+
+

कमल थापाको प्रस्ताव : सीमित क्षेत्रमा मात्र चुनावी तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १५:२९

३० साउन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा सीमित क्षेत्रमा मात्र अन्य दलसँग चुनावी तालमेल गर्ने प्रस्ताव राखेका छन् ।

पार्टी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै थापाले आगामी संसदीय निर्वाचनबाट पार्टीलाई बलियो शक्ति बनाउनुपर्नेमा जोड दिएका छन् । उनले प्रस्तावमा भनेका छन्, ‘प्रदेशसभा र प्रतिनिधिसभाका केही सिमित क्षेत्रहरुमा अन्य राजनीतिक दलसँग चुनावि तालमेल गरिने छ । तालमेल नभएका बाँकि सबै क्षेत्रमा राप्रपा नेपालले उमेदवार खडा गर्नेछ ।’

भदौ २५ गतेसम्म उम्मेदवारहरुको नाम पठाउनुपर्ने र केन्द्रीय समितिले भदौ मसान्तसभित्र उम्मेदवारको नाम टुंगो लगाउने र असोज १ र २ गते वीरगञ्जमा बृहत राष्ट्रिय भेला गर्ने उनको प्रस्ताव छ ।

उनले आगामी चुनावबाट पार्टीलाई कम्तीमा राष्ट्रिय पार्टी बनाउने लक्ष्य राखेका छन् ।

हेर्नुहोस् कमल थापाको राजनीतिक कार्यपत्र

केन्द्रीय कार्यसमितिका आदरणीय सदस्य साथीहरु,

१) सर्वप्रथम केन्द्रीय कार्यसमितिको यस बैठकमा सहभागी हुन देशको विभिन्न भागहरुबाट पाल्नु भएका सम्पुर्ण साथीहरुमा म हार्दिक स्वागत अभिवादन तथा आभार व्यक्त गर्दछु । केन्द्रीय कार्यसमितिको यस बैठकमा देखिएको यो उत्साहपूर्ण उपस्थितिले एकातिर पार्टीप्रति हाम्रो निष्ठालाई पुनः एकपटक पुनर्पुष्टी गरेको छ भने अर्कोतर्फ पार्टीको समुज्वल भविष्यलाई सुस्पष्ट रुपमा संकेत गरेको छ ।

बिशिष्ठ परिस्थितिमा हामीले राप्रपा नेपाललाई पुनर्जागृत गरेको केवल पाँच महिना मात्र पुरा भएको छ । यो छोटो अवधिमा प्राप्त भएका उपलव्धिहरु अत्यन्त उत्साहजनक छन् । यसबिचमा देशको सबै सात प्रदेश र सबै सतहत्तर जिल्लाहरुमा पार्टीको संरचना खडाभएको छ । विभिन्न भातृसंगठनहरु स्थापना भई क्रियाशील भएका छन् । सातवटै प्रदेशमा स्थानीय बुद्धिजिवि वर्ग र समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग अन्तर्क्रिया तथा प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । पार्टीले अवलम्बन गरेको बिचार र एजेण्डा प्रति आमजनतामा सकारात्मक उत्सुकता बढेको पाईन्छ । पाँच महिनाको छोटो अवधिमा अन्य कुनै पनि नयाँ पार्टीले यति सफलता हासिल गरेका छैनन् ।

तर, हामीले यसैमा संतोष वा आत्मरित गरेर बस्न सक्ने अवस्था भने छैन । राप्रपा नेपाल केवल निर्वाचन आयोगमा दर्ता भएर आरामसँग दिन विताउने पार्टी होईन । नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाल फरक बिचार, अलग पहिचान र राष्ट्रनिर्माणको वैकल्पिक मार्गचित्र बोकेको राजनीतिक दल हो । लोकतन्त्र, राष्ट्रियता, सनातन हिन्दूराष्ट्र र उदार अर्थतन्त्रको मान्यतामा आधारित “सम्वर्द्धनवाद” को बैचारिक धरातलमा आर्थिक, राजनीतिक र सामाजिक रुपान्तरणद्वारा सबल र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य लिएर खडाभएको पार्टी हो ।

२०६२/६३ को परिवर्तन पछि मुलुकमा कायम गरिएको गलत भाष्य र त्यसको जगमा खडा गरिएको गणतन्त्र, धर्मनिरपेक्षता र संघियता जस्ता मान्यताको विकल्पमा राजासहितको प्रजातन्त्र, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र एवं सदृढ स्थानीय स्वायत्त शासन प्रणालीको एजेण्डा बोकेर तत्कालीन अवस्थामा राप्रपा नेपालको स्थापना भएको हो । प्रतिकुल परिस्थिति तथा असहज वातावरणका वावजुद नेपाली जनताको अभिमतबाट छोटो समयमा नै  राप्रपा नेपाल कंग्रेस र कम्युनिष्ट पछिको तेस्रो ठूलो शक्तिकोरुपमा स्थापित हुनपुग्यो ।

२०७२ साल असोजमा संविधानसभाबाट नयाँ संविधान बनेपछि राप्रपा नेपालको अगाडि दुई विकल्पहरु थिएः पहिलो- आफ्ना मान्यताहरु स्थापित नभएको संविधानलाई अस्विकार गरेर विद्रोहको बाटोमा जाने वा दोस्रो- आफ्ना मान्यता प्रति दृढ रहँदै संविधानलाई आलोचनात्मक समर्थन गर्ने एवं जनताको अभिमतबाट आफ्ना एजेण्डा स्थापित गर्ने प्रजातान्त्रिक बाटोमा जाने । हामीले धेरै सुझबुझका साथ दोस्रो बाटो रोज्यौँ । तत्पश्चात् नयाँ संविधान अनुसार चुनाव हुने भएपछि पार्टी ठूलो बनाउने अतिमहत्वाकांक्षा राख्दा हामीले गलत प्रवृत्ति, सिद्धान्तहिनता र अवसरवादीतासँग सम्झौता गर्न पुग्यौँ । त्यहीँबाट हाम्रो त्रुटिहरुको श्रृंखला शुरू भयो । सिद्धान्त र आदर्श भन्दा सत्तास्वार्थ हाम्रो प्राथमिकता हुन गयो । फलस्वरुप गत पाँच वर्ष राष्ट्रिय राजनीतिमा हामी भूमिका र महत्वविहिन हुन पुग्यौँ । २०६३ पछि हामीले परिकल्पना गरेको मान्यतामा ठूलो आघात पुग्यो । हाम्रो सपना अधुरो रह्यो ।

यसरी अनेक आरोह अवरोह पारगर्दै तथा विगतका त्रुटि र कमजोरीहरुबाट पाठ सिकेर हामीले गत २०७८ साल फागुन ७ गते प्रजातन्त्र दिवसको ऐतिहासिक दिन राप्रपा नेपाललाई पुनर्जागृत गर्यौ ।

राप्रपा नेपाललाई पुनर्जागृत गर्दा हामीले देशको धरातलीय यथार्थ, गत सोह्र वर्षको अभ्यास र जनभावनाको सम्मान गर्दै तथा “सम्बर्द्धनवाद” को मुलभूत मान्यता कायम राख्दै पार्टीको कार्यनीतिमा केही परिमार्जन समेत गरेका छौँ । लोकतन्त्र, सनातन हिन्दुराष्ट्र, केन्द्र र स्थानीय गरी दुईतहको सरकार, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्णसमानुपातिक निर्वाचन प्रणाली अब राप्रपा नेपालको मुख्य अवधारणा हुनेछन् । सुशासन र आर्थिक समृद्धि राप्रपा नेपालको प्राथमिकता हुनेछ । भ्रष्टाचार निवारण एवं वेरोजगारी समस्याको समाधान पार्टीको प्रमुख कार्यनीति हुनेछ ।

नेपालको भूराजनीतिक अवस्था एवं धार्मिक, सामाजिक एवं सांस्कृतिक परिवेशमा चुनावी राजनीति भन्दा माथि उठेको सबैको नेपालीलाई मान्य हुने साझा अभिभावक एवं राष्ट्रिय एकताको प्रतीकको रूपमा संवैधानिक राजसंस्था सहितको शासकीय स्वरुप उपयुक्त हुनसक्छ । तर, गत सोह्र वर्षको अभ्यास, देशको धरातलीय यथार्थ र जनभावनाको सम्मान गर्दै हाललाई राजसंस्था पुनःस्थापनाको एजेण्डा राप्रपा नेपालको कार्यनीति हुने छैन। तथापि यस विषयलाई पार्टी भित्र सैद्धान्तिक एंव प्राज्ञिक बहसको निम्ति खुला राखिने छ।

२) राप्रपा नेपाललाई पुनर्जागृत गर्नु भनेको शुन्यबाट नयाँ अभियान प्रारम्भ गर्नु सरह हो । राष्ट्रिय राजनीति ध्रुविकृत हुँदै गएको तथा गठवन्धनको अभ्यासमा प्रवेश गरेको वर्तमान समयमा नयाँ पार्टी खोलेर अघि बढ्ने कुरा स्वभावतः अत्यन्त कठिन र जोखिमपूर्ण कार्य हो । यस्तो प्रतिकुल अवस्थामा पनि सबै प्रकारका स्वार्थ परित्याग गरेर राप्रपा नेपालको अभियानमा सहभागी हुनुभएका सम्पूर्ण स्वाभिमानी राष्ट्रवादी साथीहरुमा म हार्दिक आभार व्यक्त गर्न चाहन्छु । सबैको सत्प्रयासबाट प्रसव वेदनाको प्रारम्भिक चरण पार गरी अब संगठन निर्माणको दोस्रो चरणमा प्रवेश गर्दैछौँ । संसदीय चुनाव केही समय पछि भएको भए, हाम्रो लागि सजिलो हुन्थ्यो । तर, त्यो हाम्रो वशमा छैन। त्यसर्थ अब हामीले युद्धस्तरमा तयारी गरेर चुनावमा भाग लिनु पर्दछ । यो चुनाव हाम्रो निम्ति अग्नीपरिक्षा हो । जुन परिक्षामा अनुत्तिर्ण हुने सुविधा हामीलाई छैन । हामी निश्चितरुपले सफल हुन्छौ, यही आत्मविश्वासका साथ हामीले आबश्यक तयारी गर्नुपर्छ । केन्द्रिय कार्यसमितिको यो बैठक मुख्यरुपले यसै विषयमा केन्द्रित रहने छ ।

३) मुलुकको बदलिँदो राजनीतिक अवस्थाको पृष्ठभूमीमा यो बैठक बसिरहेको छ । विगतका कमि कमजोरीहरुबाट पाठ सिकेर आगामी दिनमा राप्रपा नेपाललाई देशको एक अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्ने दिशामा यो बैठक कोसेढुंगा सावित हुनेछ भन्ने मैले पूर्ण विश्वास गरेको छु । नयाँढंगबाट अघि बढ्नु पर्दाको पिडाले पार्टीका कतिपय साथीहरुमा यदाकदा विचलन, शिथिलता र निराशाको प्रवृत्ति समेत देखिने गरेको छ । उक्त स्थितिलाई सुधार गर्न केन्द्रीय कार्यसमितिको यस बैठकले ठोस मार्गदर्शन गरोस्, पार्टीलाई सशक्त तुल्याउन युगान्तकारी कार्ययोजना तयार गरोस् र पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन दिशा निर्देश गरोस् भन्ने पार्टीका आम कार्यकर्ता, सहयोगी र शुभेच्छुकहरुको चाहना र अपेक्षा रहेको छ ।

यो धरातलीय यथार्थलाई दृष्टिगत गर्दै यस बैठकले विभिन्न विषयहरुमा खुला र उदार ढंगबाट छलफल गरि महत्वपूर्ण निर्णयहरु गर्न सक्नु पर्दछ । यस बैठकलाई कतिपय देशी विदेशी शक्तिहरुले समेत उत्सुकता पूर्वक हेरि रहेका छन् । पुनर्जागृत भएपछि अब राप्रपा नेपाल कुन दिशा तर्फ अघि बढछ, पार्टीको विचार र नीतिमा के कस्तो परिवर्तन हुनेछ भन्ने जिज्ञासा र कौतुहलता सबैमा रहेको पाईन्छ । कतिपयले अब राप्रपा नेपाल चल्दैन, पार्टीको कुनै भविष्य छैन भन्ने टिप्पणीहरु गरेको पनि सुनिन्छ । यस्ता सोचाईलाई गलत सावित गर्दै यस बैठकले पार्टीलाई थप उर्जा र स्पष्ट दिशा निर्देश गर्न सक्नु पर्दछ ।

४) नेपालको राष्ट्रिय राजनीतिमा जुन फरक विचार र मार्गचित्र बोकेर हामी क्रियाशील रहेका छौं, त्यसले पनि हामीलाई निराश, शिथिल र पलायन हुने अनुमति दिंदैन । वास्तवमा राप्रपा नेपालको विजारोपण गर्दा हामीले मुलुकलाई एउटा वैकल्पिक प्रजातान्त्रिक शक्ति उपलब्ध गराउने संकल्प गरेका थियौं । हामी लामो यात्राको यात्री हौँ ।

२०६२÷६३ को परिवर्तन पश्चात परविर्तनलाई संस्थागत गर्ने क्रममा प्रमुख राजनीतिक दलहरुबाट अवलम्बन गरिएको त्रुटीपूर्ण अवधारणा, मार्गचित्र र अवधारणाको विकल्पमा “सम्बर्द्धनवाद”को बिचार बोकेर राप्रपा नेपालको स्थापना भएको सर्वविदित छ । कठिन र चुनौतिपूर्ण परिस्थितिका वावजुद राप्रपा नेपालले अवलम्बन गरेको विचार र नीतिको औचित्य र महत्व सर्वकालिक छ ।

यस पृष्ठभूमीमा पार्टी संगठनलाई अझ प्रभावकारी ढंगबाट अघि बढाउने बाहेक हामीसँग अर्को विकल्प छैन । पार्टीलाई सशक्त  र नयाँ ढंगबाट अघि बढाउने बारे चर्चा गर्नुपूर्व मुलुकको वर्तमान अवस्थावारे संक्षिप्त विश्लेषण र समिक्षा गर्नु उपयुक्त र प्रासांगिक हुनेछ ।

५) संविधानसभाबाट नयाँ संविधान बनेपछि तथा नयाँ संविधान अनुसार सबैतहको चुनाव सम्पन्न भएपछि देशमा शान्ति र स्थायित्व कायम हुन्छ र देश आर्थिक विकासको नयाँ युगमा प्रवेश गर्छ भन्ने आमनेपालीको विश्वास रहेको थियो । तर, जनताको अपेक्षा र आशा विपरित देश अझै संकटको दलदलबाट निस्कन सकेको छैन । संक्रमण अझै लम्बिने र संकट थपिंदै जाने संभावना देखिन्छ । वस्तुतः २०६२ साल मंसिर ७ गते भारतको राजधानी नयाँदिल्लीमा भारतीय शासकवर्गको प्रत्यक्ष सहयोग र संलग्नतामा भएको बाह्रबुँदे समझदारी तथा ६२÷६३ को आन्दोलन पछि नेपाली जनताको  प्रत्यक्ष अभिमत विना नै लादिएका अवधारणा र मार्गचित्रको परिणामस्वरुप देश अहिले पनि अन्यौल, अनिश्चितता र अराजकताको भूमरीबाट निस्कन सकेको छैन । कतिपय नयाँ मान्यताहरु संविधानमा संस्थागत त गरियो तर, त्यसलाई व्यवस्थित गर्ने तथा त्यसबाट पर्नसक्ने प्रभावका बारेमा यथोचित चिन्तन र भरपर्दो आधारको अभावले गर्दा देशको अवस्था झन झन जटिल बन्दै गैरहेको छ । यदी यो तितो यथार्थलाई हृदयंगम गरि समस्याको मूलजडलाई सम्बोधन गर्ने प्रयास भएन र वर्तमान मार्गचित्रलाई नै निरन्तरता दिने कार्य भयो भने अन्तत्वगत्वा देशमा विदेशी शक्तिहरुको चलखेल तिव्ररुपले बढने र अन्ततः राष्ट्रविखण्डनको दुःखद अवस्था सम्म पुग्न सक्ने खतरा देखिन्छ ।

अहिले सतहमा सरसरर्ती हेर्दा जीवन सामान्य ढंगबाट चलिरहेको तथा नियमित रुपमा विकास निर्माणका कार्य भैरहेको अनुभूती हुन्छ । तर, गहिराईमा पसेर विश्लेषण गर्ने हो भने देशको अवस्था जटिल बन्दै गैरहेको तथा हामी भूसको आगोमाथी बसिरहेको आभास हुन्छ । लोकतन्त्रको आवरणमा मौलाउँदै गरेको सर्वसत्तावाद, भ्रष्टाचार, धर्मपरिवर्तन, बाह्यशक्तिहरुको  चलखेल वर्तमान अवस्थामा देशका मुख्य चुनौतिहरु हुन । यि एकअर्काका परिपुरक समेत छन् । कमजोर र दिशाहिन अर्थतन्त्रले गरीब र धनी बिचको खाडललाई ठूलो बनाउनुका साथै बेरोजगारी समस्यालाई थप जटिल बनाएको छ । बिदेशी मुद्राको संचितिमा ह्रास, विकराल व्यापार घाटा, बढदो मुद्रास्फितिको कारण समग्र अर्थतन्त्र संकटग्रस्त हुँदै गैरहेको छ ।

न्यायपालिका, संवैधानिक अंग र प्रशासनिक संयन्त्रहरुको  पार्टीकरणले राज्यका संयन्त्रहरुको प्रभावकारितामा समेत व्यापक ह्रास आएको छ । उल्लेखित यथार्थले राष्ट्रनिर्माणको अभियानलाई निरन्तर प्रतिकुल प्रभाव पारिरहेको छ ।

राष्ट्रिय जीवनका प्रायः हरेक क्षेत्रमा भ्रष्टाचार व्यापक हुँदै गैरहेको छ । स्थानीय तहदेखि केन्द्रीय सरकार सम्म अनियमिता र भ्रष्टाचार संस्थागत भएको छ । केही सिमित राजनीतिक नेता, कर्मचारी र व्यापारीको त्रिकोणात्मक साँठगाँठबाट भ्रष्टाचारको अभेद्य चक्रव्युह निर्माण भएको छ । यसमा संवैधानिक अंग, प्रहरी र न्यायपालिका समेतको संलग्नता रहने गरेको पाईन्छ । फलतः ठूला भ्रष्टाचारीहरु कहिल्यै कार्वाहीको दायरामा आउन नसक्ने र नपर्ने किल्ला खडा भएको छ । नियुक्ति, सरुवा, बढुवा र महाभियोगलाई हतियारको रुपमा प्रयोग गरि राजनीतिक क्षेत्रले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरिरहेका छन् । निर्वाचनमा माफिया र ठेकेदारहरुको बाहुल्यताले चुनावको स्वच्छता माथी समेत प्रश्नचिन्ह खडा भएको छ । कालोधन विदेशमा जम्मा गर्ने र विदेशबाट कालोलाई सेतो बनाई देशभित्र ल्याउने धन्दा चलेको छ । कानुन र अख्तियारको आँखा छल्न नीतिगत निर्णयको बहानामा ठेक्कापट्टा सम्बन्धि विषयमा रित र प्रक्रिया नै नपुर्‍याई मन्त्रिपरिषदबाट ठाडो निर्णय गर्ने गराउने कार्य व्यापक भएको छ । भ्रष्टाचारले अर्थतन्त्र कमजोर बनाएको मात्र होईन सामाजिक सदाचार र आदर्शलाई समेत आघात पुर्‍याएको छ ।

२०६२÷६३ को आन्दोलन पश्चात सबैभन्दा पहिलो आक्रमण नेपालको हिन्दुराष्ट्रको पहिचानमाथी भयो । आन्दोलनमा कहीँ कतै आवाज नै नउठेको अवस्थामा आन्दोलन सकिएको एक महिना भित्रै विदेशीको दवाव र प्रभावमा परि हिन्दुराष्ट्रको पहिचान समाप्त पारि कथित धर्मनिरपेक्षता लाद्ने काम भयो । अहिले त्यहि धर्मनिरपेक्षताको आडमा संगठित र योजनाबद्ध रुपमा प्रलोभन देखाएर र भ्रम सिर्जना गरेर धर्मपरिवर्तन गराउने अभियान नै चलेको छ । गत डेढ दशकको अवधिमा दशौं लाख धर्मपरिवर्तन गराईएको छ । स्वेच्छाले कुनै व्यक्तिले आफ्नो आस्था वा धर्मपरिवर्तन गर्दछ भने आपत्ति गर्नुपर्ने कारण छैन । तर, नेपालमा कानुन विपरित संगठित र योजनाबद्ध रुपले धर्मान्तरण गराईएको छ । धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी जनजाती र दलित समुदायका व्यक्तिहरु परेका छन् । यस्तो प्रवृत्तिमा नियन्त्रण हुन सकेन भने त्यसले स्वभावतः नेपालको राष्ट्रिय पहिचान र संस्कृतिमा आघात त पुर्‍याउँछ नै साथै सदियौंदेखि नेपाली समाजमा कायम रहंदै आएको सामाजिक सांस्कृतिक सदभाव र एकता खलबलीन गै देश धार्मिक द्वन्द्वमा फस्न सक्ने खतरा समेत देखिन्छ ।

नेपालमा पटक पटक प्रजातन्त्रको लागि संघर्ष भएको छ तर सात दशक पछि पनि हामीले स्थायी राजनीतिक प्रणाली र संविधान कायम गर्न सकेका छैनौं । संघर्ष हुन्छ, प्रजातन्त्र आउँछ तर केही वर्षपछि फेरी निरंकुशता हावि हुन्छ र प्रजातन्त्र धरापमा पर्दछ । यसका विभिन्न कारणहरु छन् । राजनीतिक परिवर्तन सँगै आर्थिक परिवर्तन हुन नसक्नु, प्रजातान्त्रिक संस्कार, व्यवहार र संस्थाहरु कमजोर रहनु तथा प्रजातन्त्रको मेरुदण्डका रुपमा रहने मध्यम वर्गीय समुह बलियो नहुनु जस्ता कारणहरुले नेपालमा प्रजातन्त्रका उपलब्धिहरु संस्थागत हुन सकेका छैनन् । नेपालको सन्दर्भमा विदेशी शक्तिहरुको चलखेलले पनि प्रजातन्त्रको स्थायित्वमा नकारात्मक प्रभाव पारिरहेको छ ।

परिवर्तनलाई संस्थागत गर्ने क्रममा लादिएका त्रुटिपूर्ण विचारहरु, नयाँ संविधान भित्रका अन्तर्रबिरोधहरु तथा राजनीतिक दलका नेताहरुको स्वार्थी प्रवृत्तिले प्रजातन्त्र पुनः धरापमा पर्न सक्ने खतरा बढिरहेको छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघियतालाई महान उपलब्धिको रुपमा प्रचार गरिएता पनि वस्तुतः ती मान्यताहरु केवल व्यवस्था र अवस्थामा मात्र हुन् । त्यसले स्वस्फूर्त रुपमा सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणलाई सुनिश्चित गर्दैन । नयाँ संविधान जारी भै सम्पन्न निर्वाचन पश्चातको पछिल्लो पाँच वर्षको अवधिमा विकसित राजनीतिक घटनाक्रमबाट स्पष्ट भैसकेको छ कि हामी प्रजातन्त्रको आवरणमा क्रमशः सर्वसत्तावाद तर्फ उन्मुख भैरहेका छौं । विश्वका अन्य कतिपय मुलुकहरुमा झै अहिले नेपालमा विस्तारै संविधान र प्रजातन्त्रको आवरणमा अधिनायकवादको अभ्यास हुँदै गैरहेको छ । सतहमा हेर्दा संविधान बमोजिम नै काम भैरहेको देखिन्छ, जनताको अभिमत अनुरुप नै निर्णय भैरहेको देखिन्छ तर संविधान र जनमतलाई यसरी दुरुपयोग गरिएको हुन्छ जसलाई ठम्याउन समेत कठिन हुन्छ ।

यति हुँदा हुँदै पनि देशको आर्थिक विकास हुन सकेको भए, जनताले आर्थिक सम्बृद्धिको अनुभूती गर्न पाएको भए तथा राष्ट्रिय हित र स्वार्थको सम्बद्र्धन हुन सकेको भएको भए शायद धेरै चिन्ता गर्नु पर्ने थिएन । तर, अवस्था त्यसको ठिक विपरित छ । देश संकटग्रस्त छ ।

५) यसरी देश संकटग्रस्त रहेको अवस्थामा प्रमुख राजनैतिक दलहरु भित्र कायम रहेको सैद्धान्तिक विचलन, आन्तरिक विवाद एवं ह्रासोन्मुख नेतृत्व क्षमताको पृष्ठभूमिमा देशलाई अहिले एउटा बलियो वैकल्पिक प्रजातान्त्रिक शक्तिको नितान्त आवश्यक रहेको स्पष्ट महशुस हुन्छ । मूलतः देशका मुख्य राजनैतिक दलहरुको मुल्य र मर्यादाहिन राजनीति तथा निरन्तरको निरर्थक विवादले गर्दा देशमा लामो समय सम्म अस्थिरता र अराजकता कायम हुन गएको हुँदा नयाँ विकल्पको आवश्यकता महशुस हुन थालेको हो ।

एकातिर दलहरु प्रति व्यापक वितृष्णा छ भने अर्कोतर्फ नेपाली समाज तिव्र रुपले पार्टीकरणको चपेटामा परेको छ । राजनीतिक क्षेत्रका अतिरिक्त शैक्षिक, व्यापारिक, आमसंचार जगत, नागरिक समाज, व्यावसायिक क्षेत्र, धार्मिक समुदाय प्रायः सबै राजनीतिक रुपमा ध्रुविकृत भएका छन् । सत्य तथ्य र ठिक बेठिक भन्दा पनि पार्टीसँगको आवद्धता र आफ्नो क्षणिक लाभहानीको आधारमा सोच्ने र निर्णय गर्ने प्रवृत्ति हावि भएको छ । यो जटिल चक्रव्युह तोडन कठिन छ, तर असंभव छैन । निरन्तरको ईमानदार प्रयास र निष्काम कर्मबाट यो किल्ला तोडन सकिन्छ । यहि आत्मविश्वासका साथ अघि बढ्नु वर्तमान अवस्थामा राप्रपा नेपालको राष्ट्रिय अभिभारा हो ।

६) राप्रपा नेपालको अमुल्य पूंजि भनेको पार्टीले अवलम्बन गरेको मौलिक विचार र राष्ट्रनिर्माणको फरक मार्गचित्र हो । यही पूंजी नै राप्रपा नेपालको शक्तिको श्रोत हो ।

कतिपयलाई अपाच्य लाग्नसक्छ तर, मुलुकमा विद्यमान संकट र संविधानको आवरणमा लुकेको संभावित सर्वसत्तावाद, धर्मपरिवर्तन, भ्रष्टाचार, बाह्य शक्तिको चलखेल र साम्प्रदायिकता जस्ता रोगहरुको निराकरणको अचुक उपाय राष्ट्रियता,  समावेशी प्रजातन्त्र, सनातन धर्म र संस्कृतिको धरातलमा खडा भएको “सम्बर्द्धनवाद” को मान्यता नै हो । राप्रपा नेपालले अघि सारेको पूर्ण धार्मिक स्वतन्त्रता र समानता सहितको सनातन हिन्दुराष्ट्र, जनताबाट प्रत्यक्ष निर्वाचित हुने प्रधानमन्त्रिय पद्दति, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र पूर्णसमानुपातिक निर्वाचन प्रणालीको प्रस्तावले धेरै हदसम्म विद्यमान संकटको समाधान दिन सक्दछ ।

नेपाल अहिले चौबाटोमा खडा भएको यात्री जस्तो छ । वर्तमान अवस्था सम्म आईपुग्दा हामीले हाम्रा कतिपय मान्यता, संस्था र धरोहरलाई ध्वस्त बनाईसकेका छौं । नयाँ नेपाल बनाउने नाममा हामीले आफ्नो ईतिहास मेटाउने, धर्म र संस्कृति नष्ट गर्ने तथा परस्परागत संस्था र संरचनाहरुलाई क्षतविक्षत तुल्याएका छौं । हामीले नयाँ संविधान त बनायौं तर, संविधानको कार्यान्वनमा चुनौतिहरुको पहाड खडा भएको छ । संविधान भित्रको अन्तर्रविरोधको निराकरण सहज छैन । बृहत राष्ट्रिय हित र स्वार्थलाई दृष्टिगत गर्दै विगतका असल र आवश्यक पक्षलाई समायोजन गर्दै नयाँ परिवेशको निर्माण गर्नु नै वर्तमान समयको बुद्धिमत्तापूर्ण विकल्प हो ।

७) राष्ट्रको सामुन्ने विद्यमान संकट समाधानको निमित्त राप्रपा नेपालले फेरि एकपटक विगतका कमिकमजोरीहरुबाट पाठ सिकेर नयाँ ढंगबाट अघि बढनु आवश्यक छ । यस क्रममा राप्रपा नेपाललाई परम्परागत शैलीको राजनैतिक दलहरु भन्दा फरक ढंगबाट अघि बढाउनु जरुरी छ । वैचारिक रूपमा मात्र होईन अन्य दलहरुको तुलनामा कार्यशैली र चरित्रमा पनि भिन्नता हुनु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । कुनै पनि राजनैतिक शक्ति विचार शुन्यतामा खडा हुन सक्दैन । राजनैतिक दलको आत्मा भनेकै विचार वा सिद्धान्त हो ।

यसै सन्दर्भमा देशलाई एउटा बलियो वैकल्पिक राजनीतिक शक्ति उपलब्ध गराउने उदेश्यका साथ राप्रपा नेपाल अन्य दलहरु भन्दा लोकतन्त्रको वृहत परिवेशमा केही फरक विचार र मार्गचित्र बोकेर जनता समक्ष उपस्थित भएको छ । फरक बिचारहरु बिचको प्रतिस्पर्धाले प्रजातन्त्रलाई सुदृढ र परिपक्व बनाउने हुँदा पनि राप्रपा नेपालको फरक विचार स्वभाविक र वैकल्पिक प्रजातान्त्रिक मान्यता  हो ।

राजनैतिक दलको विचार समय र परिस्थिति सापेक्ष हुनु पर्दछ । भूराजनैतिक अवस्था, समाजको विकासक्रम र जनताको परिवर्तित चाहनालाई ठीक ढंगबाट विश्लेषण गरी आफ्नो सिद्धान्तलाई निर्माण र परिमार्जन गर्न सक्ने राजनैतिक दल मात्र दीर्घकाल सम्म टिक्न सक्दछ । समयको मागले नै राजनैतिक विचारको जन्म र शक्तिको उदय हुने गर्दछ । समकालीन नेपालको मुख्य चुनौती निम्न बमोजिम रहेको छः

क. धार्मिक, सांस्कृतिक पहिचान माथि भैरहेको आक्रमणबाट जोगाई नेपालको प्राचीन सभ्यता र पहिचानको रक्षा,

ख.  लोकतन्त्रको आवरणमा फस्टाएको सर्वसत्तावदको प्रभावबाट नेपाली समाजलाई मुक्त तुल्याई उदार प्रजातन्त्रको सदृढीकरण,

ग. नेपाली राजनीतिमा बढ्दो बाह्य हस्तक्षेप र आत्मसमर्पणवादलाई अन्त गरी राष्ट्रियताको सवलिकरण,

घ. उदार आर्थिक नीतिको कार्यान्वयनद्वारा मुलुकको आर्थिक विकास र समृद्धि ।

उपरोक्त चुनौतीलाई सामना गर्न सक्ने राजनैतिक विचार र शक्ति नै नेपालको निमित्त समयको माग हो । देशलाई अहिले यस्तो शक्ति चाहिएको छ , जो राष्ट्रवादी होस् एवं मन वचन र कर्मले प्रजातन्त्र र जनताको सर्वोच्चता प्रति प्रतिवद्ध रहोस् । एउटा यस्तो शक्ति जसमा सनातन धर्मको रक्षा गर्दै मुलुकलाई आर्थिक सम्बृद्धिको लक्ष्यमा पुर्‍याउन सक्ने दुरगामी सोचाई, दृढता र साहसिक नेतृत्व होस् । नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाल त्यहि शक्ति बन्ने अभियानमा लागेको छ ।

यसै पृष्ठभूमीमा राप्रपा नेपालले सम्बनर्द्धनवादलाई आफ्नो वैचारिक दर्शनको रुपमा अवलम्बन गरेको हो । सम्बर्द्धननवादबारे यहाँ संक्षिप्त चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

८) परम्परागत मूल्य, मान्यता, धर्म, संस्कृति र संरचनाको संरक्षण र सम्बर्द्धन गरेर राष्ट्रनिर्माण गर्नुपर्छ भन्ने मान्यता नै संक्षेपमा सम्बर्द्धनवाद हो । निरन्तरता सहितको परिवर्तन “सम्बद्र्धनवाद”को मुख्य चरित्र हो । नेपाली समाज मुलतः परम्परावादी मान्यताको जगमा अडिएको छ । नेपाली समाजको जरा, बनोट र चरित्रमा परम्परा, धर्म, संस्कृति, मूल्य, मान्यताको महत्वपूर्ण योगदान रहेको छ ।

सफल प्रजातन्त्र र आर्थिक विकासको दृष्टिकोणबाट अग्रपंक्तिमा रहेका सबै राष्ट्रले आफ्नो परम्परागत धर्म, संस्कृति, मूल्य, मान्यता र संस्थाहरुको संरक्षण गरेर नै त्यो सफलता हासिल गरेका हुन् । इतिहास मेटाएर, धर्म नष्ट गरेर, परम्परालाई घृणा गरेर कुनै पनि राष्ट्र प्रगतिको शिखरमा पुग्न सक्दैन । उग्र साम्यवादका पक्षधरहरुले आफ्नो राजनैतिक अभीष्टलाई पुरा गर्न ध्वंसको बाटो अवलम्बन गर्ने गर्दछन् । पुराना मान्यता र पद्दति प्रति घृणा पैदा गराउनु र बलपूर्वक विस्थापित गर्नु उनीहरुको रणनीतिक उदेश्य रहँदै आएको छ । त्यसर्थ वर्तमान विश्वमा उदार प्रजातान्त्रिक मान्यतामा आधारित सम्बद्र्धनवाद नै उग्रसाम्यवादको सहि प्रत्युत्तर हो भन्ने तथ्य स्थापित भैसकेको छ । यही मान्यतालाई राप्रपा नेपालले आफ्नो मूल वैचारिक आधारस्तम्भको रूपमा ग्रहण गरेको छ । नेपालको गौरवपूर्ण इतिहास, सनातन धर्म र प्राचीन संस्कृतिको संरक्षण र सम्बद्धर्न प्रति राप्रपा प्रतिवद्ध रहने छ । हिन्दु, बौद्ध र मुन्धुम जस्ता विश्वका महान धार्मिक आस्थाहरुको उदगम स्थल नेपाल हो । यो पावन हिमवतखण्ड र मानसखण्डमा प्राचीन कालदेखि नै सबै धर्म र आस्थाहरुका बिचमा एकता र समभाव कायम रहँदै आएको छ । हिन्दू, बुद्धिष्ट र किराती मात्र होईन, विभिन्न कालखण्डमा नेपालमा आएर बसोवास गरिरहेका जैन, शिख, ईस्लाम र ईसाइ धर्मावल्बीहरुसँग पनि सद्भाव र सहकार्य नेपालको पहिचान हो । यही पहिचानको रक्षा राप्रपा नेपालको ध्येय हो ।

२०६२÷६३ को परिवर्तन पश्चात विदेशीको प्रभावमा राष्ट्रनिर्माणको निम्ति जुन राजनीतिक, आर्थिक र सामाजिक व्यवस्था र मान्यता हामीले अनुशरण गर्न खोज्यौं, त्यो मोडेल त्रुटिपूर्ण थियो । त्यसले नेपाली समाजमा अस्थिरता, विभाजन र विखण्डनलाई प्रोत्साहित गरिरहेको छ । प्रजातन्त्रको आवरणमा केही सिमित व्यक्तिहरुको राजनीतिक सिण्डिकेट स्थापित गर्दैछ । सामाजिक विभेद, क्षेत्रीय असन्तुलन र उपभोक्तवादी चरित्रको विकास गरेको छ । विदेशीको हस्तक्षेप बढाएको छ । यस परिस्थितिले राप्रपा नेपाललाई राष्ट्रनिर्माणको वैकल्पिक मोडेलबारे सोच्न अभिप्रेरित गर्‍यो । त्यो वैकल्पिक मोडेल भनेको “सम्बर्द्धनवाद” हो । यो दर्शन र मान्यता पश्चीमा मुलुकहरुले अवलम्बन गरेको पूंजीवाद र मार्क्सवाद र समाजवाद भन्दा भिन्न रहेको छ । सम्बर्द्धनवादले पूंजिवाद र मार्क्सवादका ज्यादती, कमि र विकृतिहरुलाई पन्छाएर मध्यमार्गी मौलिक वैचारिक धरातल ओगटने प्रयास गरेको छ ।

साम्यावद, पुंजिवादी र मार्क्सवादीहरु मुलतः शरिर र मनको आवश्यकता परिपूर्तिमा जोड दिन्छन् । फलस्वरुप उनीहरुको ध्यान व्यक्ति र उसको भौतिक आवश्यकता तर्फ केन्द्रित रहेको हुन्छ । उनीहरु मुलतः भैतिकवादी हुन् । सम्बर्द्धनवादले शरिर, मन, चेतना र आत्माको समष्ठिगत र समन्वयात्मक उत्थानमा जोड दिन्छ । हाम्रो ध्यान भैतिक र आध्यात्मिक समुन्नतिमा समानरुपले केन्द्रित रहेको हुन्छ ।

राष्ट्रियता, समावेशी प्रजातन्त्र, हिन्दूराष्ट्र र उदार अर्थनीति राप्रपा नेपालले अवलम्बन गरेको सम्बर्द्धनवादको अभिन्न अंगहरु हुन् । सम्बद्र्धनवाद विविधतामा एकताको मान्यता हो । “एकं सत् बहुधा बदन्ती”, “सर्वे भवन्तु सुखिन” र “बसुधैव कुटुम्बकम्” यसको शास्वत आधारशीला हो । धार्मिक स्वतन्त्रता र समानता सम्बर्द्धनवादको मान्यता हो भने सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र यसको आस्था हो । सम्बर्द्धनवादले धर्मलार्ई समाज र राष्ट्रको आदर्श एवं मेरुदण्डको रुपमा आत्मसात गर्दछ ।

स्थापित मान्यता र संस्थाहरुलाई हिंसा र ध्वंसको बलमा परिवर्तन गर्न खोज्दा समाजमा विकृति, विसंगति, व्यभिचार र भ्रष्टाचारले प्रोत्साहन पाउँछ । अस्थिरता र अराजकता बढ्न जान्छ र बाह्य शक्तिहरुले चलखेल गर्ने अवसर प्राप्त गर्दछ । त्यसर्थ, हाम्रो जस्तो समाजमा हिंसात्मक र हठात होइन निरन्तरता सहितको परिवर्तन मात्र टिकाउ हुन सक्दछ । कथित क्रमभंगता होईन, क्रमानुगत अर्थात निरन्तरता हाम्रो प्राचीन सभ्यताको आधार हो । त्यही नै सकारात्मक परिवर्तनको उपयुक्त मोडेल हो । कथित क्रान्तिकारी परिवर्तनका नाममा तहसनहस भएको समाज र राष्ट्रलाई पुनः “लिक”मा ल्याउने क्रममा परम्परागत मूल्य मान्यता र संस्थाहरु हाम्रा निमित्त मार्गदर्शक हुन सक्दछन् । क्रान्तिकारिताको आवेशमा सदियौंदेखिका स्थापित, प्रमाणित र विश्वसनीय संरचनालाई भत्काउँदा उत्पन्न हुने भयावह स्थितिलाई सन्तुलित तुल्याउने आधार पनि परम्परागत मुल्य मान्यताको संरक्षण र सम्बर्द्धनवादी सिद्धान्त नै हो । कथित क्रान्तिको अमुर्त र अपरिभाषित सपना भन्दा समयको कसिमा प्रमाणित इतिहास र परम्परा भरपर्दो हुन्छ भन्ने सत्यलाई अस्वीकार गर्नु आत्मघाती हुन सक्दछ ।

मानव जाती मात्र होईन प्रत्येक जीवित प्राणीको अस्तित्वको आधार निरन्तर विकासक्रम हो । यो प्रकृतिको नियम हो । तदनुरूप नै समाज र राष्ट्रको अस्तित्वको आधार पनि निरन्तर विकासक्रम  हो । समाज र राष्ट्रको निर्माण हठात् भएको होइन, राष्ट्र स्वयं क्रमिक विकासको अवधारणाको उपज हो । प्रत्येक चरणको परिवर्तनमा विगत जोडिएको हुन्छ । यो हाम्रो प्राचीन मान्यता हो । अझ हाम्रा कतिपय मान्यता त पुनर्जन्मसँग पनि गाँसिएको हुन्छ । त्यसर्थ, आमुल परिवर्तनको नाममा नेपालमा केही वर्ष यता निरन्तरताको शास्वत सत्यलाई अमान्य ठहर्‍याउने जुन प्रयास भैरहेको छ, त्यो गलत छ ।

जसरी निरन्तरतालाई अस्विकार गर्नु गलत छ, त्यसरी नै संरक्षण र सम्बर्द्धनको सिद्धान्तलाई जडसुत्रीय ढंगबाट प्रयोग र व्याख्या गर्नु पनि जोखिमपूर्ण र अनुपयुक्त हुन्छ । परम्परागत मूल्य मान्यता र संस्थाहरु समय काल र परिस्थिति अनुकुल परिमार्जित गर्दै लैजानु पर्दछ । नेपाली समाजमा सनातन धर्मको आवरणमा कायम रहेका कतिपय समाजिक, सांस्कृतिक विभेद तथा छुवाछुतको कुसंस्कार मुलतः पुरातन अन्धविश्वाससँग गाँसिएका मान्यता र व्यवहारहरु हुन् । त्यस्ता विकृति र विसंगतीहरुको प्रत्यक्ष कारण सनातन हिन्दु धर्म होइन । सनातन धर्मसँग सम्वन्धित कुनै पनि शास्त्रले जातीय विभेद वा छुवाछुतलाई स्विकार गरेको छैन । हाल प्रचलनमा कायम रहेको जाति प्रथाको अपव्याख्या र कुसंस्कारले राष्ट्रको प्रगतिलाई पनि नकारात्मक रूपमा प्रभावीत तुल्याएको छ । जातको आधारमा मानिसहरुलाई घृणा गर्नु, विभेद गर्नु र अछुतको व्यवहार गर्नु अमानवीय कार्यहरु हुन् । जातीय आधारमा धार्मिकस्थलमा प्रवेशलाई नियन्त्रण गर्नु अन्ध रुढिवादको द्योतक हो । सनातन मान्यताको कलंक बन्न पुगेका त्यस्ता विकृतिहरुको अन्त अनिवार्य छ । हिन्दु धर्ममा वस्तुतः जातीय विभेद छैन ।

उपरोक्त वैचारिक अवधारणाको परिधि भित्र रहि सुशासन, विकास र आर्थिक सम्बृद्धिलाई राप्रपा नेपालले पार्टीको भावी गन्तव्यका रूपमा अंगिकार गरेको छ । यसका साथै, राष्ट्रियता, सनातन धर्म, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, असंलग्न परराष्ट्र नीति र सामाजिक न्याय तथा समावेशी सिद्धान्तलाई पार्टीको वैचारिक आधारस्तम्भका रूपमा आत्मसात गरेको छ ।

९) राप्रपा नेपालको प्राथमिकता, रणनीति, कार्यनीति र कार्यदिशाः

देशको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने क्रममा संगठन निर्माण, जनमुखि कार्यक्रम र चुनावको तयारी

पार्टीको प्राथमिकता हुनेछ । संविधान र संबैधानिक व्यवस्थासँग सहकार्य गर्दै आफ्ना मान्यताहरु स्थापित गर्ने राप्रपा नेपालको रणनीति हुनेछ । आगामि दिनमा राप्रपा नेपालको देहाय बमोजिम कार्यनीति र कार्यक्रम हुनेछः

क) संगठन निर्माणः

बलियो संगठनको अभावमा कुनै पनि राजनीतिक दलले सफलता प्राप्त गर्न सक्दैन । अन्य सबै राजनीतिक दलहरुको भन्दा नितान्त फरक मान्यता बोकेको राप्रपाको निमित्त सुदृढ एवं प्रभावकारी संगठन अनिवार्य शर्त हो । यस वास्तविकतालाई दृष्टिगत गर्दैः

१) २०७९ भाद्र मसान्तभित्र देशका सम्पूर्ण गाउँपालिका र  नगरपालिकाका वडाहरुमा पार्टी संगठनको ईकाई समितिहरुको गठन/पुनर्गठन गरिने छ ।

२) २०७९ असोज मसान्तभित्र सम्पुर्ण जनवर्गीय संगठनहरुको गाउँपालिका र नगरपालिकाहरुमा ईकाईहरु खडागरिने छ ।

३) २०७९ कार्तिकभित्र सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम संचालन गरिने छ ।

ख) जनपरिचालन कार्यक्रमः

१) आगामी २०७९ भाद्रको अन्तिम हप्तामा “मेची-काली राष्ट्रिय स्वाभिमान यात्रा” संचालन गरिने छ । सनातन हिन्दूराष्ट्रको पुनःस्थापना एवं भ्रष्टाचार र वेरोजगारी समस्याको समाधानको निम्ति जनचेतनाको अभिवृद्धि गर्नु राष्ट्रिय स्वाभिमान यात्राको मुख्य उदेश्य हुनेछ ।

२) २०७९ असोज ५ देखि ८ गतेसम्म “जनताको माझमा राप्रपा नेपाल” अभियान अन्तर्तग देशव्यापि घरदैलो कार्यक्रम संचालन गरिने छ ।

३) “जनताको माझमा राप्रपा नेपाल” अन्तर्गत देशका महानगर, उपमहानगर र नगरपालिकामा “वर्तमानका चुनौति र विकल्प” विषयमा स्थानीय बुद्धिजिवि एवं समाजका विभिन्न वर्ग र पेशाका प्रतिनिधिहरुसँग अन्तर्क्रिया कार्यक्रम संचालन गरिने छ ।

ग) निर्वाचनको तयारीः

आगामि संसदीय निर्वाचनबाट राप्रपा नेपाललाई देशको बलियो शक्ति बनाउने उदेश्यका साथ आबश्यक तयारी गरिने छ । यसक्रममाः

  • भाद्र मसान्त भित्र सबै पालिकाका वडाहरुमा पार्टी ईकाई समितिहरु गठन कार्यलाई युद्धस्तरमा कार्यान्वयन गरिने छ ।
  • कार्तिकको १५ भित्र सबै निर्वाचन बुथमा “बुथ कमिटि” गठन गरिने छ ।
  • भाद्र मसान्त भित्र सम्बन्धित तहका अध्यक्षको अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गरिने छ ।
  • जिल्ला कार्यसमितिको सिफारिश सहित प्रदेश कार्यसमितिले भाद्र २५ सम्ममा प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उमेदवारहरुको नाम केन्द्रमा पठाईसक्नु पर्नेछ ।
  • केन्द्रिय कार्यसम्पादन समितिले संसदीय बोर्डको सिफारिशमा भाद्र मसान्त भित्र सम्पूर्ण उमेदवारहरुको नामावली टुङ्गो लगाउने छ ।
  • प्रदेशसभा र प्रतिनिधिसभाका केही सिमित क्षेत्रहरुमा अन्य राजनीतिक दलसँग चुनावि तालमेल गरिने छ । तालमेल नभएका बाँकि सबै क्षेत्रमा राप्रपा नेपालले उमेदवार खडा गर्नेछ ।

घ) वृहद राष्ट्रिय भेला

संगठन सुदृढिकरण, निर्वाचन तयारीको समिक्षा र निर्वाचन घोषणापत्र तयारीको निमित्त २०७९ असोज १ र २ गते विरगंजमा पार्टीको वृहद राष्ट्रिय भेला आयोजना गरिने छ ।

ङ) राप्रपा नेपाललाई राष्ट्रको अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्न समान विचारधारा भएका व्यक्ति, समुह र दलहरुसँग एकता र सहकार्य गर्ने नीतिलाई आगामी दिनमा राप्रपा नेपालले अवलम्बन गर्नेछ । खासगरी विगतमा सँगै काम गरेका साथीहरुलाई एकतामा आउन हामी आह्वान गर्दछौं ।

आदरणीय साथीहरु !

माथी हामीले मुलुकको वर्तमान अवस्था, पार्टीको वैचारिक अवधारणा, वैकल्पिक शक्तिका रुपमा राप्रपा नेपाल एवं पार्टीको भावि कार्यदिशाका बारेमा चर्चा गर्‍यौं । म पार्टीका साथीहरुलाई विशेष जोड दिएर भन्न चाहन्छु कि अन्य राजनैतिक दलहरुको तुलना राप्रपा नेपालको काँधमा विशेष र थप कार्यभार रहेको छ । जनचाहना अनुरूप आर्थिक सम्बृद्धिको लक्ष्य हासिल गर्नुका साथै सनातन हिन्दूराष्ट्र लगायतका मान्यताहरुको पुनःस्थापना हाम्रो विशिष्ठ कार्यभार हो । यो जिम्मेवारी निर्वाह गर्न जनताको विश्वास निरन्तर रूपमा कायम गर्नु पर्ने हुन्छ । जनताको विश्वास जित्न स्पष्ट वैचारिक आधार, सुदृढ संगठन, सक्षम र ईमानदार नेतृत्व एवं जनमुखी कार्यक्रमको आवश्यक पर्दछ । हामीले अवम्बन गरेको बिचार सशक्त र सर्वकालिक छ । हाम्रो नेतृत्व पङ्ति परीक्षाको घडिबाट उत्तिर्ण ईमान्दार र दूरदर्शी छ । अब बलियो संगठन निर्माण हाम्रो चुनौति हो । यदी बलियो संगठन बनउन सक्यौँ भने दलिय प्रतिस्पधामा हामीलाई कसैले जित्न सक्दैन । आगामी चुनावबाट हामीले राप्रपा नेपाललाई कम्तीमा राष्ट्रिय पार्टी बनाउने छौँ । त्यसपछि हामीले कहिल्यै पछि फर्केर हेर्नु पर्ने छैन । हाम्रो प्रगतिको वेगलाई कसैले रोक्न सक्दैन । यहि आत्मविश्वासका साथ हामी यो बैठक सकेर जिल्ला फर्कने छौँ । जिल्लामा पुगेर आगामी दुई महिना रात दिन नभनी, चाडपर्व नभनी हामी जनताको घर दैलोमा जानेछौँ ।

आगामि निर्वाचनबाट राप्रपा नेपाललाई देशको प्रमुख शक्तिका रुपमा स्थापित गरी अर्को केन्द्रिय कार्यसमितिको बैठकमा उपस्थित हुनेछौँ ।

धन्यवाद ।

जयराष्ट्र, जय जनता ।

२०७९ साउन ३० गते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?