+
+

स्वास्थ्य बीमा समस्या समाधान गर्न बनेको कार्यदलले दुई महिना बितिसक्दा पनि प्रतिवेदन बुझाएन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १३:४३
स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी

२७ असोज, काठमाडौं । सरकारले स्वास्थ्य बीमाको समस्या समाधान गर्न कार्यदल गठन गरेको दुई महिना बितिसक्दा पनि प्रतिवेदन पेश गर्न सकेको छैन । जबकी, उक्त प्रतिवेदन तीन हप्ताभित्र पेश गर्न स्वास्थ्यमन्त्री भवानी खापुङले २३ साउनमा स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन गरेका थिए ।

जसमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेष गुणराज लोहनी, बीमा बोर्डका सदस्य डा. सुरेश तिवारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव र प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल छन् ।

राज्यमन्त्री केसी कार्यदलमा भएका सदस्य छलफलमा उपस्थिति नहुँदा प्रतिवेदन तयार गर्न नसकिएको बताउँछन् । ‘कार्यदलमा भएका सबै सदस्यहरु पहिलो छलफलमा उपस्थिति भए । त्यसपछि तीन वटा बैठक बसे । तर, सबैजना जुट्न गाह्रो भयो,’ मन्त्री केसीले अनलाइखबरसँग भने, ‘बैठक तय गर्दा कोही विदेश, कोही कतै जाँदा प्रतिवेदनलाई मूर्त रुप दिन सकिएको छैन। स्वास्थ्यमा कर्मचारीहरू बढी विदेश भ्रमणमा व्यस्त हुने रहेछन् ।’

अबको केही दिनभित्रैमा कार्यदलमा भएका सबैलाई बैठक बोलाएर प्रतिवेदन पूरा गर्न राज्यमन्त्री केसीले बताए ।

स्वास्थ्य बीमा कार्यक्रममा विभिन्न समस्या तथा चुनौतीहरू बढ्दै गएपछि सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको थियो । राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रमको अवस्था र चुनौती अध्ययन, विश्लेषण एवं समीक्षा गरी स्वास्थ्य बीमा कार्यक्रममा विद्यमान समस्या समाधान सहित सुझाव पेश गर्ने जानकारी दिए ।

‘मुख्तया: फर्जी बिललाई नियन्त्रण गर्न स्वास्थ्य बीमा सफल भएका देशका भएका प्रावधानलाई अनुसरण गनुपर्ने देखिएको छ । त्यसका साथै स्वास्थ्यबीमा सरकारी अस्पपातलले मात्रै थान्न नसक्ने हुँदा निजी अस्पतालबाट हुने चुहावटलाई रोक्ने तथा अनुगमन कडा बनाउने खालका काम गर्नुपर्ने देखिएको छ,’ मन्त्री केसीले अनलाइखबरसँग भने ।

बीमितले औषधि तथा समयमा स्वास्थ्य सेवा नपाउनु, सेवा प्राप्त गर्न लामो समय लाइन कुर्न बाध्य हुनु, बीमा गरेका र बीमा नगरेका बिरामीको सेवामा विभेद हुनु, प्रथम सेवा बिन्दुबाट थप उपचारको लागि ठूला अस्पतालमा ‘रिफर’ गर्दा आवश्यक कागजातको व्यवस्था नहुनु र नगर्नु जस्ता विषयले बीमा कार्यक्रमप्रति नागरिकको विश्वास घट्दै गइरहेको छ ।
स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार हाल मुलुकभर ४ सय ४० वटा स्वास्थ्य संस्थामा बीमा कार्यक्रम लागू भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?