+
+
क्रिकेट स्टारको हिरासत यात्रा :

फ्लोरिडामा एफबीआईले लोकेट गरेपछि आत्मसमर्पण गर्न नेपाल आए सन्दीप

गौरव पोखरेल गौरव पोखरेल
२०७९ असोज २० गते २२:००

२० असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्दीप लामिछाने ओर्लिँदा विगतमा उनका फ्यानहरु कुरिरहेका हुन्थे । प्रतिक्रिया लिन सञ्चारकर्मीहरु पर्खाइमा हुन्थे ।

लामिछानेका लागि विमानस्थलको विशिष्ट (भीआईपी) कक्षको गेट खुला हुन्थ्यो । उनी आउँदा भिडभाड हुनसक्ने भएकाले सुरक्षा व्यवस्थापनका लागि सिनियर प्रहरी अधिकृत नै खटाइन्थे ।

विमानस्थलमा भेटिने यात्रु उनीसँग सेल्फी खिच्न झुम्मिन्थे ।

तर, बिहीबार बिहान ११ बजे लामिछाने काठमाडौं अवतरण गर्दाको स्थिति भने भिन्न थियो । यसपटक विमानस्थलमा पक्राउ पूर्जी बोकेर प्रहरी टोली उनलाई कुरिरहेको थियो ।

लामिछाने सवार कतार एयरवेजको जहाज बिहान १० बजे काठमाडौं अतवरण गर्ने निर्धारित समय थियो । प्रतिकुल मौसमका कारण केही ढिलाइ हुँदा थप एक घन्टा लाग्यो ।

ओर्लिने वित्तिकै उनलाई नेपाल प्रहरीका जवानहरुले माइक्रोमा राखे । अरु बेला विशिष्ट व्यक्तिलाई यसरी भीआईपी कक्षतिर ल्याइन्थ्यो । यसपटक चाहिँ नाबालिग बलात्कारका आरोपीका रुपमा प्रहरीले लामिछानेलाई त्यो माइक्रो चढाएको थियो ।

प्रहरीसँग गाडीमा चढ्दा लामिछाने चुपचाप बसेका थिए । तर हत्कडी लागेपछि चाहिँ अध्याँरो मुख पार्दै असहज माने

त्यहीँ उनलाई पक्राउ पूर्जी थमाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवाली बताउँछन् ।

गाडीबाट ओर्लिएपछि उनी  ‘अराइभल’को रिसेप्सनमा पुगे । त्यहाँ अध्यागमनको प्रक्रिया पूरा भएपछि प्रहरीले उनलाई हत्कडी लगाइदियो । कानून व्यवसायी सरोजकृष्ण घिमिरेले लामिछानेले आफैं आत्मसमर्पण गर्ने भन्दै विमानस्थलमा हत्कडी नलगाइदिन भनिएको बताएका थिए ।

तर जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराका अनुसार प्रहरीलाई त्यस्तो कुनै निवेदन आएको थिएन । ‘निवेदन आएपनि कानूनको नजरमा कोही भीआईपी वा प्रतिष्ठित व्यक्ति भन्ने हुँदैन,’ बोहोराले अनलाइनखबरसँग भने, ‘अरु अभियुक्त सरह नै लामिछानेलाई व्यवहार गरिन्छ ।’

प्रहरीसँग गाडीमा चढ्दा लामिछाने चुपचाप बसेका थिए । तर हत्कडी लागेपछि चाहिँ अध्याँरो मुख पार्दै असहज माने । बाहिर सञ्चारकर्मीहरु तस्वीर लिन बसेको देखेपछि कालो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहेका उनले गोजीबाट रुमाल झिके । र, हत्कडी लुकाउने प्रयास गरे ।

प्रहरी वृत्त, गौशालाले उनीविरुद्ध नाबालिग बलात्कारसम्बन्धी किटानी जाहेरी दर्ता भएकाले पक्राउ गर्न सहजिकरण गरिदिन भन्दै पहिल्यै अध्यागमन विभागलाई पत्राचार गरिसकेको थियो ।

पत्रको बोधार्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई दिइएको थियो । त्यही अनुसार विमानस्थलमा ओर्लिने वित्तिकै पक्राउ गर्न प्रहरी परिचालित थियो ।

फ्लोरिडामा लोकेट भएका थिए लामिछाने

लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् ।

नाबालिग बलात्कारको जाहेरी परेको दुई दिनपछि प्रहरीले पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको थियो । पक्राउ पूर्जी जारी भएपछि लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको कप्तानबाट निलम्बन गर्‍यो ।

जुनसुकै बेला पक्राउ पर्नसक्ने चाल पाएपछि उनी अमेरिकाबाट फर्किएका हुन् । अहिले नफर्किएको भए पनि दुई साताभित्र डिपोर्ट भएर नेपाल आउँथे । – एनसीबी काठमाडौंका अधिकारी

निलम्बित भएपछि लामिछानेले सामाजिक सञ्जाल ट्वीटरमा नेपालको कानून मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने भन्दै स्ट्याटस लेखे । उनले त्यसबेला जमैकामा चलिरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको बताएका थिए ।

तर एक महिनासम्म उनी सम्पर्कविहीन रहे । झण्डै एक महिनापछि बिहीबार आत्मसमर्पण गर्न भन्दै लामिछाने कसरी काठमाडौं आइपुगे ? योबीच उनी कहाँ थिए ?

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार योबीचमा लामिछानेले अमेरिका पुगेको खुलेको छ । र, अनुसन्धान अधिकृतहरूका अनुसार इन्टरपोलका कारण नै लामिछाने नेपाल फर्किएका हुन् ।

पछिल्लो समय क्यानसँग पनि सम्पर्कबाहिर भएपछि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत उनलाई नेपाल झिकाउने प्रक्रिया अघि बढाएको थियो ।

इन्टरपोलको नेश्नल कन्ट्रोल ब्यूरो (एनसीबी), काठमाडौंको अनुरोधमा इन्टरपोल हेडक्वार्टरले डिफ्यूजन नोटिस जारी गरेपछि १९५ देशका प्रहरीसमक्ष लामिछानेबारे सूचना पुगेको थियो ।

‘उनीसँग अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया लगायतका मुलुकको भिसा भएकाले त्यहाँ प्राथमिकता दिएर खोजी गर्न समन्वय गरेका थियौं’, एनसीबी काठमाडौंका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘त्यसक्रममा अमेरिकाको फेडरल ब्युरो अफ इन्भेटिगेसन (एफबीआई) ले उनलाई लोकेट गरेको थियो ।’

उनका अनुसार नोटिस जारी हुने वित्तिकै उनी अमेरिका पुगेको सूचना आएको थियो ।

‘अमेरिकामा नाबालिग बलात्कार, चाइल्ड पोनोग्राफी जस्ता विषयलाई गम्भीररुपमा लिइँदो रहेछ, यहीसँग सम्बन्धित भएपछि एफबीआईले प्राथमिकता दिएर खोजी गरेको थियो’, ती अधिकृतले थपे, ‘एफबीआईले लामिछानेलाई फ्लोरिडास्थित एक होटलमा लोकेट गरिएको सूचना नेपाल प्रहरीलाई पठाएको थियो ।’

त्यहाँ एफबीआईले उनको गतिविधिबारे निगरानी बढाउन थालेपछि लामिछाने झस्किएका थिए । अनुसन्धान अधिकृतहरुका अनुसार डिफ्यूजन नोटिस जारी भएपछि अदालती प्रक्रिया पूरा गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढेको थियो ।

‘जुनसुकै बेला पक्राउ पर्नसक्ने चाल पाएपछि उनी अमेरिकाबाट फर्किएका हुन्’, इन्टरपोलका ती अधिकृत भन्छन्, ‘नफर्किएको भए उनी दुई साताभित्र डिपोर्ट भएर नेपाल आउँथे ।’

फाइल तस्वीर

कसरी बाहिरियो घटना ? अबको प्रक्रिया के हुन्छ ?

एक महिना अघि आफन्तसँग प्रहरी वृत्त, गौशाला पुगेर पीडित किशोरीले तत्कालीन राष्ट्रिय क्रिकेट टोलीका कप्तानविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।

क्रिकेटका कारण विश्वभर चिनिएका खेलाडीविरुद्ध बलात्कार जस्तो गम्भीर कसूरमा जाहेरी आएपछि गौशाला प्रहरीले जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहोरालाई खबर गरेको थियो ।

बोहोरामार्फत उपत्यका प्रहरी कार्यालय, रानीपोखरी हुँदै यो सूचना नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसम्म पुगेको थियो ।

‘छलफलपछि जाहेरी दर्ता गर्नु अगावै बलात्कार भएको भनिएको होटलमा जाँच गर्ने निर्णय गरेका थियौं’, उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतले भने, ‘घटना भएको भनिएको दिन पीडित र लामिछानेले होटलको एउटै कोठामा बसेको पुष्टि भएपछि जाहेरी दर्ता गरेका थियौं ।’

प्रहरी वृत्त, गौशालाका एक अधिकृतका अनुसार काठमाडौंको एक कलेजमा प्लस टु अध्ययनरत पीडित किशोरी लामिछानेकी ‘फ्यान’ थिइन् ।

एकजना क्रिकेटरमार्फत नै लामिछानेसँग चिनजान भएपछि उनी सामाजिक सञ्जाल स्न्यापच्याटमार्फत लामिछानेसँग जोडिएकी थिइन् । स्न्यापच्याटमा कुराकानी गरेको संवाद दोस्रो पक्षले हेर्ने वित्तिकै डिलिट हुन्छ ।

प्रहरीका अनुसार यसरी जोडिएका लामिछानेले ५ भदौमा पीडितलाई भेट्न नयाँ बानेश्वर बोलाएका थिए । यसअघि पनि लामिछानेले भेट्न भन्दै होटलमा बोलाउने गरेको उनको बयान छ ।

त्यसदिन पनि साँझ भइसकेको भन्दै सुरुमा उनले भेट्न मानेकी थिइनन् । तर, भोलिपल्ट एकदिवसीय खेल खेल्न केन्या जान लागेको बताउँदै लामिछाने आफैं गाडी लिएर मध्य बानेश्वरस्थित किशोरीको होस्टलसम्म पुगेका थिए ।

‘होस्टल छेऊकै चोकमा आएपछि निस्किन बाध्य भएँ, खाजा मात्र खाएर आइहाल्ने सोचेको थिएँ’, पीडितले भनेकी छन्, ‘तर उहाँले मलाई नगरकोटसम्म लैजानु भयो ।’ प्रहरी अधिकृतहरुले बताएअनुसार लामिछानेले एकैछिनमा फर्किने भन्दै पीडितलाई नगरकोटसम्म पुर्‍याएका थिए ।

त्यहाँको काठमाडौंं भ्याली भ्यू रिसोर्टमा उनीहरु बेलुकी साढे ८ बजेदेखि राति ११ बजेसम्म बसेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् । प्रहरीले त्यहाँको क्लोज सर्किट (सीसी) टीभीको फुटेज पनि संकलन गरेको छ ।

पीडितले दिएको किटानी जाहेरीमा उल्लेख भएअनुसार उनले होस्टल बन्द हुने भन्दै चाँडै फर्किन पटकपटक आग्रह गरेकी थिइन् । लामिछानेले भने ढिला गरिरहे । काठमाडौंको पिंगलास्थानस्थित होटल काठमाडौं इनमा आइपुग्दा राति ११ः५५ भइसकेको थियो ।

पीडितको भनाइमा उनले दुईवटा कोठा बुक गर्न भनेकी थिइन् । तर लामिछानेले एउटा मात्र कोठा खाली भएको भन्दै कोठा नम्बर ३०५ मा दुवैजना बस्नुपर्ने बताएका थिए ।

प्रहरीका अनुसार होटलको सीसी टीभी क्यामरामा पनि लामिछाने र ती किशोरी कोठातिर गएको देखिएको छ । त्यहीँ लामिछानेले आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको पीडितको भनाइ छ ।

जिल्ला प्रहरी परिसर, काठमााडौंका प्रवक्ता दिनेशराज मैनाली भन्छन्, ‘सरकारी विदा भएकाले आइतबार मात्र अदालत खुल्छ, म्याद थप गरेर विस्तृत अनुसन्धान गर्छौं ।’ यो अवधिमा लामिछानेको बयान लिने लगायतका काम हुने उनले बताए ।

आरोप पुष्टि भए के हुन्छ ?

प्रहरीले अनुसन्धानपछि रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाउँछ । सरकारी वकिलमार्फत जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता हुन्छ ।

लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ ।

मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।

उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ ।

नगरकोटमा सन्दिपले दुर्व्यवहार गर्ने मनसायले लामो समयसम्म राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । त्यसैले पीडित नाबालिक भएकाले यसमा मुलुकी अपराध संहिता २०७४ को दफा २५५ मा उल्लेखित बालयौन दुरुपयोग गर्न नहुने कसूर पनि आकर्षित हुनसक्छ ।

‘कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविकरुपमा एकान्तमा लगे, यौनसम्बन्धी अंग छोए वा अन्य कुनै यौनजन्य अस्वाभाविक व्यवहार गरे बालयौन दुरुपयोग’ हुने यसको उपदफा (२) मा भनिएको छ ।

‘घटनास्थल फरकफरक भएकाले यो अभियोग पनि आकर्षित हुनसक्छ, यद्यपि यो अनुसन्धानपछि टुंगिने विषय हो,’ काठमाडौं प्रहरीका एक अधिकृत भन्छन् ।

यदि उनीविरुद्ध बाल यौन दुरुपयोगको कसूर पनि लागेर प्रमाणित भए थप तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । ख्यातिको आडमा बलात्कार भएको बाल यौन दुरुपयोगको मुद्दामा अभिनेता पल शाहलाई अदालतले साढे २ वर्ष कैद सजाय तोकेको थियो ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?