+
+

कृषि स्नातकको परीक्षामा लापरवाही : पढाइ नयाँ पाठ्यक्रम अनुसार, प्रश्नपत्र पुरानै पाठ्यक्रमको

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते ६:२१

२४ भदौ, काठमाडौं । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत कृषि स्नातकको चौथो सेमेष्टरको परीक्षामा पुरानो पाठ्यक्रमको प्रश्न सोधेको पाइएको छ । बुधबार भएको कमर्सियल क्रम (नगदे बाली) को परीक्षामा सोधिएको प्रश्नपत्र पुरानो पाठ्यक्रम अनुसार छ ।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले कृषि स्नातकको पाठ्यक्रम २०७६ सालमा परिवर्तन गरेको थियो । २०७६ सालदेखि नै नयाँ पाठ्यक्रममा आधारित भएर अध्ययन अध्यापन हुँदै आइरहेको छ ।

पुरानो पाठ्यक्रममा कमर्सियल क्रप पाठ्यभार (२+१) भएकोले जुट, कपास, बिँडी, उखु र चुकन्दरको पढाइ हुन्थ्यो । नयाँ पाठ्यक्रममा पाठ्यभार (१+१) बनाएर बिँडी र चुकन्दर हटाइएको छ । तर परीक्षामा प्रायजसो प्रश्नहरु बिँडी र चुकन्दरबाट सोधिएको छ ।

विद्यार्थीको भविष्यसँग सरोकार राख्ने परीक्षाजस्तो संवेदनशील विषयमा अध्ययन संस्थानले बारम्बार हेलचेक्राइँ गर्दै आइरहेको विद्यार्थी दिपेश नेपाल बताउँछन् । उनी भन्छन्, ‘प्रश्नपत्र हुबहु दोहोरिने, पाठ्यक्रम बाहिरको प्रश्न आउने जस्ता घटना बारम्बार भइरहेको छ । यो पनि त्यसैको निरन्तरता हो ।’

नयाँ पाठ्यक्रमभन्दा बाहिरबाट सोधिएको प्रश्नपत्र (वायाँ) । दायाँतर्फ माथि नयाँ पाठ्यक्रम र तल पुरानो पाठ्यक्रम

 

अध्ययन संस्थानको परीक्षा शाखालाई बारम्बार यस्ता हेलचेक्राँइ नदोहोर्याउन आग्रह गर्दा पनि समस्या सामान्य भएको बताउने गरेको विद्यार्थी नेपालले बताए ।

२० अंकको प्रश्नपत्रमा अंक बराबरको प्रश्न पुरानो पाठ्यक्रमबाट सोधिएको रामपुर क्याम्पस बाली विज्ञानका उप–प्राध्यापक अच्युत गैरेले बताए । उनले भने, ‘परीक्षा शाखाको त्रुटीले विद्यार्थीहरु मर्कामा परे । पठनपाठन नयाँ पाठ्यक्रमबाट हुन्छ तर करिब ५० प्रतिशत प्रश्न पुरानो पाठ्यक्रमबाट सोधिएको छ ।’

परीक्षा शाखाका सहायक डीन कन्हैया प्रसाद सिंले प्रश्नपत्र बनाउँदा त्रुटि भएको पाइएपछि समिति बनाएर छानबिन शुरु भएको जानकारी दिए । उनले भने, ‘हो चार वटा प्रश्नमा त्रुटी भएको पाइएको छ । त्यसैले छानबिन समिति बनाई काम शुरु भइसकेको छ । समितिको रिपोर्ट आएसँगै दोषीलाई नियमानुसार कारबाही हुन्छ ।’

छानबिन समितिलाई एक हप्ताभित्र अध्ययन रिपोर्ट बुझाउन निर्देशन दिइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?