+
+
स्थलगत :

ओलीको निर्वाचन क्षेत्र : वारि पुल, पारि नदी

रतुवाको सतह बढ्यो भने के हुन्छ ? सावित्रा साहले भनिन्, ‘हामी पनि रतुवासँगै जान्छौं, घरमा बालबच्चा र श्रीमान् रुँदै बस्छन् ।’ एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र पर्ने यस क्षेत्रका नागरिक दिनदिनै नाउमा शरीर र हत्केलामा जिन्दगी राखेर रतुवा वारपार गरिरहेका छन् भन्ने बुझ्न सावित्राको यही जवाफ काफी छ ।

बिनु सुवेदी बिनु सुवेदी
२०७९ भदौ २८ गते १८:२८

२८ भदौ, गौरीगञ्ज (झापा) । झापापट्टि, रतुवाको किनारामा बसेर पारि मोरङतिर हेर्दाहेर्दै गौरीगञ्ज गाउँपालिका- ६ दामनाकी शकुन्तला कुमारीको आँखा नै टट्यायो । पारि पुगेको नाउ उनलाई लिन डेढ घण्टासम्म आइपुगेन ।

भदौको चर्काे घामले चिटचिट भएर उनको तालुबाट निस्किने पसिना र इलामको माङसेबुङ गाउँपालिकाबाट गडगडाउँदै आइपुग्ने रतुवा दुवै उनको दुःखसँग जोडिएका छन् ।

शकुन्तलादेवीसँग कुरा गर्दै गर्दा बारम्बार लाग्यो, दिनकै वारपार गर्न रतुवाले दिएको दुःखले धेरै पोल्दो हो कि, निधारबाट तरर पसिना बगाउने गरी चर्किएको भदौरे घामले ?

‘घामले त शरीर मात्रै पोल्ने हो, नदीले दिएको दुःखले मन पोल्छ’ शकुन्तलाले जवाफ दिइन् । दु:खले मन जलेको दबाइ शकुन्तलाले पाएकी छैनन्, अहिले भर्खरै पाउने कुनै छेकछन्द पनि छैन । उहिले उहिले त पुलै थिएन, नाउ नै तरेर वारपार गर्नुपर्थ्यो ।

२०६६ सालमा वर्षदिनमै बनिसक्ने गरी शिलान्यास भएको रतुवाको पुल एकातिर, खोला अर्कातिर हुँदा स्थानीयको सकस घटेन । त्यसपछिका दुई चुनावमा यस क्षेत्रका बासिन्दाले लगातार चुनाव जिताएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दुई पटक प्रधानमन्त्री भए । २०७४ मा यही क्षेत्रबाट प्रदेश सांसद जितेका एमालेकै हिक्मत कार्की प्रदेश मन्त्री बने । तर शकुन्तलाहरुको दुःख घटेको छैन ।

राणाकालमै स्थापित भएको गौरीगञ्ज बजार उहिले त गुल्जार थियो । दमक, विर्तामोड, हुँदै इलाम, ताप्लेजुङसम्मका मान्छेहरु सामान किन्न गौरीगञ्ज झर्थे । राजा महेन्द्रले पूर्वपश्चिम राजमार्गको अवधारणा ल्याएपछि गौरीगञ्जकै नागरिकले श्रमदान गरेर सुरुंगा, दमक, बिर्तामोड क्षेत्रमा बाटो बनाए, उनीहरुको व्यापार सुक्यो । झापाको पुरानो बजार रहेको यो दक्षिणी भेग विस्तारै किनाराकृत हुँदै गयो । अहिले त सामान्य नुनतेलदेखि बालीका लागि चाहिने मल किन्न पनि सीमा पारि नै जान्छन् देहातबस्तीका यी नागरिक ।

नेपालमा भन्दा पारिपट्टि केही हदसम्म भए पनि सस्तो सामान पाइने भएकाले गौरीगञ्ज क्षेत्रका अधिकांश नागरिक गर्जाे टार्ने सामान किन्न भारतीय बजारमै भर परेका हुन् । शकुन्तला पनि घरव्यवहार चलाउने सामान किन्न भारतको फूलबारी बजार जान लागेकी रहिछन् । चाँडै बजार पुगेर सामान ल्याउने उनको हुटहुटीभन्दा धीमा गतिमा थियो, पारिपट्टि पुगेको नाउ । त्यसैले उनीहरुले करिब डेढ घन्टा पर्खिनुपर्‍यो, त्यही मेसोमा उनीहरुसँग दुःखसुखका कुरा भयो ।

कुराकानीकै क्रममा शकुन्तालादेवीलाई सोध्यौं, तपाईंहरुका सांसद केपी ओली त दुईदुई पटक मुलुककै प्रधानमन्त्री बनिसक्नुभयो, यता आउनुभएन ?

गौरीगञ्जमा त त्यही फड्के पनि नभएको यथार्थ ३० वर्षदेखि त्यही क्षेत्रबाट चुनाव लडिरहेका पूर्वप्रधानमन्त्री ओलीलाई थाहा नहुने कुरै थिएन । तर ओली स्वयंले बारम्बार दमक पुगेर भाषण पनि गरेका हुन्, झापा ५ मा कहींकतै फड्के तर्नुपर्दैन । त्यसैले पनि होला, हाम्रो प्रश्नले शकुन्तलालाई आक्रोशित बनायो । ‘अहिले त उनीहरु राजा भइसके, हाम्रो दुःख कहाँ हेर्छन् र ?’ शकुन्तलाले भनिन्, ‘ढाँटेर भोट लिन्छन्, चुनाव जितेर गएपछि फर्केर पनि आउँदैनन् ।’ उनले नाउ कुरेर बसेका छरछिमेकीसँग पनि त्यही आह्वान गरिन् ।

शकुन्तलाको आह्वानमा सही थप्दै सरस्वती कुमारी मण्डल बोलिन्, ‘को बच्चा को बुढो मान्छे, भोट लिन दुई चार दिन सबैलाई नमस्कार गर्छन् । त्यसपछि पाँच वर्षसम्म हामीले नमस्कार गर्दा वास्तै गर्दैनन् ।’

जनताको आक्रोश बढिरहेको थियो, उत्तरी भेगमा अघिल्लो रातको घनघोर पानीको असरले होला रतुवाको सतह बढ्दै बढ्दै गयो । एकछिन अघि हामी बसिरहेको रतुवाको किनारमा पानी बग्न थाल्यो । केही अघि बालुवा नै बालुवा भएको ठाउँमा पानी बग्न थाल्यो ।

पानीको सतह कम हुँदा नाउ चलाउन कठिन हुन्छ भनेर पारि मोरङपट्टिको भागमा झण्डै ४५ मिनेट लगाएर बनाएको बाँसको पुल बढेको पानीले भत्काउने देखिएपछि खोलाको बीच भागबाट फेरि अर्काे डुंगा प्रयोग गर्नुपर्ने भयो ।

आँखा अगाडि खोलाको सुस्केरा र सतह झन बढ्दै गएपछि पारि पुगिन्न कि भन्ने पीर उनीहरुलाई थियो । किनभने उर्लंदो बाढीले जिन्दगीका अनेकन् समस्या समाधान गर्न वारिपारि गर्ने मान्छेलाई फर्काएको छ । उनीहरु पनि कैयौंपटक खोलाले छेकेको बाटो तर्न नसकेर फर्किएका छन् ।

रतुवाको सतह बढ्यो भने के हुन्छ ? सोधिनसक्दै सावित्रा साहले भनिन्, ‘हामी पनि रतुवासँगै जान्छौ, घरमा बालबच्चा र श्रीमान् रुँदै बस्छन् ।’

एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र पर्ने दक्षिणी भागका नागरिक दिनदिनै नाउमा शरीर र हत्केलामा जिन्दगी राखेर रतुवा वारपार गरिरहेका छन् भन्ने बुझ्न सावित्राको यही इशारा काफी छैन र ?

तर आफ्ना दुःखले नेताहरुको ऐयासीलाई रत्तिभर फरक पार्दैन भन्नेमा यी जनता स्पष्टै छन् । नदीको आकार र आयतन घटबढ भएझैं नागरिकका दुःख र संघर्षका आयतन र आकार सबैका उस्तै छैनन् ।

पारि मोरङतिर हेरेर टोलाइरहेका फरक फरक आँखाभित्र दुःखका समुद्र पनि फरक फरक छन् । काखमा ७ महिनाको बिरामी बच्चा बोकेर नाउ पर्खिरहेकी विनोती माला बच्चा धामी कहाँ जाँदै रहिछन् । डाक्टरलाई जति देखाउँदा पनि बच्चा निको नभएको, तर धामीलाई देखाउन थालेपछि चाहिं आरामले सुत्न थालेकाले धामीकै विश्वास लागेको उनीहरुको तर्क थियो ।

भन्न त हामीले धामीकोमा पुगेर बच्चालाई निको पार्न सकिंदैन भन्यौ । डाक्टरलाई नै देखायो भने बच्चालाई नै निको हुन्छ त्यसै गर्नु र भनेर सुझाव पनि दियौं, तर मेरो सुझावभन्दा धामीको झारफुकमाथि उनीहरुको बढ्ता भरोसा थियो । आफ्नी बुहारी विनोती माला र उनको सानो बच्चालाई लिएर धामीकहाँ जाँदै गरेकी कलावती महतोले भनिन्, ‘विश्वास लागेर जान लागेका हौं । पहिले डाक्टरी गरायौं केही भएन, अहिले आरामले सुत्न थालेको छ ।’

पारी मोरङमा नाम चलेका धामीले उनीहरुलाई फलोअपका लागि बोलाएका रहेछन् । बोलाएको समय गुज्रिनै लागेकाले उनीहरुको मन आत्तिएको थियो । सबैको मन अत्तालिएको थियो । बाढी बढेपछि आत्तिएका उनीहरु नाउ आएपछि खुसी देखिए । पहिले साइकल चढाएर आफू बसेका सुनाथु सुखियाले नाउमा बस्दा बस्दै भने, ‘हामीलाई त सबैले भेडाबाख्रा बनाए, किन पुल चाहियो र ? यसैगरी जान्छौं ।’ उनीहरु चढेको डुंगामा करिब ३० जना मान्छे र उति नै संख्याका साइकल अटेसमटेस गर्दै बसेर पारि पुगे ।

सधैंभरि आश्वासन, सधैंभरि दु:ख

२०६४ सालमा निर्माण सुरु भएको रतुवाको यो पुल निर्माणमा १० करोड ३२ लाख ९१ हजार रुपैयाँ खर्च भइसकेको छ । तर ठेक्का पाएको निर्माण कम्पनी कालिका ओसिए जेभीले ४ सय मिटरभन्दा लामो चौडाइ भएको नदीका लागि २०५ मिटरको पुल बनायो । समयक्रममा रतुवा पनि कहिले धार परिवर्तन गरेर झापातिर कहिले मोरङतिर बग्न थाल्यो ।

२०४८ सालदेखि ओलीले चुनावी एजेण्डा बनाएको रतुवाको तटबन्ध बनाउने काम बेलैमा सकिएको हुन्थ्यो भने रतुवाले त्यति बिघ्न बवण्डर मच्चाउने थिएन । गौरीगञ्जका नागरिकलाई विराटनगर पुग्न दमकको बाटो घुम्नुपर्दैनथ्यो । गौरीगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका राप्रपा नेता बाबुराज श्रेष्ठले पुल बनाइदिन आग्रह गर्दै सम्बन्धित निकायमा कैयौं पटक धाउँदा पनि बन्न नसकेको दुखेसो गर्छन् ।

‘२०६६ मा सक्ने गरी ठेक्का लाग्यो, अहिले ७९ भयो । अहिलेसम्म पुल सञ्चालनमा आएको छैन । हाम्रै सरकार बन्दा पनि यो पुल बनेन, मैले व्यक्तिगत रुपमा पनि उहाँलाई धेरैपटक आग्रह गरें’ श्रेष्ठले भने, ‘हाम्रो समस्या भनेको पुल हो । हामी धेरैपटक डेलिगेसन गयौं तर, माथि बसेकाहरुले मतलब गर्दैनन् । लथालिंग छ, दुख लाग्छ ।’

तत्कालीन प्रधानमन्त्री ओली, संघीय र प्रदेशका मन्त्रीहरु बारम्बार पुगेर त्यस क्षेत्रको अनुगमन गर्दा पनि पुलको समस्या समाधान गर्न भने सकेनन् । २०७७ मा तत्कालीन प्रधानमन्त्री ओली र भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ गौरीगञ्जमै आएर पुल सञ्चालनका लागि जतिसक्दो छिटो काम सक्न निर्देशन पनि दिए । त्यही वर्ष नदीको वारिपारि ड्याम बाँधेर नदीलाई पुल मुनिबाटै बगाउने योजना जनतालाई पनि सुनाए । तर न बजेट छुटि्टयो, न त नदी नै साँघुरियो । गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशी ओली सरकारले दक्षिण क्षेत्रलाई बेवास्ता गरेका कारण पुल बन्न नसकेको आरोप लगाउँछिन् ।

एक हप्ता अघि मात्रै नदीको स्पान थप्नका लागि भन्दै हुलाकी सडक निर्देशनालयले बोलपत्र आह्वान गर्यो । कांग्रेसका सांसद मिनेन्द्र रिजालले सामाजिक सञ्जालमार्फत हतारहतार उक्त सूचना सार्वजनिक गरे । सबैलाई थाहा छ, चुनावको मुखमा रिजालले पनि यस पुललाई आफ्नो एजेण्डा बनाउन खोजेको हुन् । किनकी गौरीगञ्जसँग पुलले जोड्ने पारिपट्टिको भाग रिजालको निर्वाचन क्षेत्र मोरङ २ मा पर्छ, जहाँबाट पहिले कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला पनि चुनाव लड्ने गर्थे । तर स्थानीय नागरिक पुल अति जरुरी भए पनि बन्छ भन्नेमा कत्ति पनि विश्वास गर्दैनन् ।

प्रदेश सांसद भन्छन् : पुल र बाटोको ठेक्का एउटैलाई दिनुपर्छ

आफ्ना जनप्रतिनिधिसँग स्थानीय बासिन्दाको गुनासो पनि हुने रहेछ । कति पटक आएर प्रतिबद्धता जनाए तर काम भएन भन्ने पनि जनतालाई परिहाल्छ नै । समस्या हुँदा र त्यो बेलैमा समाधान गर्न नसक्दा कारण जे भए पनि हामीले जनताको आलोचना स्वीकार्नुपर्छ । तर प्रयास नै नभएको भने होइन ।

हुलाकी मार्गको प्रमुखलाई बोलाएर के भएको हो भनेर पटक पटक सोधेका हौं। प्राविधिकले उत्तरतिर ९०० मिटर र दक्षिणतिर साढे ४०० मिटर बाँध बाधेर खोला साँघुरो बनाउने सुझाव दिए । हामी त्यी प्रक्रियामा सहमत भयौं ।

त अर्काे प्राविधिक आएर फेरि त्यसरी हुँदैन भने । पुलमा दुईवटा पिल्लर थप्नुपर्छ भनेपछि त्यहीअनुसार अहिले ठेक्का प्रक्रिया सुरु भएको छ । त्यो पुल नबन्दा मलाई पनि समस्या भएको छ । पुल बन्दा राजनीतिक रुपले उपलब्धि हुने हामीलाई हो । व्यक्तिगत रुपमा भन्नुहुन्छ भने मलाई अझै फाइदा हुन्छ । म गौरीगञ्ज घरमै बसेर विराटनगर आउजाउ गर्न सक्छु ।

हुलाकी राजमार्गमा रतुवा मात्रै होइन अरु पुल पनि त्यस्तै छन् । कन्काई पप्पुले ठेक्का लिएको १० वर्ष भइसक्यो बनेकै छैन । बाटो पिच भइसक्ने तर पुल नबन्ने समस्यालाई कसरी चिर्ने हो भनेर हामीहरु अहिले छलफलमा पनि छौं । मेरो विचारमा पुल र बाटो एउटै मान्छेलाई ठेक्का दिनुपर्छ । अहिले पुल अलग्गैले, बाटो अलग्गैले ठेक्का लिंदा पनि समस्या भएको हो ।

तस्वीर र भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

हेर्नुहोस् थप तस्वीरहरु

 

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?