+
+
मन्थन :

आफ्नै बुद्धिमा फसेका बाबुराम र वैकल्पिक राजनीति

सात वर्षमा यो प्रष्ट भयो कि पुरानो ढर्राका नेताबाट वैकल्पिक राजनीतिको नेतृत्व सम्भव छैन । ‘रिटायर्ड लाइफ’को कुण्ठा र महत्वाकांक्षाबाट पनि वैकल्पिक राजनीतिको नेतृत्व सम्भव छैन । पुराना नेताका अनुभवबाट सिक्न सकिन्छ । तर वैकल्पिक राजनीतिको रथ अगाडि बढाउन अब नवयुवाहरूले नै काँध थाप्न जरूरी छ ।

मोहन तिम्सिना मोहन तिम्सिना
२०७९ भदौ १३ गते १४:००

सात वर्षअघि नेता डा. बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गर्दा आश्चर्य भएको थियो । यसपालि पुनः माओवादीको चुनावी छातामा ओत लाग्दा अर्को आश्चर्य भएको छ । बाबुरामले केही गर्छन्, धेरै मानिस उनीप्रति यस्तै भरोसा राख्थे । तर अन्ततः बाबुरामले पनि केही गर्न सकेनन् । अहिले उनीप्रतिको आम धारणा यसरी फेरिएको छ ।

वैकल्पिक राजनीति जरूरी छ । यो बाबुरामको मूल उद्घोष थियो । यसका लागि उनले ‘नयाँ शक्ति’ पार्टी बनाएका थिए । अन्य दलसँग एकतापछि उनको दलको नाम ‘जनता समाजवादी पार्टी’ भएको थियो । आज त्यो चार टुक्रामा विभाजित भइसकेको छ । बाबुराम स्वयंले अर्को नयाँ दल गठन गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

बाबुरामको सातवर्षे पृथक् राजनीतिक यात्राले उल्लेख्य परिणाम दिन सकेन । यसले माओवादीलगायत अन्य शास्त्रीय दललाई खुसी तुल्याएको हुनुपर्दछ । वैकल्पिक राजनीति गर्छु भन्ने उनका केही सहकर्मीलाई भने पक्कै दुःखित बनायो । बाबुरामको ‘माओवादी फिर्ती’ सँगै वैकल्पिक राजनीतिका नाममा भएका अभ्यास तत्काल बेवारिसे बनेका छन् ।

बाबुरामको पछिल्लो कदमले केही प्रश्न उठाउँछन् । के वैकल्पिक राजनीतिको सोच नै गलत थियो ? कि बाबुरामभित्र नै कमजोरी थिए ? किन वैकल्पिक दल भनिएको समूह यसरी टुट–फुट र विभाजनको शिकार भयो ? किन बाबुराम, जो माओवादीलाई ‘रातो स्टिकर टाँसेको घर’ भन्थे, आज फेरि त्यसैको शरणमा जानुपर्ने अवस्था आयो ? यस्ता प्रश्न माथि विमर्श गर्न जरूरी भएको छ ।

बाबुराम बिम्ब

बाबुराम नेपाली राजनीतिका विशिष्ट पात्र हुन् । आज उनले वैकल्पिक राजनीतिको भारी बिसाउन खोजे जस्तो देखिएको छ । तर यति हुँदैमा उनलाई बेइमान भन्न मिल्दैन । उनी विद्यार्थीकालदेखि नै जोखिमपूर्ण माओवादी आन्दोलनमा लागे । मुलुकको प्रधानमन्त्रीसम्म भए । माओवादी पार्टीको दोस्रो वरीयतामा थिए ।

त्यो तहमा पुगिसकेको मानिसले आफ्नो विरासत (माक्र्सवाद/माओवाद) माथि प्रश्न उठाए । वैकल्पिक राजनीतिको वकालत गरे । आफूलाई दाउमा राख्न तयार भए । पार्टी परित्याग गरे । नयाँ दल गठन गरेर ७ वर्ष राजनीतिको फरक अभ्यास गरे ।

माओवादी छोडेर पृथक् राजनीतिको अभ्यासमा जाने बाबुराम कदम गलत थिएन । सफलता–असफलता आफ्नो ठाउँमा छ । सबै नेताले सफलै हुनुपर्छ, त्यो पनि आफ्नै जीवनकालमा भन्ने सोच्नु युक्तिसंगत हुन्न । दुई–चार गल्ती नगरी राजनीतिक आन्दोलनमा सिकाइ पनि बन्दैन । पछिल्लो कालमा भारी बिसाउने मन गरे पनि वैकल्पिक राजनीतिको बाबुराम कदमको ऐतिहासिक महत्व छ ।

आज विज्ञान फेरिएको छ । युग फेरिएको छ । राजनीतिमा नयाँ संश्लेषण जरूरी भएको छ । तर कसैलाई यतातिर चासो छैन । सबै दल जमेको पोखरीमा रूपान्तरण भएका छन् । तिनीहरूको आचरण र संस्कृति सम्प्रदायको जस्तो भएको छ ।

कोही विद्रोह गर्न तयार छैन । छोटे नेताहरू, उपल्लो नेताको पाउ मोलेर सानातिना पदभोगको अवसर सुरक्षित गर्नमै तल्लीन छन् । यस्तो बेला राजनीतिमा विद्रोह सिकाउने मानिसको जरूरी छ । खोज अध्ययनमा महत्व दिने मानिसको जरूरी छ । यो पाटोमा ‘बाबुराम बिम्ब’ अझै काम लाग्न सक्छ ।

कसैले नसक्न पाउँछ । अमूक नेताले सकेन भन्दैमा सुरुवाती कालका उसका उद्देश्य र भावना मर्छन् भन्ने होइन । अमूक पात्रको जीवनको पछिल्लो कालमा कुनै गल्ती भयो भन्दैमा उसका अगाडिका उज्याला पक्षहरू ओझेल पर्छन् भन्ने हुँदैन । बाबुरामबाट नेपाली युवाले सिक्नुपर्ने धेरै कुरा अझै पनि जिउँदै छन् ।

बुद्धिले फसायो

त्यस्तो के कारण थियो ? जसले गर्दा बाबुराम आज पुनः माओवादीमै फर्कनुपर्ने खण्ड आइलाग्यो ? समग्रमा हेर्दा यो मामिलामा बाबुराम ‘फसेका’ हुन् । तर अरूले होइन, उनको आफ्नै बौद्धिक क्षमताले उनलाई फसाएको हो ।

अहिलेको समय फरक छ । यो ‘बाठा’ र ‘बौद्धिक’हरू फस्ने समय हो । जो व्यक्ति आफ्नो बुद्धि र तर्क क्षमतामा पूरापूर विश्वास गर्दछन्, निःसन्देह उनीहरू जीवनमा फस्ने छन् । कारण, बुद्धिको स्वभाव नै फसाउने खालको हुन्छ । यो कुरो पुरानो विज्ञानलाई थाहा थिएन । तर आजको आधुनिक विज्ञानलाई थाहा भइसकेको छ ।

आधुनिक मनोविज्ञान भन्छ, बुद्धि उपयोगी चिज हो, तर समग्र जीवनका लागि बुद्धि सबथोक होइन । बुद्धि एक चक्कु जस्तै हो । त्यही चक्कु डाक्टरको हातमा पर्‍यो भने के हुन्छ ? गुण्डाको हातमा पर्‍यो भने के हुन्छ ? भनिरहन पर्दैन । बुद्धि यस्तै चिज हो । यसका गुण र अवगुण, दुवै हुन्छन् ।

बुद्धिसम्मत ज्ञान जहिले पनि एकांगी र अधुरो हुन्छ । बुद्धिले ‘माया’ (ज्ञानको भ्रम) पैदा गर्दछ । जो व्यक्ति आफ्नो तर्क र बुद्धिको क्षमतामा मात्र भर पर्दछ, ऊ फस्यो, फस्यो । उसलाई बचाउन सकिंदैन ।

बुद्धि भित्र एक किसिमको भ्रमपूर्ण अहंकार छिपेको हुन्छ । बुद्धिले भन्छ, ‘सही’ के हो ? यो त मलाई पूरै थाहा नहुन सक्छ । तर ‘गलत’ के हो ? मलाई पूरापूर थाहा छ । तर यथार्थ यस्तो हुँदैन । यो बुद्धिले पैदा गरेको मिठो भ्रम मात्र हो । असलमा जसलाई ‘सही’ के हो भन्ने थाहा हुँदैन, उसलाई ‘गलत’ के हो भन्ने पनि थाहा हुँदैन ।

यथार्थमा, जसलाई ‘सही’ के हो भन्ने थाहा हुन्छ, उसलाई मात्र ‘गलत’ के हो भन्ने पनि थाहा हुन्छ । वा, जसलाई ‘गलत’ के हो भन्ने थाहा हुन्छ, उसलाई ‘सही’ के हो भन्ने स्वतः थाहा भइहाल्छ ।

‘सही’ र ‘गलत’ विपरित तत्व होइनन् । तर बुद्धिले भन्छ, ‘सही’ अलग चिज हो, ‘गलत’ अलग चिज हो । ‘सही’ र ‘गलत’ बीच कुनै साइनो सम्बन्ध छैन, यिनीहरू विपरित तत्व हुन् । यस खालको सोचाइले मानिसको खोजलाई ठिक ठाउँमा पर्न दिंदैन । यान्त्रिक, शास्त्रीय वा एकांगी चिन्तन शैली भनेको नै यही हो ।

यस ढंगको सोचाइले मानिसलाई मूर्ख बनाउँछ । बुद्धिमान मानिस रहेछ भने पनि ऊ आफ्नै बुद्धिको जालमा फस्छ । खोज, अध्ययन नै गरे पनि त्यस्तो खोज एकांगी हुन्छ । यस्तो चिन्तनले ज्ञानको दायरालाई फराकिलो हुनै दिंदैन ।

बाबुराम वैकल्पिक राजनीतिमा त आए, तर उनमा समर्पण र धैर्यको पाटो कमजोर देखियो । उनले वैचारिक खोज कम, बौद्धिक चलाखीले धेरै काम लिन सकिन्छ भन्ने सोचे । आफ्नो बुद्धि माथि अति भरोसा राखे ।

बाबुरामका विषयमा भएको यही हो । उनले आफूलाई ‘सही’ के हो भन्ने पूरै थाहा नभएको त स्वीकार गरे तर ‘गलत’ के हो, यो थाहा भएको भ्रममा परे । यथार्थमा उनलाई ‘गलत’ के हो भन्ने पनि थाहा थिएन । थाहा नभएको कुरा थाहा छ भन्ने बित्तिकै सारा कुरा गडबड भयो ।

बाबुराम शास्त्रीय चिन्तनको अन्धविश्वासबाट मुक्त हुनै सकेनन् । कुन कुरा शास्त्रीय र कुन कुरा आधुनिक हो भनेर छुट्याउनै सकेनन् । उनले आधुनिक विज्ञान र बुद्ध पुरुषका बचनलाई महत्व दिन जरूरी ठानेनन् । यस कारण उनको चिन्तनमा रुढिवाद र अन्धविश्वासले नै अड्डा जमायो ।

नयाँ बाटोमा हिंड्नुपर्छ भने पनि उनी अन्ततः ‘उदारवाद कि समाजवाद’ ? नामको शास्त्रीय बहसको पुरानै गोलचक्करमा फसे । ‘सामाजिक प्रविधि’ र सामाजिक संरचनालाई मुख्य समस्या ठान्ने भ्रमको शिकार भए । चिन्तनगत क्रान्तिको अहम् कुरा नै छुट्यो । वैकल्पिक राजनीतिको बाटो के हो ? यस विषयमा उनको खोजले मेलो–मेसो नै पाएन । सारमा, उनी वैकल्पिक राजनीतिको खास विषयमा प्रवेशै गर्न सकेनन् ।

जब मार्ग नै अस्पष्ट हुन्छ, तब सही ठाउँमा पुग्ने कुरै हुँदैन । ‘नयाँ शक्ति पार्टी’ को सिद्धान्त र मापदण्ड निर्माणमा गडबडी, ‘नयाँ शक्ति’ लाई अन्य पुराना पार्टीमा लगेर मिसाउने, पुराना पार्टीसँग गठबन्धन गर्नेदेखि जनता समाजवादी पार्टी टुटफुट र विभाजनसम्मका घटनाक्रममा यही चिन्तनगत अन्योलले नै खास भूमिका खेल्यो ।

वैकल्पिक राजनीति भनेको एक थान पार्टी खोलेर, हठात्, पुराना पार्टीसँग लेनदेनको चलाखी गरेर, शक्ति भोग गरिहाल्ने विषय होइन । यसले त समय लिन्छ । यसले त तयारीको माग गर्दछ । राजनीतिमा ‘पाराडाइम सिफ्ट’ को रूपरेखा कोर्न जरूरी हुन्छ । उस्तै पर्दा एक्लै हुन पनि तयार हुनेसम्मको धैर्य र समर्पण जरूरी हुन्छ । यो हदसम्म जान तयार हुनेले मात्र यो बाटोमा आएको राम्रो हुन्छ ।

बाबुराम वैकल्पिक राजनीतिमा त आए, तर उनमा समर्पण र धैर्यको पाटो कमजोर देखियो । उनले वैचारिक खोज कम, बौद्धिक चलाखीले धेरै काम लिन सकिन्छ भन्ने सोचे । आफ्नो बुद्धि माथि अति भरोसा राखे । अन्ततः जे हुनुपर्ने, त्यही भयो । अर्थात्, उनलाई आफ्नै बुद्धिले फसायो ।

नग्नताको खाँचो

वैकल्पिक राजनीतिको यतिबेलाको मुख्य काम नै वैचारिक तयारी हो । यसका लागि सिकाइ जरूरी छ । नेताहरूले आफ्नो चेतनालाई बुद्धि भन्दा माथि ‘बोध’ को तहमा उठाउन जरूरी छ । ‘आधुनिक विज्ञान’ र ‘बुद्ध पुरुषका वचन’ को अध्ययन जरूरी छ । तर नेताहरूले यो यथार्थ महसुस नै गर्न सकेनन् ।

यहाँ मानिसको बुद्धि नै सिकाइमा बाधा बनेर देखा पर्‍यो । यस्तो किन हुन्छ ? यस सम्बन्धमा प्राचीन ऋषिहरूले विभिन्न प्रतीक कथा रचना गरेका थिए । ‘कृष्णलीला’ भित्रको ‘वस्त्र हरण’ को कथा यस्तै प्रतीक कथा हो जसले मानिसको सिकाइमा पैदा हुने बुद्धिगत बाधाबारे संकेत गर्दछ ।

कथाबारे ओशो भन्दछन्

‘कृष्णको कहानी पढेको छ ? गोपिनीहरू स्नान गरिरहेका छन् र कृष्ण उनीहरूको वस्त्र चोरेर लान्छन् । अश्लील जस्तो लाग्छ । आज यस्तो गर्ने हो भने पुलिसले पक्रिन्छ । त्यो दिनमा यो चल्यो । अब चल्दैन । र स्त्रीहरूले नै अप्ठ्यारोमा पारिदिन्छन् ।

तर कहानीको अर्थ बडो गहिरो छ । कृष्ण भनिरहेका छन् जो मेरो प्रेममा पर्दछ त्यसको म वस्त्र खोस्छु । गोपिनीहरू जो उनको प्रेममा छन् । कृष्ण भन्दैछन्, ‘म तिमीहरूको वस्त्र खोस्छु । निर्वस्त्र पारिदिन्छु । जबसम्म तिमीसँग तिम्रो केही छ, जसमा तिमी आफूलाई छुपाउँछौं, तबसम्म मसँग मिलन हुन सक्दैन ।

वस्त्रको अर्थ हुन्छ जसमा तिमी आफूलाई ढाक्दछौ । लुकाउँछौ । निर्वस्त्रको अर्थ हो ढाक्ने लुकाउने चिज केही रहेन । मैले खोलें आफ्नो हृदय । सारा शब्द, सिद्धान्त हटाएँ । तिमी भन्दछौ म हिन्दु हुँ, तिमीले मनमा केही वस्त्र लगाएका छौ ।

तिम्रो मन नग्न छैन । तिम्रो चेतनाको केही आवरण छ । जब तिमी भन्दछौ म जैन हुँ, तब तिमी सत्यका लागि खुलेनौ । तिमी भन्दछौ सत्यका प्रति मेरो केही धारणा छ । जब सत्यले त्यस धारणालाई पूरा गर्दछ, तब मात्र म मान्दछु कि सत्य रहेछ ।

तिमी भड्किने छौ । एक साँझ होइन, हजारौं साँझ हुने छन् । रट्दा रट्दा ठाउँमा पुग्ने छैनौ । विलीन हुने तयारी गर । मेटिने तयारी गर । एक एक इञ्च आफूलाई गलाऊ । खोज्ने वाला नै बिलाओस् । यही शर्त हो सत्य हासिल गर्ने ।’ (ओशो, जिनसूत्र, प्र. ६)

कहानीका कृष्ण ‘सत्य’ का प्रतीक हुन् । गोपिनीहरू खोजकर्ताका प्रतीक । खोजकर्ताले सत्य हासिल गर्न सर्वप्रथम आफ्ना पूर्व बुझाइलाई खाली गर्नुपर्छ । तब खोजकर्ताको चेतनामा सत्य प्रवेश गरेर बस्ने स्थान बन्दछ । यसो गर्दा मात्र नयाँ ज्ञान हासिल गर्ने यात्राको पहिलो कदम पूरा हुन्छ ।

यो सन्देश वैकल्पिक राजनीतिका नेताहरूले पनि मनन गर्न जरूरी छ । नयाँ ज्ञानले मात्र वैकल्पिक राजनीतिको नेतृत्व गर्न सकिन्छ । नयाँ ज्ञान हासिल गर्ने एउटै शर्त छ, पुरानो ज्ञानको अहंकार फाल्नु पर्‍यो । ‘मैले बुझेको छु’ भन्ने अहंकार हटाउनु पर्‍यो । सारा सिद्धान्तका वस्त्र फालेर आफूलाई नग्न बनाउनु पर्‍यो । शून्यबाट ज्ञानका नवीन आयामलाई हेर्नु पर्‍यो ।

तर बाबुरामलगायत वैकल्पिक नेताहरूले यसो गर्न सकेनन् । उनीहरू ‘नग्न हुन’ नै तयार भएनन् । कहिले समाजवादको वस्त्र लगाए त कहिले भौतिकवादको । कहिले लोकतन्त्रको वस्त्र लगाए त कहिले पहिचान र सदाचारको ।

यही वस्त्र नै उनीहरूको सिकाइको बाधा बन्यो । यस्तै वस्त्र धारण गरेका कारण वैकल्पिक राजनीतिका नेताहरूमा नयाँ वैचारिकी विकास हुन सकेन । पार्टी छिन्नभिन्न भयो । अन्ततः बाबुराम जस्ता नेतालाई पनि ‘करिअर बचाउन’ पुनः माओवादीको शरणमा जानुपर्ने अवस्था पैदा भयो ।

के छोड्ने, के समाउने ?

‘वैकल्पिक ऊर्जा’ भन्यो भने खनिज ऊर्जा छोडेर सोलार वा बायो ऊर्जा समाउनु भन्ने बुझिन्छ । ‘वैकल्पिक चिकित्सा’ भन्यो भने, एलोपेथी छोडेर आयुर्वेद वा होमियोपेथी समाउनु भन्ने बुझिन्छ ।

‘वैकल्पिक राजनीति’ भन्यो भने के छोड्ने, के समाउने ? वैकल्पिक राजनीति गर्न चाहनेले यो प्रश्नको उत्तर खोज्न जरूरी थियो । तर यो प्रश्नको उत्तर नखोजी बाबुराम लगायतका नेताहरूले विगत सात वर्ष विताए । आजको असफलताको मुख्य कारण यहींनेर छ ।

‘वैकल्पिक राजनीति’ भन्नाले शास्त्रीय दर्शन (भौतिकवाद) छोडेर ‘जैविक दर्शन’ समाउनु हो । शास्त्रीय विचारधारा (उदारवाद, समाजवाद, साम्यवाद, राष्ट्रवाद, कल्याणवाद) छोडेर ‘जैविक विचारधारा’ समाउनु हो ।

शास्त्रीय राजनीतिका सबै धारा छोडेर ‘जैविक राजनीति’ र ‘जैविक समाज’ निर्माणको अवधारणा समाउनु हो । के नेताहरू यो तथ्य मनन गर्न जरूरी ठान्दछन् ? यही प्रश्नले वैकल्पिक राजनीतिको आगामी भविष्य निर्धारण गर्नेछ ।

सात वर्षमा यो प्रष्ट भयो कि पुरानो ढर्राका नेताबाट वैकल्पिक राजनीतिको नेतृत्व सम्भव छैन । ‘रिटायर्ड लाइफ’को कुण्ठा र महत्वाकांक्षाबाट पनि वैकल्पिक राजनीतिको नेतृत्व सम्भव छैन । पुराना नेताका अनुभवबाट सिक्न सकिन्छ । तर वैकल्पिक राजनीतिको रथ अगाडि बढाउन अब नवयुवाहरूले नै काँध थाप्न जरूरी छ ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?