+
+

मिलन पाण्डे पक्षले साझा पार्टी नाममा चुनाव लड्ने, बागमती प्रदेशमा मात्र उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते २०:३७

३ असोज, काठमाडौं । विवेकशील पार्टीको मिलन पाण्डे पक्षले ४ मंसिरको निर्वाचनपछि बागमती प्रदेशमा सरकार बनाउने दावी गरेको छ । त्यसका लागि उसले मिसन बागमती अभियानको सोमबार घोषणा गरेको छ ।

प्रदेशहरु सशक्त नबनेसम्म देश समृद्ध नहुने भन्दै पाण्डे नेतृत्वको विवेकशील अभियानले यो निर्वाचनमा आफ्नो सम्पूर्ण ध्यान बागमती प्रदेशमा केन्द्रित गर्ने घोषणा गरेको छ ।

‘विवेकशील अभियानले यो निर्वाचनमा आफ्नो सम्पूर्ण ध्यान बागमती प्रदेशमा लगाउने निर्णय गरेको छ । यो चुनावमा हामीले विवेकशील अभियान मिसन बागमती लक्ष्यका साथ बागमती प्रदेशमा मात्र आफ्ना उम्मेदवारहरु घोषणा गर्नेछौं । बागमती प्रदेशमा सामर्थ्यवान सरकार निर्माण गर्नु हाम्रो यो निर्वाचनको लक्ष्य हुनेछ’ विवेकशील अभियानको तर्फबाट मिलन पाण्डे, प्रभाष बस्न्यात र जगन्नाथ लामिछानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

४ मंसिरको चुनावमा विवेकशील अभियानले साझा पार्टी नामबाट भाग लिने भएको छ । चुनाव चिह्न भने एक जोडी पाइला रहने उनीहरुले बताएका छन् । ‘यो चुनावको लागि २० वर्षीय युवा प्रभाष बस्न्यातले नेतृत्व लिएको साझा पार्टी, नेपाल हाम्रो आधिकारिक पार्टी हुनेछ। यो अभियानसँग जोडिनका लागि हामीलाई सिधै सम्पर्क गर्न सक्नु हुनेछ’ अभियानको विज्ञप्तिमा भनिएको छ ।

नेपालमा जुन उद्देश्यले प्रदेशहरुको निर्माण भए त्यसको सही प्रयोग हुन सकेको भन्दै विवेकशील अभियानले भारत दिल्लीमा अरविन्द केजरीवाल नेतृत्वको सरकारको उदाहरण दिएको छ । ‘त्यसरी नै हाम्रा प्रदेशहरूले पनि डेलिभरी गर्न सक्छन् । तर, सक्षम, इमान्दार र क्षमतावान नेतृत्व प्रदेश स्तरको नेतृत्वमा नपुगेसम्म प्रदेशहरूले आफ्नो सम्भावना र सामर्थ्यलाई देखाउन सक्ने छैनन्’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?