+
+

संसद छिर्न विमलेन्द्रले किन रोजे समानुपातिकको बाटो ?

२०५१ सालदेखि निरन्तर प्रत्यक्ष चुनाव लड्दै आएका विमलेन्द्र निधि यो पटक भने समानुपातिकमा बस्ने भएका छन् । निधिले प्रत्यक्षको मैदान छाडेर संसद छिर्ने सहज बाटो रोज्नुका केही कारण छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते २०:१७

१७ भदौ, जनकपुरधाम । आम निर्वाचन २०५१ मा कांग्रेस महामन्त्री महेन्द्रनारायण निधिले धनुषा ४ मा  छोरा विमलेन्द्र निधिलाई उम्मेदवार खडा गरे ।

उमेर ढल्किँदै गर्दा विद्यार्थी राजनीतिबाट आएका आफ्ना छोरालाई संसदीय राजनीतिमा स्थापित गर्ने निधिको प्रयास सफल भयो ।

बिमलेन्द्र निधि २१ हजार ३४० मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाका कृष्णप्रताप मल्लले १६ हजार ५६३ मत पाएका थिए । एमालेकी शारदा झाले २ हजार ९४८ मत पाइन् । त्यसयता निरन्तर प्रत्यक्ष चुनाव लड्दै आएका निधि यो पटक भने समानुपातिकमा बस्ने भएका छन् ।

धनुषा ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न जिल्ला सभापति योगेन्द्र पञ्जियार, नेताहरु गणेश तिवारी र परमेश्वर महासेठले आवेदन दिए पनि पूर्व उपसभापति निधिले भने समानुपातिक रोजे । ‘समानुपातिकको उम्मेदवार बन्न निवेदन दिएको छु । अहिले यत्ति भन्न चाहन्छु’ निधिले अनलाइनखबरसँग भने ।

कांग्रेसमा शीर्ष तहबाट समानुपातिक रोजेर निवेदन दिने निधि पहिलो व्यक्ति हुन् । निधिले पार्टी सभापति शेरबहादुर देउवालाई समेत यो पटक समानुपातिकमा बस्न चाहेको बताएकाले उनको नाम बन्दसूचीमा पर्ने पक्का जस्तै छ ।

निधि २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । त्यसअघि ०५६ मा राप्रपाका कृष्णप्रतापसँग हार व्यहोरेका थिए । तर मधेस आन्दोलनको रापतापका बेला भएको पहिलो संविधानसभा निर्वाचन २०६४ मा निधि १५ हजार ५८२ मतका साथ विजयी भए । मधेस आन्दोलन सिथिल भएको बेला २०७० को चुनावमा निधिलाई सहज भयो ।


२०७४ मा पनि उनलाई हार्छु भन्ने लागेको थिएन । वाम गठबन्धनबाट लो प्रोफाइलका माओवादीका राम सिंह उम्मेदवार थिए भने मधेसी मोर्चाको साझा उम्मेदवार बनेका महतो सर्लाही छोडेर पहिलो पटक धनुषामा उम्मेदवार बन्न आएका थिए । तर वाम गठबन्धन, त्यसमा पनि खासगरी एमालेले अघोषित रुपमा समर्थन गरेपछि महतोले निधिलाई झण्डै ३ हजार मत अन्तरले हराए ।

अहिले परिस्थिति फेरिएको छ । वाम गठबन्धनको एउटा घटक माओवादी र मधेसी मोर्चाको एउटा घटक जनता समाजवादी पार्टी (जसपा) कांग्रेसको साथमा छ । राजेन्द्र महतोको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि हिजो जस्तो प्रभावशाली छैन ।

३० वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा हेर्ने हो भने २२ हजार ४२८ मतका साथ कांग्रेस पहिलो स्थानमा छ । एमालेको १७ हजार हाराहारी मत रहेको यो क्षेत्रमा लोसपा र जसपाले ८ हजार आसपास मत छ ।

बिमलेन्द्र निधि र राजेन्द्र महतो ।

यो अवस्थामा पनि निधिले किन समानुपातिक रोजे त ? कांग्रेस नेताहरुका अनुसार गठबन्धनका बाबजुद आफू धनुषा ३ मा सुरक्षित नदेखेकै कारण निधिले समानुपातिकमा बसेर संसद छिर्ने बाटो रोजेका हुन् । र, निधिले आफू असुरक्षित देख्नुमा कांग्रेसभित्र फेरिएको शक्ति सन्तुलन र स्थानीय चुनाव हो ।

कांग्रेसमा निधि लामो समय शेरबहादुर देउवा निकट रहे । देउवा कांग्रेसको शक्तिमा आउँदा निधि यो समूहको दोस्रो वरियतामा रहे । तर १४औं महाधिवेशनमा उनले सभापतिमा प्रतिस्पर्धा गरेपछि देउवासँग सम्बन्ध बिग्रिएको छ ।

त्यसमाथि स्थानीय चुनावले तिक्तता बढाएको छ । गठबन्धनमा भागवण्डा हुँदा देउवाले जनकपुर उमहानगरपालिका जसपालाई छाडिदिए । तर निधिले त्यसलाई स्वीकार गरेनन्, आफनो समूहमा रहेका मनोज साहलाई विद्रोह गराए । कांग्रेस परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका साह मेयरमा निर्वाचित समेत भए ।

जसपा नेताहरुमा गठबन्धनका मेयर उम्मेदवार लालकिशोर साहलाई हराएको झोक अझै छ ।

त्यसमाथि प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गर्ने प्रयास पनि जारी राखेका छन् । लोसपा गठबन्धन भए टिकट नै नपाउनसक्ने र टिकट पाएको अवस्थामा पनि गठबन्धनबाट सहयोग नहुने सम्भावना भएकाले निधिले समानुपातिकमा बस्ने सुरक्षित बोटो रोजेको कांग्रेसका एक नेता बताउँछन् ।

लोसपाबाट महतो नै उम्मेदवार बन्ने सम्भावना छ भने जसपाबाट जितेन्द्र यादवको सम्भवना छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव समेत रहेका यादव भन्छन्, ‘विरासतवाद अन्त्य गर्न म उठ्न लागेको छु ।’

कांग्रेसका क्षेत्रीय सभापति श्याम निधि पनि धनुषा ३ कांग्रेसको भागमा नपर्न सक्ने भएकाले निधिलाई समानुपातिकमा सिफारिस गरिएको बताउँछन् । ‘यो क्षेत्रमा जसपाले दाबी गरेको छ, लोसपालाई पनि गठबन्धनमा ल्याउने कुरा पनि चलिरहेको छ’ क्षेत्रीय सभापति निधि भन्छन्, ‘लोसपा गठबन्धनमा आयो र पहिले जितेकालाई दिने भनियो भने कसरी विमल दाइले पाउनुहुन्छ र ?’

मधेस प्रदेशका कांग्रेस सभापति कृष्ण यादव पनि पार्टीमा सल्लाह गरेर नै निधिले समानुपातिकमा निवेदन दिएको बताउँछन् । ‘गठबन्धनमा मेरो तर्फबाट कुनै बाधा नपरोस् भनेर समानुपातिक बस्नुभएको हो’ प्रदेश सभापति यादव भन्छन्, ‘उहाँ हामी सबैको नेता हो । सबैलाई जिताउन चुनावमा हिँड्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?