+
+

नेपाली उत्पादन प्रवर्द्धनको कार्यक्रममा चीनको बिस्कुट, भारतको कपमा चिया !

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ भदौ २९ गते २०:३६

२९ भदौं, काठमाडौं । ‘….कार्यक्रम चल्दै गर्दा यहाँ विस्कुटका पोका आए, त्यो चाइनिज रहेछ, कपमा चिया आयो यो चियाको कप हिन्दुस्तानमा बनेको छ । कार्यक्रमः नेपाली उत्पादन तथा उपभोग, खाजाः चाइनिज बिस्कुट र भारतीय कपमा चिया !’ पूर्वमूख्य सचिव विमल कोइरालाले यस्तो बताइरहँदा बुधबार अपरान्ह उद्योग मन्त्रालयको सभाहलमा हाँसोको फोहोरा फुट्यो ।

‘हामी नयाँ नायाँ नीति बनाउँछौं, कार्यक्रम घोषणा गर्छौ, त्यसमा नेताका नाम जोड्छौं तर कार्यान्वयन र व्यवहारिकतामा पटक्कै जोड दिन्नौं’ डा. कोइरालाले थपे, ‘अहिले सरकार सरकारजस्तो छैन निजी क्षेत्र निजी क्षेत्र जस्तो छैन । उद्योग संरक्षणको नारा बजेटमा घोषणा गरिन्छ अनि भन्सारबाट उद्योगलाई बन्द हुने बनाइन्छ । नयाँ नयाँ कार्यक्रम होइन, भएका उद्योग र उत्पादन जोगाउनुस्, पहिले सफल कार्यन्वयन भएका राम्रा नीति अनुसरण गर्नुस् ।’

आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले प्रधानमन्त्री नेपाली वस्तु उत्पादन र उपभोग दशक कार्यक्रम घोषणा गरेको थियो । उक्त कार्यक्रम कार्यान्वयन गर्न भन्दै उद्योग मन्त्रालयले बनाएको अवधारणमाथिको छलफलमा टिप्पणी गर्दै डा. कोइराला आक्रोशित बने ।

३१ वर्षअघि यही मन्त्रालयमा सहसचिव रहँदा उद्योगको कुल ग्रार्हस्थ उत्पादनमा योगदान १६ प्रतिशत रहेको भन्दै कोइरालाले अहिलेको अवस्था पनि सहभागीलाई सम्झाए ।

कोइरालाले सरकार र निजी क्षेत्र सहकार्य गरेर मुलुकभित्र उत्पादन र उत्पादकत्व बढाउनुपर्ने भएपनि दुवै आफ्नो आफ्नो स्वार्थ र साना-साना कुरामा अल्झेर बसेको उनको भनाइ थियो । कोइरालाले सरकारले जनतालाई समृद्धि वितरण गर्ने वा गरिबी भन्ने विषय स्पष्ट हुनुपर्ने भन्दै मुलुकभित्र उत्पादन र उत्पादकत्व बढाउन सके मात्रै समृद्धि वितरण गर्नसक्ने बताए ।

सरकारले आयातलाई प्रतिवन्ध भन्दा पनि उत्पादन बढाएर निर्यात वृद्धिमा जोड दिनुपर्ने भन्दै कोइरालाले नेपाली उत्पादनको खपत बढाउनको लागि नेपाली उद्योगहरुको प्रतिस्पर्धी क्षमता बढाउने र उनीहरुलाई संरक्षण पनि चाहिने बताए ।

मन्त्रालयको अवधारणामाथि टिप्पणी गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारी कार्यालयमा ६० देखि ७० प्रतिशत स्वदेशी उत्पादन उपभोग अनिवार्य गर्न प्रस्ताव गरे ।

‘स्वदेशमा उत्पादन हुने र सम्भव हुने वस्तुमा यस्तो व्यवस्था गरौं’ थापाले भने, ‘स्वदेशी उद्योग जोगाउन र स्वदेशी उत्पादन स्वदेशमै खपत हुने अवस्था सृजना गर्न यस्तो गर्नुपर्छ ।’

सरकारीस्तरबाटै उद्योग र उत्पादनको सुरक्षा नगर्दा उत्पादनमूलक उद्योगको संरक्षण हुन नसकेको पनि उनले बताए । सरकारले बजेटमार्फत अघि सारेको प्रधानमन्त्री नेपाली प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमले यसलाई टेवा पुर्‍याउने भन्दै उनले अवधारणाका लागि मन्त्रालयलाई धन्यवाद दिए ।

पूर्व अर्थसचिव रामेश्वर खनालले मन्त्रालयले अघि सारेको अवधाणालाई प्रविधि र विदेशी श्रृङ्खलासँग जोड्न छुटेको बताए । स्वदेशी उत्पादनको ब्राण्डिङ, उत्पादन विविधिकरण र बजारीकरणमा जोड्ने विषय प्राथमिकतामा हुनुपर्ने बताए योजना बनाउनु मात्रै नभई त्यसको सफल कार्यान्वयन महत्वपूर्ण हुने खनालको भनाइ थियो ।

अन्तर्क्रियाको सहजीकरण गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले स्वदेशी उत्पादन स्वदेशी उद्योगमार्फत गर्न नसकिए मुलुकको अर्थतन्त्रमा सुधार हुने नदेखिएको बताए ।

आयात प्रतिस्थापन गर्नका लागि पनि अभियान जरुरी भएको मन्त्री बडूले बताए । मन्त्रालयले ६ महिनामै केही पाइलट परियोजना सञ्चालन गर्ने गरी नेपाली वस्तु उत्पादन र उपभोगको कार्ययोजनाको प्रारम्भिक अवधारणा तयार गरेको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?