+
+

झलनाथ खनालको नजर शीतल निवासतिर

एमालेसँग एकीकृत समाजवादीले मात्रै तालमेल वा एकताको निर्णय गर्दा पनि सत्ता गठबन्धनमा असर पर्ने थियो । तर त्यो जोखिम टार्न पनि प्रधानमन्त्री देउवाले आफू निकट नेताहरुमार्फत् खनाललाई राष्ट्रपतिको प्रस्ताव गरे । देउवाले राष्ट्रपतिको प्रस्ताव पठाएको खनाल निकट एक नेताले पनि पुष्टि गरेका छन् ।

सइन्द्र राई सइन्द्र राई
२०७९ भदौ ४ गते २१:१३

४ भदौ, काठमाडौं । सत्ता गठबन्धनमा हुने सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादीले कति सिट पाउने कुनै टुंगो छैन ।

तर जति सिट पाएपछि झलनाथ खनाल सेफ जोनमा छन् । २०४८ सालदेखि इलाम क्षेत्र नम्बर १ बाट आम निर्वाचनमा उम्मेदवारी दिँदै आएका उनी २०५६  सालमा बाहेक निर्वाचित पनि भएका छन् । पूर्वप्रधानमन्त्री खनाल एकीकृत समाजवादीका ‘सम्मानित नेता’ एवं गठबन्धन निर्माणका निर्णायक खेलाडीमध्येका एक हुन् ।

खनालले भने आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुन सक्ने संकेत गरेका छन् । निकट नेताहरुसँग उनले आफू उम्मेदवार नभएको अवस्थामा कसरी जाने भनेर सोच्न सल्लाह दिएका छन् । किनकी उनी राष्ट्रपति बन्ने दौडका लागेका छन् ।

गठबन्धन जोगाएर प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा भाग लिने गृहकार्य गरिरहेका शीर्ष नेताहरु पनि खनाललाई राष्ट्रपति बनाउन तयार देखिएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नै तयार रहेको उच्च स्रोतले जनायो । ‘सत्ता गठबन्धनका तर्फबाट राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गरिएको छ र यसमा लगभग सहमति छ’, ती स्रोत भन्छन् ।

आफ्नो एकताको प्रस्तावलाई ओलीले एमालेको नेता बन्ने रहरको संज्ञा दिएकै बेला देउवाले राष्ट्रपति कार्ड खेलेपछि नेता झलनाथ खनाल वर्तमान गठबन्धनकै पक्षमा उभिएका हुन् ।

स्थानीय चुनावपछि नेता खनालले कांग्रेस नेतृत्वको गठबन्धन तोड्नुपर्ने धारणा राखेका थिए । वाम शक्तिहरुबीच तालमेल गर्न भन्दै पूर्वप्रधानमन्त्री खनाल नेकपा एमालेका नेताहरुसँग लगातार छलफलमा नै बसे । खनाल अहिलेको गठबन्धनको विपक्षमा उभिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि अलमलमा परेका थिए । उनले राजधानी काठमाडौं आयोजित एक कार्यक्रममा त एमालेविरुद्ध आक्रामक नबन्न कार्यकर्तासँग सार्वजनिक अपील नै गरे ।

तर अहिले एकीकृत समाजवादीका नेताहरुले एमालेसँग छलफल गर्न छोडेको एक पदाधिकारी बताउँछन् । ‘झलनाथ कमरेडले नै गठबन्धनबारे छलफल गरौं भनेपछि पार्टीमा राम्रै छलफल भयो, तर सिट बाँडफाँट गरेरै अगाडि बढ्ने अवस्थामा पुगिसक्यौ’, ती पदाधिकारी भन्छन् ।

एमालेसँग एकीकृत समाजवादीले मात्रै तालमेल वा एकताको निर्णय गर्दा पनि सत्ता गठबन्धनमा असर पर्ने थियो । तर त्यो जोखिम टार्न पनि प्रधानमन्त्री देउवाले आफू निकट नेताहरुमार्फत् खनाललाई राष्ट्रपतिको प्रस्ताव गरे । देउवाले राष्ट्रपतिको प्रस्ताव पठाएको खनाल निकट एक नेताले पनि पुष्टि गरेका छन् ।  ‘गठबन्धनबाट राष्ट्रपति बन्ने भन्ने आएको हो, थप कुरा भएको छैन’, ती नेताले भने ।

आफ्नो एकताको प्रस्तावलाई ओलीले एमालेको नेता बन्ने रहरको संज्ञा दिएकै बेला देउवाले राष्ट्रपति कार्ड खेलेपछि खनाल वर्तमान गठबन्धनकै पक्षमा उभिएका हुन् ।

गएको स्थानीय चुनावमा एकीकृत समाजवादीले तीन प्रतिशत मत ल्याएको र पूर्वप्रधानमन्त्री खनाललाई ३४ प्रतिशत मत ल्याउने एमालेको नेता बन्ने रहर लागेको ओलीको जवाफ थियो । ओलीको यस्तो जवाफ पाएका खनाललाई सत्ता गठबन्धनबाट राष्ट्रपतिकै प्रस्ताव गरिएपछि वाम एकताको प्रयत्न बन्द भएको छ ।

खनालले एमालेमा हुँदा पनि २०७४ सालमा राष्ट्रपति बन्ने चाहना राखेका थिए । त्यति बेला केपी ओली र माधव नेपालले विद्या भण्डारीलाई निरन्तरता दिन चाहेपछि खनालको केही लागेन । माओवादी केन्द्रको समर्थनमा भण्डारी दोस्रोपटक राष्ट्रपति निर्वाचित भइन् । तर अहिले प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल एमालेविरुद्धको मोर्चामा छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनपछि यी नेताहरु एमाले बाहेकको गठबन्धनमा पुगेका हुन् ।

३० वैशाखको स्थानीय चुनावपछि खनालले वाम एकता गर्नुपर्ने प्रस्ताव गर्दा एमालेविरुद्धको मोर्चा अप्ठ्यारोमा देखिएको थियो । राष्ट्रपतिको प्रस्तावपछि खनाल यूटर्न हुँदा एकीकृत समाजवादी गठबन्धनलाई निरन्तरता दिने पक्षमा मात्र उभिएको छैन, माओवादी केन्द्रसँग एकता गर्न संयोजन समिति बनाउने तयारीमा छ । त्यो समितिमा अध्यक्ष नेपाल र खनाल नै बस्ने तयारी छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मात्रै एकीकृत समाजवादी, डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमसहित नयाँ ध्रवीकरणको प्रयास भइरहेको बताएका छन् । बाबुराम र वामदेवले त माओवादी केन्द्रकै चिह्नबाट चुनाव लड्ने निर्णय नै गरिसकेका छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?