+
+

दशैंसँग जोडिएको सांस्कृतिक र आर्थिक अन्तरद्वन्द्वको पहेली

आयातमा आधारित देशको अर्थतन्त्र अत्यधिक चलायमान हुने बेलाको यो भड्किलो खर्चले देशको परनिर्भरता झनै बढाउने र अर्थतन्त्रलाई कमजोर बनाउने कुरा नेपाल राष्ट्र बैंकले नै स्वीकारेको यथार्थ हो ।  

डा. मान बहादुर बीके डा. मान बहादुर बीके
२०७९ असोज २० गते १५:४२

दशैंको सन्दर्भमा ट्वीटरमा एक जना असुर थर भएकी भारतीयले एउटा पोष्टमा आफू महिसासूरको सन्तान भएको र त्यसमा गौरव गरेको कुरा व्यक्त गरिन् । भारतको झारखण्डमा यस्ता अल्पसंख्यक समुदाय छन् जसले महिसासूरलाई आफ्नो पुर्खा र आदर्श मान्छन् । दशैंको शुरुवातमै बाजुरामा पूजा गर्न मन्दिर प्रवेश गरेको निहुँमा एकजना दलितले वडाध्यक्षबाट नै कुटाई खाएको घटना सार्वजनिक भयो । यस्ता घटना प्रत्येक दशैंको एक अंग नै बनेका छन् । यस्तै परम्परा धान्नका लागि ऋण लिँदा सुदखोरले घरजग्गा नै कब्जा गरेको विरोधमा भएको आन्दोलन भर्खर मत्थर भएको छ । यस्ता प्रतिनिधी घटनाबाट समाजमा दशैं जस्ता चाडपर्वका बारेमा सांस्कृतिक तथा आर्थिक अन्तरद्वन्द्व रहेको कुरा प्रष्ट हुन्छ । भलै त्यस्ता अन्तरद्वन्द्व सुषुप्त अवस्थामा रहेका होलान् ।

दशैंको शुरुवात कसरी भयो भन्ने प्रमाणिक दस्तावेज छैन । समाजको विकासक्रममा मानव सभ्यता कृषि युगमा प्रवेश गरेसँगै कविलाहरू एकै ठाउँमा बसी खेतिपाति गर्न थाले । यस्तो अभ्यासको विस्तार हुँदै जाँदा खुसी मनाउने यस्ता संस्कारको पनि विकास हुँदै गएको पाइन्छ ।

विशेषतः धान रोप्ने बेला हिलो वा माटोको र उत्पादन भए पछि धान (चावल) कै टिका निधारमा टाँसेर हर्सोल्लास गर्ने प्रचलन चलेको हुनुपर्छ । यसको साक्षीका रूपमा राउटेहरू र केही आदिवासी जनजातिले अहिले पनि सेतो (चावल) टिका लगाउने गर्छन् । आहुतिका अनुसार दशैं गंगा मैदानबाट सुरु भएको हो । त्यो ठाउँ गहुँ र धान लगायतका खेतीका लागि राम्रो थियो । त्यहाँ बाली भित्र्याइसकेपछि उत्सव मनाउने परम्परा थियो । त्यो परम्परा नै दशैंको मुख्य स्रोत हो ।

अझै महत्वपूर्ण अन्वेषण त जमराको विकास हो । जौ खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो । यसलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । कुनै पनि बिरुवालाई माटो, पानी र प्रकाश फरक ढंगले प्रवाह गरेमा त्यसको वृद्धि र उत्पादन फरक हुन्छ भन्ने वनस्पतीशास्त्रको आधारभूत अन्वेषण थियो त्यो जो अहिले आधुनिक टनेल प्रणालीका रूपमा विकास भएको छ । सायद टिकासँगै धानको पात लगाउने चलनलाई विकास गरी जौलाई फरक ढंगले उमारी जमराको विकास गरिएको हुनुपर्छ ।

समयक्रममा धर्मको विस्तार गर्ने क्रममा यसलाई पनि धर्ममा लगेर जोडियो । जुन कुरा रहस्यमय लाग्छ त्यसलाई दैवी शक्तिको रूपमा लिन थालियो । र, पाप-धर्म, स्वर्ग-नर्क जस्ता कुराहरूलाई विभिन्न किंबदन्ती बनाएर पुष्टि गर्न थालियो । तदनुरूप दशैं (दशहरा) लाई पनि राम र रावणको लडाईंको किम्वदन्तीसँग जोडियो र असत्यमाथि सत्य वा असुरमाथि सुर वा दानवमाथि देवताको विजयको रूपमा व्याख्या गर्न थालियो । पछि त राज्यको विजय उत्सवको रूपमा पो लिन थालियो ।

नेपालकै सन्दर्भमा पनि पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्य जित्दै जाँदा यो पर्वलाई विजय उत्सवको रूपमा लिने र भवानीलाई बली चडाउने व्यवस्था गरे । त्यही बेलादेखि अक्षतालाई रगतमा मुछेर विजयको प्रतीक स्वरूप टिका लगाउन थालियो र रातो टिकाको चलन बस्न गयो । त्यो बढ्दै गएर शासकहरूको आशिर्वाद लिने पर्व बन्यो दशैं । यसरी किसानहरूको उत्पादनको उत्साहका रूपमा शुरु भएको एक मौलिक चाड एकाएक हिन्दु संस्कारका रूपमा राज्यले नै थोपरेको पर्व बन्न पुग्यो ।

जब बली दिएर, हतियार चलाएर चाड मानिन्छ भने त्यहाँ हिंसाको हिस्सा प्रष्ट देखिन्छ । यो पर्वलाई विजय उत्सवको रूपमा लिदा त्यहाँ पक्कै हार्नेहरू पनि थिए र ती हार्नेहरू प्रति कति वितण्डा मच्चाइन्थ्यो होला भन्ने सामान्य अनुमान गर्न सकिन्छ ।

डा. मान बहादुर बीके

अहिले पनि विभिन्न बहानामा यो सन्दर्भमा देखिने हिंसा र बहिष्करण त्यसकै अवशेष हुन् । ती हार्नेहरू असत्य र त्यसको बिम्बको रूपमा असुरलाई प्रयोग गरिएको थियो । र मनोवैज्ञानिक ढंगले दलित र मतवाली समुदायहरूलाई यो दर्जामा राखिएको पो हो कि भन्ने आभाष अहिले पनि हुने गरेको छ । तर सत्य के हो भन्ने कुरा खासै खोतलिएन । वाल्मिकीले रामायणमा जे लेखे वा भानुभक्तले जे भनेर नेपालीकरण गरे, त्यसैलाई शाश्वत सत्य ठानियो । आलोचनात्मक चेतको विकास नै भएको थिएन । धर्मको नाममा मान्छेहरू अन्धभक्त थिए ।

रामायणको सामान्य किंबदन्तीलाई लिने हो भने लंकाका राजा रावणलाई असत्य असुरको प्रतीकका रूपमा उभ्याइएको छ । तर सुनै सुनको समृध्द मुलुक हाँक्ने वायुयानको आविष्कार गरी त्यसैमा हिंडडुल गर्ने र शक्तिशाली भएर पनि सीतालाई सम्मानका साथ सुरक्षित राख्ने प्रतापी रावण कसरी असत्य भए ?

त्यस्तै सौतेनी आमाको झगडाले राजगद्दी नपाएको झोकमा दुईजिया भएकी सीतालाई लिएर वनवासमा लग्ने र त्यस्ती पतिव्रता सीतालाई पनि शंका गरी अग्नि परीक्षा गराउने र अन्त्यमा अलप हुन बाध्य पार्ने, विभिन्न छलछाम गरेर हत्या गर्ने, तपस्या गरेकै कारण सम्बुक ऋषीलाई बध गर्ने राम कसरी सत्यको प्रतीक हुन पुगे ?

आठ वर्षको उमेरमा शिवसँग विवाह गर्न जिद्दी कसेर ध्यान गर्ने बालिकालाई हामी महागौरीको उपाधि दिई महान कार्यको प्रतीकका रूपमा पूजा गर्न तछाडमछाड गर्छौं तर हाम्री बालिकाले त्यसै गरे बालापन भनेर टार्छौं वा अलि बढी जिद्दी गरे कुटपिट नै गरौंला । महागौरीको जिद्दी कसरी अनुकरणीय सत्य भयो ? हुन त यसलाई पनि पुष्टि गर्न अनेक किंबदन्तीहरू जोडिएका होलान् हाम्रा धर्म ग्रन्थहरूमा तथापि धर्मग्रन्थहरूले उत्पादन गरेका यस्ता भाष्यहरूको बारेमा छलफल गर्न एकदम जरुरी छ ।

दशैंलाई बली दिएर विजय उत्सवको रूपमा मनाउनुपर्ने सरकारी उर्दी पृथ्वीनारायण शाहले गोर्खामा जारी गरेर पशुबलीको चलनलाई राज्यको परम्परा बनाए । त्यसको पालना भए नभएको हेर्न प्रत्येक घरको दैलोमा रगतको पञ्जा छाप लगाउनुपर्ने र सिपाहीहरूले त्यसको निगरानी गर्ने व्यवस्था गरिएको थियो ।

यहाँ रावणलाई प्रशंसा गर्न वा रामलाई होच्चाउन खोजिएको होइन, आलोचनात्मक चेतको उदाहरण स्वरूप प्रस्तुत गरिएको हो । यसको आशय अब आलोचनात्मक चेतलाई उघार्नुपर्ने समय आएको छ र हाम्रा सन्तानहरूमा पनि आलोचनात्मक चेत जगाउनु पर्छ भन्ने हो ।

हाम्रा चाडपर्वहरूको शुरुवात रैथाने कृषि कर्ममा आधारित सारै सरल र सामान्य उत्सवबाट भएको पाइन्छ । विस्तारै यसलाई धर्मसंग जोडियो र विभिन्न किम्बदन्तीहरू जोडी रहस्यमय बनाउँदै लगियो । परिणाम स्वरूप उत्पादनको खुसियाली मनाउन शुरु भएको पर्व पाप-धर्म, स्वर्ग-नर्क, सत्य-असत्य, सुर-असुर आदिमा जोडियो । त्यसमा पनि अझै राज्यको विस्तार गर्ने होडबाजीमा यसलाई विजय उत्सव बनाउन थालियो र विजय उन्मादमा पशुवली दिई हिंसात्मक बनाइयो । विजय हुनु भनेको कुनै समूह हार्नु हो । अनि हार्नेलाई असत्य, असुर, राक्षसको दर्जा दिइयो । त्यस्तै मिथ्यकहरू उनेर पुष्टि गरिदै गइयो । ती हार्नेहरू नै पछि द्रविड, सुद्र हुँदै आधुनिक युगमा पनि मतवाली, दलित भनेर निषेध गरिदै आइयो ।

यसको एउटा उदाहरण पाल्पा, गुल्मी र अर्घाखाँचीका विभिन्न कोटमा सराय (तरबार नचाउने) नाच नाच्ने चलन छ जसमा दलितहरूलाई अहिले पनि कोटमा छिर्न दिइदैन भने कतिपय क्रियाकलापमा सहभागी नै गराइदैन । यस्ता अभ्यासले तिनीहरूलाई राज्यबाटै विभेद गर्ने र समाजमा एक किसिमको दमनको दुश्चक्र कायम राख्ने मनोवैज्ञानिक त कायम छैन भन्ने आशंका गर्ने प्रशस्त ठाउँ छन् ।

दशैंलाई बली दिएर विजय उत्सवको रूपमा मनाउनुपर्ने सरकारी उर्दी पृथ्वीनारायण शाहले गोर्खामा जारी गरेर पशुबलीको चलनलाई राज्यको परम्परा बनाए । त्यसको पालना भए नभएको हेर्न प्रत्येक घरको दैलोमा रगतको पञ्जा छाप लगाउनुपर्ने र सिपाहीहरूले त्यसको निगरानी गर्ने व्यवस्था गरिएको थियो । फूलपाती गोर्खाबाट ल्याउनु पर्ने र राज्य तहबाटै भवानीलाई पशुबली दिने चलन यथावत नै छ । अहिले पनि प्रत्येक जिल्ला/कोटमा जिल्ला प्रशासन, अदालत र सुरक्षा निकायहरूले पशुबली दिई पूजा गर्ने र नेपाली सेनाले बढाइँका साथ फूलपाती भित्राउने परम्परा कायमै छ ।

यसरी यो चाड हिन्दू धर्म र हिन्दू राज्यको कब्जामा पुग्यो । र, त्यसको निरन्तरता राज्य धर्मिनिरपेक्ष भए पछि झनै बढोत्तरी हुँदै गएको छ । यसलाई हिंसा र विभेदरहित राष्ट्रिय चाड बनाउन सकिएको छैन न त राज्यको ध्यान त्यसतर्फ उन्मुख नै छ ।

दशैंको अर्को ऐतिहासिक पाटो पनि छ अहिंसाको प्रतीकको रूपमा मनाउने । बुध्द धर्मावलम्वीहरूले विजया दशमीलाई अहिंसाको प्रतीकको रूपमा मनाउछन् किनकि प्राणी हिंसाको निषेध बुध्द दर्शनको पहिलो नियम हो । बुध्दले कुनै पनि प्राणी जगतमाथि हिंसा नगर्ने शिक्षा दिनुभएको थियो ।

यसै जगमा सारा बुध्दधर्म र दर्शन उभिएको छ । विजया दशमीको यो दिनलाई बौध्दहरूले अशोक विजया दशमी तथा धम्मचक्र प्रवर्तन दिवसको रूपमा मनाउँछन् । भारतमा इसापूर्व २६८ देखि २३२ सम्म शासन गरेका सम्राट अशोकले अरु राज्यहरूमा जस्तै कलिङ्गको युध्दमा पनि विजय हासिल गरे । अरु थुप्रै राज्य जितेका उनले अरु कुनै जीतलाई उत्सब मानेन तर यो जीतलाई उत्सव बनाए ।

यस दिन हत्या, हिंसा र मारकाटबाट आफूलाई सम्राट बनाउन पुगेका मौर्य राजा अशोकले आफ्नो जीवनमा नयाँ परिवर्तन देखाएका थिए । कलिंगको युध्द उनको विजयी अभियानको अन्तिम युध्द बन्न पुगेको थियो । यस युध्दमा देखिएको मृत्यु र शोक उनका लागि पछुतो र घृणाको विषय बन्यो । उनको यो बेचैनी बालक बुध्द अनुयायी निग्रोधको बौध्द स्वभाव देखेर शान्त र करुणामा परिवर्तन भयो । विजयादशमीको दिनदेखि उनले आफ्नो पूर्ववत शस्त्र युद्धलाई त्यागे र बुध्द

धर्मको पालना गरी बुध्द धर्मको प्रचार प्रसारमा लागे । बुध्दमार्गी बनिसकेपछि उनी विभिन्न बौध्द धार्मिक स्थलहरूमा तीर्थयात्राको लागि गए ।

बुध्द शिक्षाबाट प्रभावित भएर उनले बुध्दको ज्ञानलाई आफ्नै जीवनमा ल्याउन र सबैलाई बुध्दको शिक्षा ग्रहण गर्ने प्रेरणा मिलोस् भनेर सकेजति ठाउँमा स्तूपहरू बनाए तथा स्तम्भहरू खडा गरे । यी मध्ये केही स्तम्भहरू तत्कालीन लुम्बिनी राज्यको विभिन्न स्थानमा रहेको हामीले देखेकै छौं । त्यसैले यस दिनलाई बुध्दमार्गीहरूले शस्त्र युद्धमाथि अहिंसाको विजय भएको प्रतीकका रूपमा लिन्छन् ।

यसरी उनले शान्ति र अहिंसाको माध्यमबाट शस्त्रअस्त्रमाथि विजय प्राप्त गरेकोले बौध्दहरूले यसलाई अशोक विजया दशमीको रूपमा मान्ने गर्दछन् । इतिहासकारहरूका अनुसार अशोकको समयमा शुरु भएको विजयदशमी भनेको २३०० वर्ष पुरानो पर्व हो । यसैको सम्झनामा भारत वर्षमा विजयादशमी मनाउन थालियो । यो क्रम हजारौं वर्ष चल्यो । तर पछि हिन्दू धर्मको दबदबा बढ्न थालेपछि मानिसहरूले यस गौरवमय इतिहासलाई बिर्से, हत्याहिंसालाई प्रशय दिने धर्म र दर्शनले प्रोत्साहन पाउँदै गयो । चाणक्य र मनुले यसको अगुवाई त्यही बेलादेखि नै गरिरहेकै थिए ।

भारत वर्षमा बुध्दशिक्षाको प्रभाव कम हुँदै गएता पनि विशेषत बहिष्करणमा परेका आम समुदायहरूले यस्को महत्वलाई बिर्सेका थिएनन् । लामो समयपछि भारतका संविधानविद् डा. भीमराव अम्बेडकरले आफ्ना समर्थकहरूलाई बुध्दशिक्षा लिन प्रेरित गर्नुभयो । फलस्वरूप यसै विजयदशमीको अवसर पारेर सन् १९५६ अक्टोबर १४ का दिनमा नागपूरमा पाँच लाख समर्थकहरूले एकैदिनमा बुध्दधर्म ग्रहण गरे । त्यसै कारण यस दिनलाई धम्मचक्र प्रवर्तन दिवस भनेर पनि भन्ने गरिन्छ ।

हाम्रा संस्कृतिको मुक्तिकामी रूपान्तरण (पुनर्स्थापना) का लागि राज्य, समाज र नागरिक तयार हुनु जरुरी छ । यसका लागि आलोचनात्मक हस्तक्षेपका साथ मुलुकका रैथाने समुदायहरू जुर्मुराउन र ज्ञान निर्माणको अर्को पाटो खोतल्न आवश्यक छ ।

चाहे जे होस्, समय बित्दै जादा कविलाहरूले कृषि कर्मबाट थालेको यो मौलिक पर्व विभिन्न स्वरूपमा पहिला धर्म र त्यस पछि राज्यको कब्जामा पुग्यो । पछिल्लो समय भने हाम्रा चाडवाडहरू बजारको कब्जामा पुगेका छन् । अभिभावकको आशिर्वचन भन्दा पाउने दक्षिणामा, स्नेह मिलन भन्दा उपहारमा, पूजापाठमा भन्दा भेटी/दानमा ध्यान पुग्नु यसको ज्वलन्त उदाहरण हो । यी सबै बजारले सृजना गरेका मनोविज्ञान हुन् ।

अझै त्यसमा राज्यले पनि मलजल गरेको छ । लामो बिदा दिने, सरकारी निकायले नै भेडाच्याङ्ग्रा ल्याएर बेच्ने, बली सहितका विभिन्न सरकारी पूजापाठ/समारोह गर्ने, नयाँ नोट बजारमा पुर्‍याउने जस्ता ब्यवस्था गरी यो चाडलाई बजारीकरण गर्न सघाएको छ ।

अहिलेकै ताजा कुरा गर्ने हो भने घट्दो वैदेशिक मुद्राको सञ्चितिका कारण निषेध गरिएको तासको आयात दशैंकै मुखमा खोलिएको छ (जबकि तास खेलेको भेटे पुलिसले समाउँछ), नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको नयाँ नोट बजारमा पुर्‍याएको छ (र, भन्छ नोट फोहोर गर्नुहुँदैन), दशैंलाई लक्षित गरेर सरकारी पदाधिकारीहरूलाई चाडपर्व भत्ताको व्यवस्था गरेको छ । राज्यका यस्ता क्रियाकलापले आम नागरिकलाई अझै सकसपूर्ण बनाएको छ किनकि यी कुनै पनि कुरामा उनीहरूको पहुँच पुग्दैन । यी सबैकुरा वर्चश्वशाली समूहका लागि हुन् । तर पृथ्वीनारायण शाहले लगाइदिएको अनिवार्यता समाजमा जरा गाडेर बसेको छ । विभिन्न स्किमको अस्त्रले बजारको घेराबन्दी उत्तिकै छ । बजारको

हस्तक्षेपले यी चाडवाड वर्ग पहिचानको आधार बनेका छन् । अनि सूदखोरको पन्जामा जान बाध्य हुनु परेको छ एउटा तप्काका आम नागरिकलाई ।
यसरी एउटा तप्कालाई उठ्नै नदिने गरी उत्पीडनको दुष्चक्रमा थप पेलिरहेका छन यस्ता चाडपर्वहरूले । यसको उदाहरणका लागि दशैं पछि गौरीफण्टामा भारत जान निन्नयाउरो अनुहार लिएर लाइन लागेका युवाहरूको विवशता हेरे पुग्छ ।

एउटा अनुमान अनुसार दशैंको सेरोफेरोमा करिब ५ खर्बको कारोबार हुने देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो खपत वर्षभरि हुने खपतको २० प्रतिशतभन्दा बढी हो । हाम्रो मुलुकमा उपभोग हुने करिब ८० प्रतिशत भन्दा बढी सामग्रीहरू आयातित हुन् । यो बेला खाद्य सामग्रीका अलावा पूजाका सामग्रीदेखि उपहारका सामग्री र फूलमालाहरू समेत आयात हुने गरेका छन् । अरु त अरु बली दिने भेडाच्याङ्ग्रा र बोकाहरू समेत आयातित छन् । यही बेला महंगा गाडी र विद्युतीय सामानदेखि विदेशी मदिरासम्मका विलासी वस्तुको प्रयोग बढेर जान्छ । यो अवधिमा भएका कलकारखाना र व्यवसायिक प्रतिष्ठानहरू लामो समय बन्द हुने हुँदा निर्यात बढ्न सक्ने त कुरै भएन ।

यो बेलाको खर्च पूर्णत अनुत्पादक हुन्छ । त्यस अर्थमा यो अर्थिक वर्षको शुरु दुई महिनामा करिब २ खर्बको व्यापार घाटा भइसकेको अवस्थामा करिव ४ खर्ब भन्दा बढीको व्यापार घाटा त यही चाडले मात्र थपिने देखियो । यसले मुलुकको अर्थतन्त्रमा कति असन्तुलन ल्याउला र वैदेशिक मुद्रा सञ्चितिमा कति दवाव पर्ला सहजै अनुमान गर्न सकिने कुरा हो । आयातमा आधारित देशको अर्थतन्त्र अत्यधिक चलायमान हुने बेलाको यो भड्किलो खर्चले देशको परनिर्भरता झनै बढाउने र अर्थतन्त्रलाई कमजोर बनाउने कुरा नेपाल राष्ट्र बैंकले नै स्वीकारेको यथार्थ हो ।

चाडपर्व विशेषगरी दशैंको अन्य धेरै आयामहरू होलान्, यसको मौलिक सांस्कृतिक मूल्य (ढोंग होइन) पनि पक्कै छ । तर यस्ता पर्वहरूको विभेद र हिंसारहित मौलिक स्वरूपलाई ग्रहण गर्ने, धर्म राज्य र बजारको हस्तक्षेपबाट अलग्याउने र आफ्नै रैथाने उत्पादनमा आधारित बनाउन सक्ने हो भने पक्कै पनि यो सबैलाई मान्य हुने राष्ट्रिय चाड बन्न सक्छ ।

आधुनिक राज्यले हेर्नुपर्ने मूल कुरा पनि कुनै चाडपर्व वा क्रियाक्लापले मुलुकमा कति आर्थिक/सामाजिक पुँजी निर्माण गर्न सक्छ भन्ने हुनुपर्छ र सो अनुसार राज्यका नीतिहरू परिमार्जित गर्नुपर्ने हुन्छ । चलनचल्तीको नवउदार अर्थनीति र परम्परागत (वर्चश्वशाली) प्रजातन्त्रबाट यो संभव छैन । यसका लागि संरक्षणकारी उदारवादको अर्थनीति र उदार समाजवादको राजनीतिक प्रणाली जरुरी हुन्छ ।

हाम्रा संस्कृतिको मुक्तिकामी रूपान्तरण (पुनर्स्थापना) का लागि राज्य, समाज र नागरिक तयार हुनु जरुरी छ । यसका लागि आलोचनात्मक हस्तक्षेपका साथ मुलुकका रैथाने समुदायहरू जुर्मुराउन र ज्ञान निर्माणको अर्को पाटो खोतल्न आवश्यक छ ।

(नेपाल सरकारका पूर्वसचिव लेखक रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालका अध्यक्ष हुन् । उनी हाल प्राध्यापनमा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?