+
+

धनुषा–२, जहाँ गठबन्धनले काम गरेन

धनुषा–२ यस्तो निर्वाचन क्षेत्र बन्यो, त्यहाँ गठबन्धनले काम गरेन । दुबै गठबन्धनमा आवद्ध दलका चार उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ असोज २५ गते २०:५१

२५ असोज, जनकपुरधाम । सत्तारुढ गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेसँग तराई मधेसका १४ जिल्लामा तालमेल गर्‍यो । एमालेसँग वार्तामा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने सत्ता गठबन्धनसँग सहमति गर्न पुग्यो ।

तर धनुषा–२ यस्तो निर्वाचन क्षेत्र बन्यो, त्यहाँ गठबन्धनले काम गरेन । दुबै गठबन्धनमा आवद्ध दलका चार उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसबाट रामकृष्ण यादव उम्मेदवार छन् भने नेकपा एकीकृत समाजवादीबाट रामचन्द्र झाले उम्मेदवारी दर्ता गराएका छन् । विपक्षी गठबन्धनको नेतृत्व गरेको एमालेबाट उमाशंकर अरगरिया र जसपाबाट गंगाराम यादव चुनावी मैदानमा छन् ।

सत्ता गठबन्धनमा कांग्रेसले रामकृष्ण र एकीकृत समाजवादीले रामचन्द्रका लागि यो क्षेत्रमा दाबी गरेको थियो । अन्ततः यो क्षेत्र कांग्रेसको भागमा पर्‍यो भने प्रदेशसभा (क) लोसपा र (ख) माओवादीले लिने भयो । प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट यादवले उम्मेदवारी दिँदा प्रदेशसभा (क) मा सञ्जय साह तेली र (ख) मा श्याम यादव उम्मेदवार बनेका छन् ।

तर सिट बाँडफाँटमा असहमत एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र, प्रदेशसभा (क) मा रामनारायण साह र (ख) मा शैलेन्द्र यादवले उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य योगकुमार बरबरिया यस क्षेत्रमा कांग्रेस, माओवादी केन्द्र र लोसपाको गठबन्धन कायमै रहेको बताउँछन् । उनले भने, ‘रामचन्द्र झाले अन्य दलजस्तै गठबन्धनसँग प्रतिस्पर्धा गर्नुहुन्छ ।’

विपक्षी गठबन्धनमा एमाले र जसपाबीच यो क्षेत्रमा तालमेल नमिल्नुको कारण अलि रोचक छ । २०७४ मा यो क्षेत्रमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट उमाशंकर अरगरियाले चुनाव जितेका थिए ।

मधेसी मोर्चा बनाएर चुनाव लडेको राजपासँग एकता गरेपछि यो दल जसपा बन्यो । तर जसपा विभाजन हुँदा अरगरिया उपेन्द्रलाई छाडेर महन्थ ठाकुरतिर लागे र लोसपाले उनलाई मन्त्री र संसदीय दलको प्रमुख सचेतक बनायो ।

लोसपामै बसेर चुनाव जित्ने सम्भावना नदेखेपछि उनी ८ असोजमा मात्र एमाले प्रवेश गरेका थिए । पार्टी प्रवेश गराउँदा नै एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिने वचन दिएका थिए ।

उमाशंकरले टिकट पाउने भएपछि एमालेका पुराना प्रभावशाली नेता गंगाराम यादव पार्टी छाडे । उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले टिकट दिने बचन दिएर पार्टीमा प्रवेश गराए, जतिबेला उनी सत्ता गठबन्धनमा थिए ।

तर अन्तिम समयमा जसपाले एमालेसँग तालमेल गर्न खोज्दा धनुषा २ मा सहमति जुट्न सकेन । २०७४ मा प्रतिनिधिसभासहित दुबै प्रदेश सभा जितेकाले पनि जसपाले यो क्षेत्र छाड्न चाहेन र, मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरे ।

अब चारै दलका लागि यो क्षेत्र प्रतिष्ठाको विषय बनेको छ । धनुषा–२ मा ७ पालिकाका ४४ वडा पर्छ । कमला नगरपालिकाका ९, शहीदनगर नगरपालिकाका ९, जनकनन्दनी गाउँपालिकाका ६ र औरही गाउँपालिकाका ६ वटा वडा यस क्षेत्रमा पर्छ । त्यसैगरी विदेह नगरपालिकाका १ देखि ८, हंसपुर नगरपालिकाकाको वडा नम्बर १, ४, ६, ९ र जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १७ र १८ यो क्षत्रमा पर्छ ।

३० वैशाखको स्थानीय निर्वाचन परिणाम हेर्दा यस क्षेत्रका  कमला नगरपालिका र हंसपुर नगरपालिकामा गरी कांग्रेसले २ वटा पालिका प्रमुख जितेको छ । एमालेले विदेह नगरपालिका र औरही गाउँपालिका प्रमुख जितेको छ भने जसपाले शहीदनगर नगरपालिका र जनकनन्दनी गाउँपालिका ।

वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत हेर्दा कांग्रेस अगाडि देखिन्छ । कांग्रेसले २१ हजार २३२, जसपाले १३ हजार ८८९, एमालेले ११ हजार ५८३ र माओवादी केन्द्रले १० हजार ७९४ मत पाएको छ एकीकृत समाजवादीले ८ हजार ९९७, लोसपाले ६ हजार ७१३ र जनमत पार्टीले ४ हजार २८३ मत पाएको देखिन्छ ।

यदि माओवादी र लोसपाको पनि मत पाउन सकेमा कांग्रेस उम्मेदवारलाई अरुलाई भन्दा सहज देखिन्छ । कांग्रेस उम्मेदवार रामकृष्ण पनि आफ्नो जितको आधार यसैलाई मान्छन् । ‘क्षेत्रमा शिक्षा, सडक, स्वास्थ्य, गरिवीको समस्या छ । विकास अवरुद्ध छ । विगतमा जितेका प्रतिनिधिले खासै मतलब गरेनन् । जनताको समस्या हाउसमा राख्नु भएन’, उनले भने, विगतको चुनावी नतिजाले पनि कांग्रेस बलियो छ । मेरो जित्ने आधार यही हो ।’

एकीकृत समाजवादीका रामचन्द्र झा भने स्थानीय निर्वाचनको परिणामले संसदीय निर्वाचनमा प्रभाव नपर्ने तर्क गर्छन् । जनताको समर्थन नै आफ्नो जितको आधार भएको झा बताउँछन् । ‘धेरै उम्मेदवारका बीचमा म निश्कलंक छु’, उनले भने, ‘यो क्षेत्रको विकास निर्माणमा मेरो ठूलो योगदान छ । विकास निर्माणका धेरै काम गरेको छु । मेरो जित्ने आधार यही हो ।’

२०४६ देखि हरेक लोकतान्त्रिक आन्दोलनमा आफूले महत्वपूर्ण भूमिका खेलेकाले पनि यस क्षेत्रका जनताले त्यसको मूल्यांकन गर्ने बताए । २०६४ को पहिलो संविधानसभामा एमालेबाट जितेका झा त्यसपछि निरन्तर दुईवटा निर्वाचनमा पराजित भएका छन् ।

एमाले उम्मेदवार उमाशंकर भने ५ वर्षमा यस क्षेत्रमा गरेको काम नै आफ्नो जित्ने आधार भएको बताउँछन् । ‘४० वर्षसम्म नभएका काम मैले यो पाँच वर्षे कार्यकालमा गरेको छु । संसदीय बजेटमा एक रुपैयाँ कमिसन लिइनँ’, उनले भने, ‘भ्रष्टाचार विरुद्धको आन्दोलनबाट म आएको हो, त्यो सिलसिल अझै जारी छ । यो क्षेत्रमा मेरो छुट्टै क्रेज छ ।’

लोसपाबाट आफू एमालेमा आउँदा पार्टीमा प्रवेशको लहर चलेको र अरु दल त्यागेर नेता कार्यकर्ता पार्टी प्रवेश गरेकाले चुनाव जित्ने उनको दाबी छ ।

एमाले परित्याग गरी चुनाव लड्न जसपा प्रवेश गरेका गंगाराम पनि यो क्षेत्रमा प्रभावशाली मानिन्छन् । विगतमा यो क्षेत्रमा गरेको काम, जनताको सुखदुखमा साथ, स्वच्छ छवि आदि कारणले आफू जित्ने उनी दाबी गर्छन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?