+
+

‘एक लाखको जिलेबी त मैले पनि खुवाएँ, तर चुनाव हारें’

एमालेले घरघरमा गएर मोबाइल र १ हजार रुपैयाँ दियो, कांग्रेसले एक किलो मासु र हजार रुपैयाँ दियो, । मैले पनि ८ दिनसम्म १ लाखको जिलेबी बाँडेको हुँ तर जिलेबीले काम गरेन ।

बिनु सुवेदी बिनु सुवेदी
२०७९ भदौ २८ गते २०:५०

२८ भदौ, गौरीगञ्ज (झापा) । हुन त उनको पुर्ख्यौली पेशा नै खेतीपाती नै हो । तर भएको १० विघामध्ये ८ विघा जमिन रतुवा खोलाले बगाइदिएपछि आफूलाई पूर्णकालीन माझी र माझीहरुको नाइके बनाए । आफैंले बनाएका दुईवटा नाउ ७ जना मजदुरले चलाइरहेका बेला गंगा गन्गाई भने खोला किनारैको छाप्रोमा मजदुरका लागि खाना बनाइरहेका थिए ।

रतुवाको पुल नबनेपछि गौरीगञ्ज र गौरादहका नागरिकले पाएको सास्तीबारे हामीलाई बुझ्नु थियो,गन्गाईसँगै कुरा गर्न थाल्यौं । कुराको पोयो फुकाउने काम उनीसँग कति जग्गा जमिन छ भन्ने प्रश्नबाटै सुरु भयो ।

‘यो बगिरहेको पानी नै मेरो जग्गा हो’, गंगा गन्गाईंको कुरा सुनेर उनको वरिपरि बसेकाहरु गल्ल हाँसे, हामी कुरा नबुझेर अक्क न बक्क पर्‍यौं । कुरा बुझाउन उनै गन्गाई तम्सिए फेरि ।

गन्गाईंले भनेअनुसार रतुवाको वारीपारी गरेर उनीसित १० बिघा जग्गा रहेछ । ८ बिघा जग्गा ०७४ मा रतुवामा आएको ठूलो बाढीले बगाएको रहेछ । उनी भन्छन्, ‘रतुवा अहिले पनि मेरै जग्गामाथिबाट बगिरहेको छ ।’

बाँकी रहेको दुई विघा जग्गामध्ये २ छोरालाई १०–१० कट्ठा दिएर आफ्ना लागि १ बिघा राखेका रहेछन् । जग्गाका हुनु नहुनु अलग कुरा, उनी पूर्णकालीन माझी चाहिँ भए । पहिले आफैंले डुंगा चलाउँथे, अहिले उमेर धेरै भयो, खटनपटन गर्छन् ।

‘यहाँ वारीपारी गर्न सबैलाई दुख हुन्छ, त्यो देख्न नसकेर मैले नाउ चलाउन थालेको हुँ,’ गन्गाईले भने, ‘यो काम गरेर मेरो गुजारा चल्दैन, कहिलेकाहीँ घाटामा पनि जानुपर्छ ।’ गन्गाईले १४ वर्षको उमेरदेखि डुंगा चलाउन थालेका हुन् । रतुवामा पुल नबनेर जनताले साह्रै नै सास्ती पाएको देखेपछि उनी पछिल्लो २५ वर्षयता भने यही ठाउँमा केन्द्रित छन् ।

‘अहिले म ७२ वर्ष भएँ । यहीँ ठाउँमा चारवटा नाउ फाटिसक्यो’, उनी भन्छन् । उनका अनुसार एउटा नाउँ पाँच वर्षजति टिक्छ । तर नाउ चलाएर फाइदा चाहिँ पटक्कै छैन । बरु धेरैजसो घाटामा चल्नुपर्छ । आज जम्मा २ टिप चल्यो, एकपटकमा २५ जना लैजान हो, एकजनाको भाडा ५० रुपैयाँ लिन्छौं’, गन्गाईले भने, ‘७ जना मजदुर छन्, एक जनालाई दिनको हजार रुपैयाँ ज्याला दिन पर्छ, कहिलेकाहीँ त ज्याला दिने पैसा पनि उठ्दैन ।’

यात्रुको भाडा बढाउनुपर्छ कि भनेर उनले कहिलेकाहीँ नसोच्ने होइनन्, तर निमुखाहरुको गुनासोसँग गन्गाईंलाई डर लाग्दो रहेछ । ‘यात्रुसंग धेरै लियो भने धेरै लियो भनेर गुनासो गर्छन् । कहिलेकाहीँ ज्याला दिने पैसा पनि पुग्दैन मैले गोजीबाटै निकालेर दिन्छु,’ गन्गाईंले भने ।

बितेको ३२ वर्षमा रतुवाले कयौंपटक धार परिवर्तन गर्‍यो, कहिले गडगड्यायो कहिले सुक्यो, ३२ वर्ष यता यही ठाउँमा बसेर डुंगा खियाएका गन्गाईं बुढ्यौली लाग्दै गएपछि नदी किनारमा बसेर अरु माझीले डुंगा खियाएको हेर्न थाले, रेखदेख गर्न थाले ।

आफ्ना क्षेत्रका नागरिकलाई वारपार गराउँदा गराउँदै उनका चारवटा डुंगा फाटिसके, तर गन्गाईं थाकेका छैनन् । एउटा डुंगा बनाउन करिब चार लाख रुपैयाँ खर्च हुने गन्गाई बताउँछन् । ८५ हजार त डुंगा बनाउने मजदुरलाई मात्रै दिनुपर्छ । ‘काँटी त क्वीन्टल नै लाग्छ, एउटा नाउ बनाउन डेढ महिना लाग्छ,’ गन्गाईले भने, ‘सेवा गर्नका लागिमात्रै यो चलाएको हुँ ।’

पक्की पुल बनेर नागरिक खुसी हुँदै रतुवा वारपार नगर्दासम्म आफू खोला किनारमै बसेर नाउलाई वारपार गराउन नछोड्ने अठोट छ गन्गाईंको । त्यसैले पुल बनाइमाग्ने टोलीसँग उनी पनि विराटनगर र इटहरी डेलिगेसन गएका छन् । तर परिणाम आउलाजस्तो देख्दैनन् र निराश हुन्छन् ।

‘पक्की पुलका लागि कति धाउछौं केही सुनुवाइ गर्दैनन् । पक्षपात गर्छन् । पुल बने त अति राम्रो हुन्थ्यो सबैको दुख टर्छ, सबैको कल्याण हुन्छ, व्यापार हुन्थ्यो’, उनले भने, पुल हेर्न निकै आउँछन् तर रमिता हेर्छन् । उनीहरु त हाम्रो दुख हेर्न आएजस्तो लाग्छ । चुनावका बेला आउँछ, तर चुनाव सकिनेबित्तिकै जान्छन् र नेताहरु फर्किएर आउँदैनन् ।’ वर्षौंदेखि भोट हालेका नेताहरुले जनताको मर्का नबुझेको देखेर यसपालि उनलाई आफैं नेता बनौं भन्ने झोक चल्यो ।

गत वैशाख २९ गते सम्पन्न स्थानीय तह निर्वाचनमा गन्गाईं गौरादह वडा नम्बर ६ मा जनमत पार्टीबाट अध्यक्षको उम्मेदवार भए । तेस्रो भएका उनले १२७ भोट पाएका थिए । उक्त वडामा पहिलो भएको नेपाली कांग्रेसको १५६५ र दोस्रो भएको नेकपा एमालेको १२६० मत आएको थियो ।

गन्गाईले तेस्रो धेरै मत ल्याउँदा राप्रपा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका उम्मेदवार उनीभन्दा पछि नै परे । ‘कांग्रेसको झण्डा बोकेर सूर्यको झोला बोकेर हैरान भयौं, यसो गर्छौं उसो गर्छौं भन्छन् तर गर्ने बेलामा केही गर्दैनन्, यसपालि पनि पहिला त मेरो राम्रै थियो’, उनले भने, ‘चुनावको अघिल्लो दिन कांग्रेस र एमालेहरुले पैसा खन्याए ।’

पैसा खर्च गर्न नसकेकै कारण आफू चुनावमा पराजित भएको हुँ भन्ने उनको मनमा गहिरोसँग गढेको छ । अर्कोतर्फ परम्परागत पार्टीहरुले जनतामाथि अन्याय गरे भनेर नै गन्गाईले नयाँ पार्टी रोजेका हुन् ।

तर पैसाले भोट किन्ने परिपाटी पछिल्लो समयमा झन् झन् मौलाइरहेको छ । गन्गाईका अनुसार उनले गत स्थानीय तहको निर्वाचनमा आफू उम्मेदवार हुँदा त्यस्तो घटना आँखै अगाडि देखे । गन्गाईले चुनावका बेला आफूले पनि लगातार ८ दिनसम्म जिलेबी बाँडेको बताए । तर उनले बाँडेको जिलेबीले १ लाख रुपैयाँ खर्च त गरायो, परिणाम सकारात्मक आएन ।

‘मैले अझै धेरै भोट ल्याउँथे, तर चुनावको अघिल्लो दिन दन एमालेले घरघरमा गएर मोबाइल र १ हजार रुपैयाँ दियो, कांग्रेसले घरघरमा एक किलो मासु र हजार रुपैयाँ दिए । सबै घरमा ल्याए । हामीसँग त पैसा छैन’, उनले भने, ‘पैसा नभएपनि लगातार ८ दिनसम्म लै जिलेबी बाँडेको बाड्यै गरेँ । तर जिलेबीले काम गरेन ।’ उनलाई अहिले जिलेबी बाँड्न खर्च गरेको १ लाख रुपैयाँको माया लागिरहेको छ ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?