+
+

सिटौला-लिङ्देन टक्करमा एमाले निर्णायक

तीन दशकदेखि तिक्ततापूर्ण सम्बन्ध भएका कृष्ण सिटौला र राजेन्द्र लिङ्देन संसदीय निर्वाचनमार्फत झापा–३ मा चौथो पटक आमनेसामने हुँदैछन् । र, दुवै एकअर्काविरुद्ध बदला लिने दाउमा छन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ असोज २६ गते २०:३४

२६ असोज, काठमाडौं । २०७४ सालको निर्वाचनमा देशभर नेपाली कांग्रेससँग गठबन्धन गर्दा झापा क्षेत्र नं. ३ राप्रपाको भागमा पर्‍यो । कांग्रेसले यो क्षेत्रबाट चुनाव लड्दै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भने समानुपातिकको सूचीमा राख्यो ।

तर झापा-३ राप्रपाका र तत्कालीन महामन्त्री राजेन्द्र लिङ्देनलाई छाड्न सिटौला राजी भएनन् । लिङ्देनलाई दिएको समर्थन फिर्ता गराएर आफैं टिकट लिन उनी सफल भए । लिङ्देन पनि के कम ? राप्रपाले देशभर कांग्रेससँग गठबन्धन गर्दा झापामा उनले नेकपा एमालेसँग गठबन्धन बनाइदिए । झापा–३ मा आफूले वाम गठबन्धनको साथ लिए भने ५ मा केपी ओलीलाई सघाए ।

लिङ्देन ४४ हजार ६१४ मतका साथ विजयी हुँदा सिटौलाले ३१ हजार १७१ मत पाए । पाँच वर्षपछि झापा ३ मा फेरि सिटौला र लिङ्देन चुनावी प्रतिस्पर्धामा छन् । त्यो बेला लिङ्देनलाई साथ दिएको वाम गठबन्धनको एउटा घटक माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको साथ यो पटक सिटौलालाई छ । लिङ्देनलाई भने एमालेको साथ छ ।

तीन दशक अगाडिदेखिको तिक्तता

झापा एक कांग्रेस नेताका अनुसार दुई नेता जिल्लामा हुने सार्वजनिक कार्यक्रममा हम्मेसी एकसाथ देखिँदैनन् । आक्कलझुक्कल भइहाल्ने भेटमा पनि ‘औपचारिकता’बाहेक बोलचाल हुँदैन । एउटै निर्वाचन क्षेत्रका लिङ्देन–सिटौला सम्बन्ध कसरी यति विघ्न तिक्ततापूर्ण बन्यो ? यो जान्न २०४६ सालतिर फर्किनुपर्छ ।

पञ्चायतविरुद्ध देशभर आन्दोलन चर्किरहेका बेला सिटौलाले भूमिगत रहेरै मेची क्याम्पसमा आन्दोलन चर्काएका थिए । उनकै योजना अनुसार १२ चैत २०४६ मा संयुक्त विद्यार्थी मोर्चाले क्याम्पसमा पञ्चायतविरुद्ध पुत्ला दहन कार्यक्रम आयोजना गर्‍यो ।

प्रदर्शनको तयारी हुँदै गर्दा पञ्चायत समर्थित विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी मण्डलले अवरोध गर्‍यो । राष्ट्रवादी विद्यार्थी मण्डलको आक्रमणबाट प्रहारबाट राम थापाको मृत्यु भयो, मोहन महर्जन गम्भीर घाइते भए ।

लीला उदासी, वरिष्ठ अधिवक्ता एवं झापाका साहित्यकार

‘थापा अखिलका नेता थिए, महर्जन नेपाल विद्यार्थी संघका हुन्’, त्यसबेला पीडितको तर्फबाट अदालतमा वकालत गरेका झापाका कानून व्यवसायी लीला उदासी भन्छन्, ‘यो घटनामा राजेन्द्र लिङ्देन केही समय जेल बसेर छुटे । टेकरानायण राजवंशी, गंगा न्यौपाने लगायत लामो समयसम्म थुनामै रहे ।’

झापाका कांग्रेस नेताहरु त्यसबेलाको विद्यार्थी आन्दोलन दबाउन लिङ्देनकै योजनामा थापाको हत्या भएको दाबी गर्छन् । लिङ्देनले सार्वजनिक मञ्चहरुबाटै मेचीकाण्डमा राजनीतिकबाहेक आफ्नो संलग्नता नरहेको बताउने गरेका छन् ।

राप्रपा केन्द्रीय सदस्य राजु पनेरु भन्छन्, ‘त्यो समयको कुरा हो, अहिले पनि लिङ्देनलाई दोष दिने हो भने मधेश आन्दोलनमा भएका मृत्युका दोष गृहमन्त्रीका हिसाबले सिटौलालाई दिए भइहाल्यो नि !’

झापाका पुराना कांग्रेस नेताहरुका अनुसार २०३६ सालको जनमत संग्रहका बेला सिटौलाले बहुदलको पक्षमा आमसभा गर्न खोज्दा राजेन्द्रका बुबा मानप्रसादले अवरोध गरेका थिए ।

त्यसबेला आन्दोलन रोक्न मानप्रसादहरुले सिटौलालाई बन्धक बनाएको नेताहरु बताउँछन् । २०६२/०६३ को आन्दोलन सफल भएपछि कृष्ण सिटौला गृहमन्त्री हुँदा २०६४ सालमा लिङ्देन माओवादीबाट बिर्तामोडमा कुटिए । पूर्वमन्त्री रवीन्द्रनाथ शर्मालाई कालोमोसो दल्ने प्रयास असफल भएपछि माओवादीको निशानामा लिङ्देन परेको झापाका साहित्यकारसमेत रहेका उदासी बताउँछन् ।

त्यसबेला माओवादीले दुर्व्यवहार गर्दा गृहमन्त्री सिटौलाले सुरक्षा नदिएको आरोप लिङ्देनले लगाउने गर्छन् । घेरा हालेर प्रशासनकै अघि कुटपिट हुँदा पनि प्रहरीले केही नगरेको भन्दै उनले यसमा तत्कालीन गृहमन्त्री सिटौलाको संलग्नता रहेको बताउने गरेका छन् ।

प्रतिस्पर्धा पनि तीन दशकदेखिकै 

२०४८ सालमा सिटौला झापा क्षेत्र नं. १ बाट आम निर्वाचन लड्दा लिङ्देन पनि उम्मेदवार थिए । ‘त्यसबेला म पनि उम्मेदवार थिएँ, थोरै अन्तरले पराजित भएँ, लिङ्देन चाहिँ तेस्रो भएका थिए’, उदासी सम्झन्छन् ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि लिङ्देन जिल्ला विकास समिति झापाका सभापति भए । त्यसबेला उनले झापा क्षेत्र नं. ३ मा प्रभाव विस्तार गरे । ‘लिङ्देन झापाको सभापति हुँदा गरामनी–हल्दिबारी सडक कालोपत्रे भयो । गाउँगाउँमा बाटो विस्तार भयो’, झापाका एक राप्रपा नेता भन्छन्, ‘दक्षिणी क्षेत्रमा विकासका लागि त्यसबेला राम्रा कामहरु भएका थिए ।’

जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा लिङ्देनले उम्मेदवारी दिएनन् । सिटौला भने झापा–३ मा माओवादी नेता पूर्णसिंह राजवंशीसँग पराजित भए ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा लिङ्देन फेरि सिटौलाविरुद्ध उभिए । सिटौलाले १४ हजार ३५५ मत ल्याएर सांसद निर्वाचित हुँदा लिङ्देन दोस्रो भए । २०७४ मा लिङ्देनले पुरानो हारको बदला लिए ।

अहिले फेरि लिङ्देन र सिटौला आमनेसामने भएका छन् । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतपरिणाम हेर्ने हो भने झापा ३ मा एमालेको २१ हजार ८५ मत छ । राप्रपाको २१ हजार १५९ मत छ ।

त्यस्तै कांग्रेसको २५ हजार ९४९ र माओवादीको ६ हजार ६८८ मत छ । यसरी हेर्दा झापा ३ मा एमाले–राप्रपा गठबन्धनको ४२ हजार २४४ मत देखिन्छ भने का‌ग्रेस र माओवादीको जोड्दा ३२ हजार ६३७ हुन्छ । सत्ता गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी र लोसपाको मत एक हजार भन्दा कम छ । यस आधारमा यो क्षेत्रमा सिटौलाभन्दा लिङ्देन बलियो देखिन्छन् ।

तर यही क्षेत्रमा पर्ने हल्दिबारी गाउँपालिकामा एमालेबाट निर्वाचित निवर्तमान उपाध्यक्ष डम्बरबहादुर गिरीले बागी उम्मेदवारी दर्ता गराएका छन् । लामो समयसम्म एमालेमा रहेर राजनीति गरेका गिरी झापा जिल्ला कमिटी सदस्य पनि हुन् ।

गिरीले एमालेको मत काट्ने भएकाले सिटौलालाई फाइदा हुने झापाका कांग्रेस नेताहरुको बुझाइ छ । साथै सांसद्का रुपमा पाँच वर्षे कार्यकालमा आफूहरुसँग सहकार्य नगरेको भन्दै एमालेका स्थानीय नेताहरु लिङ्देनसँग असन्तुष्ट छन् ।

गिरी स्वयंले पनि उम्मेदवारी दिँदै गर्दा लिङ्देनको कार्यकाल उपलब्धिमुलक नभएको आरोप लगाएका छन् । ‘अरु पार्टीकालाई भोट हाल्दा हाल्दा एमाले समर्थक वाक्क भइसके भन्ने सन्देश गिरीको उम्मेदवारी हो’, हल्दिबारीका एक एमाले नेता भन्छन्, ‘फेरि गणतन्त्रवादी र राजतन्त्रवादी मध्येबाट छान्दा सिटौला रोजाइमा पर्न सक्छन् ।’

झापा–३ बाट एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पनि उम्मेदवार बन्न चाहेका थिए । अन्तिम समयमा एमालेले राप्रपालाई समर्थन गर्दै प्रसाईंलाई प्रदेशसभा सदस्यको उम्मेदवार बन्न आग्रह गरेको थियो, तर प्रसाईंले मानेनन् । ‘प्रसाईं र राप्रपाबीच झापामा राम्रो सम्बन्ध छैन, त्यसले पनि केही असर गर्नसक्छ’, एक नेता भन्छन् ।

तर राप्रपाका केन्द्रीय सदस्य नवराज पनेरु झापा–३ मा प्रसाईंको निर्णयको कुनै अर्थ नहुने बताउँछन् । ‘उनलाई त त्यहाँ मेडिकल माफिया भनेर चिन्छन्, असहयोग गर्ने किसिमले गतिविधि भए उल्टै फाइदा पुग्नसक्छ’, उनले अनलाइनखबरसँग भने ।

तर कांग्रेसमा पनि अन्तरकलह छ । महामन्त्री विश्वप्रकाश शर्मा र सिटौलाको सम्बन्ध राम्रो छैन । यद्यपि चुनावको समयमा विश्वप्रकाश र सिटौला दुवैले आफूहरु झापामा एकैठाउँमा रहेको सन्देश दिने गरी टिकट वितरणलगत्तै एउटै विमानमा झापा गए ।

मनोनयन दर्ता गर्ने बेला पनि विश्वप्रकाशको प्रस्तावक सिटौला पक्षका नेता केशव पाण्डे बसेका छन् भने सिटौलाले मनोनयन दर्ता गर्ने समयमा पनि विश्वप्रकाश लगायतका नेता निर्वाचन कार्यालय पुगेका थिए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?