+
+

इण्डोनेसिया जाने रग्बी टोलीको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १९:५७
बिदाइपछि सामूहिक तस्वीर खिचाउँदै टिम । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

१८ साउन, काठमाडौं । इण्डोनेसियामा हुने एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुने नेपाली महिला टिमलाई बिदाइ गरिएको छ । १२ खेलाडीसहित १८ जनाको नेपाली टोली बिहीबार जाकार्ता प्रस्थान गर्नेछ ।

जेजीबीके रग्बी पिच, जकार्तामा साउन २१ देखि २२ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इन्डोनेसिया, सिंगापुर, युएइ, मंगोलिया र गुवाम गरी ७ राष्ट्रको सहभागिता रहने छ ।

राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ । नेपाल टोलीलाई जापानी प्रशिक्षक कात्सुहिसा फुरुचीले पनि २ साता प्रशिक्षण गराएका थिए ।

एसिया रग्बीमा नेपालले चौथोपटक सहभागिता जनाउन लागेको हो । यसअघि नेपाली महिला टोलीले भारत, लाओस र ब्रुनईमा भएको प्रतियोगितामा सहभागिता जनाएको थियो । भारतको चेन्नईमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गरेको थियो । ब्रुनईमा नेपालले काजाकिस्तानमाथि जित रचेको थियो ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलगायतले बुधबार शुभकामनासहित बिदाइ गरे ।

खेलाडीहरुमा एलिसा थापा (कप्तान), सिर्जना राई (उप कप्तान), पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनिषा थापा मगर, अप्सरा कार्की, विशाका राई, शर्मिला राई र अपना पौडेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?