+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

प्रभु साहलाई एमालेको ढोका बन्द

टिकटको बचन पाएकालाई बाहिर राखेर रातारात अर्को पार्टीलाई टिकट मिल्छ भने विद्रोह हुने नै भयो- साह

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते २०:३३

२५ असोज, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहका लागि पार्टीमा फर्किने ढोका बन्द भएको छ ।

आसन्न चुनावको मनोनयन क्रममा उनले एमालेबाट रौतहट ३ का लागि टिकट पाएका थिए । आइतबार साँझ ५ बजेसम्म पनि आफू मनोनयन क्रममा रहेको भनी उनले अध्यक्ष केपी ओलीलाई जानकारी गराएका थिए । अन्तिम घडीमा उनले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गरेपछि एमाले नेतृत्व झस्केको छ ।

अध्यक्ष ओलीले यसलाई ‘संदिग्ध गतिविधि’ भनी अर्थ्याएका छन् । दलको उम्मेदवारी पन्छाएर स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीको सदस्यताबारे स्वतः प्रश्न उठ्ने उनले बताएका छन् । ‘उहाँ केही समयदेखि संदिग्ध गतिविधिमा हुनुहुन्छ भनी साथीहरुले भन्दैहुनुहुन्थ्यो, मैले पत्याएको थिइनँ,’ एउटा टिभीसँग प्रतिक्रिया दिँदै ओलीले भने, ‘उहाँले स्वतन्त्र रहन्छु, दलबाट बाहिर रहन्छु भनेपछि त्यो स्थिति उत्पन्न हुने नै भयो ।’

ओलीको यही जवाफबाट साह एमालेमा रहने अवस्था अन्त्य भएको प्रष्ट हुन्छ । खासमा उनले आफूसहित मधेसका आठ चुनाव क्षेत्रबाट आफू पक्षका कार्यकर्तालाई स्वतन्त्र हैसियतमा टिकट दिन लगाएका छन् ।

तत्कालीन नेकपाबाट एमाले र माओवादी केन्द्र अलग हुँदा साहले एमाले रोजेका थिए ।

साहले रौतहट ३ बाट उम्मेदवारी दिँदै गर्दा किरण साह रौतहट २ बाट, प्रदीप साह रौतहट ४ बाट, राम आधार कापड महोत्तरी ३ बाट, मानबहादुर खडका सर्लाही १ बाट, किसोरी साह धनुषा १ बाट, कृष्ण कुमार महतो, धनुषा ४ बाट, संतोष श्रेष्ठ पर्सा १ बाट उम्मेदवारी दिएका छन् । प्रदेश सभातर्फ १७ जनाको उम्मेदवारी परेको छ । ती सबै साह पक्षका हुन् ।

साहले रौतहटसहित मधेसलाई नै एमालेविहीन बनाउने षड्यन्त्र गरेको एमाले नेतृत्वले आरोप लगाएको छ । उता साहले भने आफ्नो पक्षका कार्यकर्तालाई चुनावी प्रक्रियाबाटै बाहिर राखेर उपेन्द्र यादव र उनी नेतृत्वको जसपालाई अनावश्यक स्पेस दिनुले नेतृत्वप्रति सन्देह पैदा भएको आरोप लगाएका छन् ।

‘जसले सुरुमा टिकट पाउँछन् भनी केन्द्रबाट बचन पाएका थिए, उनीहरुलाई नै बाहिर राखेर अर्को पार्टीलाई रातारात टिकट मिल्छ भने अब यसलाई कसरी बुझ्ने,’ साहको प्रश्न छ, ‘त्यसपछि त विद्रोह हुने नै भयो ।’ उनका अनुसार अब एमालेसँग एउटै विकल्प छ– उम्मेदवारीको अन्तिम घोषणा बेलासम्म आफूले उठाएका उम्मेदवारलाई सदर गरिदिने ।

तर त्यो सम्भावना भने ओली आफैंले अन्त्य गरिदिएका छन् । यस अर्थमा विगतमा माओवादी केन्द्र हुँदै एमालेमा आएका साहसँगैका नेता कार्यकर्ताले नयाँ राजनीतिक कोर्स समात्नुपर्ने विकल्पमात्रै बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?