+
+

एथ्लेटिक्समा पहिलो दिन आर्मी हावी, महिला सय मिटरमा दुई पटक कीर्तिमान

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असोज २९ गते १७:३५

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार सुरु भएको एथ्लेटिक्सको पहिलो दिनमै ७ स्वर्णको छिनोफानो भयो । महिला सय मिटरमा दुई पटक राष्ट्रिय कीर्तिमान बन्यो ।

विभागीय टोलीको दबदबा हुँदा पनि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा बागमती प्रदेशलाई स्वर्ण दिलाउन सफल भइन् ।

पहिलो दिन आर्मीले सर्वाधिक ३ स्वर्णसहित ३ रजत र ३ कास्य गरी कूल ९ पदक जित्यो । यस्तै एपीएफले २ स्वर्ण १ रजत र १ कास्य गरी ४ पदक जित्यो ।

नेपाल पुलिस क्लबले १ स्वर्ण १ रजत र २ कास्य गरी ४ पदक नै जित्यो । बागमती प्रदेशले १ स्वर्ण र १ कास्य तथा लुम्बिनी प्रदेशले २ रजत जित्यो ।

पोखरा रंगशालमा बिहान साढे ७ बजे सुरु हुने भनिएको एथ्लेटिक्स प्रतिस्पर्धा केही ढिला सुरु हुँदा खेलाडीहरु मध्य घाममा पनि दौडनु परेको थियो । जसले गर्दा केही खेलाडी असहज भएर ट्रयाकमै ढलेका थिए ।

एथ्लेटिक्सको पहिलो स्वर्ण बागमतीलाई

यसअघि सम्पन्न भइसकेको फेन्सिङ खेलको पहिलो स्वर्ण पनि बागमतीले नै जितेको थियो । एथ्लेटिक्स खेलको पहिलो स्वर्ण पनि बागमतीले जित्यो । पब्लिक टिममा रहेर पनि सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा विभागीय खेलाडीलाई पछि पार्दै बागमतीलाई स्वर्ण दिलाइन् ।

सन्तोषी र नेपाल पुलिस क्लबकी राजपुरा पछाई सुरुदेखि सँगसँगै दौडिरहेका थिए । अन्तिम ल्याप अघिसम्म राजपुराले अग्रता कायम राखेकी थिइन् । तर करिब ५०० मिटर बाँकी छँदादेखि सन्तोषीले रफ्तार बढाइन् र स्वर्ण जितिन् ।

यसअघि आठौं राष्ट्रिय खेलकुद ५ हजार मिटरमा स्वर्ण जितेकी सन्तोषीले राष्ट्रिय खेलकुदमा १० हजार मिटरमा पहिलो पटक स्वर्ण जितेकी हुन् ।

चोटसँग संघर्ष गर्दै आएकी सन्तोषीले टाइमिङ भन्दा पनि स्वर्ण जित्ने लक्ष्य राखेको भन्दै त्यसमा सफल हुँदा खुसी रहेको बताइन् ।

महिला सय मिटरमा दुई पटक कीर्तिमान

महिला सय मिटर दौडमा शनिवार दुई कीर्तिमान बने । हिट चरणमा लुम्बिनीकी निशा चौधरीले १२.१५ सेकेण्डमा दौड पूरा गर्दै आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी त्रिभुवन आर्मीकी सरस्वती चौधरीको कीर्तिमान तोडेकी थिइन् ।

तर फाइनल चरणमा उनै सरस्वतीले निशालाई पछि पार्दै नयाँ कीर्तिमानसहित स्वर्ण जितिन् । फाइनल राउण्ड सरस्वतीले १२.१३ सेकेण्डमा दौड पूरा गरिन् । हिटमा कीर्तिमान बनाइकी निशा भने फाइनल राउण्डमा १२.२२ सेकेण्डको समय निकाल्दै दोस्रो भइन् ।

सुरुमा आफ्नै कीर्तिमान तोडिएको हेरेकी सरस्वतीले त्यसमा सुधार गर्दै राष्ट्रिय खेलकुदमा एकै विधामा लगातार दुई पटक स्वर्ण जितिन् ।

१०० मिटरमा दौडमा यो ह्यान्ड टाइमिङ कीर्तिमान हो । राष्ट्रिय खेलकुदमा पनि यो कीर्तिमान हो । तर इलेक्ट्रोनिङ टाइमिङमको कीर्तिमान भने सन् १९९९ को आठौं सागमा देवी माया पनेरुले बनाएकी थिइन् । उनले १२.१९ सेकेण्डको इलेक्ट्रोनिक टाइमिङ बनाएकी थिइन् ।

लङ डिस्ट्यान्स छाडेर स्प्रिन्टमा शिवराजको शान

१३औं सागका स्वर्ण विजेता गोपीचन्द्र पार्कीका भाई हुन् शिवराज पार्की । दाजुसँगै उनी पनि विभागीय टोली एपीएफमै छन् ।

यसअघि लामो दूरी दौडदैँ आएएका शिवराज अहिले छोटो दूरी अर्थात स्प्रिन्टमा दौडन थालेका छन् । उनले ४४औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा पनि १०० मिटरमा स्वर्ण जितेका थिए । नवौंमा पनि उनले त्यही लय कायम राख्दै १०.५६ सेकेण्डको टाइमिङसहित स्वर्ण जिते ।

स्वर्ण जितेपछि शिवाराजले आफ्नो दाजु गोपीचन्द्रसँगै प्रशिक्षक प्रमिला रिजालको पाउ छोए । दौडअघि नै स्वर्ण जित्ने विश्वासका साथ दौडिएको बताउने शिवराजले दाजु गोपीचन्द्रले नै आफूलाई स्प्रिन्टमा ल्याएको बताए । ‘म स्वर्ण जित्नेमा विश्वस्त थिएँ । सुरुमा पछि परे पनि मेरो फिनिसिङ राम्रो भएकोले जित्न सफल भएँ’, शिवारजले भने ।

उनले राष्ट्रिय खेलकुद नेपालको सबैभन्दा ठूलो खेलमेला भएकोले यसमा स्वर्ण जित्दाको छुट्टै अनुभव हुने बताए । उनले अबको दुई वर्ष भित्र राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य सुनाए ।

उनले रामकृष्ण चौधरीको नाममा रहेको १०.७१ सेकेण्डको इलेक्ट्रोनिक टाइमिङ भन्दा राम्रो टाइमिङ बनाए पनि ह्याण्ड टाइमिङको कीर्तिमान याम साजन सुनारको नाममा छ । यामसाजनको नाममा ह्यान्ड टाइममा १०.३ सेकेण्डको कीर्तिमान छ ।

१५०० मिटरमा आर्मी र एपीएफलाई स्वर्ण

१५०० मिटरमा आर्मी र एपीएफले एक एक स्वर्ण जिते । पुरुषतर्फ आर्मीका मुकेश पालले ३ मिनेट ५२.२१ सेकेन्डमा दूरी पूरा गरेर स्वर्ण पदक जिते । एपीएफका अजित यादवले ३ मिनेट ५३.११ सेकेन्ड समयसहित रजत तथा पुलिसका नागेश्वर अहिरले ३ मिनेट ५६.५ सेकेन्ड समयसहित कास्य जिते ।

महिला १५०० मिटर दौडमा एपीएफकी फुलमती रानाले ४ मिनेट ३८.१९ सेकेन्ड समय सहित स्वर्ण जिते ।

यस्तै आर्मीकी सरस्वती भट्टराईले ४ मिनेट ४१.०० सेकेन्डसहित रजत र आर्मीकै रेखा लिम्बुले ५ मिनेट ०३.८० सेकेन्डसहित कास्य जितिन् ।

सटपुटको पुरुषतर्फ आर्मीका तिलक बिकले १२.८५ मिटर फाल्दै स्वर्ण जिते । आर्मीकै चित्रबहादुर वलीले १२.६४ मिटर फालेर रजत तथा बागमती प्रदेशका ललित रावतले ११.९५ मिटर फालेर कास्य जिते ।

सटपुट महिलामा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले १२.४० मिटर फालेर स्वर्ण जितिन् । चन्द्रकलाले यसअघि आठौं राष्ट्रियमा पनि सटपुटमा स्वर्ण जितेकी थिइन् । उनी छोरीलाई लिएर प्रतिस्पर्धाका आएकी थिइन् ।

लुम्बिनी प्रदेशी संगिता अधिकारीले १०.८३ मिटर फालेर रजत तथा नेपाल पुलिसकी वसन्ती चौधरीले ९.८६ मिटर पर फालेर कास्य जितिन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?