+
+

म नेपालको ८० वर्षको भविष्य देख्न र कोर्न सक्छु

सोविता गौतम सोविता गौतम
२०७९ भदौ १३ गते २०:०३

म धेरै बोल्दिनँ, जति बोल्छु तपाईंहरूकै मनको कुरा बोल्छु । राजनीतिकै चर्चा छ जता पनि । एउटा यस्तो अस्त्र, जसले समाजको स्थितिलाई सुनिश्चित गर्न सक्छ त्यो हो राजनीति । राजनीतिले योजना दिन्छ । योजनाले विकास दिन्छ । विकासले समृद्धि दिन्छ । समृद्धिले तपाईं (जनता)को, मेरो ओठमा मुस्कान, मनमा चयन र मष्तिकमा सिर्जनशील विचार दिन्छ ।

एउटा सुसूचित राजनीति भएको देश निसंकोच बन्छ । देश भनेको कुनै भूगोलको घेरा मात्रै होइन । देश भनेको जनभावना हो । लगभग २५० वर्षको इतिहास भएको अमेरिका आज कहाँ पुगिसक्यो । ६० वर्ष अगाडि मात्रै भोकमरी लागेको दक्षिण कोरिया जसलाई नेपालले पनि चामल अनुदान दिएको थियो । त्यो देश आज कहाँ पुगिसक्यो । दोस्रो विश्वयुद्ध पछाडि चकनाचुर भएको जापान आज कहाँ पुगिसक्यो ।

हामी १६ सय, १७ सय, १८ सय वर्षको स्थापित इतिहास भएको देश नेपाल प्रकृतिले, भूगोलले, सम्पदाले, कला कौशल सबैले धनी भएको देश आज हामी कहाँ छौं ? इस्वी सम्वत चार सयदेखि सात सय पचासको आसपास लिच्छिवीकालीन समयका बेला अमेरिका भन्ने देश पनि पत्ता लागेको थिएन, तर नेपाल स्वर्ण युगमा बाँचिरहेको थियो । उदाहरण ज्वलन्त छ ।

भक्तपुरमा रहेको चाँगु नारायणको मन्दिर लिच्छिवीकालीन इतिहास हो । जतिबेलामा पैसा भन्ने चीजको अवधारणा संसारमा विकास पनि भएको थिएन त्यतिबेला हामी पैसा चलाउँथ्यौं, गुणांक, मनांकन सुन्नु भएको होला । गुणकामदेवले, मानदेवले चलाएको चाँदी र तामा पैसा हामी त्यतिबेलै चलाउँथ्यौं ।

तर, आज हेर्नुस हाम्रो अवस्था ! यहाँ जति नै ठूलो घर, बंगला, गाडी चढेर बसेको नेपाली किन नहोस्, जब त्रिभुवन विमानस्थलबाट अर्को कुनै विमानस्थलमा हरियो पासपोर्ट लिएर हामी जान्छौं, त्यतिबेलामा अर्को देशको नागरिक र हामीमा गरिने विभेदले हाम्रो स्तर जनाउँछ हामी कहाँ छौं र हाम्रो अवस्था के हो ?

त्यसैले अब यो देशलाई परिवर्तन गर्ने बेला आइसकेको छ । यो देशमा साना ठूला परिवर्तनहरू छोटो समयको अन्तरालमा विभिन्न आन्दोलनहरू भएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, समानताको हक जस्ता मानव अधिकारका न्यूनतम मापदण्डहरू पूरा गर्नका लागि यो देशमा समय समयमा विभिन्न आन्दोलनहरू भए ।

तिनै आन्दोलनहरूको गर्भबाट स्थापित राजनीतिक दलहरूको उदय भयो । तिनै दलहरूमार्फत आजका शीर्ष दलका नेताहरू यो देशमा राज गरिरहनुभएको छ । उहाँहरूको योगदान नभएको होइन, योगदान पक्कै छ । उहाँहरूले नगरिदिएको भए आज हामी यहाँ हुँदैनथ्यौं । उहाँहरूलाई नमन छ ।

तर, राजनीतिमा खारिँदै खारिँदै घटना परिघटना अध्ययन गर्दै गर्दै उहाँहरू अब जीवनको उत्तराद्र्धमा आइसक्नुभएको छ । अब उहाँहरूले विश्राम लिने समय भइसकेको छ । हामीले ती पुस्ताहरूलाई विस्तारै विस्तारै गुमाउँदैछौं । केही दिन अगाडि मात्रै नेपालकै बौद्धिक रूपमा परिचित एकदमै राम्रा नेता स्वर्गीय प्रदिप गिरि गुमाइसकेका छौं । र, यो गुमाउनेक्रम अब यहीँ रोकिँदैन, अझै पनि हामीले गुमाउनेछौं । तर, उहाँहरूलाई गुमाउँदै गर्दै उहाँहरूको बिँडो थाम्ने को त ?

युवा आउनुपर्छ अब । हामी आइसकेका छौं । देशको, घरको छाना टाल्न विदेशिएका नेपालीहरू अब देशको बेतिथिको भ्वाङ टाल्न स्वदेश फर्किनुपर्छ । अक्फोर्ड र क्याम्ब्रिज विश्वविद्यालयमा पढाउने नेपालीहरू अब त्रिभुवन विश्वविद्यालयमा पढाउनका लागि फर्किनुपर्छ । युरोप, अमेरिकामा उपचार गर्ने डाक्टरहरू अब हुम्ला, जुम्ला, बाजुरामा उपचार गर्नका लागि फर्किनुपर्छ ।

स्थापित दलका नेताहरूले एउटै कुरा भनिरहनुभयो, एउटै सुगा रटाइ गर्नुभयो– हामीले लोकतन्त्र ल्यायौं, प्रजातन्त्र ल्यायौं, गणतन्त्र ल्यायौं । हो, ल्याउनुभयो तर, त्यो कागजमा मात्रै सीमित रह्यो । नत्र यस्तो असमान विकास हुन्छ ? आज पनि बाजुरा र कञ्चनपुरमा सिटामोल पाउन अप्ठ्यारो छ । ओलाङचुगोलामा सिटामोल पाउन अप्ठ्यारो छ । यस्तो असमान कहीँ हुन्छ ? यस्तो असमान विकास कुनै लोकतन्त्रमा हुन्छ ? त्यसैले गर्दा अब समय आइसकेको छ । युवाको काँधमा नेपालको राजनीति बसिसकेको छ ।

यहाँहरूलाई एउटा मात्रै कुरा भन्छु नेता भनेको यस्ता हुनुपर्छ, जसले देशको भविष्य बोक्न सकोस्, देशको भविष्य कोर्न सकोस् । तर, अहिलेका स्थापित नेताहरू जसको आफ्नै भविष्य चार पाँच वर्ष, दश वर्ष होला । उहाँहरूले ८० वर्षको नेपाल कसरी कोर्न सक्नुहुन्छ ? त्यसकारण अब यस्तो नेता रोज्नुपर्छ जसले नेपालको ८० वर्षको भविष्य कोर्न सकोस् । त्यो ८० वर्ष देख्ने म हुँ । म सोविता । म सोविता सिर्फ एउटा व्यक्ति होइन, तपाईंहरू सम्पूर्ण सोविताहरू हुनुहुन्छ ।

तपाईंहरूको आँखामा एउटा बेग, तीब्रता सबै देखिरहेको छु । त्यसैले अब यो नेपाललाई काँधमा बोक्न र अगाडि डोर्‍याउनका लागि युवाहरू अगाडि आइसकेको छ । हामी संगै हिंड्छौं । हाम्रो सपना देश बनाउने, तपाईंहरूको सपना देश बनाउने, सबैको सपना यदि देश बनाउने हो भने हामी अलग पो कसरी भयौं र ? यसकारण हामी सबै सँगसँगै हिडौं र नेपाललाई समृद्ध बनाऔं ।

(नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार काठमाडौंको खुलामञ्चमा आयोजना गरेको कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य गौतमले गरेको सम्बोधनको अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?