+
+

पाँच पूर्व च्याम्पियनको ‘ड्रिम प्रोजेक्ट’

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ भदौ ६ गते ७:००

६ भदौ, काठमाडौं । सुनील लामा सन् २०११ का बंगलादेशमा भएको ११औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् ।

राजु महर्जनले दक्षिण एसियाली उसु च्याम्पियनसीपमा थाउलोतर्फ राजत जितेका थिए ।

सरोज महर्जन जुडोको २०११ मा पाकिस्तानमा आयोजित दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितेका हुन् भन् सुजन जोशीले सन् २०१० मा चीनमा आयोजित १६औं एसियाली खेलकुद खेलेका थिए । उनी कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण विजेता पनि हुन् । पुष्प थापामगर तेक्वान्दोकै राष्ट्रिय च्याम्पियन हुन् ।

पाँचै पूर्व च्याम्पियन अहिले नेपालबाहिर छन् । सन् २०१२ यता फरक फरक समयमा फरक फरक देशलाई गन्तब्य बनाएका उनीहरुले महत्वाकांक्षी परियोजनामार्फत नेपाली खेलकुदसँग जोडिने प्रयास गरेका छन् । उनीहरुको संयुक्त लगानीमा एकभन्दा बढी खेलको बृहत एकेडेमी सञ्चालनमा आएको छ, जसको नाम ‘च्याम्पियन’ राखिएको छ ।

‘१० वर्षअघि हामी सक्रिय खेलाडी छँदा ४० जनाजतिको एउटा टिम थियो । एकै स्थानमा फरक फरक खेलको प्रशिक्षण हुने एकेडेमी सन्चालन गर्नेबारे हामीले त्यतिबेलै सपना देखेका थियौं,’ एकेडेमीका सह–संस्थापक सुनील लामाले भने, ‘हामी सबै फरक फरक देशमा बसेर गुजारा गरिरहेका छौं, तर आफ्नो सपनालाई विर्सिएनौं ।’

एकै स्थानमा धेरै खेलको प्रशिक्षण सुविधा दिने गरी काठमाडौं महानगरपालिका १६, खरिबोटमा स्थापना भएको ‘च्याम्पियन्स एकेडेमी’ नेपालमा नयाँ प्रयोग हो । एकेडेमीमा कराँते र तेक्वान्दोको प्रशिक्षण भइरहेको छ । छिट्टै उसु र बक्सिङको प्रशिक्षण सुरु हुनेछ । लामाले अघि भने, ‘एउटामात्र हल भएको र जुडोका लागि फरक म्याट चाहिने भएकाले प्रशिक्षण सुरु गर्न सकेनौं ।’

नेपालमा खेलाडी उत्पादनको ग्रासरुट कार्यक्रम अभाव भइरहेको अवस्थामा एउटै संस्थाले धेरैवटा खेलको प्रशिक्षण सुरु गरेर लिएको लक्ष्य केही हदसम्म महत्वाकांक्षी पनि छ । खेलकुदलाई व्यवसायिक बनाइसकेका देशमा देखेको प्रणालीलाई उनीहरुले नेपालमा लगानी गर्ने प्रयास गरेका हुन् ।

पाँच पूर्व च्याम्पियनहरु एकेडेमीमार्फत ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता दिलाउने खेलाडी उत्पादन होस भन्ने चाहन्छन् । एकेडेमीका सन्चालकहरु सुनील र पुष्प अमेरिकामा, राजु अस्ट्रेलियामा र सुजन मकाउमा छन् । सरोज हालै फ्रान्सबाट नफर्किने गरी नेपाल आएका छन् ।

विदेशी शैलीको वैज्ञानिक प्रशिक्षण

साग स्वर्ण विजेता सुनील अमेरिकामा दुई वर्षअघिसम्म पनि कराँतेका स्थानीय प्रतियोगिताहरु अक्सर खेलिरहन्थे । अमेरिकाको खेलाडी उत्पादन प्रक्रिया र प्रशिक्षण मापदण्ड राम्रोसँग बुझेका छन् । त्यसलाई नेपालमा कार्यान्वयन गर्ने सोच उनको टिमले राखेको छ ।

कोरोना महामारीको प्रत्यक्ष मार भोगेको एकेडेमी यो वर्षदेखि नयाँ योजनासाथ अगाडि बढेको छ । एकेडेमीमा ७० जना कराँते र ३० जना तेक्वान्दो खेलाडीले प्रशिक्षण लिइरहेका छन् । भविष्यमा विद्यालयहरुसँगको सहकार्यमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

कराँते च्याम्पियन सुनील लामा र तेक्वान्दो च्याम्पियन पुष्प थापाले अमेरिकाको खेलकुद शैलीबाट प्रभावित भएर एकेडेमी स्थापना गर्ने योजनालाई मुर्तरुप दिने कामको नेतृत्व गरेका थिए । उनीहरु त्यहाँको प्रणालीबाट प्रभावित छन् ।

‘अमेरिकामा एउटा खेलाडी उत्पादन गर्नका लागि दीर्घकालीन योजना हुन्छ । लामो तयारी र प्रक्रिया हुन्छ । उनीहरु स्कुलस्तरलेखि नै खेलाडीलाई सोहीअनुसार तयारी गर्छ । हाम्रोमा एउटा खेलाडी स्वाट्ट माथि आउँछ, स्वाट्टै झरिहाल्छ । हामीमा आधार नै राम्रो भएन । उनीहरु खेलकुदलाई व्यवसायका रुपमा लिन्छन्,’ लामाले भने, ‘हामी त्यही प्रणाली यहाँ लागू गर्दैछौं ।’

सुनील लामा

खेलाडीको प्रशिक्षण भनेको खेल्नुमात्र होइन भन्नेमा एकेडेमीका सञ्चालक सचेत छन् । एकेडेमीमा प्रशिक्षणरत सबै बालबालिका खेलाडी बन्दैनन् भन्नेमा पनि जानकार छन् । ‘हामीले बालबालिकालाई नियमित प्रशिक्षणका अलावा मनोरन्जन, जिम, मनोवैज्ञानिक परामर्शको व्यवस्था गर्नेछौं,’ लामाले अनलाइनखबरसँग भने ।

उनीहरुले अभिभावकको सल्लाहमा होमवर्क स्टेसन स्थापना गर्ने योजनासमेत बनाएका छन् । ‘बालबालिकाले विद्यालयबाट यहाँ आएर होमवर्क गर्छन् र सकेपछि प्रशिक्षण सुरु गर्नेछन्,’ लामाले थपे, ‘स्कुल छुटेर आएका खेलाडीले यहीं होमवर्क सकेर खेल्न सजिलो हुनेछ । खेलले गर्दा उहाँहरुको अध्ययनमा असर नपरोस् भनेर हामी चनाखो छौं । किनभने हामी युरोपियन शैलीको प्रशिक्षण दिन चाहन्छौं ।’

एकेडेमीले कराँतेका लागि वरिष्ठ प्रशिक्षक श्याम सुनुवारलाई प्रशिक्षक तोकेको छ । तेक्वान्दोमा लालबहादुर बरामी र युगेन गुरुङले प्रशिक्षण सम्हाल्नेछन् । बाँकी खेलहरुका लागि प्रशिक्षकको खोजी भइरहेको छ । बरामी विभागीय टोली एपीएफका तेक्वान्दो प्रशिक्षक हुन् भने युगेन सन् २०१० को कमनवेल्थ गेम्समा भारतका लागि स्वर्ण विजेता हुन् ।

एकेडेमीमा प्रशिक्षणमा गर्न अधिकतम १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । तर, परिवारको आर्थिक अवस्था हेरेर शुल्क समायोजन हुने सह–संस्थापक लामाले बताए । ‘हामी पैसाकै कारण कुनै प्रतिभा खेलकुदबाट वञ्चित नहोस भन्ने चाहन्छौं । अभिभावकको आर्थिक स्थिति हेरेर हामीले अहिले पनि १०० मध्ये २० जनालाई निशुल्क प्रशिक्षण दिइरहेका छौं,’ उनी भन्छन् । एकेडेमीमा अहिलेसम्म २ करोड रुपैयाँ लगानी भइसकेको छ । लगानी अझै थपिँदो छ ।

ओलम्पिकमा पदक जित्ने खेलाडी उत्पादनको लक्ष्य

सुनील, पुष्प, सरोजहरुले आफ्नो करिअरमा एसियाड र ओलम्पिकमा देखेको पदकको सपना पूरा हुन नसक्नुमा धेरै तत्वहरु जिम्मेवार छन् । उनीहरु व्यवसायिक खेलकुदको विकाससँगै आफ्ना उत्पादनलाई एसियाली खेलकुदमा स्वर्ण र ओलम्पिकमा पदक जित्नेसम्मको सक्षम बनाउन प्रयास गर्दैछन् ।

नेपालमा हुने खेल राजनीतिको खिचातानीले राम्रा खेलाडीले एक्स्पोजर र संरक्षण नपाएको नजिकबाट देखेका उनीहरु आगामी पुस्ताका खेलाडीले त्यस्तो अवस्था नभोगुन् भनेर सजग छन् । ‘हामीले कतिपय अवस्थामा आफ्नो इच्छा मार्नुपरेको थियो । अब यी खेलाडीले आर्थिक रुपमा, प्राविधिक रुपमा र एक्स्पोजरको सवालमा हामी सहयोग गर्छौं,’ लामा थप्छन्, ‘अब त्यस्तो हुँदैन । हामी पनि आर्थिक रुपमा सवल भइसकेका छौं । प्रायोजक नै नपाउँदा पनि खेलाडीले कमजोर महशुस गर्नुपर्दैन ।’

ठूला अन्तर्राष्ट्रिय सफलताको लक्ष्य राखेपछि उनीहरु आफ्नो एकेडेमीलाई अरुभन्दा भिन्न बनाउन लागिपरेका छन् । ‘विकसित देशको खेलकुद प्रणाली र प्रशिक्षण शैलीलाई बुझेका छौं । त्यसलाई नेपालमा लागू गर्नेछौं । त्यसबाहेक हामी नेपाली खेलाडीलाई विदेशका स्तरीय प्रशिक्षक ल्याएर प्रशिक्षण दिलाउने वा राम्रा खेलाडीलाई विदेशमै प्रशिक्षणको व्यवस्था मिलाएर उनीहरुलाई सक्षम बनाउँदैछौं । हामीसँग त्यो क्षमता र पहुँच छ,’ लामाले भने ।

च्याम्पियन एकेडेमीले विदेशका स्तरीय एकेडेमीहरुसँग सहकार्य गर्नेबारे सोचेको छ । सह–संस्थापकहरु बसोबास गरिरहेको देश अस्ट्रेलिया, अमेरिका, मकाउ र फ्रान्समा एकेडेमीको शाखा स्थापना भएको छ । सोहीमार्फत त्यहाँका स्तरीय एकेडेमीसँग सहकार्य गर्ने योजना छ ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?