+
+
भद्रगोल नवौं राष्ट्रिय खेलकुद :

समयमै पोशाक न मैदान, खेलाडीलाई ‘उधारो’ मेडल !

विकास रोकामगर विकास रोकामगर
२०७९ असोज २७ गते १८:३२

२७ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार बिहानदेखि पोखरामा हकी प्रतियोगिता हुने तय थियो । तर, खेल सुरु हुनेबेलासम्म मैदान तयार नभएपछि तोकिएको भन्दा करिब ६ घन्टापछि मात्रै खेल सुरु भयो ।

खेल ढिलो हुनुमा मैदान मर्मतमा ढिलाइमात्रै कारण थिएन, खेलका लागि आवश्यक सामग्री र खेलाडी पोशाकसमेत नआइपुगेकाले ढिलाइ भएको हो । खेलाडी बिहानै मैदानमा पुगिसकेका थिए । तर, मैदानमा खेल सामग्री त परकै कुरा सामान्य मार्किङ गर्नसमेत बाँकी थियो ।

नेपाल हकी एसोसिएसनका प्रतियोगिता निर्देशक असिम शर्माका अनुसार खेलाडीले पोशाक नपाएकै कारण खेल सुरु हुन नसकेको हो । ‘खेल सामग्री पनि सबै आएका छैनन् । अहिले पनि आधामात्रै खेलाडीको पोशाक आएको छ,’ उनले भने, ‘पुरुष प्रतियोगिता सुरु हुँदैछ । तर, महिलाको पोशाक नआएका कारण खेल सुरु हुन सकेको छैन ।’

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा भइरहेको ह्यान्डबल प्रतियोगितामा पनि सुदूरपश्चिम प्रदेशका ह्यान्डबल टोलीको जर्सी विपक्षीसँग मिलेपछि ‘बिब’ लगाएर खेल्नु परेको थियो । त्यसमाथि जर्सीमा अंक उल्लेख नहुँदा मार्करले नम्बर लेखेर मैदानमा उत्रिएका थिए ।

पोशाक पाइसकेका खेलाडीले पनि आफूहरुको जर्सी गुणस्तरहीन भएको गुनासो गरेका छन् । उनीहरुले पोशाक पनि पूरा सेट नआएको, पाएको पोशाक, जुत्ता पनि साइज नमिलेको, चिलाउने लगायत समस्या देखिएको गुनासो गरेका छन् ।

लुम्बिनी प्रदेशका खेलाडीलेसमेत आफूहरुले पाएको जर्सीमा लोगो, पिन्ट केही नभएको गुनासो गरेका छन् । कतिपय खेलाडीले भने आफ्नै खर्चमा लोगो प्रिन्ट गरेको बताए । ‘स्मल साइजबाहेक अरुमा प्रिन्ट पनि छैन । पाएको जर्सी सेट पनि पूरा छैन, पछि आउँछ भनेका छन्,’ लुम्बिनीकी एक खेलाडीले गुनासो गरिन्, ‘कपडा यति कमसल छ कि सामान्य पसिनाले पनि खुइलिरहेको छ ।’

प्रत्येक खेलाडीलाई करिब ८ हजार मूल्य बराबरको पोशाक सेट वितरण गरिने आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक घिसिङले बताउँदै आएका थिए । तर, नवौं राष्ट्रिय खेलकुद आयोजना समितिकै सदस्यहरु भने अहिले वितरण भइरहेको पोशाकले मुस्किलले २५ सय रुपैयाँ पर्ने दाबी गर्छन् । ‘खेलाडीले पनि पोशाकमाथि नै मजाक गरिराखेका छन् । यो त कमसलभन्दा पनि कमसल हो,’ एक सदस्य भन्छन्, ‘सबै जोड्दा २५ सय रुपैयाँ पनि पर्न आउँदैन ।’

खेलाडीलाई उधारो मेडल !

पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा भइरहेको फेन्सिङ प्रतियोगिताका विजयी खेलाडीलाई ‘उधारो’ पदक दिइएको छ । बुधबार बेलुकी विजयी भएका खेलाडीलाई पदक लगाउन नपुगेपछि दिउँसोका विजेतासँग पदक फिर्ता मागिएको थियो ।

साँझका विजयी प्रतियोगीलाई खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सम्मान गर्ने कार्यक्रम थियो । तर, मेडल अभाव भएपछि केहीबेर पदक वितरण रोकिएको थियो । पछि अघिल्ला विजेतासँग मागेर साँझका विजेतालाई मन्त्री गहतराजले पदक लगाइदिए । खेलाडीका अनुसार फोटो सेसनपछि फिर्ता गर्ने शर्तमा पदक मागिएको थियो ।

नेपाल फेन्सिङ महासंघका महासचिव सुजनलाल श्रेष्ठले आफूहरुलाई दिइएको मेडल अपुग भएको र थप मेडलका लागि पर्खिराखेकोबेला अचानक मन्त्री आएपछि खेलाडीसँगै माग्नु गरेको स्पष्टिकरण दिए । ‘अचानक मन्त्रीज्यू आएर हतार छ भन्नुभयो । थप मेडल आउन बाँकी थियो, त्यसैबेला खेलाडीसँग मागेका हौं,’ उनले अनलाइनखबरसँग भने, ‘पछि खेलाडीहरुलाई नै फिर्ता गरिसक्यौं । त्यस्तो अभावै भन्ने त होइन ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?