+
+

दिनेशकै शैलीमा फिर्ता भयो रामप्रसाद न्यौपानेको उम्मेदवारी

सुवास पण्डित सुवास पण्डित
२०७९ असोज २६ गते १९:१३

२६ असोज, चितवन । नेकपा एमाले, चितवनमा सर्वसम्मत सिफारिस हुने एक्ला उम्मेदवार थिए रामप्रसाद न्यौपाने ।

चितवन क्षेत्र नम्बर ३ मा सर्वसम्मत सिफारिससँगै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराउने नारा दिए । राप्रपासँग तालमेल नगरी उम्मेदवारी दर्ता गराए ।

तर बुधबार एमालेले नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका निदेश कोइरालालाई समर्थन गर्दै जिल्ला अध्यक्ष न्यौपानेको उम्मेदवारी फिर्ता गरिदिएको छ ।

जसरी २०७४ सालमा कांग्रेसले भरतपुर महानगरको मेयरमा कोइरालाको उम्मेदवारी खारेज गरेको थियो । त्यो बेला कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता गराई प्रचण्डकी छोरी रेनु दाहाललाई समर्थन गरेका थिए ।

अहिले दिनेशलाई समर्थन गर्न एमाले अध्यक्ष केपी ओलीले देउवाकै शैली अपनाएका छन् । उनले न्यौपानेले क्षेत्र नं. ३ मा दर्ता गराएको उम्मेदवारी बुधवार दिउँसो पत्र लेखेर फिर्ता गरिदिए । पार्टी केन्द्रको निर्णयबाट न्यौपाने खुसी छैनन् ।

एमालेको समर्थन पाएका कोइराला कांग्रेसका केन्द्रीय सदस्य हुन् । यो पटक उनी प्रतिनिधिसभा सदस्यको टिकटका आकांक्षी थिए । सत्ता गठबन्धनमा भएको भागवण्डामा यो क्षेत्र माओवादीको भागमा पर्‍यो । प्रचण्ड उठ्ने भनिए पनि उनी गोरखा पुगेपछि माओवादीबाट डा. भोजराज अधिकारीले उम्मेदवारी दिएपछि रुष्ट बनेका कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

एमाले अध्यक्ष ओलीसँग निरन्तर सम्पर्कमा रहेका कोइरालाले उम्मेदवारी दर्ताका सन्दर्भमा पनि सम्वाद गरेका थिए । स्रोतका अनुसार ओलीले सूर्य चिह्न लिएर उम्मेदवार बन्न आग्रह गरेका थिए । तर एमालेको चिह्न लिँदा कांग्रेसको मत नपाउने भन्दै कोइराला त्यसमा सहमत भएनन् । २३ असोजमा कोइरालाले स्वतन्त्र र न्यौपानेले एमालेबाट उम्मेदवारी दर्ता गराए ।

उम्मेदवारी दर्तापछि पनि कोइराला बालकोट पुगेका थिए । आफ्नो उम्मेदवार फिर्ता गराउन कोइरालाले दौडधुप गरिरहेको थाहा पाएपछि एमाले उम्मेदवार न्यौपाने ओलीलाई भेट्न मंगलबार राति बालकोट पुगेका थिए । त्यो भेटमा ओलीसँग उम्मेदवारी कायम नै गरेर जाने कुराकानी भएको न्यौपानेले बताए । तर उनी चितवन पुग्दा नपुग्दै ओलीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएर न्यौपानको उम्मेदवारी फिर्ता लिएका थिए ।

अभागी रामप्रसाद

२०७४ मा न्यौपाने चितवन ३ (ख)मा प्रदेश सांसद सदस्यको उम्मेदवारका लागि सिफारिस भएका थिए ।

वाम गठबन्धनमा यो क्षेत्र माओवादीको लियो र न्यौपानेको सट्टा रामलाल महतोले टिकट पाए ।

नेकपा कालमा भरतपुर महानगरपालिकाको अध्यक्ष बनेका न्यौपाने गत पुसमा एमालेको जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला अध्यक्ष बने र यो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका थिए । तर यो पटक पनि उनले प्रत्यक्ष चुनाव लड्न पाएनन् ।

अब कस्तो चितवन ३ को समीकरण ?

प्रचण्डले छाडेपछि चितवन–३ मा सत्ता गठवन्धनले डा. भोजराज अधिकारीलाई उठाएको छ ।

चिकित्सक अधिकारी यसअघि सक्रिय राजनीतिमा थिएनन् । उनलाई कांग्रेस र एकीकृत समाजवादीको समर्थन छ । तर कांग्रेसबाट केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसांसद जगन्नाथ पौडेल र तारा पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

चितवन–३ मा सत्ता गठवन्धनका अधिकारीसँगै राप्रपाका विक्रम पाण्डे पनि बलिया उम्मेदवार हुन् ।

त्यसैले अब बागीहरुले कांग्रेसको भोट कति काट्छन् भन्ने मात्र होइन, दिनेशले एमालेको कति मत पाउँछन् भन्नेले प्रतिस्पर्धा कस्तो हुन्छ भन्ने निर्धारण गर्ने देखिन्छ ।

जिल्ला अध्यक्ष न्यौपानको टिकट खोसिएकोमा एमालेको एउटा पंक्ति आक्रोशित बनेको छ । यो आक्रोशलाई मत्थर बनाएर एमालेको समर्थन लिन सहज छैन । कोइरालाले भने एमालेले आफूलाई पूर्ण समर्थन गर्ने र कांग्रेसको पनि सहयोग आउने दाबी गर्छन् ।

‘हामीले चितवन ३ मा कांग्रेसले माओवादी बोक्न हुन्न भनेका हौं, प्रचण्ड बोकिरहेका कांग्रेसहरुलाई अहिले डा. भोजराज बोक्न भनिएको छ’, कोइरालाले भने, ‘एमाले जस्तो एउटा ठूलो पार्टीले मलाई समर्थन गर्छु भन्दा अब कांग्रेसजन खुसी हुनुपर्‍यो नि !’

सत्ता गठबन्धनका नेताहरु भने न्यौपानेको उम्मेदवारी फिर्ताको लाभ आफूहरुलाई हुने दाबी गर्छन् ।

एमालेको केही मत आफूलाई आउने र हारजितका लागि त्यो नै निर्णायक हुने गठवन्धनका साझा उम्मेदवार डा. अधिकारी बताउँछन् ।

राप्रपा पनि लाभ लिन चाहन्छ । राप्रपा, चितवनका प्रवक्ता राजु भण्डारी स्थानीय निर्वाचनमा एमालेसँगसहकार्य गरेकाले यसपटक आफूहरुले सहयोग पाउने दाबी विश्वास व्यक्त गर्छन् ।

भन्छन्, ‘हामी बीचमा हिजो पनि सहकार्य भएको थियो, आफ्नो उम्मेदवार नभएपछि फेरि हुन्छ भन्ने विश्वास छ ।’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?