+
+

लाल मोहम्मद हत्याले सम्झाएको १४ वर्ष पुरानो गोलीकाण्ड

सोमबार गोठाटारमा भएको लाल मोहम्मदको हत्यासँग १४ वर्ष अघि अनामनगरमा भएको अर्को गोलीकाण्ड पनि जोडिन्छ । मोहम्मद तिनै व्यक्ति हुन्, जो त्यस घटनाका मुख्य आरोपित थिए । धोबी खोला किनारमा मारिएका बलराम पटुवार हत्याकाण्डको वृतान्त ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ असोज ५ गते २२:०७

५ असोज, काठमाडौं । २० असार २०६४ को साँझ ७ बजेतिर बानेश्वरमा रहेको रामप्रसाद शाहको साइकल पसल अगाडि बलराम पटुवार एकजना व्यक्तिको मोटरसाइकल चढेर आइपुगे ।

‘मेरो पसल अगाडि आउँदा दुवैजना अल्मलिए जस्तो देखिन्थे, केहिवेर पसलमै कसैलाई कुरे जस्तो गरेर बसिरहे,’ शाह भन्छन्, ‘झण्डै २०/२५ मिनेटपछि एकजना आएर मोटरसाइकलमा लगे ।’

त्यो मोटरसाइकल गएको १५/२० मिनेटमै अनामनगरस्थित धोवी खोला किनारमा एकजना मानिसमाथि गोली प्रहार भयो । रामप्रसादले पछि थाहा पाए, मारिने व्यक्ति आफ्नै पसलमा केही अघि मोटरसाइकलमा आएका पटुवार नै थिए ।
हुलिया हेरेर थाहा पाएअनुसार पटुवारलाई लैजाने व्यक्ति चाहिँ थापाजी भनिने लाल मोहम्मद थिए, जसको सोमबार गोठाटारमा अज्ञात समूहले हत्या गरेको छ ।

प्रहरीका अनुसार २० असार २०६४ को त्यो साँझ सुनसान रहेको खोला किनारमा लगेर पटुवारको हत्या भएको थियो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फेरिन्सक विज्ञ डा. तुलसी कँडेलले गरेको पोष्टमार्टमको रिपोर्ट अनुसार पटुवारको शरीरमा चार वटा गोली लागेको थियो ।

केन्द्रीय विधि विज्ञान प्रयोगशलामा भएको गोलीको जाँचबाट हत्याका लागि ‘होममेड वान एमएम क्यालिबर पेस्तोल’ प्रयोग भएको खुलेको थियो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार मोहम्मदलाई मोटरसाइकलमा लिएर गएका लाल मोहम्मदको पूर्वयोजना अनुसार तयार गरेर राखेका उनका साथीहरुको समूहले पटुवारलाई गोली हानेको थियो ।

पटुवार हत्या प्रकरणको अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार हाल मारिएका मोहम्मद र पटुवार त्यसबेला मुन्ना खान नामक व्यक्तिको समूहमा रहेर नक्कली भारतीय नोटको कारोबारमा संलग्न रहँदै आएका थिए ।

मुन्ना खान भनिएका ती व्यक्ति नेपालमा ‘फेक करेन्सी किङ’ भनेर चिनिने बाराका इल्ताफ हुसेन अन्सारी भएको जानकारहरु बताउँछन् । हाल उनी १७ किलो अवैध सुनचाँदी कारोबार र अवैध हातहतियारसम्बन्धी कसूरमा नख्खु कारागारमा छन् ।

इल्ताफको समूहमा रहेर उपेन्द्र चौधरी, वाहीद खान, असरफ अली लगायतले पनि नेपालमा रहेर नक्कली भारतीय रुपैयाँको कारोबार गरिरहेका थिए । त्यसबेला पक्राउ परेपछि प्रहरीमा लाल मोहम्मदले दिएको बयान अनुसार पटुवारपछि इल्ताफबाट टाढिएका थिए ।

पहिले एउटै समूहका उपेन्द्र चौधरीसँग नजिक भएर उनीहरुले जाली नोटको वेग्लै र्‍याकेट चलाउन थालेको मोहम्मदको आशंका थियो । ‘बंगलादेश र पाकिस्तानबाट नक्कली भारतीय नोटहरु ल्याएपछि नेपालमा वितरण गर्ने काम मैले गरिरहेको थिएँ,’ मोहम्मदले बयानमा भनेका छन्, ‘पटुवार उपेन्द्रप्रति बफादार हुन थालेपछि असहज भएको थियो ।’

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पटुवार उनीहरुलाई ‘बाइपास’ गरेर उपेन्द्रसँग मिलेर नक्कली नोटको कारोबार गर्न थालेपछि इल्ताफले पनि असुरक्षित महसुस गरेका थिए । त्यसबेला इल्ताफ जाली नोटका मुख्य कारोबारी युनुस अन्सारीसँग छुट्टिएर छुट्टै समूह चलाइरहेका थिए ।

सोमबार गोली हानिएको स्थान अगाडि रहेको घरको दोस्रो तलामा अनामनगर गोलीकाण्डका योजनाकार लाल मोहम्मदको कार्यालय । तस्वीरः गौरव पोखरेल

‘पटुवार समूह छाडेर चौधरीतिर लागेका थिए, त्यसबेला उनीहरु युनुससँग नजिक हुन थालेका थिए,’ एक अधिकृत आशंका गर्छन्, ‘उनीहरुलाई इल्ताफको समूहको कारोबारबारे सबै जानकारी भएकाले जोखिम महसुस गरेको हुनसक्छ ।’
मोहम्मदले बयानका क्रममा पनि त्यसको संकेत गरेका थिए । ‘प्रहरी लगाएर पक्राउ गराउन सक्ने खतरा भएपछि म, वाहिद खान, मुन्ना खान र असरफ समेत मिलेर हत्या गर्ने योजना बनाएका थियौं,’ मोहम्मदले भनेका छन् ।

स्रोतका अनुसार अन्सारी पहिलो पटक जेलमा परेपछि इलताफले नेपालमा छुट्टै नक्कली नोट कारोबारको गिरोह चलाएका थिए । त्यसबेला उनले उपेन्द्र चौधरी, साजित अन्सारी लगायतसँग मिलेर पाकिस्तानबाट हवाई मार्गमार्फत नेपालमा जाली नोट भित्र्याउने गरेका थिए ।

‘पक्राउ पर्नुअघि नै दुईबीच मनमुटाव सुरु भइसकेको थियो, पछि ललितपुर प्रहरीले २० कात्तिक २०६६ मा कुपण्डोलबाट ५४ लाख बढी नक्कली भारु बरामद भएपछि इल्ताफले छुट्टै समूह खडा गरिसकेको खुलेको थियो,’ एक अधिकृत भन्छन् ।

स्रोतका अनुसार त्यसबेलासम्म युनुस र इल्ताफ समूहबीच एकअर्काको सूचना प्रहरीलाई दिएर आफू बलियो हुने होड चलिरहेको थियो । युनुस जेलमा परेपनि इल्ताफ चाहिँ मुन्ना खान, अल्ताफ अन्सारी, सदरुल अन्सारी लगायत विभिन्न नाम प्रयोग गरेर जाली नोटको कारोबार गरिरहेका थिए ।

बारामा मठमन्दिर र विद्यालयलाई चन्दा समेत दिने गरेका उनी गाउँमा समाजसेवी र व्यवसायीको आवरणमा थिए । त्यसैले उनलाई पक्राउ गर्न गएका प्रहरी अधिकृतहरु पनि खाली हात फर्किने गर्थे ।

जाली नोट नेपाल भित्र्याएपछि भारतसम्म पुर्‍याएर व्यवस्थापन गर्ने जिम्मेवारी चाहिँ इल्ताफले त्यसबेला लाल मोहम्मदलाई दिएका थिए ।

नक्कली ५ लाख भारु मगाएर हत्या

अनुसन्धान अधिकृतहरुका अनुसार इल्ताफसँग छलफलपछि मोहम्मदले पटुवार हत्याको योजना बनाएका थिए । स्रोतका अनुसार सँगै काम गरेका पटुवारबाट समूहलाई जोखिम देखेपछि उनीहरुले हत्याको योजना बनाएका थिए ।

योजना अनुसार पटुवारलाई ५ लाख भारतीय रुपैयाँ चाहिएको छ भनेर शाहको साइकल पसलमा बोलाएर हत्या गर्ने योजना थियो । त्यही अनुसार २० असार २०६४ मा लाल मोहम्मद शाहको साइकल पसलमा गएका थिए । तर त्यतिबेला मोहम्मदसँग अर्का व्यक्ति पनि साथमा थिए ।

पछि खुलेअनुसार बलराम पप्पु गुप्तासँग मोटरसाइकल चडेर साइकल पसल गएका थिए । ‘साइकल पसलमा आएका व्यक्तिले बलरामलाई लिएर गएपछि म पनि पछिपछि हिँडेको थिएँ,’ गुप्ताले भनेका छन्, ‘तर धोविखोला किनारमा पुगेपछि मोटरसाइकल रोकियो, म करिब १५० मिटर वरै साइड लागेँ ।

मोहम्मदको बयान अनुसार पूर्वयोजना अनुसार उनले बलरामलाई मेलम्ची खानेपानीको कार्यालय अगाडि लगेको थिए । ‘योजनाअनुसार त्यहाँ वाहिद खान, मुन्ना खान र असरफ अली त्यहीँ बसिरहेका थिए,’ उनले बयानमा भनेका छन्, ‘योजना अनुसार मुन्ना खान (इल्ताफ) ले नै चार/पाँच गोली हानेका थिए ।’

इल्ताफ हुसेन अन्सारी, जसको समूहमा बसेर सोमबार मारिएका लाल मोहमदले काम गरेका थिए । इल्ताफ हाल जेलमा छन् ।

जब बलराम पटुवार भुइँमा ढले, आफूले मोहम्मद र उनका साथीहरुले गोली हानेर मारेछन् भन्ने भएको गुप्ताको बयान छ । ‘मलाई देखे भने म पनि मर्छु भन्ने डर भएपछि कतै केही नभनी म भागेको थिएँ,’ गुप्ताको बयान छ ।

तर अनुसन्धान अधिकृतहरुले पनि गुप्ता पनि लाल मोहम्मदको योजना अनुसार नै पटुवारलाई लिएर बानेश्वर गएको दाबी गरेका थिए । त्यसैले उनलाई पनि प्रतिवादी बनाएर मुद्दा चलाइएको थियो ।

प्रहरी र अदालतमा बयान दिँदा उनले आफू निर्दोष रहेको दाबी गरेका थिए । तर अदालतले उनको बयानलाई ‘एकोहोरो रुपमा विश्वास गर्न सकिने अवस्था नरहेको’ बताउँदै गुप्तालाई पनि दोषी ठहर गरेको थियो ।

पटुवारको हत्यापछि पाकिस्तानमा फोन

मोहम्मदले चाहिँ पटुवारको मृत्यु भएपछि आफूले पाकिस्तानका ‘वोस’लाई फोन गरेर बलारामको हत्या गरेको जानकारी गराएको मोहम्मदले भनेका छन् ।

त्यसबेलाको स्पाइस नेपाल प्रा.लि.बाट प्राप्त कल डिटेल रेकर्ड (सीडीआर) मा हत्याको एक दिनअघि पनि मोहम्मदले ९८०३४५७…. नम्बरको मोबाइलबाट पाकिस्तानको फोन नम्बर ००९२–३०६२८५… मा राति ८ः३८ र ८ः४२ मा गरी दुई पटक सम्पर्क गरेको देखिएको थियो ।

मोहम्मदभन्दा माथिल्लो तहका इल्ताफ कक्षा ७ मा पढ्दैबाट पढाइ छाडेर ट्रकमा काम गर्न थालेका व्यक्ति हुन् । त्यसबेला उनी तस्करीबारे सूचना दिएर प्रहरीसँग नजिकिएका थिए । पछि युनुस अन्सारीसँग चिनजान भएपछि उनी जाली नोट कारोबारको दुनियाँमा प्रवेश गरेका थिए ।

उनले आफ्नो कारोबार फैलाउनका लागि युनुसको सूचना समेत प्रहरीलाई दिएका थिए । उनले आफू सूराकीका रुपमा प्रहरीसँग नजिक भएर निर्धक्क साथ अवैध गतिविधि गरेका थिए ।

कतिसम्म भने इल्ताफले कुनै बेला भारतीय खुफिया निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ), इन्टलिजेन्स ब्यूरो (आईबी) र पाकिस्तानको इन्टर सर्भिस इन्टलिजेन्ज (आईएसआई) तिनै निकायका लागि एकैपटक एजेन्टका रुपमा काम गरेका थिए ।

७ करोड ७६ लाख रुपैयाँ बराबरको भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेपछि १० जेठ २०७६ मा युनुस अन्सारी ।

पोल खुलेपछि इल्ताफ जोखिममा थिए । त्यसैले उनी २९ साउन २०७७ मा अपत्यारिलो तरिकाले बाराबाट पक्राउ परेका थिए । ‘फेक करेन्सी किङ’ भनेर चिनिने अन्सारी नक्कली १७ किलो सुन बोकेर गाडीमा हिँडेको प्रहरी अनुसन्धानले देखाएको थियो ।

उनले गाडीमा हतियार पनि बोकेको अभियोग थियो, घटना केही प्रहरी अधिकारीहरु पनि मुछिएका थिए ।

अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तवले जेलमा रहँदा लेखेको पुस्तक ‘बब्लु श्रीवास्तवका अधुरा ख्वाव’ नामक पुस्तकमा पनि इल्ताफलाई पाकिस्तानबाट नक्कली नोट ल्याएर कारोबार गर्ने नेपालका व्यक्ति भएको भनिएको छ ।

बब्बु आफैं कुनै समय दाउद इब्राहिमको डि–कम्पनीसँग जोडिएर काम गरेका व्यक्ति हुन् । तर पक्राउ परेपछि उनले दाउदविरुद्ध उनलाई भारतीय प्रहरीले प्रयोग गरेको थियो ।

जाली नोट कारोबारका अर्का नाइके युनुस अन्सारी पनि १० जेठ २०७६ मा रहस्यमय तरिकाले पक्राउ परेका थिए । जानकार स्रोतहरुको दाबीमा बाहिर असुरक्षित महसुस भएपछि उनी आफैं पाकिस्तानबाट नक्कली ३५ लाख भारु मगाएर पक्राउ परेका हुन् ।

उनीहरुको बुझाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी जस्ता कुख्यात जाली नोट कारोबारी ‘कन्साइनमेन्ट’ लिन जानु आफैंमा अविश्वसनीय थियो ।

अन्सारी यसअघि पक्राउ गर्दा केन्द्रीय कारागारभित्रै मनमित सिंह भाटिया नामक व्यक्तिले गोली हानी हत्या गर्ने प्रयास गरेका थिए । तर प्राविधिक गडगडीले गोली नचलेपछि उनी बचेका थिए । सिंह कारागारमा रहेका सिरियल किलर चार्ल्स शोभराजलाई भेट्ने बहानामा कारागार छिरेका थिए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?