+
+

एसईईपछि कसरी गर्ने विषय छनोट ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ साउन २२ गते १३:१८

काठमाडौं । एसईईको नतिजा आइसक्यो । अब कक्षा ११ मा कुन विषय पढ्ने भन्ने अन्योलमा विद्यार्थी छन् । विद्यार्थीसँगै अभिभावक पनि उत्तिकै दुविधामा छन् । आफ्नो रुचिको विषय के हो ? भविष्यमा यो विषय कति उपयोगी हुन्छ ? भन्ने विषयमा उनीहरुले परामर्श (काउन्सिलिङ) लिन आवश्यक हुन्छ ।

यसका लागि विज्ञको सल्लाह लिन सकिन्छ । तर केही कुरामा ध्यान दिने हो भने अभिभावक आफैंले पनि आफ्ना सन्तानको करिअर काउन्सलिङ गर्न सक्ने मनोविद् तथा करिअर परामर्शदाता डा. नरेन्द्र सिंह ठगुन्ना बताउँछन् ।

‘प्रत्येक व्यक्तिको जन्मजात केही निश्चित योग्यता र गुण हुन्छ ।  सानै उमेरदेखि बच्चाले कुनै काम कति ध्यान दिएर गर्छ, त्यो काम गर्दा ऊ कति रमाउँछ भन्ने कुरालाई मात्रै पनि ख्याल गर्ने हो भने उसको रुचि पत्ता लगाउन सकिन्छ ।

अन्य देशमा कक्षा ९, ११ र विश्वविद्यालय जानुअघि स्कुल करिअर काउन्सिलरले विद्यार्थीको रुचि के विषयमा छ, वा उसले कुन विषयमा राम्रो गर्न सक्छ भनेर परामर्श दिने गरिन्छ ।

करिअर काउन्सलिङ गर्ने बेलामा सबैभन्दा पहिले आफ्नो बारेमा थाहा पाउनुपर्छ । परिवारले पनि बच्चाको बारेमा राम्ररी बुझ्नुपर्छ । यसमा चार कुरालाई विशेष ध्यान दिनुपर्ने ठगुन्नाा बताउँछन् । बच्चाको योग्यता, क्षमता, रुचि र प्रवृत्ति ।

‘यी चार कुरालाई महत्त्व दिएर उसले पढ्ने विषय र उसको भविष्यको सल्लाह दिन सकियो भने विद्यार्थीको पढाइ राम्रो हुन्छ र उसको भविष्य पनि राम्रो हुन्छ,’ ठगुन्ना भन्छन्, ‘त्यसपछि भने हामीले विकल्पको बारेमा सोच्नुपर्ने हुन्छ । विकल्पको बारेमा सोच्ने भनेको मसँग क्षमता कति छ, अभिभावकले बच्चाको रुचि भएको विषय पढाउन सक्छन् कि सक्दैनन् ? कति लगानी गर्न सक्छन् भन्ने हो ।’

कुनै बच्चाको  योग्यता, क्षमता र रुचिको परीक्षण गर्दा ऊ मेडिकल क्षेत्रमा राम्रो गर्न सक्ने छ भन्ने देखियो, तर सो विषय पठाउन सक्ने आर्थिक क्षमता परिवारको नहुन सक्छ । यसतर्फ पनि ख्याल गर्नुपर्ने ठगुन्ना बताउँछन् ।

‘त्यसैले विकल्पको बारेमा पनि सोच्नुपर्ने हुन्छ । यदि म डाक्टर पढ्न सक्दिन भने मेडिकल फिल्डमा डाक्टर बाहेक अरू के पढ्न सकिन्छ त ? नर्सिङ पढ्न सक्छ कि, ल्याब टेक्निसियन पढ्न सकिन्छ ? के पढ्न सकिन्छ त्यो बारेमा पनि थाहा पाउनुपर्छ,’ उनी भन्छन् ।

यदि कसैले माइक्रोबायोलोजी पढ्न खोज्छ भने त्यो विषय एकदमै राम्रो हो । तर त्यो पढिसकेपछि नेपालमा काम पाउन भने गाह्रो छ । त्यसैले हामीले सिकेको सीप र ज्ञान कहाँ प्रयोग हुन्छ भन्ने कुरामा  पनि ध्यान दिनुपर्ने उनी सुझाउँछन् ।

‘नेपालमा करिअर काउन्सिलिङ गर्छौं भनेर थुप्रै इन्स्टिच्युट खुलेका छन् । उनीहरूले करिअर काउन्सिलिङको जुन मनोवैज्ञानिक विधि छ, त्यसलाई पछ्याएका छन् भने त एकदमै राम्रो हो,’ ठगुन्ना भन्छन् ‘करिअर काउन्सिलिङ भनेर केही क्षेत्रलाई मात्र महत्व दिइन्छ त्यो भने गलत हो । त्यसैले विज्ञको सल्लाह लिएर वा अभिभावक आफैंले पनि बच्चाको करिअर काउन्सिलिङ गर्न सक्छन् ।’

विद्यालय स्तर सकिएपछि अब के त भन्ने कुरामा विद्यालयले पनि बच्चाहरूलाई केही सहयोग गर्नुपर्ने हुन्छ । त्यसको लागि शिक्षकले पनि कुन बच्चा कस्तो छ र उसले कुन विषयमा राम्रो गर्न सक्छ भनेर अभिभावकलाई सहयोग गर्न सक्छन् ।

बच्चाको रुचि के विषयमा छ भन्ने कुरामा ध्यान नदिएर उसलाई आफूले चाहेको विषय पढाउन खोजियो भने उनीहरूले त्यो विषयमा राम्रो नतिजा नपाउन सक्छन् । त्यसैले किशोरकिशोरीमाथि आफ्नो इच्छा थोपर्ने भन्दा पनि उनीहरूको रुचिको विषय रोज्न दिनुपर्छ । बालबालिकाको लागि सबैभन्दा राम्रो विकल्प के हुन सक्छ त्यसमा अभिभावकले ध्यान दिनुपर्ने ठगुन्ना बताउँछन् ।

कक्षा १० सम्म विद्यार्थीले निश्चित पाठ्यक्रम पढेका हुन्छन् । तर कक्षा ११ मा पाठ्यक्रम र विषयमा विविधता हुन्छ । विभिन्न समूहबाट विषय छनोट गर्नुपर्ने भएकाले यसमा विद्यार्थीहरु अलमलिन सक्छन् ।  साथीले जे पढ्यो म पनि तै पढ्छु भन्न सक्छन् ।

रुचि भएको विषय छनोट 

कक्षा ११ मा गलत विषय छनोट गरियो भने त्यसले बालबालिकालाई धेरै हानी गर्न सक्छ ।  उनीहरूलाई गन्तव्यमा पुग्न धेरै समय लाग्न सक्छ वा गन्तव्यसम्म नपुग्न पनि सक्छन् । किशोरकिशोरीले रुचि नभएको विषय पढे भने भविष्यमा उनीहरूले गर्ने काममा पनि खुसी हुन सक्दैनन् । जसले उनीहरूको जीवनशैलीमा पनि प्रत्यक्ष असर गर्ने ठगुन्ना बताउँछन् ।

अहिलेका कक्षा ११ मा पढ्ने विद्यार्थीको उमेर १५-१६ वर्ष हुन्छ । त्यसैले केही हदसम्म उनीहरू आफैं पनि कुन विषय पढ्ने भन्ने निर्णय गर्न सक्ने हुन्छन् । त्यसैले बच्चा हो बच्चाले आफैं निर्णय गर्न सक्दैन भनेर अभिभावकले बेवास्ता गर्नु हुँदैन । उनीहरूको कुरा पनि सुनिदिनुपर्ने ठगुन्ना बताउँछन् ।

कतिपय किशोरकिशोरीलाई मेरो रुचि केमा हो भन्ने कुरा थाहा नहुन सक्छ । त्यस्ता बालबालिकालाई भने करिअर काउन्सिलरले रुचि थाहा पाउन सहयोग गर्न सक्छन् । जसले गर्दा उनीहरूलाई के पढ्ने भनेर निर्णय गर्न सजिलो हुन्छ । करिअर काउन्सिलिङले केही नयाँ कुरा गर्ने होइन । बच्चामा एको खुबीलाई चिनाउन सहयोग गर्ने मात्र हो ।

क्षमता अनुसार स्कुल कलेज छनोट

कुन स्कुल वा कलेज रोज्ने भन्ने कुरा अर्को महत्वपूर्ण पक्ष हो । नेपालका प्रायः स्कुल-कलेज उस्तै उस्तै छन् । यो राम्रो, यो नराम्रो भन्ने नहुने ठगुन्नाको भनाइ छ । तर आफ्नो क्षमता र अभिभावकको आर्थिक हैसियत हेरेर स्कुल-कलेज छनोट गर्नुपर्छ ।

धेरै पैसा तिरेको स्कुलमा राम्रो पढाइ हुन्छ भन्ने भ्रममा पर्न नहुने ठगुन्नाको सुझाव छ । पाठ्यक्रम एउटै हुने भएकाले त्यसले दिने ज्ञानको सार एउटै हो ।

‘केही वर्षअघिसम्म अंकको आधारमा कुन विषय पढ्ने भन्ने कुरा थियो । तर अहिले ग्रेडिङ सिस्टम लागू भएपछि केही सहज भएको छ,’ ठगुन्ना भन्छन्, ‘यो ग्रेड आए यो पढ्ने भन्दा पनि रुचिको विषय पढ्ने कुरालाई जोड दिनुपर्छ ।’

पढ्नका लागि सहर नै जानुपर्छ भन्ने होइन

एसईईपछि पढ्नका लागि धेरै विद्यार्थी गाउँबाट सहर आउँछन् । यसले अभिभावकको आर्थिक भार बढाएको हुन्छ । पढ्न मन लागेको विषय आफ्नै घरपायक भए सहर नै धाउनुपर्छ भन्ने नभएको ठगुन्ना बताउँछन् ।

‘कुनै विषयमा लगन छ भने गाउँमै पढेर पनि त्यो विषयमा राम्रो नतिजा प्राप्त गर्न सकिन्छ, कहाँ पढेको भन्ने कुराले ठूलो असर गर्दैन,’ उनी भन्छन् । सहरमा एक्लै बसेर भाडा तिर्ने र के खाने भन्ने तनाव लिएर पढ्नु भन्दा गाउँमै परिवारसँग बसेर पढ्दा झन् पढाइमा धेरै ध्यान केन्द्रित हुने उनको भनाइ छ ।

मनपर्ने कामको आधारमा पनि विषय छनोट

कुनै विद्यार्थी सबैसामु निर्धक्क बोल्न सक्छ, आफ्नो कुरा अरूलाई बुझाउन सक्छ भने उसमा नेतृत्व क्षमता बढी हुन्छ । यस्ता विद्यार्थीले पत्रकारिता वा राजनीतिमा राम्रो गर्न सक्छ । यी विषयमा उनीहरुले राम्रो गर्न सक्छन् ।

तर आफैंमा रमाउने खालको अन्तर्मुखी स्वभाव छ भने वित्तीय, साहित्य लगायतका विषयमा राम्रो गर्न सक्छन् । यस्तो स्वभाव भएका विद्यार्थीले यस्तै विषय रोज्नु उत्तम हुने ठगुन्ना सुझाउँछन् ।

उनी अगाडि भन्छन्, कुनै पनि विषय र पेसा आफैंमा राम्रो नराम्रो हुँदैन । जो व्यक्ति जुन विषयसँग जोडिन्छ उसको रुचि र क्षमताको आधारमा भने त्यो राम्रो नराम्रो हुन्छ । त्यसैले के पढ्ने भन्ने विषयमा एकदमै विचार पुर्‍याउनुपर्छ । अरूको करमा वा लहलहैमा लागेर विषय र स्कुल छनोट गर्नु हुँदैन ।’

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?