+
+

मैदा र चामलमा मनपरी मूल्य

केही दिनयता बजारमा मैदा र चामलमा अत्यधिक मूल्य बढेको पाइएको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार एक महिनाको बीचमा मैदाको मूल्य किलोमै ५ र चामलको ८ रुपैयाँसम्मले बढेको छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ साउन २२ गते २०:०७

२२ साउन, काठमाडौं । केही दिनयता बजारमा मैदा र चामलमा अत्यधिक मूल्य बढेको पाइएको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार एक महिनाको बीचमा मैदाको मूल्य किलोमै ५ र चामलको ८ रुपैयाँसम्मले बढेको छ ।

संघका सदस्य ध्रुव अधिकारीकाअनुसार मैदाको मूल्य प्रतिबोरा २५० रुपैयाँ भन्दा बढीले बढेको छ । राम्रो ब्राण्डको मैदाको मूल्य त कुनै कुनै ६ सय रुपैयाँसम्म बोरामा बढाइएको अधिकारीले बताए । यस्तै यस अवधिमा चामलको मूल्य पनि बढेको उनले बताए । २० र २५ किलोको बोरामा पाइने जिरा मसिनो चामलको मूल्य किलोमा ब्राण्डअनुसार ४ देखि ८ रुपैयाँ बढेको उनले जानकारी दिए । प्रतिबोरा २० र २५ किलोको चामलमा मूल्य अधिक रुपमा बढेको अधिकारीको भनाइ छ ।

बढेको मूल्यअनुसार जिरा मसिनो चामलको खुद्रा बिक्री मूल्य किलोमा ७९ देखि ८३ रुपैयाँसम्म पुगेको संघले जनाएको छ । यस अघि ७५ रुपैयाँ किलोमा जिरामसिनो चामल बजारमा पाइन्थ्यो । यस्तै प्रतिकिलो ६० रुपैयाँमा पाइने साधरण किसिमको मैदाको मूल्य अहिले ६५ रुपैयाँ पुगेको उनले बताए ।

‘चामलका होलसेल व्यापारी तथा मैदा उद्योगीहरुले मूल्य बढ्नुको कारण भारत हो भनेका छन्,’ अधिकारीले भने, ‘भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध र चामल बंगलादेशमा निर्यात थालेर बढेको बताउने गरेका छन् ।’

होलसेल व्यापारीहरुको संस्था नेपाल किराना व्यवसायी संघले पनि पछिल्लो एक महिनाको अवधिमा नेपाली बजारमा होलसेलमै मैदा, आँटा र चामलको मूल्य बढेको बताएको छ ।

संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठकाअनुसार भारतबाट यसअघि धेरै मात्रामा नेपाल भित्रिने जिरा मसिनो चामको मूल्य बोरामै एक सयदेखि १५० रुपैयाँ बढेको छ । यस्तै मैदा र आँटाको मूल्य भने व्यापारीअनुसार बढेको उनले बताए ।

भारतबाट नेपाल आउने चामल बंगलादेश निर्यात गरेका कारण भारतमै मूल्य बढेको र त्यसमा ढुवानी भाडामा भएको वृद्धिले थप महँगी निम्त्याएको श्रेष्ठको दाबी छ । यस्तै गहुँको प्रतिबन्धका कारण मैदाको मूल्य पनि बढेको उनले बताए ।

‘चामलको मूल्य बढ्नुमा भारतबाट बंगलदेश चामल निर्यात हुनु हो भने मैदाको मूल्य बढ्नुमा भारतको निकासी नीतिको अवरोध हो,’ श्रेष्ठ भन्छन्, ‘पुरानो चामलको स्टक सकिने र नयाँ चामल कात्तिक नभई बजारमा नआउने भएकाले यस्तो मूल्यवृद्धि अझै मंसिरसम्म जारी रहनेछ ।’

नेपालमा जति नै धान र गहुँ उत्पादन हुन्छ भने पनि चामल र मैदामा भारतकै मुख ताक्नुको विकल्प नरहेको श्रेष्ठको भनाइ छ । होलसेलमै बढेको मूल्यका कारण खुद्रा बजारमा मूल्य बढ्नु स्वभाविक नै भएको उनले बताए ।

खाद्य वस्तुको बजार मूल्य हस्तक्षेप गर्न भन्दै खडा गरिएको पूर्ण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने चामलको मूल्य नबढेको बताएको छ ।

कम्पनीसँग अहिले मैदा बिक्रीका लागि नरहेको र चामल भने यथेष्ट मात्रामा भएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदी न्यौपानेले जानकारी दिइन् । कम्पनी र मातहतका देशभरका भण्डारण केन्द्रमा कुल १ लाख १२ हजार ४२१ क्विन्टल चामल मौज्दात छ ।

यस्तै ४२ हजार ३१४ मेट्रिकटन धान र ३८० मेट्रिकटा गहुँ मौज्दातमा छ । कम्पनीले अहिले स्टिम जिरा मसिनो चामल प्रतिकिलो ६५ रुपैयाँ, सोना मन्सुली र अरुवा मध्यम चामल ५३ रुपैयाँ, बासमती चामल ११० रुपैयाँमा बिक्री गरिरहेको छ ।

यता साल्ट ट्रेडिङ कर्पोरेसनले भने ५८ रुपैयाँ प्रतिकिलोमा मैदा र ७४ रुपैयाँ किलोमा चामल बिक्री गरिरहेको जनाएको छ ।

वाणिज्य विभागले गरेको अनुगमनमा चामलको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्म बढेको पाइएको छ ।

बजार अनुगमनको केन्द्रीय निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजार अनुगमन तीब्र बनाएको बताएको छ । गत साता बजारमा चामल र मैदाको मूल्यअनुगमन गरिएको विभागका अनुगमन शाखा प्रमुख हरि पंगेनीले बताए । मूल्यबारे विभागले गरेको अनुगमनमा चामलको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्म बढेको पाइएको उनले बताए । ‘केही अघि मात्रै हामीले व्यापारी बोलाएर छलफल पनि गरेका छौं । उहाँहरुले भारतीय बजार र सरकारी नीतिको प्रभाव परेको भनेका छन्,’ निर्देशक पंगेनीले भने, ‘ थोरै मात्रामा मूल्य बढेको पक्कै हो तर बाहिर ब्यापारीले गरेको हल्ला अलि धेरै हुनसक्छ ।’

गत साता चामल, दाल, मैदा, आँटा लगायतका खाद्य वस्तुमा बजार अनुगमन बढाएको र मूल्य विश्लेषण गरिरहेको पंगेनीले बताए । बजारमा कृतिम मूल्य वृद्धिका सूचनाबारे जानकारी दिन सर्वसाधरणलाई आग्रह समेत गरेको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?