+
+
आम चुनाव २०७९ :

कैलाली-४ : सुदूरपश्चिमका दुई कमान्डरको प्रतिस्पर्धा

पुर्ख्यौली घर डोटी भएका एमालेका सुदूरपश्चिम इन्चार्ज भट्ट र चुनाव लड्न डोटीबाट कैलाली झरेका बलायरबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

जनक विष्ट जनक विष्ट
२०७९ असोज २७ गते १९:५८

२७ असोज, धनगढी । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैलाली–४ बाट नेकपा एमालेका सचिव लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर उम्मेदवार छन् ।

पुर्ख्यौली घर डोटी भएका एमालेका सुदूरपश्चिम इन्चार्ज भट्ट र चुनाव लड्न डोटीबाट कैलाली झरेका बलायरबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

सत्तारुढ गठबन्धनले प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेलाई उम्मेदवार बनाउने निर्णयपछि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा बलायर कैलाली-४ झरेका हुन् । जसरी पनि डोटीबाट चुनाव लड्ने बताउने गरेका बलायरले कैलाली–४ मा उम्मेदवारी दर्तासँगै मतदाता भेटघाटलाई तीव्र बनाएका छन् ।

पुख्र्यौली घर एउटै जिल्ला, फरक–फरक पार्टीको सुदूरपश्चिम प्रदेश कमान्डर, एउटै समय २०६४ देखि संसदीय चुनाव लड्न थालेका यी दुवै जना पूर्वमन्त्री समेत हुन् ।

स्थानीय तहको मतभार

३० वैशाखमा सम्पन्न भएको स्थानीय तहको चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्दा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस सबैभन्दा अगाडि छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २२ हजार ५०२, नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार १६०, नेकपा माओवादी केन्द्रका उम्मेदवारले १० हजार ५८७, एकीकृत समाजवादी पार्टीका उम्मेदवारले ३ हजार १८० र राप्रपाका उम्मेदवारले ३ हजार ७३४ मत प्राप्त गरेका छन् ।

यस आधारमा सत्तारुढ गठबन्धनमा आवद्ध दलको मत ३५ हजार ९६९ पुग्छ भने नेकपा एमालेको मत २० हजार १६० छ । अर्थात् सत्तारुढ गठबन्धन भन्दा नेकपा एमाले १५ हजार ८ सय मतले पछि छ ।

बलायरलाई चुनौती

२०६४ सालदेखि यो क्षेत्रमा चुनाव लड्दै आएका नेकपा एमालेका नेता लेखराज भट्टको बलियो प्रतिस्पर्धी नेपाली कांग्रेस नै हो । उनले नेकपा माओवादी केन्द्रबाट पहिलोपटक २०६४ सालको संविधानसभा सदस्यको चुनाव लड्दा कांग्रेसका दीर्घराज भाटलाई करीब साढे ४ हजार मतान्तले पराजित गरेका थिए ।

त्यो बेला एमाले उम्मेदवारले पाएको मत भने साढे ७ हजारको हाराहारीमा थियो । २०७० को चुनावमा भने कांग्रेस नेता भाटले नेता भट्टलाई पराजित गरेका थिए । २०७४ सालमा भट्टले कांग्रेसका सुनिल भण्डारीलाई झण्डै ११ हजार मतान्तरले जितेका थिए । त्यो बेला वामगठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका भट्टले ३१ हजार ३५९ र भण्डारीले २० हजार ९६० मत पाएका थिए ।

एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाको एकता भंग भएपछि भट्ट माओवादी केन्द्रमा फर्किएनन्, एमालेमै बसे । यी तीन वटा चुनावलाई हेर्दा कैलाली ४ मा लेखराज भट्टको बलियो प्रतिस्पर्धी नेपाली कांग्रेस नै हो ।

अझ अहिले माओवादी केन्द्र, एकीकृत समाजवादीसहित पार्टीको साथ पाउँदा कांग्रेस झन् बलियो देखिएको छ । तर नेताहरू भने बाहिरबाट हेर्दा गठबन्धन बलियो देखिएपनि आन्तरिक असन्तुष्टिले चुनाव जित्न सजिलो नभएको बताउँछन् ।

‘गठबन्धनका अरू दलको कुरा छोड्नुस्, वीरबहादुर बलायरजीले आफ्नै पार्टीको मत नै पाउन मुश्किल पर्ने देखिन्छ । उहाँलाई के भनेर मत हाल्ने भन्ने आम प्रश्न छ,’ एक नेताले भन्छन्, ‘डोटीको मान्छे भोट माग्न र चुनाव जित्न मात्र कैलाली आउने । के यहाँ राजनीति गर्ने नेता छैनन् ?’

ती नेताका भनाइमा पार्टी सभापति देउवाले फेरि प्रधानमन्त्री बन्नकै लागि बलियो संगठन नै नभएको समाजवादीलाई डोटी सुम्पिएर बलायरलाई कैलाली पठाएको भन्ने आक्रोश नेतादेखि कार्यकर्तासम्म छ । कार्यकर्ता तहसम्मै देखिएको असन्तुष्टिले बलायरले आफ्नै पार्टीबाट अपेक्षित मत नपाउन सक्छन् ।

यहाँ पूर्वमन्त्री दीर्घराज भाट र प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिसमा परेका नेता सुनिल भण्डारीको प्रभाव बलियो छ । उनै पूर्वमन्त्री भाट यसपटक भण्डारीले टिकट पाउनुपर्ने पक्षमा थिए । टिकटकै लागि भाटले पार्टी नेतृत्वसँग लबिङ गरेका थिए । तर भण्डारीको टिकट खोसेर बलायरलाई दिइएपछि उनी असन्तुष्ट बनेका छन् ।

‘पार्टीभित्र एक जिल्लाको नेता अर्को जिल्लामा ल्याएर चुनाव लडाउने गलत परम्परा बस्न थाल्यो । यसले वषौँदेखि यहाँ बसेर पार्टी बनाएका स्थानीय नेताहरु विस्थापित हुनुपर्ने अवस्था आउन थाल्यो’, भाट निकट एक नेताले भने, ‘यो गलत संस्कारलाई स्थापित हुन दिनुहुँदैन भन्ने हाम्रो भनाइ हो ।’ तर भण्डारी र भाट स्वयंले भने यो विषयमा बोलेका छैनन् । बलायरले यी दुवै नेताको असन्तुष्टि व्यवस्थापन गर्न नसकेमा कांग्रेसको जम्मा मतको आधा पनि प्राप्त गर्न मुस्किल हुने दाबी गरिएको छ ।

यहाँ १० हजारभन्दा बढी मत भएको नेकपा माओवादी केन्द्रले भागबण्डाका क्रममा प्रदेशसभाको सिट समेत नपाएकाले पनि बलायरलाई केही समस्या हुने विश्लेषण गरिएको छ । खासगरी प्रतिनिधिसभा वा प्रदेशसभा कतै पनि आफ्नो पार्टीको उम्मेदवार नभएको अवस्थामा माओवादीको मत पनि बाँडिने जोखिम रहेको नेताहरू बताउँछन् । तर त्यसलाई गठबन्धन र स्वयं माओवादीले कसरी व्यवस्थापन गर्छ भन्ने कुराले अर्थ राख्छ ।

अर्को कुरा नेपाली कांग्रेसले प्रदेशसभा (२) मा टिकट दिएका प्रकाश बम प्रदेशसभा (१) का बासिन्दा हुन् । कांग्रेसले एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीलाई व्यवस्थापन गर्ने क्रममा बमलाई प्रदेशसभा (२) मा ल्याएपछि पनि त्यहाँ थप असन्तुष्टि सिर्जना भएको छ ।

बलायर स्वयंका लागि कैलाली–४ नयाँ भूगोल भएका कारणले समेत यहाँ उनलाई डोटीमा जति सहज नहुने नेताहरु बताउँछन् । प्रदेशसभामा बागी उम्मेदवारी दिएका कांग्रेस नेताहरुले पनि उनको मत काट्न सक्ने अनुमान गरिएको छ ।

एमालेभित्र पनि असन्तुष्टि

आफ्नो मत जोगाउदै सत्तारुढ गठबन्धनको मत तान्ने रणनीति लिएको नेकपा एमालेभित्र पनि आन्तरिक किचलो छ । पार्टीभित्र उम्मेदवार बन्न आकांक्षा राखेका तर विभिन्न कारणले पाउन नसकेका नेताहरु नेतृत्वप्रति असन्तुष्ट छन् ।

टिकट वितरणमा असन्तुष्टि जनाउदै एमालेका प्रदेश कमिटी सदस्य मानबहादुर रावलले त राजीनामा नै दिएका छन् । उनी कैलाली–४ को प्रदेशसभा (२) मा टिकटको आकांक्षी थिए तर गोदावरी नगरपालिकाका पूर्वमेयर हरिसिंह साउदले टिकट पाएपछि असन्तुष्टि जनाउदै रावलले राजीनामा दिएका हुन् ।

एमालेमा प्रतिनिधिसभामा भट्टको एकल सिफारिस भएपनि प्रदेशसभातर्फ धेरै जना आकांक्षीको नाम सिफारिसमा परेको थियो । तीनै आकांक्षीहरू टिकट नपाएपछि असन्तुष्ट बनेकाले कतै चुनावमा असहयोग गर्ने त होइनन् भन्ने आशंका उब्जाएको नेताहरू बताउँछन् ।

‘हाम्रोमा धेरै ठूलो असन्तुष्टि भन्ने कुरा छैन । तर केही साथीहरू हामीले टिकट नपाएर अन्याय भयो भनिरहनुभएको छ । उहाँहरूसँग निरन्तर छलफल जारी छ’, एमालेका एक नेताले भने, ‘सम्भवतः चुनावसम्म सबै कुरा ठीक भइहाल्छ । यसले त्यति ठूलो असर गर्दैन । हामी व्यवस्थापन गरेर अघि बढ्छौँ ।’

दुवै नेताको आ-आफ्नै दाबी

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार वीरबहादुर बलायर र एमाले नेता लेखराज भट्टले भने आफैंले जित्ने दावी गरेका छन् । कैलाली–४ आफ्नो रोजाइ नभएको तर पार्टीले निर्णय गरेपछि यहाँबाट उम्मेदवारी दिएको बलायरले बताउने गरेका छन् । यद्यपि यस क्षेत्रको मतदाताले आफूलाई चुनाव जिताउनेमा आशावादी भएको बताए ।

‘मैले यहाँ उम्मेदवारी मागेको होइन । पार्टीले निर्णय गरिसकेपछि त्यसलाई अवज्ञा गर्न मिल्दैन । मैले प्रारम्भिक राजनीतिक जीवन बिताएको र आफन्त तथा इष्टमित्र बस्ने ठाउँ भएकाले पनि पार्टीले यहाँ पठाएको हुनसक्छ’, बलायरले अनलाइनखबरसँग भने ।

उनले आफू डोटीबाट कैलाली आउँदा उत्पन्न राजनीतिक परस्थिति आफ्नो कारणले नभएर पार्टीको निर्णय भएकाले सबैले स्वीकार्ने विश्वास समेत व्यक्त गरे । ‘म आउँदै गर्दा यहाँका नेताहरू, विशेष गरेर प्रत्यासी नेताहरूप्रति सद्भाव र सम्मान नै छ । मेरा कारणले यस्तो भएको होइन पार्टीका कारणले हो’, उनले भने, ‘गठबन्धन भइसकेपछि मलाई डोटीबाट आउनुको पीडा पनि होला । तर पार्टीको निर्णय स्वीकार्नुको विकल्प छैन ।’

पार्टीभित्रको अन्तरविरोधले चुनावमा समस्या नपार्ने दाबी गर्दै बलायरले कैलाली–४ बाट विजयी हुने बताए । ‘कसैलाई विस्थापित गरेर म आएको होइन । यो पार्टीको निर्णय हो’, उनी भन्छन्, ‘पार्टीभित्रको अन्तर्विरोधले खासै समस्या गर्दैन ।

सबैतिर मलाई स्वीकार गरेर अघि बढेको लक्षण र मलाई उत्साहित बनाएको छ । यहाँ यो गुट त्यो गुट हुनेछैन ।’ उनले कैलालीमा स्वार्थका लागि नआएको जिकिर गर्दै चुनाव जितिसकेपछि यसै क्षेत्रको विकास र उन्नतीका लागि काम गर्ने दाबी गरेका छन् ।

बलायरका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लेखराज भट्ट भने समग्र सुदूरपश्चिमको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको बताउँदै विगतमा जस्तै यहाँको जनताले साथ दिने विश्वास गर्छन् ।

‘मैले सुरु गरेका दोधारा चाँदनीको सुख्खा बन्दरगाह, गेटा मेडिकल कलेज, हरैया विशेष व्यापार क्षेत्र, धनगढी गोदावरी औद्योगिक क्षेत्र, सेती लोकमार्ग, खुटिया दिपायल द्रूत मार्ग लगायतका दीर्घकाल योजनाहरूको काम अधुरै छ’, भट्टले भने, ‘यी योजना पूरा गरेर यहाँको विकास र औद्योगिकरणमा फड्को मार्नुपर्ने भएकाले मेरो उम्मेदवारी हो । मलाई सम्पूर्ण विचारसँग जोडिएका आम जनताले सहयोग र समर्थन गर्दै जिताउनेमा विश्वस्त छु ।’

पार्टीभित्र सुनिएका असन्तुष्टिका स्वरहरू निर्णय कार्यान्वयनमा गइसकेपछि मत्थर हुँदै जाने बताउँदै भट्टले अहिले कुनै पनि नेता कार्यकर्तामा दुविधा नभएकाले एमाले एकढिक्का भएर चुनावमा होमिसकेको बताए ।

‘पार्टी भनेको विपरीतको एकत्व हो । विभिन्न विपरीत विचारहरू पनि हुन्छन् । हरेक नेता कार्यकर्ताले इच्छा राख्नु स्वभाविक हुन्छ । पार्टीका निर्णय भइसकेपछि कार्यान्वयनमा जादा स्वतः उसले मान्छ’, भट्टले भने, ‘अब हाम्रो पार्टीका सबै सदस्य निर्णय कार्यान्वयन गर्न फिल्डमा जान्छन् । त्यहाँ कुनै दुविधा छैन ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?