+
+

चोलेन्द्रको बयानमा श्रृङ्खलाबद्ध लाञ्छना र आरोप

आफूमाथि लागेको अभियोगको सफाइ पेश गर्नु साटो निलम्बित प्रधानन्यायाधीश जबराले चौथो दिनको बयानमा पनि राजनीतिक दलका नेता, न्यायाधीश, वरिष्ठ अधिवक्ता र पूर्वसहकर्मी माथि विभिन्न लाञ्छना लगाए ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ भदौ २६ गते २०:५९

२६ भदौ, काठमाडौं । आफूविरुद्धको महाअभियोग प्रस्तावमा बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निरन्तर रुपमा विभिन्न व्यक्तिहरुमाथि व्यक्तिगत लाञ्छना र आरोप लगाउने काम गरिरहेका छन् ।

१५ भदौदेखि आइतबारसम्म आइपुग्दा महाअभियोग सिफारिस समितिले चार पटक उनको बयान लिएको छ । यसक्रममा उनले पूर्वप्रधानमन्त्रीहरु, पूर्वअर्थमन्त्रीहरु, सर्वोच्च अदालतका न्यायाधीशहरु, पूर्वन्यायाधीशहरु, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुको नामै लिएर टिप्पणी गरेका छन् । बयानका क्रममा उनले हरेक दिन फरक–फरक व्यक्तिको नाम लिएर आफूमाथि लागेको अभियोग पन्छाउन खोजिरहेका छन् ।

आइतबार मात्रै जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा भएको भनिएको भ्रष्टाचार सम्बन्धी आरोपमाथिको प्रश्नमा उनले पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वअर्थमन्त्री विष्णु पौडेलको नाम लिए ।

सर्वोच्च अदालतको भवन निर्माणमा भ्रष्टाचार भएको सम्बन्धमा सोधिएको प्रश्नमा जबराले सकारात्मक शब्दमा जवाफ दिए । उनले भनेका छन्, ‘सर्वोच्च अदालतको भवन निर्माण सम्बन्धमा अति मेहनत परेको छ । तत्कालीन अर्थमन्त्रीज्यू अहिले यहाँ नै हुनुहुन्छ । उहाँको सौहार्दपूर्ण सहयोगात्मक सहयोग नभएको भए अनि तत्कालीन प्रधानमन्त्रीज्यू सकारात्मक नहुनुभएको भए त्यहाँ एकदमै जटिल अवस्था थियो । अहिलेको अवस्थामा बन्ने नै थिएन, आउने नै थिएन ।’

सर्वोच्च अदालतको भवन ठेक्का प्रकरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाइएको र त्यसमा ‘अदालतबाटै आवश्यक निर्णय हुन लेखी आएको’ र कार्यालय प्रमुखले नै (गर्नु) भनेको हुनाले आफूले ठेक्का सदर गरेको उनको बयान छ । ‘यस (ठेक्का) मा २०७७ फागुन ३ गते मैले सदर गरेको छु । प्रशासनिक प्रमुखले गर्ने भनेको भए मुख्य रजिष्ट्रारले गर्ने थिए । यति कष्टका साथ भएको हो’ उनले भनेका छन् ।

‘पूर्वन्यायाधीश समाज भनेको मण्डले समाज हो । मण्डले समाजको मण्डलेले नै नेतृत्व गरेको छ । हिजो मण्डलका जति पनि पछि न्यायाधीश भएका थिए त्यो उनले नेतृत्व गरेको छ । जस्तो टोपबहादुर सिंह हिजोको मण्डले हो । त्यसपछाडि ओझाजी उपाध्यक्ष लेख्नुभएको छ । ऊ अर्को एउटा मण्डले हो । घनघोर मण्डले भनेको शम्भु खड्का हो’

आइतबार जबराले न्यायाधीश र पूर्वन्यायाधीशहरुको पनि चर्को आलोचना गरे ।

‘पूर्वन्यायाधीश भन्ने समाज छ । एउटा न्यायाधीश समाज छ, त्यो बहालवाला न्यायाधीशको । पूर्वन्यायाधीश समाज र न्यायाधीश भन्ने समाज भनेको हिजोको नेविसंघ र मण्डल भनेजस्तै हो’ जबराले भने ।

पूर्वन्यायाधीश समाजमाथि उनले अझ गम्भीर लाञ्छना लगाए ।

‘पूर्वन्यायाधीश समाज भनेको मण्डले समाज हो । मण्डले समाजको मण्डलेले नै नेतृत्व गरेको छ । हिजो मण्डलका जति पनि पछि न्यायाधीश भएका थिए त्यो उनले नेतृत्व गरेको छ । जस्तो टोपबहादुर सिंह हिजोको मण्डले हो । त्यसपछाडि ओझाजी उपाध्यक्ष लेख्नुभएको छ । ऊ अर्को एउटा मण्डले हो । घनघोर मण्डले भनेको शम्भु खड्का हो’ जबराले बयानमा भनेका छन् ।

साथसाथै, निलम्बित प्रधानन्यायाधीश जबराले, न्यायाधीश र वरिष्ठ वकिलहरुमाथि पनि लाञ्छना लगाए । उनले वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलाई नामै लिएर ठालुको संज्ञा दिएका छन् भने अधिवक्ता ओम प्रकाश अर्यालको चरित्रमाथि प्रश्न उठाएका छन् ।

‘उहाँहरु ठालु सात/आठ जना मध्येमा नाम लिदिनँ । उहाँ ठालुहरुले सर्वोच्च अदालत ‘डोमिनेट’ गरेर ओगटेर बस्नुभएको थियो । त्यो मेरो कालमा नष्ट गरिदिएँ त्यो गिरोहलाई । त्यही गिरोहले मलाई अहिले (महाअभियोग) लगायो । त्यो गिरोहको नेतृत्व एकदमै देखिएकै छ’ जबराले भने । नाम लिदिनँ भन्दा भन्दै पनि उनले वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको नाम लिए ।

‘अस्ति माननीयले सोध्नुभएको थियो मैले नाम लिइनँ, क्विन्टलको कुरा गर्नुभएको थियो । त्यो क्विन्टलको कुरा गर्ने वरिष्ठजी हुनुहुन्थ्यो त्यो नेपाल बारमा व्यक्त गर्नुभयो, पछि भाषणमा पनि व्यक्त गर्नुभयो, अन्तर्वार्तामा पनि बोल्नुभयो त्यो हुनुहुन्थ्यो रमण श्रेष्ठ । उहाँहरु ठालु हो’ जबराले भने ।

एकले अर्कोलाई मुद्दा दिने, राख्ने गरेर सर्वोच्च अदालतलाई ७/८ जनाको गिरोहले ओगटेर राख्ने प्रवृत्तिलाई आफूले तोडिदिएको जबराले बताए । त्यसवापत आफूमाथि महाअभियोग लागेको उनको बयान छ । ‘हिजोको कालमा पनि महाअभियोगको नेतृत्व रमणजीले लिनुभएको थियो आज पनि रमणजीले लिनुभएको छ’ उनले भने ।

जबराले अधिवक्ता ओमप्रकाश अर्यालको पनि नाम लिए । ‘सम्पत्ति शुद्धीकरणको (रिट) दिन गोविन्द केसीजी जानुभएको थियो । त्यसमा जानुहुने अधिवक्ता चाहिं ओमप्रकाश अर्याल हुनुहुन्थ्यो । यो नोट होस्, ओमप्रकाश अर्यालको क्यारेक्टर एकदमै गम्भीर छ ।’

‘…बारको अध्यक्ष चण्डेश्वरजीले न्यायाधीशमा दुई चोटि सिफारिस गर्नुभएको दुवै चोटि मैले इन्कार गरेको हो । पुनदेवी महर्जनजी हुनुहुन्थ्यो मैले उहाँलाई इन्कार गरेको थिएँ । पुनदेवी महर्जनजी ओमप्रकाश अर्यालजीको अर्धाङ्गिनी हो । यत्ति भन्दाखेरि नै पुगिहाल्छ’ उनले अगाडि भने, ‘यसकारण उहाँले नेतृत्व गरेर सम्पत्ति शुद्धीकरणसम्म जानुभो । सम्पत्ति शुद्धीकरणले यो निरर्थक हो भनेर निर्णय नै गरिसकेको छ ।’

बयानका क्रममा चोलेन्द्रले सञ्चारमाध्यमको पनि नामै लिएर आलोचना गरे । राजनीतिक दलहरुले न्यायालयलाई ध्वस्त पार्न आफूलाई महाअभियोग लगाएको टिप्पणी गर्दै उनले महाअभियोग लगाउने राजनीतिक दलका नेतृत्वको नामै किटेर आलोचना गरे ।

‘यो (महाअभियोग) फिर्ता लिन्छौं, एक डेढ महिना तपाईं काम गर्नुस्, एक डेढ महिना पछाडि दीपक (दीपककुमार कार्की) लाई दिए हुन्छ भनेर पोलिटिकल पार्टीका शीर्ष नेताले भनेको । मैले त खोलिदिएको छु सार्वजनिक रुपमा’ जबराले भने ।

बयानमा जबराले भनेका छन्, ‘मेरो बयानले सिंगो न्यायपालिकालाई नै असर पर्‍यो भन्ने कुराहरु बाहिर आइराख्या छन् । यसलाई कसरी समायोजन गर्ने भन्ने कुरो म आफैंले गम्भीर रुपमा बुझ्न सकेको छैन ।’

महाअभियोग सिफारिस समितिमा समिति सदस्यहरुले ती दलका नेताहरुको नाम भन्न आग्रह गरेपछि उनले भने, ‘नेपाली कांग्रेसको डिनाजी (कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना) लाई हुन्छ । उहाँ मकहाँ आउनुभएको हो, यसमा मैले प्रचण्डजी र शेरबहादुरजीसँग सल्लाह गरेर तपाईंसँग कुरा गर्न आएको हुँ । यसलाई हामी फिर्ता लिइदिन्छौं, तपाईंले मिलाएर राजीनामा दिए हुन्छ ।’

कांग्रेस सहमहामन्त्री डिनाले के भनेको पनि उनले सुनाए, ‘प्रचण्डजीको पनि सहमति, प्रधानमन्त्रीजीसँग पनि बसेर कुरा गरेर आएको हुँ भन्नुहुन्थ्यो ।’

उनले विगतमा पनि बयानका क्रममा विभिन्न व्यक्तिमाथि आरोप र लाञ्छना लगाएका छन् । पूवप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको नाम लिएका थिए ।

साथै जबराले बयानका क्रममा कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीमाथि प्रधानन्यायाधीश पदको लोभले आफूविरुद्ध आन्दोलनको नेतृत्व गरेको आरोप लगाएका छन् । न्यायाधीश हरिकृष्ण कार्कीमाथि दोहोरो भूमिका खेलेको आरोप लगाएका थिए ।

न्यायाधीश प्रकाशमानसिंह राउतमाथि आचारणजन्य आरोपसहित उनको व्यक्तिगत विषयमा टिप्पणी गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडामाथि संकेत गर्दै ‘इमेल पठाएको’ भनी कटाक्ष गरेका थिए ।

नेपाल बार एशोसिएसनका तत्कालीन पदाधिकारी समेत जबराको आरोपमा परेका छन् । नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेलमाथि न्यायाधीश पदमा भागबण्डा खोजेको आरोप छ । सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यमाथि मुद्दा मिलाउन सिफारिस गरेको आरोप जबराले लगाएका छन् ।

जबराले आफ्नो बयानलाई लिएर भएको सार्वजनिक टीकाटिप्पणीप्रति जानकार रहेको पनि बयानमै उल्लेख गरे । ‘यो धेरै खोल्दाखेरि पनि के के भएको जस्तो हुन्छ । त्यसले गर्दाखेरि …’ जबराले भनेका छन् ।

बयानका क्रममा उनले भनेका छन् ‘मेरो बयानले सिंगो न्यायपालिकालाई नै असर पर्‍यो भन्ने कुराहरु बाहिर आइराख्या छन् । यसलाई कसरी समायोजन गर्ने भन्ने कुरो म आफैंले गम्भीर रुपमा बुझ्न सकेको छैन ।’

आफ्नो भनाइ सार्वजनिक भइरहेको छ भन्ने जान्दाजान्दै पनि जबराले व्यक्तिगत आरोप र लाञ्छना नरोकेका हुन् । आफूविरुद्ध धेरै लागेको उल्लेख गर्दै अनेक व्यक्तिको नाम लिइरहेका उनले आइतबारको बयानमा भनेका छन्, ‘जहिले पनि बृहस्पति एक्लो हुन्छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?