+
+

गोरखा-२ मा बाबुराम कि नारायणकाजी ?

नेताहरुका अनुसार जसरी भट्टराईले ‘चुनाव लड्नैपर्छ भन्ने छैन’ भनेर प्रचण्डको कोर्टमा बल फालेका छन्, श्रेष्ठले पनि गोरखा–२ का सन्दर्भमा मुख खोलेका छैनन् । मंगलबार चार नेताबीच भएको छलफलमा पनि श्रेष्ठले आफू राजनीतिक खेलाडी नभएको भन्दै प्रचण्डकै कोर्टमा फालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते २०:५९

३१ साउन, काठमाडौं । माओवादी केन्द्रको चुनाव चिह्नबाट उम्मेदवारी दिने सहमति गरेका डा. बाबुराम भट्टराईले आफूलाई उम्मेदवार बनाउने वा नबनाउने जिम्मा प्रचण्डलाई नै छाडेका छन् ।

२०७२ असोजमा नयाँ संविधान जारी भएलगत्तै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाउँदै माओवादी छाडेका भट्टराई एक फन्को मारेर उनकै नेतृत्व स्वीकार गर्न आइपुगेका छन् ।

माओवादी र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच मंगलबार एउटै चुनाव चिह्नबाट ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्ने र चुनावपछि समाजवादी केन्द्र बनाउने औपचारिक सहमति भएको छ । नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ भन्छन्, ‘तत्कालको चुनाव मात्र होइन, दीर्घकालीन रुपमा पार्टी एकता गरेर समाजवादी केन्द्र निर्माण गर्ने गरी अघि बढेका हौं ।’

पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले पनि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँग पनि पार्टी एकता संयोजन समिति बनाउने र मंसिरको चुनावपछि एउटै केन्द्र बनाउने बताएका छन् ।

नेताहरुले भनेजस्तो चुनावपछि समाजवादी केन्द्र बनाउलान् कि नबनाउन् अनुमानको विषय मात्र हुन्छ ।

तर चुनावमा जाँदा पनि कतिपय निर्वाचन क्षेत्रमा कसलाई टिकट दिने वा नदिने भन्ने निर्णय नेताहरुले गर्नुपर्ने हुन्छ । त्यसमध्ये एक हो, गोरखा क्षेत्र नम्बर २ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराई र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ दुबैको निर्वाचन क्षेत्र गोरखा–२ हो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यी दुई नेताले आपसमा प्रतिस्पर्धा गरेका थिए । श्रेष्ठ वाम गठबन्धनका साझा उम्मेदवार थिए भने तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक रहेका भट्टराईलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो । श्रेष्ठ, भट्टराईसँग ६ हजार ८७४ मतअन्तरले पराजित भए ।

अहिले परिस्थिति फेरिएको छ । स्थानीय तह निर्वाचन २०७९ मा माओवादी केन्द्रले गोरखाका ९ वटा पालिकाको नेतृत्व जितेको छ भने भट्टराई नेतृत्वको तत्कालीन दल (जसपा) एमालेसँग तालमेल गर्दा पालुङटारमा प्रतिस्पर्धामा देखियो भने अन्यत्र प्रतिस्पर्धामै आएन । वडाध्यक्षहरुले पाएको मत हेर्दा गोरखामा माओवादीको सबभन्दा धेरै २२ हजार २५० मत छ भने जसपाको ७ हजार ५०४ छ ।

तर भट्टराई निकट नेताहरु भने २०७४ को चुनावमा जसले जहाँ जितेको छ, ४ मंसिरको चुनामा पनि उही पार्टीले उम्मेदवार पाउने भन्ने मापदण्डअनुसार गोरखा २ आफूहरुले पाउने तर्क गर्छन् ।

‘कहाँ कसलाई उठाउने भनेर छलफल भएको छैन । भोलि छलफल गर्दै जाँदा यताउता मिलाउन नसकिने भन्ने पनि होइन’, नेपाल समाजवादी पार्टीका एक पदाधिकारी भन्छन्, ‘तर अहिलेसम्म गोरखा–२ मा डा. बाबुराम भट्टराई भन्ने नै हो ।’

माओवादी केन्द्रका नेताहरु पनि गोरखा–२ मा को उम्मेदवार भन्ने छलफल नभइसकेको बताउँछन् । हाल राष्ट्रियसभा सदस्य रहेका माओवादी वरिष्ठ नेता श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा उठ्ने वा नउठ्नेबारे सार्वजनिक रुपमा बोलेका छैनन्, तर उनले गोरखा २ मा चुनाव लड्न चाहेको उनीनिकट नेताहरु बताउँछन् ।

गोरखा–२ मा भट्टराई र श्रेष्ठबीच चलिआएको प्रतिस्पर्धालाई बुझेका प्रचण्डले मंगलबार पार्टी स्थायी कमिटी बैठकमा ‘बाबुरामजीले मलाई चुनाव ल्ड्नपर्छ भन्ने छैन’ भनेको भनी ब्रिफिङ गरेका थिए । मंगलबार नै उनले वरिष्ठ नेता श्रेष्ठलाई नेसपाका अध्यक्षद्वय भट्टराई र महेन्द्र यादवसँग छलफल गराए । माओवादी पार्टी कार्यालय, पेरिसडाँडामा भएको चार नेताको छलफलमा डा. भट्टराईले ‘मलाई चुनाव लड्नुपर्छ भन्ने छैन, आशंका नगरियोस्’ भनेका थिए ।

माओवादी नेताहरुका अनुसार भट्टराईले केही नेताको टिकट सुरक्षित होस् भन्ने चाहेका छन् । पार्टीका अर्का महेन्द्र राय यादव (सर्लाही-२), गोविन्द चौधरी (नवलपरासी–१), मानुषी यमी भट्टराई (काठमाडौं–७) लाई हर हालतमा टिकट दिनुपर्ने उनको शर्त छ ।

नेसपाका सहअध्यक्ष गंगा श्रेष्ठले पनि सिन्धुली–२ मा उम्मेदवार हुन चाहेका छन् । यो क्षेत्रबाट माओवादीका हरिबोल गजुरेल २०६४ देखि निरन्तर जित्दै आएका छन् । त्यसैले नेसपा अध्यक्ष भट्टराईले श्रेष्ठलाई सम्भव भएसम्म टिकट दिनुपर्ने बताएका छन् ।

आफ्नो विषयमा भने भट्टराईले उम्मेदवार बन्ने वा नबन्ने निर्णय गर्ने जिम्मा प्रचण्डलाई छाडेका छन् । ‘म कार्यकारी प्रमुख पनि भइसकेकाले लड्नैपर्छ भन्ने छैन । पार्टीले निर्णय गरेको अवस्थामा तयार पनि छु भन्नुभएको छ’, माओवादीका एक नेता भन्छन्, ‘छोरीलाई प्राथमिकतामा राखेका कारण त्यसो भन्नुभएको होला । तर चुनाव जित्नकै लागि यो सब गरेको सहजै बुझ्न सकिन्छ ।’

नेताहरुका अनुसार जसरी भट्टराईले ‘चुनाव लड्नैपर्छ भन्ने छैन’ भनेर प्रचण्डको कोर्टमा बल फालेका छन्, श्रेष्ठले पनि गोरखा–२ का सन्दर्भमा मुख खोलेका छैनन् । मंगलबार चार नेताबीच भएको छलफलमा पनि श्रेष्ठले आफू राजनीतिक खेलाडी नभएको भन्दै प्रचण्डकै कोर्टमा फालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?