+
+

सल्यानमा गठबन्धनको उम्मेदवार प्रकाश ज्वाला कि टेकबहादुर बस्नेत ?

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असोज ११ गते १५:५४

११ असोज, काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँट पेचिलो बनेका बेला सल्यानका दुई नेताबीच सिंहदरबारमा भेट भयो । ६ असोजको भेटमा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले माओवादीका नेता टेकबहादुर बस्नेतलाई यसपालिको चुनावमा आफूलाई सघाउन आग्रह गरे ।

बस्नेतले २०६४ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन् । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको सल्यानमा २०७४ मा वाम गठबन्धन हुँदा पनि बस्नेतले अवसर पाए, ज्वाला प्रदेशसभामा झरे ।

माओवादी नेता बस्नेतका अनुसार ज्वालाले प्रतिनिधिसभामा यसपटक आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । ‘मलाई यसपटक सहयोग गर्नुहोस् भनेर अनुरोध गर्नुभयो,’ भेटबारे बस्नेतले भने, ‘मैले ठूलो त्याग गरेँ । म फेरि त्यही ठाउँ (प्रदेशसभा) किन जाऊँ भन्ने कुरा गर्नुभयो ।’

कर्णाली प्रदेशसभामा ‘फ्लोर क्रस’ गरेर एमालेमा विद्रोहको अगुवाई गरेका कारण पनि सत्तारुढ गठबन्धनका शीर्ष नेतृत्व भने ज्वालाप्रति सहानुभूति राख्छन् । त्यसैले एकीकृत समाजवादी र कांग्रेस नेताहरु भने ज्वालानै उम्मेदवार बन्ने सम्भावना रहेको बताउँछन् ।

बस्नेतले अगाडि भने, ‘मैले पनि जनमतको अपमान हुन्छ । गठबन्धनको मापदण्डको अपमान हुन्छ । यो अवस्थामा तल मनाउन सकिँदैन । प्रदेशमै लडेर मुख्यमन्त्री बन्नुहोस्, यो अवसर छ भनेर भनेको छु ।’

बस्नेत र ज्वाला दुबैले दाबी छाडेका छैनन् । त्यही कारण सत्ता गठबन्धनको भागवण्डामा सल्यान माओवादी केन्द्रले लिने कि एकीकृत समाजवादीले भन्ने नटुंगिएको माओवादी नेताहरु बताउँछन् ।

कर्णाली प्रदेशसभामा ‘फ्लोर क्रस’ गरेर एमालेमा विद्रोहको अगुवाई गरेका कारण पनि सत्तारुढ गठबन्धनका शीर्ष नेतृत्व भने ज्वालाप्रति सहानुभूति राख्छन् । त्यसैले एकीकृत समाजवादी र कांग्रेस नेताहरु भने ज्वालानै उम्मेदवार बन्ने सम्भावना रहेको बताउँछन् ।

बस्नेत–ज्वाला राजनीतिक सम्बन्धको उतार चढाव

सत्ता गठबन्धनका कारण बस्नेत र ज्वाला अहिले एकअर्कालाई सहयोगका लागि हार्दिकतापूर्वक आग्रह गर्नुपर्ने अवस्थामा छन् । तर, उनीहरु एअर्काविरुद्ध चुनाव समेत लडिसकेका छन् ।
२०६४ मा भएको पहिलो संविधानसभा चुनावमा दुवै जनाले सल्यान–१ बाट चुनाव लडेका थिए । बस्नेत २७ हजार ४२१ मत ल्याएर विजयी हुँदा एमालेका ज्वालाले ९ हजार ४८७ मत प्राप्त गरेका थिए ।

२०७४० को दोस्रो संविधानसभा भने ज्वालाले क्षेत्र परिवर्तन गरेर सल्यान–२ मा गएका थिए । बस्नेत सल्यान–१ बाटै निर्वाचित भए भने ज्वाला सल्यान–२ बाट निवौचित भए । संविधान निर्माणपछि भने सल्यानमा एउटा मात्रै प्रतिनिधिसभा क्षेत्र कायम भयो । २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीच बाम तालमेल भयो । बस्नेतले प्रतिनिधिसभाको टिकट पाए भने ज्वाला मुख्यमन्त्रीको आश्वासनसहित प्रदेशमा झरे ।

जनमतको हिसाबले संघीय निर्वाचत क्षेत्र कांग्रेसले लिँदा माओवादीले स्वीकार गर्ने र माओवादीले लिँदा कांग्रेसले स्वीकार गर्ने अवस्था छ । तर जनमत नै कमजोर भएको एकीकृत समाजवादीलाई दिँदा स्वीकार गर्न गाह्रो हुन्छ भन्ने मत बलियो रहेको कांग्रेसका जिल्ला सभापति केशबहादुर विष्ट बताउँछन् ।

तर कर्णालीको मुख्यमन्त्री माओवादीको भागमा पर्‍यो । उनी मुख्यमन्त्री बन्न पाएनन्, प्रदेश मन्त्रीमा सीमित भए । फेरि प्रदेशमै जाँदा पनि मुख्यमन्त्री बन्ने कुनै शुनिश्चितता नभएकाले ज्वाला यसपालि जसरी पनि संघमा उक्लिन चाहन्छन्, जसका लागि कांग्रेस र माओवादीको सहयोग अनिवार्य छ ।

कांग्रेस–माओवादीमै अन्तरविरोध

माओवादी केन्द्रका नेता बस्नेत सल्यान जसरी पनि माओवादीले लिनुपर्ने र टिकट आफूले पाउनुपर्ने पक्षमा छन् ।

पहिले जसले जितेको हो, उसैले लिने गठबन्धनको मापदण्ड र जनतमतका आधारमा पनि सल्यान माओवादीले पाउनुपर्ने उनी बताउँछन् । ‘२०७४ मा जसले जहाँ जितेको हो, त्यहाँ उसकै हुने एउटा मापदण्ड छँदैछ,’ बस्नेतले अनलाइनखबरसँग भनेको छन्, ‘दोस्रो मापदण्ड, जनाधार/जनतमको हो । यसलाई क्रस गर्न कसैले सक्दैन । यदि कोशिस भयो भने त्यो अप्रिय निर्णय हुन्छ ।’

उसो त माओवादीले टिकट पाउँदा पनि बस्नेत एक्ला उम्मेदवार भने होइनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले समेत दाबी गरेका छन् ।

मल्लले गठबन्धनमा भागबण्डा नटुंगिएको बताए । ‘यसअघि पनि जितेको र मतभारका हिसाबले पनि सल्यानमा माओवादीको सशक्त दाबी हो, तर अलिहेसम्म टुंगिएको छैन,’ उनले भने, ‘माओवादीले पाएको खण्डमा अब नयाँ अनुहारलाई अघि सार्नुपर्छ भन्ने माग जिल्ला पार्टीको छ ।’

तर ३० वैशाखमा स्थानीय चुनावमा प्राप्त वडागत मतका आधारमा सल्यानमा माओवादी केन्द्र भन्दा बलियो कांग्रेस छ ।

कांग्रेसले ३३ हजार ६१६, माओवादीले २६ हजार ७१३, एमालेले २६ हजार ६२८ र एकीकृत समाजवादीले ९ हजार ४६७ मत प्राप्त गरेका थिए । त्यसैले सल्यान अरुलाई दिन नहुने मत कांग्रेसमा पनि छ ।

जनमतको हिसाबले संघीय निर्वाचत क्षेत्र कांग्रेसले लिँदा माओवादीले स्वीकार गर्ने र माओवादीले लिँदा कांग्रेसले स्वीकार गर्ने अवस्था छ । तर जनमत नै कमजोर भएको एकीकृत समाजवादीलाई दिँदा स्वीकार गर्न गाह्रो हुन्छ भन्ने मत बलियो रहेको कांग्रेसका जिल्ला सभापति केशबहादुर विष्ट बताउँछन् । यस विषयमा २०/२१ असोजमा बस्ने पार्टीको बैठकमा छलफल हुने उनले बताए ।

‘अघिल्लो पटक जितेको मापदण्डका आधारमा माओवादीलाई छोड्न तयार भए पनि एकीकृत समाजवादीलाई भने छाड्न सकिँदैन’ विष्टले भने ।

एकीकृत समाजवादीका सल्यान जिल्ला सह–इन्चार्ज धिरेन्दबहादुर श्रेष्ठले पनि कांग्रेस, माओवादीभित्र अन्तरविरोध रहेको स्वीकार गर्छन् । भन्छन्, ‘हामीले संघ लिएर प्रदेशको एउटा–एउटा कांग्रेस र माओवादीले लिने भन्ने बुझाइ छ, तर माओवादी र कांग्रेसभित्र अन्तरविरोध छताछुल्ल हुन थालेको छ ।’

उनी स्थानीय तहमा भएको गठबन्धनका कारण सल्यानमा एकीकृत समाजवादीको शक्ति कति छ भनेर जाँच्न नपाइएकाले अबको चुनावमा आउने समानुपातिक मतबाट थाहा हुने बताउँछन् । धेरै ठाउँमा वडाध्यक्षको उम्मेदवार नदिएका कारणले वडागत मत कम देखिए पनि आफूहरुको १५ हजार मत रहेको बताए ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?