+
+

फास्ट बलिङका विकल्प किशोर

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ साउन १२ गते १९:०६

१२ साउन, काठमाडौं । सोमपाल कामी र करण केसीले ८ वर्षदेखि नेपाली क्रिकेट टिममा फास्ट बलिङ धानेका छन् । उनीहरू चोटग्रस्त भएमा विकल्पमा फास्ट बलिङ गर्ने कोही थिएन, नेपालले फास्ट बलरविना नै खेल्नु पर्ने स्थिति थियो । तर अब भने सोमपाल र करणको विकल्पका रुपमा नेपाली क्रिकेट टिममा किशोर महतो देखा परेका छन् ।

उमेर समूहबाट उदाएर ढिला गरी सिनियर टोलीमा डेब्यु गरेका किशोर फाष्ट बलिङतर्फ आफूलाई स्थापित गर्ने चरणमा पुगेका छन् । नाम किशोर भए पनि मैदानमा अब परिपक्क बन्दै गएका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत १ साउनमा ग्लास्गोमा भएको खेलमा घरेलु टोली स्कटल्याण्डविरुद्ध डेब्यु गर्दै उनी एक दिवसीय अन्तर्राष्ट्रिय खेल्ने नेपालको ३४औं खेलाडी बने । सन् २०२२ मा मात्रै नेपालका लागि एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्ने उनी सातौं खेलाडी हुन् ।

सोमपाल र करणले जस्तै किशोरले क्रिकेटको आधारभूत ज्ञान भारतबाटै सिकेका हुन् । भारतको पञ्जावबाट नेपाल फर्किएर चितवन क्रिकेट एकेडेमीमा भर्ना भएपछि किशोरको क्रिकेट यात्रा फक्रिएको हो ।

नवलपुर कावासोतीका २२ वर्षीय किशोरले यु-१९ हुँदै राष्ट्रिय टिमसम्मको यात्रा तय गरे । उमेर समूहमा सँगै खेलेका साथी राष्ट्रिय टिममा पुगिसक्दा उनी अवसरको खोजीमै थिए । त्यो अवसरलाई सदुपयोग गर्नका लागि कडा मेहनत गरिरहेका थिए ।

२०७६ फागुनमा एसीसी इस्ट्रन रिजन टी-२० का लागि पहिलोपल्ट सिनियर टिममा परे पनि डेब्यु गर्न पाएनन् । समकालीन साथीहरूको तुलनामा पछि परे पनि आफूलाई सधैं तयार राखिरहे । उनलाई थाहा थियो, ‘कुनै दिन अवसर आउनेछ ।’

लिस्ट एको डेब्युमै ५ विकेट

किशोरले वैशाखमा त्रिवि क्रिकेट मैदानमा जिम्बाबे ए टिमसँगको एक दिवसीय खेलमा सिनियर टिमबाट डेब्यु गरे । टेष्ट मान्यता प्राप्त राष्ट्रको ‘ए’ टिमसँगको खेलले लिष्ट ए मान्यता पाएको थियो । अवसरलाई सदुपयोग गर्न उनी माहिर देखिए ।

पहिलो पटक टेष्ट राष्ट्रको ‘ए’ टिमसँग खेलेको नेपालले तीन खेलको एक दिवसीय शृंखला २-१ ले जित्यो । त्यसमा किशोरले तेस्रो खेलमा मात्र अवसर पाए । पहिलो अवसरलाई नै गज्जबले सदुपयोग गरेका किशोरको प्रदर्शन ७-१-४३-५ रहृयो ।

३३ ओभरमा छोट्याएको खेलमा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले ६ विकेटले खेल जित्दै शृंखला आफ्नो पक्षमा पारेको थियो ।

७ ओभरमा ४३ रन दिएर ५ विकेट लिएका किशोर प्लेअर अफ दि म्याच बने । ‘त्यस खेलले मेरो आत्मविश्वास बढेको हो । अझै राम्रो खेल्न सक्छु भन्ने भयो’ किशोरले अनलाइनखबरसँग भने, ‘म आफूलाई हरसमय तयार अवस्थामा राख्छु ।’

एक दिवसीय अन्तर्राष्ट्रिय डेब्यु

साढे दुई वर्षअघि नै राष्ट्रिय टिममा परे पनि किशोरले टी-२० अन्तर्राष्ट्रिमा खेल्न पाएका थिएनन् । जिम्बावे ए टिममाथिको प्रभावशाली बलिङले उनलाई सिनियर टिममा निरन्तरता मिल्यो ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका र ओमानसँगको शृंखलाका लागि नेपालको टिममा परे पनि खेल्न पाएनन् ।

सिनियर दुई बलरको विकल्पका साथै विकेटको अवस्थाअनुसार उनलाई टिममा सामेल गराइएको थियो । स्कटल्याण्डमा भएको लिग टु शृंखलामा पनि किशोरले राष्ट्रिय टिममा निरन्तरता पाए । नामिबिया र स्कटल्याण्ड सहभागी उक्त शृखंलाको सुरुआती तीन खेल किशोरले बेञ्चमै बसेर हेरे ।

अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध टिममा परे । उनलाई नेपालका बलिङ कन्सलट्यान्ट धम्मिका प्रसादले डेब्यु क्याप प्रदान गरे । ‘राष्ट्रिय टिमबाट खेल्नुभन्दा पनि मैले आफूलाई खेलका लागि तयारी अवस्थामा राखिरहेको थिएँ । बिहान पुबुदु सरले आज तिमी खेल्दैछौ भन्नुभएको थियो । पछि डेब्यु क्याप पाउँदा उत्साहित थिएँ,’ किशोरले अविष्मरणीय क्षण स्मरण गरे ।

एक दिवसीय अन्तर्राष्ट्रिय डेब्युमा भने किशोरले आफूलाई प्रमाणित गर्न सकेनन् । लामो पर्खाइपछिको अवसरमा उनी ब्याटिङतर्फ रनविहीन र बलिङतर्फ विकेटविहीन रहे । उनी ९ बल खेलेर खाता नखोली अविजित रहे । बलिङमा ३ ओभरमा १ मेडन राख्दै २१ रन खर्चिए । त्यो खेल नेपालले ८ विकेटले गुमाएको थियो ।

भारतमा क्रिकेट सिकाइ

भारत विश्व क्रिकेटमै महारथी देश हो । छिमेकी हुनुका नाताले नेपाल क्रिकेटमा पनि त्यसको प्रभाव छ । भारतमा क्रिकेट संस्कृतिका रुपमा विकसित छ । नेपालका धेरै खेलाडीले भारतबाटै आफ्नो क्रिकेटयात्रा प्रारम्भ गरेका थिए । किशोर पनि त्यहीमध्येका एक हुन् । उनले भारतबाटै क्रिकेटको आधारभूत ज्ञान लिएका थिए ।

‘एउटा सानो क्लबमा सिनियर दाइहरूले क्रिकेट सिकाउनुहुन्थ्यो । मैले यत्तिकै रमाइलो लागेर क्रिकेट खेल्न थालेको थिएँ,’ उनी सम्झिन्छन् । भारतमा मजदुरी गर्ने बुबा आमासँगै पञ्जाव पुगेका थिए उनी ।

भारतमा गल्ली क्रिकेट खेल्ने किशोर आमाबुबासँगै नेपाल फर्किँदा १५ वर्षका थिए । बुबाको प्रयासमा उनी चितवन क्रिकेट एकेडेमीमा भर्ना भए र उनको वास्तविक करिअर सुरु भयो । ‘नेपाल आएपछि राजु खड्का सरसँग चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षक लिन थालें । त्यहाँबाट धेरै कुराहरु सिकें,’ उनले भने ।

राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने त्यही एकेडेमीका उत्पादन हुन् । सुरुमा उनलाई आफ्नो प्रदर्शन उत्कृष्ट बनाउन चुनौती थियो । उनी भर्ना हुँदा दीपेश श्रेष्ठ, सुशील कँडेल, आकाश थापाहरु प्रशिक्षणरत थिए ।

घरेलु क्रिकेटदेखि उमेर समूहको राष्ट्रिय टिमसम्म

सन् २०१६ डिसेम्बरमा श्रींलकामा भएको यु-१९ एसिया कपका लागि आयोजित ट्यालेन्ट हन्टमा सहभागी भए पनि राष्ट्रिय टिममा छनोट हुन सकेनन् । राष्ट्रिय टिमको बाटो बन्द भए पनि घरेलु क्रिकेटमा पहिचान बनाउन थाले ।

सन् २०१७ मा सुरु भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट किशोरले मध्यमाञ्चलबाट खेले । त्यही वर्ष एसीसी यु-१९ एसिया कप खेले । यु-१९ एसिया कप छनोटको रुपमा रहेको यस प्रतियोगितामा उनले सिंगापुरविरुद्ध डेब्यु गर्दै ६ ओभरमा ३ मेडन राख्दै २५ रन खर्चेर २ विकेट लिए ।

‘पीएम कपको पहिलो संस्करणमा शरद दाइको कप्तानीमा खेल्दा सिनियर दाइहरूबाट धेरै कुरा सिक्ने अवसर पाएँ । त्यहाँ राम्रो प्रदर्शन गरेपछि त्यसले अझ सहयोग गर्‍यो,’ करिअरको सुरुआती दिन सम्झिंदै किशोर भन्छन् ।

पहिलो पीएम कपमा उनले पश्चिमाञ्चलविरुद्ध दशौं नम्बरमा ब्याटिङ गर्दै अविजित २० रन बनाए । त्यही खेलमा ३ विकेट समेत लिए । यस्तै एपीएफविरुद्धको खेलमा भने उनले ९ रन जोडे ।

संघीय संरचनाअनुसार बागमती प्रदेशबाट उनले दोस्रो संस्करणको पीएम कप खेले । तेस्रो संस्करण गण्डकी प्रदेशबाट खेलेका उनले त्यसपछि दुई संस्करण विभागीय टोली एपीएफबाट खेले ।

फ्रेञ्चाइज क्रिकेटमा एभरेष्ट्र प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग सबै खेलिसकेका छन् ।

थाइल्याण्डमा हारको निराशा

२०७६ फागुनमा थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिताका लागि किशोर महतो राष्ट्रिय टिममा परेका थिए । सिनियर टिममा पहिलो पटक पर्दा उनमा छुट्टै उत्साह थियो ।

एसिया कप टी-२० मुख्य छनोटमा पुग्न यो क्षेत्रीय छनोट थियो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिममा पूर्व कप्तान पारस खड्का समेत थिए । तर यो समूहमा सजिलै विजेता बन्ने अनुमान थियो ।

तर, किशोरका लागि यो भ्रमण खल्लो भयो । एकातिर उनले डेब्यु गर्न पाएनन् अर्कोतिर नेपाल अर्को चरणमा पुग्न पनि सकेन । ‘त्यहाँको कन्डिसन हेरेर पहिलो रोजाइ छानिएको थियो । यदि अवसर पायो भने खेल्छु भन्ने चाहिं थियो’ उनले भने, ‘टिमले हारिरहेकमो हेर्दा चाहिं म मैदानमा भाको भए केही गर्न सक्थें कि भन्ने लागिरहन्छ ।’

राष्ट्रिय टिममा खेलेपछि त्यहाँ टिक्न गाह्रो छ । पछिल्लो समय खेलाडीहरू राष्ट्रिय टिमबाट खेल्ने बाहिरिने क्रम चलिरहेको छ । किशोरले बाहिरै बसेर पनि यो सबै देखिसकेका छन् । उनी अझै मिहिनेत गरेर राष्ट्रिय टिममा निरन्तर खेल्न चाहन्छन् । ‘चुनौती अझै बढेको छ । मैले जे गरिरहेको छु त्यसमा अझै राम्रो गर्नुपर्छ । मेहनेत गर्दै जानेछु’ स्वीङ र लेग कटर राम्रो भएका ५ फिट ११ इन्च अग्ला किशोर भन्छन्, ‘डिसिप्लिन बलिङमा मैले अझै सुधार गर्नुपर्छ ।’

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?