर्शी बनाउने कुरामा ध्यान दिनु अहिलेको आवश्यकता हो।

के गर्दैछ नेपाल चेन्ज मेकर लिग ?

हालै प्रकाशित ‘महँगो चुनाव र खराब नेतृत्वको उत्तम विकल्प‘ शीर्षकको आलेखमा हामीले खराब नियतले गरिने पैसाको चलखेलले चुनाव असाध्यै महँगो र अलोकतान्त्रिक भएको उल्लेख गरेका छौं। देशको नेतृत्व जनप्रिय भन्दा धनप्रियको हातमा जाने र देश र जनता सधैं पीडित भइरहने कुचक्रबाट बाहिर निस्कने उपायको बारे चर्चा गरिएको छ। विकल्पमा सक्षम उम्मेदवार छानिने प्रक्रिया ‘प्राइमरी’ को अवधारणा प्रस्तुत गरेको छ।

पुरानै पार्टीका केही नेताहरू, स्वतन्त्र पार्टी र अभियन्ताहरूका साथै आम सञ्चारमाध्यमले पनि महँगो चुनावबाट जन्मिने खराब नेतृत्वको उपचारबारे चर्चा सुरु गरेका छन्। साथसाथै, यसको विकल्पको रूपमा उत्तम उपाय प्राइमरीको आवश्यकता महसुस गरी आवाज उठाउन थालेका छन्। यो प्रक्रियालाई संस्थागत गर्न अहिले नेपाल चेञ्ज मेकर लिगले स्वतन्त्र वा पार्टीगत विचारधारा राख्ने र निष्ठा, स्वच्छता, सहिष्णुता र सह-अस्तित्व, विविधता, समावेशिता र पारदर्शितासहितको लोकतान्त्रिक मान्यतालाई अङ्गीकार गर्ने सचेत नेपालीलाई गोलबद्ध गर्न सुरुवात गरेको छ।

भर्खरै काठमाडौं, धरान, डडेल्धुरा, ललितपुर, भैरहवाबाट उम्मेदवारी घोषणा गर्ने उम्मेदवार र विज्ञहरूले यस विषयमा बागबजारमा भूगोलपार्कले आयोजना गरेको कार्यक्रममा लिगको प्राथमिक निर्वाचन ‘प्राइमरी’ को अवधारणामा छलफल गरे। सोही मञ्चबाट नेपालमा पहिलोपटक औपचारिक रुपमा यो विषयलाई अगाडि बढाएको छ। आगामी दिनमा राजनैतिक रुपान्तरणसहित नेतृत्व चयनमा यो सुरुवात कोसेढुंगा सावित हुने विश्वास गरिएको छ।

यो प्रक्रियालाई प्रत्येक राजनीतिक पार्टीहरूले आ-आफ्ना पार्टीभित्र प्रयोग गर्न सक्छन्। पार्टी बाहिरका स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारहरूबीच यसलाई प्रयोग गर्न सक्छ। पारदर्शी, विश्वासिलो र सजिलै प्रयोग गर्न सकिने मोडेल बनाए सरोकारवाला सबैले आगामी निर्वाचनमा यसलाई प्रयोग गरी सही र सक्षम उम्मेदवार उठाउन सक्छन्। जनताले पनि सही नेतृत्वको अनुभूति गर्न सक्छन्।

प्राइमरी प्रक्रिया र प्रणाली

क. पहिलो चरण

१. उम्मेदवार चयन प्रक्रियाको मानक अनुसार पहिलो चरणमा चुनावमा उम्मेदवारी दिन चाहने सबैमा नेपालको संविधानप्रति आस्था, विश्वास र सम्मान हुनुका साथै निष्ठा, स्वच्छता, सहिष्णुता र सह-अस्तित्व, विविधता, समावेशिता र पारदर्शितासहितको लोकतान्त्रिक मान्यतालाई स्वीकार गर्दै त्यसप्रति प्रतिबद्ध रहने लिखित संकल्प गर्नुपर्छ।

२. त्यसपछि एक इथिकल कमिटीले उम्मेदवारहरूको पृष्ठभूमि परीक्षण गरी क्वालिफाइड छ कि छैन सो सार्वजनिक गर्नेछ। संविधान विपरीत अराजक गतिविधिमा संलग्न भएका, भ्रष्टाचारी तथा आपराधिक छवि भएका, लोकतन्त्रमा विश्वास नगर्ने अनि माथि उल्लेख गरिएका न्यूनतम लोकतान्त्रिक मूल्य र मान्यतालाई नस्वीकार्ने उम्मेदवारका प्रत्यासीहरू पहिलो चरण मै उम्मेदवारीका लागि अयोग्य ठहरिनेछन्।

ख. दोस्रो चरण

१. समसामयिक विषय र क्षेत्रहरूमा उम्मेदवारको निष्ठा, ज्ञान, नेतृत्वदायी कार्यक्षमता र प्रारम्भिक जनसमर्थनलाई मूल्यांकन गर्न विभिन्न चरणबद्ध बहसमा आ-आफ्नो क्षमता प्रदर्शन गर्दै तटस्थ विषयविज्ञसहित मूलतः आम मतदाताद्वारा मूल्यांकन गरिनेछ।

२. राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा ख्यातिप्राप्त विश्वसनीय अग्रजहरूसँगको अन्तरक्रिया र मूल्यांकनलाई मापन गर्न निश्चित अंक दिइनेछ। उम्मेदवारहरूबीच आफ्नो चुनावी क्षेत्रमा न्यूनतम ३ सार्वजनिक बहस गरिनेछ। सार्वजनिक बहसमा उम्मेदवारको विषयगत ज्ञान, नेतृत्व र कार्यक्षमतालाई मूल्यांकन गर्ने निम्नलिखित विषयहरूमा सम्बन्धित विषयका विज्ञहरूबाट मूल्यांकन गरिनेछ।

ग. उम्मेदवार मूल्यांकन विषय

१. वास्तविक धरातलमा उभिएर जनताका आधारभूत आवश्यकताहरू जस्तै सर्वसुलभ र गुणस्तरीय शिक्षा, स्वास्थ्य, गाँस, बास, कपासको प्रत्याभूति गर्दै देशको अर्थतन्त्रलाई कसरी दिगो रूपमा बलियो बनाउन सकिन्छ भन्ने विषयमा स्पष्ट धारणा, योजना भएको हुनुपर्ने, त्यसको लागि आवश्यक नीति/रणनीति, कानून बनाउन सक्ने र कार्यान्वयन गर्नसक्ने क्षमता भएको हुनुपर्ने।

२. देश र आफ्नो निर्वाचन क्षेत्रमा भएका, देखिएका समस्याहरूको पहिचान गरी समाधानका उपाय निकाल्नसक्ने क्षमता भएको।

३. राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो देशको प्रतिनिधित्व गर्वका साथ गर्न सक्ने, राष्ट्रिय महत्वका विषयमा आफ्नो कुरा दह्रो र प्रभावकारी रुपमा राख्नसक्ने क्षमता र आत्मविश्वास भएको।

४. राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको अवस्थाको नियमित अपडेट गर्ने, त्यसको विश्लेषण गर्ने र सम्बन्धित निकायको ध्यानाकर्षण गर्नसक्ने क्षमता भएको।

५. युवा जनशक्ति र रोजगारीको विषयमा, महिला, दलित, आदिवासी-जनजाति तथा सीमान्तकृत समुदायको उत्थान र विकास सम्बन्धमा स्पष्ट धारणा र योजना दिनसक्ने।

६. भ्रष्टाचारमुक्त कानुनी राज्य निर्माण गर्ने अठोट र इच्छाशक्ति भएको।

घ. उम्मेदवार छनोट

१. प्रत्येक बहसपश्चात् आम मतदाताको समर्थनको मतसर्वेक्षण गरिनेछ। मतसर्वेक्षणबाट र विज्ञहरूको मूल्यांकनको आधारमा उम्मेदवारहरूको जित्ने सम्भावनाको प्राथमिकता सूची सार्वजनिक गरिनेछ।

२. यसैलाई आधार मानी यस प्रक्रियामा संलग्न उम्मेदवारहरूमध्ये उत्कृष्ट उम्मेदवारलाई सहमतिमा साझा उम्मेदवार घोषणा गरिनेछ।

३. सहमति नभए प्राइमरी निर्वाचन गर्दै उत्कृष्ट उम्मेदवार छानिनेछ। यो प्रक्रियामा भाग लिएर प्राथमिक सूचीमा प्रथम हुनेलाई सो सूचीका अन्य सबै उम्मेदवारहरूले सहयोग समर्थन गर्नेछन्।

४. यस प्रक्रियामा सामेल प्रबुद्ध व्यक्तित्वहरूले पनि सूचीका प्रथम व्यक्तिलाई सार्वजनिक समर्थन गर्नेछन् जसले गर्दा उनको जित्ने सम्भावना प्रबल हुनुका साथै लोकतन्त्रको जग बलियो र फराकिलो बन्नेछ।

५. यसरी छानिएका उम्मेदवारले यस प्रक्रियामा सामेल नभएका अरु पार्टीका वा अन्य उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्नेछ।

लिगले विभिन्न संघसंस्थाको सहयोग र सहकार्यमा उम्मेदवार छनोट प्रक्रियाबाट चुनावमा भाग लिएका उम्मेदवारहरूलाई इनोभेटिभ पोलिटिकल टूल; मुद्दा स्थापित गर्ने, क्याम्पेन डिजाइन, डाटा एनालाइसिस, स्रोत व्यवस्थापन; मिडिया/सोसल मिडिया व्यवस्थापन, कानुनी परामर्श; ख्यातिप्राप्त व्यक्तित्वहरूको समर्थन र अन्य प्रत्यासीहरूसँगको साझा सहकार्य र चिनारी; फण्ड रेज, खाता सञ्चालन विधि र पारदर्शिता; उम्मेदवार र निजको टिमको क्षमता वृद्धिका कुराहरूमा सहयोगको वातावरण बनाउन यथासम्भव प्रयास गर्छ।

सम्भव छ त?

नेपालमा जहानियाँ राणाशासनको अन्त्य सम्भव थियो, राजसंस्थाको अन्त्य सम्भव थियो र तिनलाई विस्थापित गरी हामीले लोकतन्त्र स्थापित गर्‍यौं। लिगले व्यवस्था परिवर्तनको कुरा गरेको छैन केवल एक सामान्य विधि अवलम्बन गर्न चाह्यो भने सम्भव नहुने कुरै छैन। यस विधिलाई परिष्कृत गर्न र मान्यता दिन सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग जरुरी छ। अन्ततः यसले आम नागरिक र लोकतान्त्रिक व्यवस्थाको हित गर्छ।

लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा स्थापित गर्न मतदाता, उम्मेदवार र पार्टी सबै आवश्यक छ तर त्यसमा परिपाटी अझै आवश्यक छ। उम्मेदवार चयनको मोडेल पार्टी र स्वतन्त्रहरूको सञ्जाल सबैले आन्तरिक वा बाह्य रुपमा अभ्यास गर्न सक्छन्। अर्थात् यसमा राजनीतिक क्षेत्र सहमत भएमा उम्मेदवार चयनको वैज्ञानिक र युनिभर्सल मोडालिटी सञ्चालनमा आउन सक्छ। नेपाल चेन्ज मेकर लिगले सबैको सहभागितालाई समेट्दै यस निमित्त पैरवी गर्दै स्वच्छ निर्वाचनको अभ्यासको वातावरण सृजना गर्न यथासम्भव प्रयास गर्नेछ।

(सिमोन ढुंगानाले जोन हप्किन्स युनिभर्सिटीबाट एमएस गरेका छन्, डा. सुदीप श्रेष्ठ हार्बर्ड युनिभर्सिटीका पोस्ट डक्टरेट हुन् भने गोविन्द नारायणले जेएनयूबाट एमए गरेका छन्। लेखकत्रय नेपाल चेन्ज मेकर लिगका सहयोगी हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?