+
+

बागमती करिडोर पार्कमा डोजर चल्दा सुकुमबासी बस्तीमा त्रास

काठमाडौंको थापाथलीस्थित बागमती करिडोर क्षेत्रमा बनेका अनधिकृत संरचनामा काठमाडौं महानगरपालिकाले शुक्रबार डोजर चलायो । जसका कारण सो क्षेत्र आसपासमा रहेको सुकुमबासी बस्तीका वासिन्दा त्रसित बनेका छन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०७९ असोज २८ गते १९:०८

२८ असोज, काठमाडौं । धोबीखोला र बागमतीको दोभान थापाथलीस्थित रुद्रेश्वर मन्दिरमा वरपर निर्माण भएका संरचनामा शुक्रबार काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग सम्झौता गरेर त्यस क्षेत्रमा विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाहरुले पार्क बनाएका थिए । तर कतिपयले सम्झौता विपरीत संरचना बनाएपछि समितिले काठमाडौं महानगरपालिकाको सहयोग लिएर ती संरचनामा डोजर चलाएको हो ।

समितिका सुपरभाइजर सागर कटुवालका अनुसार पूर्व सूचना गरेर महानगर प्रहरीको सहयोगमा रुद्रेश्वर मन्दिरले बनाएको भजन हल, क्रियापुत्री भवन लगायतको संरचना हटाएको हो ।

समितिले बागमती किनार नजिकै निर्माण भएको सत्य साई बाबा ध्यान केन्द्र पनि हटाएको छ । ‘उहाँहरुले हामीसँग सम्झौता गर्दा पार्क मात्रै बनाउँछौं भन्नुभएको थियो । तर निर्माण गर्ने क्रममा अफिसदेखि बसोबास गर्ने ठाउँसम्म निर्माण गरेपछि हामीले पूर्वसूचना दिएर हटाएका हौं’ समितिका समाजशास्त्री खगेन्द्र विष्टले भने ।

बागमती करिडोरमै थापाथलीदेखि यूएन पार्कको पुलसम्मको क्षेत्र(सुकुमबासी बस्ती नजिकै) मा निर्माण भएको ओम शान्तिको सभाहल पनि शुक्रबार डोजर लगाएर भत्काइएको छ ।

ओम शान्तिको भवनलाई ३ दिनअघि नै सूचना दिएर सामग्री हटाउन लगाएको थियो ।

कटुवालका अनुसार रुद्रेश्वर मन्दिर र ओम शान्तिबीचको पार्कमा सम्झौता विपरीत बनेका संरचना भत्काउन पनि ३ दिनको समय दिइएको छ ।

सुकुमबासी बस्तीमा त्रास

बागमती करिडोरमा बनेका अनधिकृत संरचनामा शुक्रबार डोजर चलाएपछि नजिकै रहेको सुकुमबासी बस्तीका वासिन्दा त्रसित भएका छन् ।

ओम शान्तिको संरचनामा डोजर चलाएको हेर्न आएका सुकुमबासी बस्तीका एक युवकले भने, ‘अब हाम्रो तिर पनि चलाउने होला, अहिलेसम्म त केही भनेको छैन । हाम्रोतिर तनाव भइसकेको छ ।’ ती युवकका अनुसार थापाथलीको सुकुमबासी बस्तीमा २५८ घर परिवार छन् ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भने सुकुमबासी बस्ती हटाउने विषयमा छलफल गर्ने बताए । ‘हामीले अहिले नै भत्काइ हाल्ने कुनै योजना बनाएका छैनौं तर बहस भने सुरु भएको छ’ उनले भने । समितिको तथ्यांक अनुसार सो क्षेत्रमा १३६ घर टहरा निर्माण भएको हुनसक्छ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?